६ वैशाख २०८१ बिहीबार
विचार

परिवर्तन र समावेशिताका लागि महिला नेतृ

विभिन्न सरकारी तथा बहुपक्षीय संस्थामा काम गरेका हामी महिला सहयात्रीहरू मानवीय राहत कार्यको प्रवद्र्धन, मानव अधिकारका सिद्धान्त तथा तोकिएका नीतिहरूको पक्षमा वकालत, दिगो विकासमा सहयोग र विश्वका जटिलतम द्वन्द्वहरूको समाधानका लागि हाम्रो आवाजमार्फत एकजुट भएका छौँ। हाम्रो यो ग्रह र मानव जातिमा सकारात्मक परिवर्तन ल्याउनका लागि हामी आफैँले बहुपक्षीयवादको अधिकतम उपयोग गरेका छौँ। यतिबेला हामी सबैलाई समाजका सम्पूर्ण तह र तप्कामा महिला सशक्तीकरण र लैंगिक समानताको पूर्णप्राप्तिका लागि ध्यान केन्द्रित गर्न र त्यसका लागि बहुपक्षीयवादलाई साधनका रूपमा अत्यधिक महत्व दिन संयुक्त रूपमा आह्वान गर्छौं।

आ–आफ्नो क्षेत्रमा काम गर्ने अगुवा महिलाका रूपमा हामीले भोकमरीको अन्त्य गर्नेदेखि लिएर शान्ति र सुरक्षाको प्रत्याभूत गर्नेसम्मका र प्राकृतिक तथा मानवजन्य विपत्तिमा तत्काल आपतकालीन मानवीय सहायता पु¥याउनेदेखि लिएर महिला, बालबालिका, सीमान्तीकृत तथा अपांगता भएका जनसंख्यालगायतको मानव अधिकार सुनिश्चित गर्नेसम्मका चुनौतीविरुद्ध स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा संघर्ष गरेका छौँ। यस सन्दर्भमा हामी दिगो विकासको जगमा टेकेर एवं समस्याको दीर्घकालीन समाधानमा आधारित भएर काम गरेका छौँ। विशेष गरी हामीले अति जोखिममा परेकाहरूका लागि उनीहरूसँग नै मिलेर काम गर्दै आएका छौँ। त्यसैले, हामी यस्ता अति जोखिममा परेकाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने कार्यका लागि दृढसंकल्पित छौँ। शान्ति स्थापना र यसको स्थायित्वका खातिर महिलाको पूर्ण सहभागिता हुनुपर्छ र महिलाको क्षमताको पूर्ण रूपमा उजागर हुनुपर्छ भन्नेमा हाम्रो अटल विश्वास छ।

लैंगिक समानता र महिला सशक्तीकरणको मुद्दालाई अझ उचाइमा पु¥याउन सामूहिक जिम्मेवारी बोध अपरिहार्य छ भन्ने कुरा हामीलाई हाम्रो अनुभवले सिकाएको छ। दशकौँको उल्लेख्य प्रगतिका बाबजुद अवसर, स्वतन्त्रता र अधिकार जस्ता विषयलाई लैंगिकताले सीमित गर्न सक्दैन भन्ने तथ्य आमरूपमा अहिलेसम्म पनि ग्राह्य हुन सकेको छैन। महिलाका मौलिक अधिकारहरू वर्तमान सत्ता संरचनालाई प्रत्यक्ष रूपमा कमजोर पार्ने चुनौती हुन् भनी कहीँ कतै व्याख्या गरिनु हाम्रा लागि अझ चिन्ताको विषय बनेको छ। यस्ता व्याख्याले महिलाका अधिकार तथा लैंगिक समानता र महिला सशक्तीकरणका पक्षमा ठूलो मूल्य चुकाएर हामीले प्राप्त गरेका ऐतिहासिक बेइजिङ घोषणा तथा कार्ययोजना–१९९५ र महिला, शान्ति तथा सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को निर्णय नं. १३२५ लगायतले प्रत्याभूत गरेका उपलब्धिहरू गुम्ने या कमजोर हुँदै जाने खतरा हुन सक्छ।

महिलाले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक संरचना र सामाजिक—आर्थिक, वैज्ञानिक तथा दिगो विकाससम्बन्धी बहसहरूमा अर्थपूर्ण स्थान ओगट्ने क्रम बढिरहेको छ र नागरिक समाजमार्फत हामी विभिन्न अभियानहरूमा संलग्न हुँदै पनि आएका छौँ। तर, बेइजिङ घोषणाको २५ वर्ष पनि नपुग्दै हामीले हासिल गरेका उपलब्धिहरूमा थप प्रगति हुन नदिने तथा महिलाले प्राप्त गरेका अधिकारहरू कमजोर बनाउने खालका गतिविधिहरू बढ्दै गएको हामीले देखेका छौँ।

यस्तो प्रतिगामी कदमले ‘परिवर्तन र समावेशिताका लागि महिला आवाज’ भन्ने मूल नाराको मर्मलाई आत्मसात् गर्न संयुक्त प्रयासका लागि हामीलाई बढी प्रेरित गरेको छ। महिला अगुवाका रूपमा हामीले सरकार, निजी क्षेत्र र नागरिक समाजलाई लैंगिक समानता र समावेशिता हासिल हुने गरी कानुनी तथा सामाजिक संरचनामा थप लगानी गर्न आग्रह गर्छौँ। जहाँ जहाँ अहिले हाम्रो प्रयास पर्याप्त छैन, त्यहाँ त्यहाँ त्यस्तो प्रयास दुई गुणाले वृद्धि गरौँ भन्ने पनि हाम्रो आह्वान हो। लैंगिक समानताको मुद्दालाई रोक्न र कमजोर बनाउन खोज्ने राजनीतिक चुनौती भनेको महिलाका लागि मात्र चुनौती नभई सिंगो मानव जातिकै लागि चुनौतीको विषय हो भन्ने कुरामा हामी विशेष जोड दिन चाहन्छौँ किनकि यसो हुँदा विश्वको आधा जनसंख्या आफ्नो पूर्ण क्षमताको उपयोग गर्नबाट वञ्चित हुन्छ।

दिगो विकासका लागि एजेन्डा २०३०, पेरिस सहमति, महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मुलनसम्बन्धी महासन्धिजस्ता विश्वव्यापी सन्धि सम्झौता तथा महासन्धिहरू बहुपक्षीयवादकै उपलब्धि हुन् र आज ती सबैको महत्वाकांक्षी लक्ष्यलाई आत्मसात् गर्नका लागि हाम्रो संयुक्त प्रयास नितान्त आवश्यक छ। ती सबैले वर्तमान र भावी पुस्ताका आशा र आकांक्षाहरूको प्रतिनिधित्व गर्छन्। तथापि, ती परिवर्तनकारी सहमतिका दस्तावेजहरूमाथि आज प्रश्न चिह्न खडा गरिनु चिन्ताको विषय बनेको छ।

हामी यो खुलापत्रमा हाम्रो नाम पनि यसकारण समावेश गरेका छौँ कि विविध पृष्ठभूमिबाट आएका महिला नेत्रीको हैसियतले हामीले हाम्रा आवाज र अनुभवलाई अधिकतम बुलन्द गर्दै यो सन्देशलाई सर्वत्र सञ्चार गर्न सकौँ।

आगामी हप्ता वा महिनामा हामी विभिन्न माध्यमबाट आवाज उठाउनेछौँ र आ–आफ्नो क्षेत्रमा काम गरिरहेका महिला नेत्री भएका नाताले हामी हाम्रा साझा दृष्टिकोण र अनुभव संग्रहित हुने गरी हाम्रा विचार संसारभरका प्रकाशनमा प्रकाशित गर्नेछौँ। यस्तो प्रकाशनले महिलाहरू बहुआयामिक नायक हुन् भन्ने बुझाउन मात्र सहयोग गर्नेछैन बरू त्यहाँ उठेका विचार र दृष्टिकोणलाई कार्य क्षेत्रमा उतार्न र भोलिका महिला नेत्रीहरूलाई त्यसको नेतृत्व लिन र पैरवी गर्न पनि सहयोग गर्नेछ। हामीले महिला नेतृत्वको जुन स्थान सरकारी, निजी क्षेत्र र नागरिक समाजमा आज पाएका छौँ, त्यो त्यति सजिलोसँग पाएका होइनौँ। त्यसकारण त्यसलाई सामान्य ठान्नु हुँदैन। यो त महिलाको लामो संघर्ष र बलिदानको उपज हो। आज राजनीतिक शक्तिहरूले हामीले विश्वव्यापी घोषणामार्फत राष्ट्रिय स्तरमा गर्न सकेको प्रगतिलाई कमजोर बनाउने प्रयत्न गर्दैछन्। ती शक्तिहरू आफ्नो अभीष्टमा सफल हुने नहुने कुरा आज र भोलिका महिला नेतृत्वलगायत महिलाका पक्षमा उभिने जो कोहीले यो विषयको गहनतालाई कति गम्भीरतापूर्वक बुझेका छन् र यो पेचिलो समयमा त्यसविरुद्ध कति सक्रियतापूर्वक लाग्न सक्छन् भन्ने कुरामा भर पर्छ।

(करेन अबुजायद, सामशाद अख्तर, अमत अल्सोस्वा, भालेरी आमोस, जैनब बाङगुरा, कारोल बेलामी, क्याथरिन बर्टिनी, इरिना बोकोभा, जिना क्यासर, मार्गारेट चान, जुडी चेङ–होप्किन्स, हेलेन क्लार्क, राधिका कुमारास्वामी, एर्था्रिन कजिन, क्रिस्टियाना फिगरेस, लुइस फ्रेचेट, क्रिस्टिना ग्यालाक, रेबेका ग्रिनस्पान, अमिरा हक, नोयलिन हेजर, एञ्जेला केन, एलिजाबेथ लिन्डेनमेयर, सुसाना माल्कोरा, पूर्णिमा मेन,ऐचाटो मिन्दाउदु, फ्लाभिया पान्सिरी, नाभी पिले, म्यारी रोबिन्सन, जोसेट सिरान, मारी साइमोनेन, फतिहा सेरोउर, आन भेनेमान, साहले–वर्क जेव्दे)

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App