coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

दलाई लामाको भविष्य

तिब्बती नेता दलाई लामा अहिले ८३ वर्ष पुगे। २३ वर्षको उमेरमा भारतको असम राज्यको तेजपुरमा शरण माग्न पुगेका उनले ६० वर्ष शरणार्थी जीवन बिताए। भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा बसोबास गर्दै आएका उनी अझै तिब्बत फर्कने आशामा छन्। भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले शरण दिएपछि उनी तिब्बती शरणार्थी नेता बनेका हुन्। दक्षिण एसियाली बुद्धिजीवीहरू तिब्बतको प्रश्नमा उदासीन छन्। वामपन्थीहरू यस प्रश्नलाई बेवास्ता गर्न रुचाउँछन। भारतीय समाजवादीहरू जयप्रकाश नारायणदेखि जर्ज फर्नान्डीससम्मले भने चासो देखाएकै हुन्।

सन् १९५९ मा माओका सेनाहरूले तिब्बत कब्जा गरेपछि उनी त्यहाँबाट भागेका थिए। सन् १९५० मा उनले बेइजिङ भ्रमण गरी माओ भेटेका थिए। त्यसबखत उनले माओसँग केही बुँदामा हस्ताक्षर गरी सम्झौता गरेका थिए। अन्ततः सन् १९५९ मा उनले तिब्बत छाडे। उनीसँगै एक लाख शरणार्थी भारत आएका थिए। भनिन्छ, उनको भारत पलायनमा अमेरिकी गुप्तचर संस्था सिआइएको पनि हात थियो। तर उनी तिब्बतको आन्तरिक स्थिति बिग्रेपछि पलायन भएका थिए। सोभियत नेता निकिता खुस्चेवले दलाई लामालाई भाग्न दिएर चीनले गल्ती गरेको माओलाई बताएको कुरा हेनरी किसिन्जरले आफ्नो पुस्तक ‘अन चाइना’ मा उल्लेख गरेका छन्। तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले भारतको संसदलाई सम्बोधन गर्दै तिब्बतको भाग्यको फैसला तिब्बती जनताले नै गर्नुपर्ने बताएका थिए। आज शरणार्थी जीवन बिताएको ६० वर्ष पुग्दा त्यो भावनाले काम गर्छ ? शरणार्थी दलाई लामा वास्तविक भूमिबाट टाढिएका छन्। उनी तिब्बतका राजा तथा धार्मिक नेता भएका छन्। जतिजति समय बित्दै जान्छ उतिउति दलाई लामाको मृत्युको प्रश्नले तिब्बत सवाल जटिल बन्दै जान्छ। दलाई लामा पुनर्जन्मबाट छानिन्छ। हालका १४औँ दलाई लामाको मृत्युपछि १५औँ दलाई लामा आफूले घोषणा गर्ने दाबी चिनियाँ सरकारले गर्दै आएको छ। स्वयं दलाई लामा भने आफू जीवित हुँदा माधे तुल्कु चयन गर्ने र भविष्यको दलाई लामा घोषणा हुनसक्ने बताउँछन्। यसो हुँदा चिनियाँ सरकार र शरणार्थी समुदायको दुईवटा दलाई लामा हुनेछन्। जसले गर्दा यी दुई लामाबीच द्वन्द्व हुनसक्छ।

दलाई लामाले संसार त जिते तर राजनीतिज्ञका रूपमा चीनसँग हारिरहेका छन्। उनलाई शरण दिने भारतले पनि तिब्बतको प्रश्न चीनसँग उठाउन सकेको छैन। भारत र अमेरिका दुवैले औपचारिक रूपमा एक चीनको नीति अंगालेका छन्।

चीनका सर्वाेच्च नेता देङको पालामा दुईपक्षबीच केही वार्ता भएका थिए। तिब्बत सरकारका निर्वासित प्रतिनिधि युरोप र नेपालमा छन्। नेपालले मात्रै १२ हजार तिब्बती शरणार्थीलाई बसोबास गर्न दिएको छ। सन् २००० मा तिब्बती प्रतिनिधि लोदी ग्यारी र चिनियाँ अधिकारीहरूबीच वार्ता भएको थियो। यसो हेर्दा दलाई लामाले संसार त जिते तर राजनीतिज्ञका रूपमा चीनसँग हारिरहेको देखिन्छ। उनलाई शरण दिने भारतले पनि तिब्बतको प्रश्न चीनसँग उठाउन सकेको छैन। भारत र अमेरिका दुवैले औपचारिक रूपमा एक चीनको नीति अंगालेका छन्। सन् २००० देखि १५० भिक्षु–भिक्षुणी र सर्वसाधारणले तिब्बतमा स्वतन्त्रताका लागि आत्मदाह गरे। सांस्कृतिक क्रान्तिका क्रममा ध्वस्त गुम्बाहरूको अहिले चीनले ४५० मिलियन डलर खर्च गरी जिर्णाेद्धार गरेको छ भने सन् २०१३ का लागि १९० मिलियन डलर छुट्याएको छ। जानकारहरू भन्छन्– तिब्बतलाई चीनले रूपान्तरण गरेको छ। शरणार्थी भएर भारत आउँदा तिब्बतीहरूलाई यो समस्या तुरुन्तै सल्टिन्छ जस्तो लागेको थियो तर आज ६० वर्ष बितिसक्दा पनि जस्ताको तस्तै छ। नयाँ पुस्ताका मानिस आएका छन्। सांग्रिला अर्थात् स्वर्ग भनेर चित्रित तिब्बतको पुरानो स्वरूप छैन। भारतको बंगाल र आन्ध्र प्रदेशका ख्यातिप्राप्त बौद्ध तत्व मिमांसकहरूले बनेको तिब्बती महायान परम्पराको लोकप्रियता भने विश्वमा बढ्दो छ। पुनर्जन्म र कर्मको सिद्धान्त तिब्बतीहरूले हिन्दु धर्मबाट सापट लिएका हुन्। तिब्बती जनमा पुनर्जन्मको विश्वासले दरोसँग जरो गाडेको छ। सन् ९० मा दलाई लामाले दोस्रो महŒवपूर्ण गुरु पञ्चेन लामा घोषणा गरेपछि चीनले गिरफ्तार गरी आफ्नो पञ्चन लामा घोषणा गरेको थियो। ती पञ्चन लामा अहिले तिब्बतका उच्च धर्म गुरु छन्।

सन् २०१६ देखि दलाई लामाले कुनै विश्वनेतालाई भेटेका छैनन्। अमेरिकाले हालै ल्याएको विधेयकमा चिनियाँ सरकारले आपत्ति जनाएको छ। अमेरिकी प्रशासन बढ्दो चुनौतीका रूपमा उदाइरहेको चीनलाई दबाबमा राख्न तिब्बत सवाल जीवितै राख्न चाहन्छ। दलाई लामा, तिब्बत फर्केर बाँच्न चाहनेहरूप्रति अहिले आपत्ति जनाउदैनन्। हालैको रिपोर्टअनुसार तिब्बतबाट भागेर आएका धर्मशाला पुग्नेहरूको संख्या घटेको छ। बेइजिङ दलाई लामाको मृत्यु कुरेर बसेको छ। डाक्टरहरूको हवाला दिँदै दलाई लामा आफू सय वर्षभन्दा बढी बाँच्ने बताउँछन्। तर चीन आफ्नो दलाई लामाको प्रतीक्षामा छ। शरणार्थी शासकका रूपमा दलाई लामाले बेलायती महारानी एलिजावेथ र क्युबाका फिडेल क्रास्टोले भन्दा बढी नेतृत्व गरे तर उनको भविष्यचाहिँ उनले चाहेजस्तो नहुनसक्छ।

प्रकाशित: १६ वैशाख २०७६ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App