१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

छनौटमा नपर्ने खेलाडी

एकाएक ऊ 'मेरो खुट्टाले बल हिर्काउन सक्तैन, म हिँड्न, दौडन पनि सक्तैन' भन्दै थुचुक्क बस्यो। उसका कुरा सुनेर प्रशिक्षकले 'एकैछिन आराम गर त्यसपछि ठीक भइहाल्छ' भनी सम्झाए। निकै बेर बेन्चमा बसेर मैदानमा भइरहेको प्रशिक्षण हेर्‍यो उसले। खेलाडीहरू सर्टपास प्रशिक्षण गरिरहेका थिए। उनीहरू पसिनाले निथ्रुक्कै भिजेका देखिन्थे र आउँदो दक्षिण एसियाली खेलको छनौटमा नपरिने हो कि भनेर चिन्तित थिए। तिनका विचारमा जुन खेलाडीमाथि प्रशिक्षक अर्थात गुरुको दृष्टि राम्रो हुन्थ्यो, ती स्वतः छनौटमा पर्थे। तर प्रशिक्षकका दृष्टिमा नपरेका खेलाडी बढी मानसिक द्वन्द्वमा पर्थे। उनीहरू राम्रोसँग सुत्न र खान सक्तैनथे। तिनको पाचन क्रिया गडबड भैरहन्थ्यो। यस्ता खेलाडीले मैदानमा तीन घण्टासम्म प्रशिक्षण लिन सत्तै्कनथे। उनीहरूको थाकेको, गलेको शरीरमा फूर्ति, उत्साह, उमंग, जोस हराएको देखिन्थ्यो। यस्ता मानसिक द्वन्द्वमा परेका खेलाडीको खुट्टा नचल्ने, खुट्टा नउठ्ने, मसल फर्किने हुन्छ। मस्तिष्क र शरीरको तादाम्य हुँदैन। मनले खेल्छु भने पनि शरीरले सत्तै्कन।

वास्तवमा छनौट चरणमा खेलाडीमा धेरै मानसिक उतारचढाव हुन्छ। प्रारम्भिक चरणमा छनौटमा पर्छु भन्ने खेलाडीलाई त्यति मानसिक समस्या हुँदैन। तर नयाँ खेलाडीलाई भने प्रथम चरणमै निकै मानसिक तनाव हुन्छ। उनीहरू प्रशिक्षकलाई देखाउन निकै कस्सिएर खेलिरहेका हुन्छन्। प्रशिक्षणको क्रममा उनीहरू घरिघरी प्रशिक्षककै अगाडि देखा पर्न खोजिरहेका हुन्छन्। यस्तो अवस्थामा प्रशिक्षकले आफ्नो नाम लिएर 'अगाडि बढ् अगाडि बढ््' भनेको सुन्दा उनीहरू मानसिकरूपमा उत्प्रेरित हुँदै ज्यानै माया मारेर खेल्न कस्सिन्छन्।ब

अर्को दिन प्रशिक्षकले तिनको खेलको समीक्षा गरेर अझ बढी प्रयास गर्नुपर्छ भनेको सुन्दा उनीहरू मानसिक तनावमा पर्छन्। गुरुले मलाई छनौट नगर्ने विचार गरे, गुरुले मलाई हटाउने भए, पोहोर पनि गुरुले मलाई छानेनन्, यो गुरु पूर्वाग्रही छ, मैले कहिले पनि राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय म्याच खेल्न नपाउने भए भन्ने जस्ता कुरा दिनहुँ मनभित्र खेलाउन थाल्ने बित्तिकै उनीहरू शारीरिक तहबाट पनि परास्त हुन्छन्। शारीरिकरूपबाट परास्त भएपछि प्रशिक्षण कार्य असन्तुलित हुन्छ। यस्त्ाो अवस्थामा ऐँठन वा दुर्घटना हुन्ा सक्छ।

केहीगरी पहिलो चरण पार गरे भने पनि तिनका लागि दोस्रो चरणको छनोट फलामको चिउराजस्तै हुन्छ। दोस्रो चरणको प्रारम्भिक अवस्था उत्साहप्रद हुन्छ र खुब ध्यान लाएर प्रशिक्षण लिन्छन्। गुरुले गाली गरे पनि सहन्छन्। मेरै खेल सुधार्न उनले त्यसो गरेका हुन् भनेर मनलाई सम्झाउने गर्छन्। आफूभन्दा सिनियर खेलाडीसँग पनि परामर्श गर्छन्। तर जब छनौट हुने दिन नजिक आउँछ अनि तिनमा गम्भीर मानसिक तनाव सुरु हुन्छ। खास गरी निराशाजनक सोचै बढी आउँछ। 'म छनौटमा पर्ने हो कि होइन, म छनौटमा परिनँ भने साथीका अगाडि कसरी मुख देखाउने, घर परिवारले के भन्लान्, अर्को वर्ष म खेल्न पाउँदा कि नपाउँला आदि इत्यादि सोचेर उनीहरू प्रशिक्षणमा सहभागी भइरहेका हुन्छन्। गुरुको आँखामा राम्रो देखिने हरप्रयास गर्छन्। मानसिक रूपबाट परास्त यस्ता खेलाडी छनौटमा नपर्ने धेरै जोखिम हुन्छ। अन्ततः केही गरी छनौटमा परिहाले भने तिनमा आफू राम्रै खेलाडी भएको घमण्ड चढ्छ। यस्तो अवस्थामा उनीहरू उम्दा खेलाडीको जस्तै क्रियाकलाप देखाउन थाल्छन्। नाटकीय व्यवहार गर्छन् र आफ्नोपना हराउन थाल्छ। फलस्वरूप उनीहरू तेस्रो चरणबाट बाहिरिन्छन्। उमेर सीप, क्षमता छ भन्ने लागेमा अर्को वर्ष प्रयास गरौँंला भन्दै खिन्न भएर घर फर्कन्छन्।

हामीकहाँ छनौटमा नपर्ने खेलाडीलाई एकैठाउँमा राखेर 'डिब्रिफिङ' गर्ने चलन पनि छैन। उनीहरूको के केमा गल्ती भयो, त्यस गल्तीलाई कसरी सच्याउने भन्ने जानकारी गराइँदैन्ा। यस्तो अवस्थामा छनौटमा नपर्ने खेलाडीले छनौट समितिलाई तथानाम गाली गर्न पनि पुग्छन्।

एक वा दुई पटक छनौटमा परिएन भनेर खेलाडी निरास हुनु ठीक हुँदैन। आफू कुन विषयमा कमजोर रहेछु भन्ने खोजी गर्नुपर्छ। आफ्नो कमजोर पक्षलाई गुरु वा सिनियर खेलाडीसँग परामर्श गरेर सच्याउनुपर्छ। यसैगरी छनौटमा नपरेका खेलाडीलाई एक ठाउँमा राखेर छनौट समितिले स्पष्टसँग कारण बताइदिनपर्छ। त्यसो गर्न सकियो भने छनौटमा नपरेका खेलाडीको पनि मनोबल उच्च नै राख्न सहयोग पुग्छ। राष्ट्रिय संघहरूले पनि प्रारम्भिक छनौटमा नपरेका खेलाडीलाई पुनः सुधार्ने योजना ल्याउनुपर्छ। हाम्रोजस्तो साधारण प्रतिभाशाली खेलाडीलाई नै परिमार्जित गर्दै राम्रो खेलाडी बनाउनु पर्ने मुलुकमा बल्लबल्ल भेट्टाइएका खेलाडीलाई एक पटक छनौटमा परेनन् भन्दैमा निरास बनाउने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक छ।

प्रकाशित: २१ भाद्र २०६७ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App