५ कार्तिक २०७७ बुधबार
विचार

छविलालको छवि

संसद्को चुनावमा विजय प्राप्त गरेपछि जोन एफ केनेडीलाई बधाई दिनेको लर्को लाग्यो। आफ्नो दलका बाहेक अरू पनि धेरै थिए। रसियामा कम्युनिस्टले अक्टोबर क्रान्ति सम्पन्न गरेकै वर्ष (सन् १९१७) धर्तीमा पाइला टेकेका केनेडी कम्युनिस्टका कट्टर विरोधी थिए। सुरुमा पत्रकार थिए उनी। ‘अध्ययनले उचाइमा पुर्‍याउँछ’ भन्ने मान्यता राख्थे। डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदमा विजयी भएपछि उनले अमेरिकी जनतालाई विश्वस्त तुल्याए, सोभियत संघसँग मधुर सम्बन्ध बनाउँदा केही बिग्रिँदैन। शत्रुलाई काउकुती लाएरै सिध्याउने उनको कूटनीति चातुर्यपूर्ण थियो।

३० वर्षमै सांंसद भएका केनेडी ४४ वर्षमै राष्ट्रपति भए। लिन्डन बि जोन्सन उपराष्ट्रपतिमा चुनिए। अमेरिकामा संसद्को सदस्य नरहेका विज्ञलाई योग्यताअनुसार राष्ट्रपतिले मन्त्री बनाउने संवैधानिक सुविधा छ। ‘सेक्रेटरी’ भनिने त्यस्ता मन्त्री राष्ट्रपतिको विश्वासपात्र हुनैपर्छ। कुनै फौजदारी अभियोग, बातकसुर वा घिनलाग्दा काममा नलागेको हुनुपर्छ। (यस्ता कुरा नेपालमा ठट्टा÷रमाइलोजस्तो लाग्न सक्छ। ‘लोकतन्त्र विरोधी’ प्रचलन भन्न पनि सक्छन्।)

गणतन्त्र घाटमा पुर्‍याएर भए पनि नेपाल बचाउनुपर्छ। देश बचाउने कि गणतन्त्र ?

एकदिन बिहानदेखि घुइँचो लाग्यो, केनेडी निवासमा। केनेडीकी पत्नी ज्याकलिन चिया–कफी बनाएर पाहुनाको सत्कार गर्दै थिइन्। मानिस प्रशंसा गर्दै थिए– थियोडर रुजवेल्टपछि सबैभन्दा ‘युवक राष्ट्रपति’ तपाईँ। अब चमत्कार गर्नुहोला, अमेरिकाको प्रगति संसारले हेर्नेछ। क्याथोलिक सम्प्रदायका अगुवा भन्दै थिए– अमेरिकी राष्ट्रनायक बन्ने तपाईँ प्रथम क्याथोलिक राजनेता। हामी त गद्गद् छौँ। बधाई छ, मिस्टर प्रेसिडेन्ट।

सेनाका जर्नेलहरूको वाणी बेग्लै थियो– दोस्रो महायुद्धमा सैनिक अधिकृतका रूपमा युद्ध लडेको मान्छे तपाईँ। अब कम्युनिस्टलाई लामखुट्टेझैँ मार्नुपर्छ। क्युबादेखि भियतनामसम्मका कम्युनिस्ट तपाईँको विजयले थर्कमान छन्। सत्तामा पुग्नेले हजारौँको सल्लाह सित्तैँमा पाउँछ। फुक्र्याउने, उमाल्ने, उचाल्ने र उकास्ने हजारौँ आउँछन्। केनेडीको महिमा गाउनेमध्ये धेरैलाई चिन्थिन् ज्याकलिन। पाहुना गएपछि उनले स्नेहपूर्वक सोधिन्– तिमीलाई बधाई दिन आउने त धेरैजसो तिम्रा कट्टर आलोचक हुन्। उनीहरूमध्येबाटै मन्त्री बनाउँछु भन्दैछौ, किन ? (केनेडीको बोलाउने नाम थियो ज्याक।)

ज्याकले मुसुमुसु हाँस्दै भने– डार्लिङ, उनीहरू मेरा आलोचक वा विरोधी हुन सक्छन् तर राष्ट्रका हितैषी र योग्य हुन्। अमेरिकालाई त्यस्तै मान्छे चाहिएको छ। मेरो स्तुति वा विरोध गौण कुरा हो। एउटा सच्चा प्रजातन्त्रवादी (डेमोक्र्याट) कति उदार, विनम्र, स्वप्नद्रष्टा र  शालीन हुन्छन् भन्ने यो एउटा उदाहरण हो। राष्ट्र सबैभन्दा माथि हुन्छ भन्ने चिन्तन बोकेका महान् मानिसले मात्र विरोध र आलोचकलाई समेट्न सक्छन्। व्यक्तिगत हित, इच्छा र स्वार्थभन्दा माथि उठ्न सक्छन्। ४६ वर्षकै उमेरमा डालासमा मारिए, पैतीसौँ राष्ट्रपति केनेडी। उच्च शिखरमा पुगेका थोरै मानिसको चर्चा हुँदा उनको नाम श्रद्धापूर्वक सम्झना गरिन्छ, आज पनि।

राजनेताहरू फरक विचारको पनि उच्च सम्मान गर्छन्। ‘स्टेट्सम्यानसिप’ भनेर राजनीतिशास्त्रले बनाएको मापदण्ड, आधार वा परिभाषामा दलभित्र मात्र रमाउनेलाई राजनेता भनिँदैन। ती निम्नस्तरका राजनीतिज्ञ हुन सक्छन्। गुटबन्दी, जात, वर्ण आदिका ‘तीन आना’ पर्खाल लगाएर अरूलाई प्रवेश निषेध गरिन्छ नेपालमा। कम्युनिस्ट, कांग्रेस वा राजतन्त्रको छाता ओढेर राजनीति सिक्नेहरूले ‘म÷मेरो’ बाट उठेर ‘हाम्रो’ भन्नै सिकेनन्। त्यसैले आफ्नै दलमा पनि शाक्तिशाली नेताका मादल बजाउने, नेता रिझाउने र अरूलाई कज्याउने प्रवृत्ति देखिन्छ। सत्तारुढ र सत्ताइतर सबैतिर यो रोग व्याप्त छ। पर्खाल बाहिरै पर्छन् योग्य र सज्जन।

बहुसंख्यक जनताको भावनाको सम्मान भइरहेको छ कि सत्तारुढ दलका केही छविलालको छवि उजिल्याउने ‘वासिङ मसिन’ बन्दैछ राज्यसत्ता ?

राजनीतिशास्त्री डा. देवराज दाहालले लेखेका छन्– ‘पूर्वीय दर्शनमा रामराज्य र पश्चिममा प्लेटोले आदर्श राज्यको कल्पना गरे। त्यसमा न्याय सम्पादन व्यक्तिसम्म लाभ, प्रभाव र कानुनी विशेषज्ञका तर्कभन्दा पनि निमुखा र निर्दोषलाई गर्ने व्यवहारबाट झल्कन्छ।’ हामी बुझ्न सक्छौँ, के नेपालमा निमुखाले न्याय पाएका छन् त ? प्रश्न उठ्छ– ‘जनताको शासन’ (?) भनिएको वर्तमान राजनीतिक प्रणालीमा सत्तारुढ दलको शासन छ कि विधिको ? बहुमतको निरंकुशता छ कि कानुनको सम्मान ? बहुसंख्यक जनताको भावनाको सम्मान भइरहेको छ कि सत्तारुढ दलका केही छविलालको छवि उजिल्याउने ‘वासिङ मसिन’ बन्दैछ राज्यसत्ता ? लोकतन्त्र हो भने ‘लोकको गरुँ हित भनी’ हिँड्नेहरू कहाँ छन् ? लोकतन्त्रका नाममा फस्टाएको लाभतन्त्र, लोभतन्त्र, ललिपपतन्त्र, लालचतन्त्र, लुटतन्त्र, भोकतन्त्र र ठोकतन्त्रलाई कसरी पत्याउने ?

राजनीतिक प्रणाली परिवर्तन हुँदैमा न्यायपालिका, सेना, प्रेस, नागरिक समाज र सचेत समुदायले आफ्नो प्रमुख दायित्व बिर्सन थाले भने त्यो राष्ट्र सजीव रहँदैन। २०६२÷६३ सालपछि राज्यसंयन्त्र कमजोर बन्दै गएको सबैले स्वीकारेकै छन्। दश वर्षसम्म ‘जनयुद्ध’ गरेको दाबी गर्ने छविलालहरू कसका कठपुतली रहेछन्, त्यो पनि खुलस्त भइसकेको छ। मुलुक, मुकुट र मुलुकी (जनता) बचाउन प्राणोत्सर्ग गर्छौँ भन्नेहरूका अगुवाले नै आफ्नो पद बचाउन क–कसलाई गुहारे, त्यो पनि गोप्य रहेन। मुलुक बचाउने अन्त्यकालमा ती नायक मौन बसे। आज राष्ट्रका यावत् संरचनामा धमिरा लागिसकेका छन्। भद्रकालीको सैनिक मुख्यालयलाई एम्बुसमा पार्ने खेल सुरु भइसकेको छ।

बाह्य शक्तिको मार्गचित्रअनुसार तराई टुक्र्याउने खेलको विधिवत् उद्घाटन काठमाडौँमै गरियो। ‘स्वतन्त्र मधेस’ जस्तो पृथकतावादी चिन्तनलाई नेपाल सरकारले अप्रत्यक्षरूपमा अनुमोदन गरेको देखियो। एउटा डरलाग्दो चक्रव्यूहमा परेका छौँ हामी, २०६२÷६३ सालपछि। बितेका १२÷१३ वर्षमा भएका घटनाक्रमले राष्ट्र कमजोर हुँदैछ भन्ने छर्लङ्ग देखिएको छ।
प्रधानन्यायाधीश  पदका निम्ति पुसमा ‘संसदीय सुनुवाइ’ हुँदा चोलेन्द्रशमशेर जबराले भनेका थिए– ‘म सरकारलाई पूर्ण सहयोग गर्छु।’ न्यायपालिकाको मुख्य कर्तव्य सरकारलाई सहयोग वा असहयोग गर्ने होइन, संविधान रक्षा गर्ने हो। कार्यपालिका र व्यवस्थापिका जस्तै स्वतन्त्र तथा जिम्मेवार निकाय हो न्यायपालिका तर पछिल्ला वर्षमा न्यायालयलाई सरकारले नियन्त्रणमा राख्न खोजेको देखिन्छ। यस्तो नियन्त्रण कम्युनिस्ट देशमा मात्रै हुने गर्छ।

राष्ट्रघात गर्ने व्यक्ति सरकार प्रमुख वा राष्ट्रप्रमुख नै भए पनि अदालतले ‘सहयोग’ गर्दैन। सरकारलाई सहयोग गर्ने सर्तमा प्रधानन्यायाधीश भएका राणाले पृथकतावादी सिके राउतलाई रिहा गरिदिए। उनको रिहाइलाई धेरैले रहस्यमय भनेका छन्। राउत दौडिएर प्रधानमन्त्री निवास पुगेपछि त्यहाँ गोप्य वार्ता भयो। २४ घन्टा नबित्दै राउत नेपाली राजनीतिको ‘मूलप्रवाह’ (?) भित्र आएको प्रचार गरियो। सिके राउतको ‘पार्टी’ सम्मेलनमा विदेशीहरू सरिक भएको कुरा सञ्चारमाध्यममा आए।

सर्वोच्च अदालतका फर्निचरसमेत विदेशी दाताका खाताको रकमबाट किन्नुपर्ने देशमा आफ्नो छवि प्राञ्जल बनाउन छविलालहरूले के गर्न बाँकी राखेका छन् ? यो प्रश्न नै व्यङ्ग्य बन्दै गएको छ। इतिहासकार तुलसीराम वैद्यले ‘मुख्तियार’ पदसमेत सम्हालेका प्रथम प्रधानमन्त्री तथा प्रधासनसेनापति दामोदर पाँडे अंग्रेजविरोधी भएकै कारण मृत्युदण्ड भोग्नुपरेको उल्लेख गरेका छन्। पाँच वर्ष शासन सम्हालेका पाँडे सन् १७९९ देखि १८०४ सम्म शक्तिशाली थिए। चीनले हमला गर्दा नुवाकोटबाटै विशाल फौज लखेटेका थिए उनले। ‘नेपाल बचाउनुपर्छ किनभने यी हाम्री आमा हुन्’ भन्ने राष्ट्रवादी चेतनाले उद्वोधित, निश्चयी र समर्पित थिए हाम्रा पुर्खा। आजका छविलालहरू सत्तामा पुगेर ‘एनी हाउ धन कमाउ’ भन्ने घृणित उद्देश्यले ‘राजनीति’ नामको फोहरी खेल खेलिरहेका छन्।

सर फ्रान्सिस यङ्हस्बेन्डले ‘इन्डिया एन्ड टिबेट’ पुस्तकमा (सन् १९१० मा प्रकाशित) नेपालको भूराजनीतिक, रणनीतिक र कूटनीतिक महŒव दर्शाएका छन्। ‘भीमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकमा इतिहासकार चित्तरञ्जन नेपालीले अंग्रेज शासकले नेपाल भत्काउन कैयन् षड्यन्त्र गरेको उल्लेख गरेका छन्। राजा गुणकामदेवले हजाराँै वर्षअघि बनाएको कान्तिपुर (काठमाडौँ) सहरको प्राचीन नक्सा खड्ग (तरबार) जस्तो छ। तान्त्रिक विधिअनुसार पूजाआजा गरेर बनाइएका सहर हुन्, कान्तिपुर, ललितपुर र भक्तपुर। हजारौँ मठमन्दिर, गुम्बा, संस्कृति, धर्म र परम्पराले त्यो बेला नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ स्पष्ट झल्किन्थ्यो। अहिलेको बेथिति, अराजकता, अस्थिरता, अविश्वास, अभिमान र अन्योलले नेपाललाई ‘दरिद्र नेपाल, दुःखी नेपाली’ बनाउने सम्भावना स्पष्ट देखिएको छ। झन्डै ३ करोड जनतामध्ये धेरैको जीवन कष्टप्रद बन्दै गएको छ। विदेशीले हेपेर भित्तामै पुर्‍याएका छन्, तैपनि गर्व गरिरहेका छन्, छविलालहरू।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम महायुद्धमा श्री ३ चन्द्रशमशेरले अंग्रेज (ब्रिटेन) सरकारको आग्रहमा नेपाली सेना (गोर्खाली) युवकहरूलाई पठाए। जर्मनीले हजारौँ नेपालीलाई युद्धबन्दी बनायो। ‘हाम्रा सैनिकलाई रिहा गरिदेउ’ भनेर नेपालका राजा पृथ्वीवीरविक्रम शाहले पठाएको पत्रको प्रत्युत्तरमा जर्मन चान्सलरले विनम्रतापूर्वक लेखेका पत्रको आशय थियो– ‘श्री ५ महाराजधिराज सरकार, भारतमा बसेर शासन गरिरहेका अंग्रेजहरू प्रबल बन्दै जाँदा नेपाल कमजोर हुन्छ कि भन्ने मलाई लाग्छ।’ जर्मन चान्सलरले ब्रिटेन, फ्रान्स र रसिया जस्ता शक्तिका पछि लाग्नुभन्दा तटस्थ बस्नु उचित हुने सुझाव दिएका थिए। नेपालले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बचाएर राखेकामा प्रशंसा गर्दै जर्मनीले नेपाली सेनाको सौर्य, साहस र इमानदारीको पनि कदर गरेको थियो। ( मदनकुमार भटट्राईद्वारा लिखित डिप्लोम्याटिक हिस्ट्री अफ नेपाल)

छविलालहरूलाई माओ, लेनिन, स्टालिन, कार्ल माक्र्स, चेग्वेभारा आदि कम्युनिस्टका कथाबाहेक अरू पढ्ने फुर्सद र जाँगर नै भएन। हजारौँ मान्छे मारेर सिंहदरबारमा छिरे उनीहरू। युरोप, अमेरिका, भारत आदिको सहायतामा उनीहरूकै परियोजना (गणतन्त्र, धर्म निरपेक्षता र संघीयता) ल्याए। विदेशीका ‘प्रोजेक्ट म्यानेजर’मात्र हुन्, छविलाल र उनका अजेन्डामा हिँड्ने अरू पार्टी। राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र सार्वभौमसत्ता सिद्धिने निश्चित भएमात्र उनीहरू ‘सफल’ ठहरिन्छन्।  त्यसैका लागि उनीहरू जनतालाई ‘गणतन्त्र खतरामा छ’ भनिरहेका छन्। हामी भन्छौँ– गणतन्त्रलाई घाटमा पुर्‍याएर भए पनि नेपाल राष्ट्र बचाउनुपर्छ। देश बचाउने कि गणतन्त्र ? निर्णय तपाईँको !

प्रकाशित: २२ चैत्र २०७५ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App