१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नाममा के छ हजुर?

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले पदासीन हुनुअघि हिन्दुत्व (हिन्दु राष्ट्रवादी)का कट्टर पक्षधरका रूपमा आफ्नो परिचय बनाएका थिए। मुख्यमन्त्री बनेपछि पनि उनले आफ्नो सो परिचयमा कुनै परिवर्तन ल्याउन चाहेनन्। बरू उनले हिन्दु चिह्न र प्रतीकको महत्वलाई अझ उजागर गर्न राज्यका निकायहरूको मज्जाले प्रयोग गरे। उनले सरयू नदीको किनारामा रामको ठूलो मूर्ति बनाउने र रामको मन्दिर बनाउने अभियानमा खुलेरै समर्थन गरे। उनी मुसलमान नाम भएका विभिन्न सहरको नाम परिवर्तन गर्दै हिँडेका छन्।

ठाउँको नाम परिवर्तन गर्ने कामको सुरुवात उनले मुगल सराय रेलमार्ग केन्द्रबाट गरे। असङ्ख्य यात्रुहरूले मुगल सराय रेलवे जङ्सन नामले चिन्दै आएको ठाउँको नाम उनले कमै मानिसले मात्र चिनेजानेका हिन्दुत्वका पक्षपाती दीनदयाल उपाध्यायको नाममा राखे। त्यसयता योगी सरकारले लगातार निकै उत्साहका साथ एकपछि अर्को ठाउँका नाम परिवर्तन गरिरहेको छ। अल्लाहबादलाई प्रयागराजमा बदलिदिएका छन्, फैजबाद अब अयोद्या बनेको छ र मुजफ्फरनगर धेरै चा“डै लक्ष्मीनगर बन्ने सम्भावना छ। सत्तासीन भारतीय जनता पार्टीका संसद् सदस्य सड्डित सोमको प्रस्ताव सरकारले स्वीकारे मुजफ्फरपुर धेरै चा“डै लक्ष्मीनगर नामले कहलिनेछ। सोम तिनै सांसद हुन् जसले ताजमहललाई ‘भारतीय संस्कृतिमाथिको धब्बा’ भनेका थिए।

योगी आदित्यनाथबाट प्रेरित भएर गुजरातका मुख्यमन्त्री विजय रुपाणीले अहमदाबाद सहरलाई कर्णवत्ती नामकरण गर्ने बोलिसकेका छन्। कोभन्दा को कम ? भाजपा सरकारको गठबन्धन सदस्य शिव सेनाले पनि औरड्डबाद र ओस्मानाबादको पुनःनामाकरण गर्नुपर्ने भन्दै हिँडिरहेको छ। हिन्दुवादीको आँखामा हैदराबाद पनि परिसकेको छ। भारतीय जनता पार्टीले तिलंगानाको प्रदेश सभा चुनाव आफूले जिते हैदराबादको नाम भाग्यनगर राख्ने घोषणा गरिसकेको छ।

भारतमा सहरहरूको नाम परिवर्तन अहिले पहिलो पटक भएको पक्कै होइन। विगतमा पनि मद्रास सहरलाई चेन्नाई, बम्बईलाई मुम्बई, कलकत्तालाई कोलकोत्ता भनी नाम परिवर्तन गरिएको थियो। तर ती नाम परिवर्तन सहरको पुरानो नामलाई पुनर्जीवन दिन गरिएको थियो, जस्तै १६ शताब्दीका शासक चेन्नाप्पा नैकरको नामसँग जोडेर मद्रासको नाम चेन्नाईको रूपमा बद्लियो। बम्बईको सन्दर्भमा स्थानीय शक्तिपीठ मुम्बादेवीप्रति सम्मान प्रकट गर्न मुम्बई नामकरण गरियो। कलकत्तालाई कोलकोत्ता बनाउनुको उद्देश्य भने स्थानीय जनजिब्रोसँग मिल्दोजुल्दो नाम होस् भन्ने थियो। तर कुनै पनि सहरका मुसलमान नामलाई हटाएर हिन्दु नाम राखिएको थिएन।

निःसन्देह बेलायती शासकहरूसँग जोडिएका नामहरू जस्तै क्लिभ स्ट्रिट वा कोन्नाट प्यालेसजस्ता सडक र बजारको नाम बद्लिएका छन्। उपनिवेशकालीन सम्बन्ध तोड्न त्यस्ता ठाउँका नाम बदलिएका हुन्। कतिपय ‘मित्रवत’ विदेशीका नाममा राखिएका ठाउँका नाम भने अझै परिवर्तन गरिएका छैनन्, जस्तै कोर्बेट नेसनल पार्क। तर गेरु वस्त्र लगाउने योगी आदित्यनाथले मुसलमान सम्पदाका सबै चिह्न मेट्ने चाहना राखेका छन्। हुनसक्छ, भारतका कुनै पनि ठाउँको नाम मुसलमान नाम हुनुहुन्न भन्ने उनको विचारकै कारण त्यस्तो गर्न खोजिरहेका छन्। त्यसैकारण भाजपाका सांसद विनय कतियारले भारतका मुसलमानहरूलाई भारत छोडेर कि त पाकिस्तान अथवा बंगलादेश जान सल्लाह दिइसकेका छन्।

मुगलहरू र उनीहरूभन्दा अघिका मुसलमान शासक तथा मुसलमान धर्मका विभिन्न शाखाहरूका अनुयायीहरूले भारतमा शासन गर्दा र त्यसपछि भारतलाई बेलायतीहरूले जस्तै पराया भूमिको व्यवहार गरेका थिएनन्। तथापि राष्ट्रिय स्वंयसेवक सङ्घ(आरएसएस) र भाजपाको आँखामा उनीहरू सबै बेलायतीजस्तै विदेशीहरू हुन्। सन् २०१८ को सुरुतिर राष्ट्रिय स्वयंसेवक सङ्घका प्रमुख मोहन भागवतले दिल्लीमा आयोजित एक समारोहमा मुसलमानहरू बिना हिन्दुत्व अपूर्ण हुने बताएका थिए। त्यसो भनेर भागवतले भारतको बहुधार्मिक परिचय स्वीकारेका छन्। तर आदित्यनाथको गतिविधिले भने उनलाई सहिष्णुताको वातावरण स्वीकार्य नभएको देखाएको छ।

हिन्दुवादीहरूका लागि मुसलमानहरूको उपस्थिति देखाउने कुनै पनि चिह्नलाई विस्थापित गर्नु भनेको हिन्दु गौरवको अभिव्यक्ति मान्ने गर्छन्। जसरी सन् १९९२ मा बाबरी मस्जिद ध्वस्त बनाइएको घटना र सन् २००२ मा गुजरात दंगालाई हिन्दु ‘जागरण’का रूपमा लिइएको थियो। हिन्दुवादी ब्रिगेडका लागि बहुसांस्कृतिक विचार भनेको अभिशाप हो किनभने उनीहरू ‘एक राष्ट्र, एक जनता, एक संस्कृति’मा आधारित हिन्दु राष्ट्रका पक्षपाती हुन्। त्यस्तो राष्ट्रमा अल्पसङ्ख्यक जनतालाई दोस्रो दर्जाको नागरिक मान्ने गरिन्छ। अतिवादी हिन्दुले मात्र भारतलाई हिन्दुधर्म, बुद्धधर्म, सिख धर्म र जैनधर्मको जन्मभूमिको रूपमा स्वीकार्न मान्दैन। उनीहरू  इस्लाम, इसाई र जर्दुश धर्मको अनुयायी पनि भारतमा बस्छन् भन्ने कुरा स्वीकार्न तयार छैनन्। आदिवासी जनताका वन्य धर्मलाई त उनीहरूले मान्ने कुरै भएन।

नरेन्द्र मोदी सरकार अहिले उत्तराद्र्धमा आइपुगेको छ। यस्तो परिस्थितिमा मुसलमानका चिह्न मेट्ने कामलाई तदारुकता दिनुको कारण सरकारका असफलता छोप्ने अरू कुनै नभएर हुन सक्छ। त्यस्तो अवस्थामा मुसलमान कार्ड खेल्नु सबभन्दा सुरक्षित बाटो मानिएको हुनुपर्छ। सङ्घ परिवारले लामो समयदेखि बोक्दै आएको अल्पसङ्ख्यक विरोधी दृष्टिकोणलाई यसले सतहमा ल्याएको छ। आरएसएसले कहिलेकाहीँ मुसलमानसँग सहिष्णु हुने र बहुलवादको पक्षमा दिने गरेका अभिव्यक्ति पनि निष्प्रभावी भएको यस्ता घटनाले देखाइरहेको छ।

मुसलमानसँग सम्बन्ध भएको भारतको इतिहासको सानो हिस्सालाई पनि मेट्ने प्रयास गर्दा हिन्दु र भारतकै सबभन्दा ठूलो अल्पसङ्ख्यक समुदायबीचको खाडल अझ फराकिलो बन्दै जानेछ। खोटो राजनीतिक बदनियत बोकेका यस्ता गतिविधिमा गेरुवस्त्रधारीहरूको मात्र समर्थन भएको र समग्र हिन्दुहरू यसमा नलागेको कुरा मुसलमानहरूले नबुझेका भने होइनन्।

राजनीतिक गेरुवस्त्रधारीहरूले पाइला–पाइला गरी इतिहासको पुनर्लेखन गरिरहेका छन्। मुरली मनोहर जोशी भारतका सङ्घीय मानव संसाधन विकास मन्त्री हुँदा मध्ययुगलाई हिन्दु र ‘हमलाकारीहरू’बीच लगातार द्वन्द्वको समयका रूपमा व्याख्या गरेका थिए। मुसलमान नामका सहरका नाम बदल्ने पछिल्ला गतिविधि सम्मिश्रित संस्कृति वा गंगा–जमुना संस्कृतिको भावनालाई मेटाउने प्रयत्न हो।
(गल्फ न्युजबाट नीरज लवजूको अनुवाद)

प्रकाशित: १६ मंसिर २०७५ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App