८ वैशाख २०८१ शनिबार
विचार

किरात गुरुआमा पवित्रहाङको पवित्रता

ब्रह्माण्डको एउटा सानो अण्डारुपी पिण्ड हो पृथ्वी, जसलाई हामी धरती माता भन्छौँ, यो भूमि वा भूलोकमा भगवानरुपी ईश्वरीय दूतहरू आउने जाने क्रमिक चक्रलाई मुन्धुमी भाषामा:

“पोङ्मादेन, तामादेन वामादेन पेक्मादेन” अर्थात् जन्मने, आउने, बस्ने र जाने ठाउँ यही लोक हो। यो लोक भन्दा कुनै अर्को लोक स्वर्ग छैन। आमारुपी संसारमा किरात धर्मका गुरुआमा साँबा पवित्रहाङ्मा लिङ्देनको जन्म अवतरण किरात कुलमा भयो।

यदा यदाही धर्मस्य ग्लानीर्भवति भारत। 
अम्युत्थानम्धर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्। 
धर्म संस्थपनार्थाय संभावामि युगे युगे।।

जबजब धर्मको नाश र पापको जल्दोबल्दो अवस्थामा पापको विनाश र धर्मको रक्षा स्थापनार्थ म आफैँ युगयुगमा अवतरण गर्छु भनी धर्मशास्त्रले स्पष्ट भन्छ। धर्मशास्त्रको अस्त्रअनुसार विधिको विधान, प्रकृतिको नियम अकाट्य छ भन्ने वस्तुगत सत्य कुरा हो। 

किरात सभ्यताका लामो खण्डकाल अर्थात् सुवेन्दीङ सुनुहाङ्मा पछि अर्की युग नेत्री लक्ष्मी, सरस्वतीका रूपमा २०१३ फागुन ३ गते पूर्णिमाको पूर्णतिथि चन्द्रमा झैँ ज्योतिरुपी पवित्रहाङ्माको याक्थुङ वंश साँबाकुलमा जन्म अवतरण भयो। मेची अञ्चल इलाम जिल्लाको मिक्लाजुङ थुम क्षेत्रमा बाँझो गाविसको हाल– माङसेबुङ गापा–५, उत्तरे सुन्दर रमणीय गाउँका ६० मुरे सुब्बा खलकका अमाली पिता–वृर्खधोज साँवा, माता–कौशिला साम्सुहाङ राईको गर्भबाट ज्येष्ठ सपुत्रीका रूपमा जन्म भयो। अवतारवादलाई “मुहिगुम अङसीमाङ” भन्छौँ। 

मुहिगुम अङ्सीमामाङ्को शिशुकाल आश्चर्यजनक थियो। तेजोत्व नेत्र, मुस्कुराहट मस्कान, हँसिलो ३२ लक्षणकी बालिकाको प्रतिभा असाधारण थियो। लिम्बू परिवारमा सुत्केरीलाई घरको कुनामा जाँडको घ्याम्पाबाट तङ्बा र कुखुराको मासु अनि तिनपाने रक्सी र १२ मसला आदि आहारा प्रसिद्ध परम्पराको विपरीत विशुद्ध शाकाहारीमा खानापिना हुँँदा अनौठो अनुभूति भयो। मादक पदार्थ मासुमंस निषेध, धूमपान प्रतिबन्धका बाबजुद शुद्ध निरामिस शाकाहारी भोजन जन्मसिद्ध चरित्र, लिम्बूवानका लिम्बूवानीहरूको ऐतिहासिक कीर्तिमान प्रथम थियो।

“माङसा हाङ्सा तागेरा निङ्वाभूमाङ्सा।” 
सम्पूर्ण मनुष्यहरू देवपुत्र राजपुत्र ईश्वर पुत्रपुत्री हुन्।
ममैवांशो जीवलोके जीवभूतः सनातनः। 
मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति।।

सबै जीव र मानवहरू ईश्वरका सन्तान हुन् भनिइएकाले मानिस जन्मले ईश्वर पुत्रपुत्री भएपछि ईश्वरको कर्म पालना गर्नुपर्छ। सुर मान्छे असुर भएर देवता मानव दैत्य बन्न गयो भने त्यही हो राक्षसी कर्म असुर धर्म। यस शृंखलाबाट मुक्त हुन देवकर्म, देवधर्म देवताको व्यवहार गरी कर्मशील भगवान्को चरित्र गर्ने वास्तविक नर नारी नै  भगवान् कहलिन्छ। 

अतः मानिस जन्म र कर्म दुवैले भगवान् होइन्छ। स्थिर मन, शान्त स्वभाव, सन्तोषी, नम्रताभाषी, बालिकाको बालककाल घाँसपात, दाउरा, कुटो कोदालो, गाईभैँसी, खोलानाला, खेतीपाती घरव्यवहार घरधन्दामा बितेकाले स्कूलमा पढलेख गर्ने अवसर नमिलेकामा उनै तागेरानिङ्वाभूमाङ्को संयोेगले एकान्तपन, ध्यान, ज्ञान, गुरुकुल शिक्षादीक्षामा तल्लीनताले उहाँमा आत्मिक ज्ञान, आध्यात्मिक विवेक, प्राप्त गरी आत्मज्योति उदयमान हुनुले देवीरुपी ईश्वरीय अवतारी हुन् भन्ने स्पष्ट भएको थियो। यही क्रममा जवानी अवस्थामा आउँदै आफू सम्भवतः आजीवन सन्यास व्रत धारण गरी जीवन बिताउने लक्ष्यमा हुनुहुन्थ्यो।

देव विवाह “तेन्दाम मेक्खिम” किरात धर्मगुरु मुहिगुम अङ्सीमाङ् आत्मानन्द लिङ्देन एकपटक सिद्धिशक्तिको अभियानमा कुम्भकर्ण फक्ताङ्लुङ देवदर्शन गर्न हिमालय शृंखलामा तपस्यारत अवस्थाको सेरोफेरोमा साथमा सेवारत भक्त जौवारी कान्छा डिल्लीप्रसाद तुम्बापोले गम्भीर मुद्रामा गुरु चरणमा प्रश्न गरे। गुरुदेव, यो लोकमा हजुर थेःबामाङ विष्णु रूपमा अवतरित हुनु भएको देवातार मुहिगुम अङ्सीमाङ हुनुहुन्छ।

 यसमा युमामाङरूपी लक्ष्मी देवीको अवतार पृथ्वीमा झरेकी छन् कि छैनन् भनी प्रश्न जाहेर विन्ती भाउ गर्दा प्रश्नको उत्तरमा अवतरण  भएको छ भनी देववाणी गर्नु भएपछि किरातेश्वरदेव आत्मानन्द गुरुको उनै लक्ष्मीरुपी देवी युमाःसँग देवविवाह हुन्छ भन्ने भावी पक्कापक्की थियो। तर अब जिज्ञासापूर्ण प्रश्न तेर्सियो कि उनी को हुन् लक्ष्मीरुपी मुहिगुम अङ्सीमामाङ् युमालाई प्रत्यक्ष कसरी चिन्नु र साक्षात्कार गर्न गाह्रो भयो। दृश्य चिन्नु सजिलो अदृश्य अनुसन्धान गर्न असम्भवः यसमा पनि ईश्वरमाङको जन्म अवतारको रहस्यात्मक मापदण्ड छैन। 

२०३२ माघ २२ गते वसन्त पञ्चमी पुण्य तिथिमा विधिवत देवविवाह सम्पन्न भयो। महागुरु फाल्गुनन्दले आफ्नो अन्तिम वाक्यमा आफ्नो अवतारबारे चेला भूला हो हाम्रो चाँडै भेट हुन्छ, यही कुलमा आउँछु, म संसारिक जीवनमा हुन्छु त्यो बेला चिन्नु है, सांंसारिक जीवनयापन गर्दै महागुरुको अपुरो कामलाई पूरा गर्न फाल्गुनन्द अवतार उहाँकै पनाति आत्मानन्दसँगको यो देवविवाहले सारभूतरूपमा सिद्ध गरायो। पूर्वजन्ममा ब्रह्मचर्य व्रतमा आजीवनरत महागुरु फाल्गुनन्दको यो जन्ममा भने अङसीमामाङ पवित्र हाङमासँगको सांसारिक जीवनयात्राले नयाँ दर्शन पायो।

देवविवाहपश्चात् पूर्वाञ्चलका सम्पूर्ण भक्तजनहरूको घरघरमा आगमनका साथै किरातेश्वर मन्दिरहरूमा एकाएक माङसवारी हुनुले किरात धर्मावलम्बीहरूको भक्तभक्त र घरघरमा अपार परमानन्दले छायो। धर्म गुरुआमा आमाको गर्भमा हुँदा भविष्यवाणी यसो भनेका रहेछ कि छोरा जन्मे बुबालाई हानि गर्छ, छोरी जन्मे महाशक्तिशाली हुने भनेझैँ गुरुआमाको सिद्धिशक्ति चर्चा गरी साध्य छैन। ६ भाइ छोरा, ६ बहिनी छोरीको माता हुनु भएका उहाँको अविरल प्रयासले गुरु आश्रमका खेतीपाती रेखदेख नियन्त्रण र किरात धर्म उत्थानमा कृषि व्यवसायको उदाहरणीय मार्गदर्शन रहेको छ।

साधारण जीवनदेखि मानव मोक्षका ज्ञाता गुरुआमा त्रिकालदर्शी हुनुहुन्छ। मेरो जन्म महागुरु फाल्गुनन्दको मुक्तिज्ञानलाई अक्षरशः पूरा गर्न कर्मक्षेत्रमा कार्यान्वयन गर्न औ आत्मानन्द रूपमा अवतरित मुहिगुम अङ्सीमाङ्को दायाँबायाँ  शक्तिका रूपमा आएको हुँ भन्ने उद्घोषले उहाँमा अवतारको अद्वितीय महत्व जानेर जानी नसक्नु, बुझेर बुझी नसक्नु, लेखेर लेखिनसक्नु छ। 

देवपुत्रपुत्री अर्थात् माङ्सा हाङ्सा तागेरानिङ्वाभूमाङ्साः भएर मानव जातिले हत्या हिंसा नगर्नू। हिंसा पाप, अहिंसा धर्म हो। धर्मले मात्र  संसार बाँचेको छ। किरात जनजाति वा अन्य धर्मावलम्बी कसैले ईष्ट देवीमा बलि पूजा, जीवहत्याद्वारा सेवा गर्नु हुँदैन जुन पशुलाई हत्या गर्‍यो, त्यो खुनले पिर्छ र अर्को जन्ममा उसले बदला लिन्छ, ज्यानको बदला ज्यान र खुनको बदला खुनै लिने हुँदा हत्या हिंसा बन्द गर्नु गराउनू। आफूदेखि माथिको आज्ञापालन र मुनिलाई माया गर्नु। दया, अहिंसा, सत्य र शान्ति मानवीय धर्मका अपार गुणहरू हुन्। झुटाभन्दा ठूलो पाप र सत्य भन्दा विशाल धर्म अर्को छैन। मागी खानुभन्दा गरिखानु बेस छ। मानव चोला कर्म गरी खाने हो, कर्म नै धर्म हो र धर्म भन्नु कर्म गर्नु हो।
जस्तो धर्म उस्तै  कर्म ! 
जस्तो कर्म त्यस्तै धर्म !!

उनै गुरुआमा पवित्रहाङमाको ६३ औँ शुभजन्मोत्सवको मंगलमय शुभकामना चढाउँदै परमात्मा परमेश्वर तागेरा निङ्वाभूमाङ्मा प्रार्थना गर्छु। 
किरात धर्मको – जय ! 
मुहिगुम अङसीमाङ फाल्गुनन्द –अमर रहुन् !
मुहिगुम अङसीमाङ आत्मानन्द – चिरायू रहुन् ! 
मुहिगुम अङ्सीमाङ् पवित्रहाङ्मा – चिरायू रहुन्  !

 

प्रकाशित: २ फाल्गुन २०७५ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App