१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

जसले डोर्‍याए दुई दशकको नेपाली राजनीति

गिरिजाप्रसाद कोइराला, नेपाली राजनीतिमा सधंै चर्चामा आउने नेता हुन्। नेपाली राजनीतिमा संयोजनकारी भूमिका खेलेर माओवादी द्वन्द्वलाई शान्ति प्रक्रिया हुँदै देशलाई संघीय गणतान्त्रिक मुलुकसम्म पुर्‍याउन कोइरालको योगदान मुलुकले कदापि बिर्सने छैन।  

पार्टी राजनीतिमा पनि उनको भूमिका सफल नै मानिन्छ। नेपाली कांग्रेसको लामो समयसम्म नेतृत्व गरेका उनलाई कार्यकर्तामुखी नेता मानिन्छ। दाजु बीपीको निधनपछि दाजुको ओझ र ‘क्रेज’लाई उनले सहजै थामे। स्पष्ट अडान क्षमताका कारण उनी आफूलाई नेपाली राजनीतिको एक आदर्शको रूपमा स्थापित गराउन सफल भए। दुई दशक कांग्रेसको नेतृत्व गरेका गिरिजाले पार्टीभित्र र देशका समस्यालाई सहजै पार लगाउँदै कुशल नेतृत्वको परिचय बनाएका थिए। पार्टी कमजोर हुँदा होस् या बलियो हुँदा होस् उनी सधैं राजनीतिको केन्द्रमै रहन्थे। 

२०४६ पछि २० वर्षसम्म नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन्, उनी। निडर र निर्भीक नेताको परिचय बनाएका गिरिजाले २०६६ चैत्र ७ गते संसार छाडे। त्यसयता नेपाली राजनीतिमा संयोजनकारी भूमिका खेल्ने शासकको खडेरी जस्तै छ। विषेशतः उनी १० वर्षसम्म सशस्त्र युद्धमार्फत हिंसाको बाटो अपनाइरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर चर्चामा आए। 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा ‘आफ्नै कार्यकर्ता मार्नेलाई बोक्यो’ भनेर उनको आलोचना पनि भएको थियो। तर देशलाई शान्तिको बाटोमा लैजानबाट उनी पछि हटेनन्। पछिल्लो समय नेपाली राजनीति र उनले दुई दशक नेतृत्व गरेको पार्टी कांग्रेसमै पनि उनको अभाव खड्किएको छ। पार्टी अहिले डुलमुल तरिकाबाटै चलिरहेको छ। कांग्रेसमा अहिले स्पष्ट नीति र नेतृत्वको ‘भिजन’ देखिँदैन। कांग्रेसले आगामी दिनमा कुन नीति लिएर अघि बढ्ने हो र जनतामा के आशा बाँड्ने हो भन्नेमा पार्टी कै शीर्ष नेताहरू दोधारमा छन्।

२०४६ पछि २० वर्षसम्म नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन्, उनी। निडर र निर्भीक नेताको परिचय बनाएका गिरिजाले २०६६ चैत्र ७ गते संसार छाडे। त्यसयता नेपाली राजनीतिमा संयोजनकारी भूमिका खेल्ने शासकको खडेरी जस्तै छ।

गिरिजाको नेतृत्वमा तत्कालीन विद्रोही माओवादीसँग भएको १२ बुँदे समझदारी, २०६२/२०६३ को जनआन्दोलन, संघीय गणतन्त्र स्थापनाको मुद्दालाई कांग्रेसले आफ्नो ‘क्रेडिट’को रूपमा लिँदै आएको छ। गिरिजाको निधनपछि कांग्रेसमा संयोजनकारी नेताको खाँचो देखिएको छ। उनको अवसानपछि कांग्रेस एकढिक्का हुन सकेको छैन। पार्टीभित्र सधैं विवाद भइरहन्छ। कोइराला नेतृत्वको कांग्रेस पनि विवादमुक्त भने हुन सकेको थिएन।

तर, उनी आफ्नो निर्णयलाई अन्य नेता तथा मुलुककै लागि पनि सार्थक बनाउन सक्थे। उनको नेतृत्वको कांग्रेस पनि सफल मानिन्छ। नेता कृष्णप्रसाद भट्टराई र गिरिजाबीच पनि लामो समय विवाद भएको थियो। तर उनीहरू एकअर्कामा सम्झौता गरेर विवाद साम्य बनाउँथे। एकआर्काबीच मनमुटाव भए पनि छलफल र वार्ताबाटै समस्याको समाधान निकाल्थे। 

गिरिजाले नै नेतृत्व गर्दा शेरबहादुर देउवा (हालका कांग्रेस सभापति)ले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। तर गिरिजाकै नेतृत्व र पहलमा पछि त्यो पार्टी फेरि कांग्रेसमा समाहित भयो। त्यसैले त अहिले कांग्रेसमा गिरिजाको नामले निकै प्राथमिकता पाउँछ। उनको योगदानको चर्चा पार्टीभित्र भइरहन्छ। 

गिरिजाको शेखपछि कांग्रेस गतिविहीन र दिशाविहीन जस्तै छ। लामो समयदेखि नेपाली राजनीतिमा संयोजनकारी भूमिका खेलेको कांग्रेस आफैं एजेन्डाविहीन जस्तै छ। बरु कांग्रेस आन्तरिक विवादमै रुमलिएको छ। कार्यकर्ताको चाहना र देशको आवश्यकता अनुसारको मुद्दा तय गर्न नसक्दा कांग्रेस २०७४ को निर्वाचनबाट प्रतिपक्षीको भूमिकामा छ। त्यो पनि कमजोर। पार्टीको नेतृत्वबीच एकअर्कामा छलफल हुन छाडिसेकेको जस्तै छ। नेताहरूको दम्भका कारण प्रतिपक्षले उठाउने मुद्दा पार्टीले बिर्सिसकेको जस्तै देखिन्छ। पार्टीका शीर्ष नेता पनि आफ्नो गुट जोगाउन मात्र लागेको क्रमशः प्रमाणित हुँदै गएको छ।

अहिले पनि देशमा सत्ता र प्रतिपक्षबीच ठूलो खाडल छ। सत्तापक्षले प्रतिपक्षको कुरा सुन्ने कुनै धर्यता राखेको देखिँदैन। देशमा अहिले गिरिजाजस्तै मध्यस्तकर्ताको आवश्यकता देख्छन्, गिरिजानिकट भएर काम गरेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। ‘अहिले सत्तापक्ष र प्रतिपक्षको संवादहीनतको अवस्था देखिन्छ। केपी ओलीमा पनि त्यो खाडल चिर्ने क्षमता देखिएन। अहिले गिरिजाबाबु जस्तै व्यक्तिको खाँचो छ’, उनले नागरिक न्युजसँग भने, ‘हुन त उहाँ कुनै चमत्कारी व्यक्ति हैन। तर सत्तामा रहँदा पनि प्रतिपक्षी नेताकोमा आफैं गएर भेट्नुहुन्थ्यो। म आएँ है भन्नुहुन्थ्यो। आफू एक नम्बरमा हुँदा पनि दुई नम्बरको नेता भेटेर समस्या समाधानमा उहाँ लाग्नुहुन्थ्यो। उहाँ मेलमिलापवादी हुनुहुन्थ्यो। अहिलेका नेताहरूमा राजनीतिक सोचन नै देखिएन।’

पार्टीभित्र अहिले नेतृत्वदायी क्षमताको अभाव खड्किएको पार्टीकै नेता बताउँछन्। पार्टीलाई मिलाएर लाने गिरिजाको क्षमताबाट अहिलेको नेतृत्वले केही सिक्न नसकेको विश्लेषक आचार्यको भनाइ छ। ‘पार्टीलाई मिलाएर जाने सन्दर्भमा पुरानो पुस्ताको अभाव देखिन्छ। नयाँ पुस्ताले अझ राम्ररी चलाउन सक्छन् भन्ने आशा थियो। तर नेतृत्वमा त्यो क्षमता र गुणस्तर देखिएन’, आचार्यले भने, ‘गिरिजा भौतिक रूपमा हामीमाझ रहनुहुन्न। उहाँको काम र कार्यदिशालाई अहिलेको पार्टी नेतृत्वले अनुशरण गर्नुपर्छ।’ 

कुनैबेला कांग्रेस र गिरिजामा नेपाली राजनीति घुमेको हुन्थ्यो। देशमा अप्ठ्यारो अवस्था आउँदा कांग्रेसले नै वैकल्पिक बाटो खोजेर समस्याको समाधान गर्ने गथ्र्यो।

गिरिजाले नचाहेको भए देशमा शान्तिप्रक्रिया र राजसंस्थाको अन्त्य सायद असम्भव नै हुने थियो। प्रतिकूल अवस्थालाई पनि अनुकूल बनाउन सक्ने नेताका रूपमा गिरिजालाई व्याख्या गर्छन्, कांग्रेस युवा नेता प्रदीप पौडेल। ‘उहाँ एक विषेश क्षमता भएको नेता हुनुहुन्थ्यो।

अहिलेको नेतृत्वमा त्यो क्षमता खड्किएको छ। उहाँले गणतन्त्रको बाटो नदेखाएको भए अहिले मुलुक गणतन्त्रमा नहुन पनि सक्थ्यो’, उनले भने, ‘माओवादीलाई युद्धबाट शान्तिप्रक्रियामा ल्याउन पनि उहाँमाथि पार्टीकै कार्यकर्ता र नेताको साथ थिएन। माओवादीले युद्धमा कांग्रेसका कार्यकर्ता नै धेरै मारेका थिए। त्यसकारण त्यो बेला कांग्रेस कार्यकर्ताहरू माओवादीसँगको सहकार्य चाहँदैन थिए। तर उहाँले त्यस्तो घेरा तोडेर देशमा शान्ति स्थापना गर्नुभयो।’

कुनैबेला कांग्रेस र गिरिजामा नेपाली राजनीति घुमेको हुन्थ्यो। देशमा अप्ठ्यारो अवस्था आउँदा कांग्रेसले नै वैकल्पिक बाटो खोजेर समस्याको समाधान गर्ने गथ्र्यो। ‘गिरिजाबाबु आफ्नो व्यक्तित्वको उचाइ कायमै राख्दै नेपाली राजनीतिलाई सधैं संयोजन गर्नसक्ने नेता हो। अरू दलसँग समन्वयन गरेर सधैं पार्टीलाई र आफूलाई उहाँले केन्द्रमा राख्नुहुन्थ्यो। त्यसकारण त कांग्रेसको नेतृत्व स्थापित भयो।’

तर अहिले पार्टीमा उच्च मनोबल भएको नेतृत्वको खाँचो खड्किएको युवा नेता पौडेल बताउँछन्। ‘अहिलेको नेतृत्व आन्तरिक समस्या समाधान गर्नसमेत सक्दैन। गिरिजाबाबु उच्च मनोबल भएको नेतृत्व हुनुहुन्थ्यो’, उनले भने, ‘त्यो बेला सधैं कांग्रेस नेपाली राजनीतिको केन्द्रमा हुन्थ्यो तर अहिले निकै कमजोर बनेको छ।’ कांग्रेस नेता डा. शेखर कोइरालाले पनि गिरिजानिकट भएर काम गरे। खासगरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाले नेता कृष्णप्रसाद सिटौलासँगै शेखरलाई पनि खटाउने गर्थे।

गिरिजालाई पारिवारिक रूपमा मात्र नभई राजनीतिक रूपमा पनि नजिकबाट चिनेका शेखर नेपाली राजनीतिमा फेरि गिरिजाको अभाव चुलिएको देख्छन्। गिरिजाबिनाको कांग्रेस शिथिल रहेको डा. कोइरालाको बुझाइ छ। ‘गिरिजाबाबुको अभाव कांग्रेसलाई मात्र होइन, देशलाई नै खड्किएको छ। अहिले यो सरकारको अवस्था हेर्दा विकाराल बन्दै गएको छ’, उनले नागरिकसँग भने, ‘देशमा फेरि विप्लवको विषय पनि आएको छ। यसलाई साम्य बनाउन पनि गिरिजाबाबु जस्तो नेतृत्व आवश्यक छ।’

केही सातायता चर्चामा रहेको सीके राउत र नेत्रविक्रम चन्दको विषयमा पनि नेतृत्वकै कारण कांग्रेसभित्र एक मत हुन नसकेको शेखर बताउँछन्। ‘गिरिजाबाबु जस्तो नेतृत्व भएको भए सीके र विप्लवको प्रतिबन्धको विषयमा पार्टीबाट साझा धारणा आउने थियो। अहिलेको जस्तो नेताहरूको फरक फरक धारणा हुने थिएन’, उनले भने, ‘उहाँ हुनुभएको पार्टीभित्र यस विषयमा छलफल गराइसक्नुहुन्थ्यो। अहिलेको जस्तो आआफ्नै तर्क आउने थिएन।’

कांग्रेसका संस्थापकमध्ये एक गिरिजा क्रान्तिकारी नेताको छवि बनाएका नेता हुन्। उनलाई नजिकबाट चिन्ने पूर्वसांसद पुरुषोत्तम बस्नेत गिरिजालाई अहिलेका नेतासँग तुलना गर्न नमिल्ने बताउँछन्। ‘गिरिजाबाबु एक क्रान्तिकारी नेता हुनुहुन्थ्यो। पार्टी स्थापनाको केही वर्षपछि नै उहाँले विराटनगरबाट मजदुर आन्दोनलको सुरु गर्नुभएको थियो’, उनले भने, ‘जीवनको अन्तिम क्षणसम्म पनि प्रजातन्त्रका निम्ति संघर्ष गर्नुभयो उहाँले।

जब देश संकटमा पथ्र्यो तब उहाँको नाम आउँथ्यो। तर अहिलेका नेतासँग उहाँलाई तुलना गर्न मिल्दैन। उहाँलाई त बीपी, सुवर्ण, गणेशमानहरूसँग तुलना गर्नुपर्छ। उहाँ जीवनको ७० वर्षजति त पार्टी सुदृढीकरणका निम्ति नै लाग्नुभयो। उहाँले सोचेजस्तो कांग्रेस त अहिले छैन।’

 

प्रकाशित: ७ चैत्र २०७५ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App