१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

एक्लो वृहस्पति डा. केसी

प्राथमिक विद्यालयदेखि हाइस्कुल हुँदै कलेज जीवनसम्म पनि नेपालका गुरुहरूले के भएर हो कुन्नि ‘कला र विज्ञान’ बारे निवन्ध लेख्न लगाइरहन्थे। प्राथमिक स्कुलदेखि विश्वविद्यालयसम्म पढ्दा पनि यो निवन्धले कहिल्यै पिछा छाडेनन्। केही विषय नै त्यस्ता हुन्छन् जसलाई कुनै उमेर र समयले चर्चा गर्न रोक्दैन। ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने अर्को निवन्ध पनि त्यसैगरी शताब्दियौँदेखि मानव सभ्यताबीच चर्चा, बहस र छलफलको विषय बनिरहेकै छ।

कला ठूलो कि विज्ञान? विराटनगरको कलेजमा स्नातकसम्म आइपुग्दा मैले कक्षा उत्तीर्ण हुनका लागि केही नबुझी आफ्नै पाराले लेखे हुँला भन्ने सम्झन्छु। यो विषयको गहनता र गम्भीरता मलाई त्यतिखेर ठूलो लाग्यो जब२०३६ सालको जनमत संग्रहको पराजयपछि बिपी कोइरालाले विराटनगरमा किसान आमसभालाई सम्बोधन गरी फर्कनुभयो। बिपी विराटनगरस्थित कोइराला निवासको वरण्डामा हुनुहुन्थ्यो। उहाँका अगाडि २००७ सालमा सशस्त्र क्रान्ति गर्दा बन्दूक उठाउने मुक्ति चापागाईँ हुनुहुन्थ्यो। अग्रज पुस्ताहरूबाट बिपी घेरिनुभएकाले हाम्रो पुस्ताका सबै त्यहाँ स्रोतामात्र थिए। त्यो समय इरानका राजा आन्दोलनबाट फ्याँकिएको चर्चा चलिरहेको थियो। बिपीलाई नेपालमा राजतन्त्र भएसम्म लोकतन्त्रको सम्भावना छैन भन्ने दबाब उपस्थित बिपीकै मित्रमण्डलीबाट भइरहेको थियो। जनमत संग्रहको पराजयबाट निराश र हताश २००७ र २०१७ साले कांग्रेसीहरूमाझ बिपीले विकासको आर्थिक मुद्दा झिक्नुभयो विषयान्तर गर्न। काठमाडौँ, विराटनगर र पोखरा जस्ता केही सहरमा विदेशी सहयोगले घरहरू बने, केही बाटाघाटा निर्माण भए होलातर विकास यो होइन भन्ने जिकिर बिपीको थियो।

नेपाली समाजको गिर्दो नैतिक पतनलाई उकास्ने यतिखेर विम्ब डा. केसी हुन्। रुसो र बिपीले धेरै अगाडि यो शक्ति बुझे, लेखे र म जस्तालाई पनि बुझाए, झक्झकाए। चेतना भया।

बिपीले सुमेकरको ‘स्मल इज ब्युटीफुल’ भन्ने पुस्तकबारे चर्चा राजादेखि रंकसंम्म गर्नुभयो। तर धेरैले नोटिस गर्न नभ्याएको तर मेरा लागि भने दिव्यज्ञानझैँ  भएर त्यही कोइराला निवासको वरण्डामा बिपीले अर्को विषय दिनुभयो। बिपीले ‘पुनर्जागरणकाल र इनलाइटमेन्टकाल’ बाट युरोपमा भएको विकासलाई कसरी कला र विज्ञान निवन्धको माध्यमबाट जिन ज्याक रुसोले तत्कालीन पेरिसका सम्भ्रान्तबीच नयाँ ‘डिस्कोर्स’ अगाडि सारे भनी त्यसको संक्षिप्त व्याख्या गर्नुभयो। म झस्किएँ।

केटाकेटीदेखि परीक्षा उत्तीर्ण हुन लेखिरहेको विषयमाथि बिपीले फरक आयामबाट अठाराँै शताव्दीको मध्यमा रुसोले लेखेका निवन्ध भनिरहँदा मेरो ध्यान बिपी वाणीमा एकाग्र भयो। मलाई फ्रेन्चको राज्यक्रान्ति, रुसोका विचार र रुसोकै विचारमा टेकेर कार्ल माक्र्सले निर्माण गरेको समाज विज्ञानबारे केही जानकारी थिएन। बिपीले युरोपमा भौतिकवादको विकाससंँगै समाजको,राजनीतिको र संस्कृतिको नैतिक पतन भएकोबारे रुसोको कला र विज्ञान निवन्धमा छ भन्नुभयो।

नेपालमा भुइँफुट्टा वर्गको निर्माण विदेशी सहयोगले गर्छ भनी भित्रैबाट बिपी दुखित भएको कुरा कैयन् पटक आफ्ना कार्यकर्तामाझ भन्नुहुन्थ्यो।देशी वा विदेशी पैसाको चलखेलले राजनीति, समाज र संस्कृतिमाथि विदेशीको नियन्त्रण हुन्छ भन्ने मान्यता बिपीको सारगर्भित संवादको डिस्कोर्स हुन्थ्यो तिनताका। बिपीको कुरा सुनेपछि  मलाई खोजेर रुसोको पहिलो डिस्कोर्स कला र विज्ञान पढ्ने हुटहुटी भयो।

वर्तमान प्रम ओलीमात्र होइन विगतका प्रमहरू पनि डा.केसीसँग आँखा जुधाएर कुरा गर्ने हिम्मत गर्न सकेनन् किन ? वास्तवमा डा. केसीको अनशनबाट भन्दा पनि प्रमहरू आफ्नै छायाँ र विगतबाट तर्सेका छन्।

नेपाल आज अठाराैँ शताव्दीको मध्यमा जिन ज्याक रुसोले युरोपको समाज विज्ञानबारे गरेको अवस्थामा छ भन्दा हुन्छ। बिपीले यो अवस्थाको कल्पना गर्नुभएको थियो। नैतिक पतनको तल्लो स्तरमा नेपालको राजनीतिमात्र छैन, कर्मचारीतन्त्र, अदालत, सार्वजनिक शिक्षा र स्वास्थ, यातायत सर्वत्र देखिन्छ। आमनेपालीयो कहालीलाग्दो अवस्था बेहोर्न बाध्य छन्।

नेपालमा विज्ञानको विकास शून्य छ, कलाको विकास वामे सर्दैछ। तर पनि केही भौतिक विकासका आयाम अगाडि आएका छन्। उपभोग्य सामग्रीले काठमाडौँमात्र होइन, अब तराई र पहाडका डाँडाकाँडा पनि भरिएका छन्। अर्थ मन्त्रालयको मिसन नै विलासिताका वस्तुबाट राजश्व उठाउने भएपछि दिगो विकासको नारा स्विट्जरल्यान्डको डागोसदेखि संयुक्त राष्ट्र संघको न्युयोर्क भवनसम्म सीमित नभए के हुने ? यसैक्रममा प्रतिपक्षका नेता शेरबहादुर देउवा कांग्रेस पार्टीमा छाडातन्त्र भयो भनी भाषण दिँदैछन। देउवाले सत्य बोले। कांग्रेसमा राजनीतिक र नैतिक पतन डरलाग्दो भएको छ। तर कांग्रेस सभापति देउवाले भनेझैँ छाडातन्त्रको स्रोत कहाँ छ? राजनीतिमा नैतिक पतनको स्रोत कहाँछ?उनैले आत्मसमीक्षा गर्न जरुरी छ।

चरम उपभोक्तावादी समाज नेपालमा निर्माण भइरहँदा असमानता र विभेद पनि त्यसैगरी चरमरूपमा फराकिलो बन्दैछ। अशान्त र अस्थिर नेपाल निर्माणको जग यही हो। केहीलाई चैन र सर्वसाधारणलाई ऐन, अपमान अभाव दिएर शान्ति र समृद्धिको नेपाल निर्माण गर्न सम्भव छैन। नेपाली समाज अक्सफोर्ड विश्विद्यालयका गुुरु पंकज मिश्रले ‘द एज अफ एङ्गर’ नामका पुस्तकमा भनेझैँ क्रोध र हिंसाको चक्रब्यूहमा फस्नेछ। सडक अशान्त हुनेछ ‘यो र त्यो’ नारामा।

सहर र गाउँमा बाइक स्पिडले गुडाउँदा युवाहरू देश र सरकारसँग क्रोध व्यक्त गरिरहेका छन्। उनीहरू नियम, कानुन र बन्देज तोडेर राज्यलाई चुनौती दिन तम्सेका हुन्। विदेश जाने लाखौँ युवाहरू नेपाल सरकार नपुंसक छ भन्ने प्रमाण संसारभर फिँजाइरहेका छन् रोजगारीका लागि भौतारिँदा। उच्च र मध्यमवर्ग युवा आफ्नो पितापुर्खाको सम्पत्ति मासेरमात्र होइन, अनैतिक किसिमले कमाएको पैसा उडाएर अस्ट्रेलिया, अमेरिका र युरोप पढ्न र घरजम गर्न जाँदैछन्। अब त सर्वोच्च अदालतदेखि उपसचिवसम्मले डलरमा घूस माग्छन् र विदेशी खातामा जम्मा गराउँछन् भन्ने आमचर्चा चल्न थालेको छ। नैतिक पतन भएर भुइँफुट्टावर्गको रजाईँ हुन्छ विदेशी सहयोगले नेपालमा भन्ने भविष्यवाणी बिपीले गरेका थिए आजभन्दा चार दशकअगाडि। तीअझै असान्दर्भिक छैनन्।

स्थानीय र प्रदेशका जनप्रतिनिधिहरू जनतालाई सेवा दिन होइन, आफ्नो सुविधा बढाउन राष्ट्रपतिदेखि मन्त्रीहरूको भद्धा नकल गर्न तम्सिएका छन्। ‘बढाले जो गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत’ भन्ने उखान स्थानीय प्रतिनिधि सिक्दैछन्। कुन नैतिक शक्तिले राष्ट्रपति, प्रम र मन्त्रीहरूले प्रदेश र स्थानीय निकायमा बाटो देखाउने ? मितव्ययी हुन सिकाउने ? आफैँ बाटो बिराएपछि। स्थानीय र प्रदेशमा अरबौँ रुपियाँ गाडी किन्न खर्च भएको छापाहरूमा पढ्न पाइन्छ। भत्ता र भ्रमणको कुरा गरिसाध्य छैन। यस्तो हुनुमा केन्द्रीय सरकार भद्धा, भड्किलो र फजुल खर्ची भएर हो। नेपाली राजनीतिमा भित्रिएको विकृति र विसंगति अब नेपाली समाजले थेग्न नसक्ने गरी गाह्रो भइरहेको छ। आज बिपी कोइराला र जिन ज्याक रुसोको स्मरण गर्नुपर्ने कारण यही हो।

प्रधानमन्त्री खड्ग ओली आफ्नो दलबलसहित स्विट्जरल्यान्डको डावोस उडे गत आइतबार। देशको प्रधानमन्त्री विश्व आर्थिक मञ्चमा सहभागी हुन जाँदा एउटा अदना नेपाली नागरिक महाराजगन्जको शिक्षण अस्पतालमा झण्डै दुई हप्तादेखि अनशनरत छ। डा. गोविन्द केसी के हुन्, को हुन् ? पुँजीपति हुन् कि समाजवादी हुन् कि साम्यवादी हुन्कि सामाजिक अभियन्ता हुन् कि के हुन्? जति गाह्रो डा. केसीलाई बुझ्न छ त्योभन्दा कैयन् गुणा गाह्रो प्रम खड्ग ओली सरकारको नियत र चरित्र बुझ्न गाह्रो छ।

कसको सरकार छ अहिले नेपालमा ? कम्युनिस्टको हो कि पुँजीपतिको हो ? दलाल पुँजीपतिको हो कि कसको ? संविधानमा समाजवादउन्मुख राष्ट्र नेपाल हुनेछ भनेको छ। के हो समाजवाद भनेको ? समाजमा असमानतालाई फराकिलो बनाउने सरकारको चालढाल नै समाजवाद हो कि ? शिक्षा र स्वास्थ्य क्षेत्र दुईथरी वर्ग निर्माणका आधार भएका छन् नेपालमा। त्यही समाजवाद हो कि ? नेपालको सडक सधैँ तताउनेदेखि संसारभरनेपाली युवाहरूलाई देशबाट खेद्ने प्रपञ्च रच्ने माध्यम यही दुईथरीको सामाजिक पूर्वाधार भएको छ। यही समाजवाद हो कि ? के हो समाजवाद दुईतिहाइ कम्युनिस्ट सरकारको ?

जीवन–मरणको दोसाँधमा पुगेका डा. गोविन्द केसी सत्याग्रही हुन्, समाजवादीझैँ देखिन्छन्। उनी  सरकारले तीन करोड नेपालीलाई ‘चिकित्सा शिक्षा विधेयक’ मा ठगेको आरोप प्रममाथि लगाउँछन् र पटकपटक अनशन बस्छन्। गोविन्द केसीको नैतिक शक्तिसामु सबै सरकार सधैँ कमजोर र निरीह देखिएका छन्। वर्तमान प्रम ओलीमात्र होइन विगतका प्रमहरू पनि डा.केसीसँग आँखा जुधाएर कुरा गर्ने हिम्मत गर्न सकेनन् किन ? वास्तवमा डा. केसीको अनशनबाट भन्दा पनि प्रमहरू आफ्नै छायाँ र विगतबाट तर्सेका छन्।

नेपालको राजनीतिक आन्दोलनमा थुप्रैले अनशन बसे तर टिकेनन्। अनशन बसेर बिपीले तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरलाई झुकाए।  गोविन्द केसीले जनतालाई जगाए। डा. केसीले जुन माग अगाडि सारेका छन् बिपीदेखि खड्ग ओलीसम्मले विगतमा यही माग अगाडि सारेर त राजनीति गरेका हुन्। जनताको भरोसा र विश्वास जितेका हुन्। निर्वाचन जितेपछि प्रम र मन्त्रीहरू दलाल पुँजीपतिको संरक्षण र श्रीवृद्धि गर्न लागिपरेका छन् भन्ने आरोप खेप्दैछन्। डा. गोविन्द केसी राजनीतिज्ञलाई जनतासँग गरेको वाचा र भरोसा नतोड भनी आफ्नो जीवन दाउमा राख्न बाध्य छन्। डा.केसी नेपालको राजनीतिलाई सफा, भरपर्दो र जनताबीच विश्वसनीय बनाउन लागिपर्दा राजनीतिज्ञहरू कुरूप र अविश्वसनीय राजनीतिको निरन्तरता दिन अदना सत्याग्रहीसँग आँखा जुधाउन नसक्ने भएका छन्। डा. केसी यतिखेरको नेपालमा एक्लो वृहस्पति भएका छन्।

एक वर्षअगाडि भएको आमनिर्वाचनको माध्यमबाट दुईतिहाइको कम्युनिस्ट सरकार छ नेपालमा। सरकारले तीनपटक आफ्नो एकवर्षे कार्यकालको मूल्यांकन गरेको छ रंगीन कलेवरमा। सम्भवत सरकार आफँैले गरेको आफ्नो मूल्यांकन पुस्तिकालाई डावोसमा वितरण पनि गर्ला। तर डावोस गए पनि न्युयोर्क गए पनि महाराजगन्जको चिसोमा अनशनबाट हाड छालामात्र भएका डा केसीको ‘औरा’ ले प्रम ओलीलाई घेर्नेछ, पछ्याउनेछ। प्रमका कानहरू डावोसमा पनि डा. केसीको अनशन के हुने हो भनी तर्सनेछ।

सत्य र निष्ठाको शक्ति अद्भूत हुन्छ। गोविन्द केसी यतिखेर नेपालीबीच त्यसको प्रतीक छन् भन्ने कुरा जति छिटो दुईतिहाइको कम्युनिस्ट सरकारले बुझ्यो त्यति छिटो निष्फिक्रीसँग प्रम ओली चारवर्ष देश रूपान्तरणमा लाग्न सक्छन्। विगतमा प्रम ओलीले गरेको त्याग र संघर्ष खेर गएन। डा. केसीको सत्यनिष्ठ अनशन कसरी खेर जाला ? नेपाली समाजको गिर्दो नैतिक पतनलाई उकास्ने यतिखेर विम्ब डा. केसी हुन्। रुसो र बिपीले धेरै अगाडि यो शक्ति बुझे,लेखे र म जस्तालाई पनि बुझाए, झक्झकाए। चेतना भया।

प्रकाशित: ८ माघ २०७५ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App