८ वैशाख २०८१ शनिबार
विचार

खोजी जारी छ...

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु
भेटे कहीँ बताइ हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपुत कोही
यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु...

शिशिर योगीको स्वर र डा. विश्वनाथ प्रेमको रचनाको यो गीत यतिबेला झनै सार्थक भएको छ। प्राकृतिक छटा, मेहनती जनता र सम्भावनाले भरिएको यो मुलुकमा गीतले खोजेजस्तै एउटा मानिसबाहेक सबैथोक छ। त्यही एउटा मानिस फेला नपर्दाका दुःख हुन् भनेर यतिबेला सारा मुलुकले बुझेको छ।

स्याम्युअल बेकेटद्वारा लिखित नाटक ‘वेटिङ फर गोदो’का दुई पात्र भ्लादिमिर र एस्ट्रोगनले एकजना गोदो नामका व्यक्तिको प्रतीक्षा गरेजस्तो लाग्छ हाम्रो समय। ती असल मानिस आउने भनेर प्रतीक्षा गर्ने क्रममा अनेकन् विषयमा छलफल हुन्छ। तर गोदो आइपुग्दैन। हामीले खोजेको एउटा मानिस पनि त्यही गोदोको प्रतीक्षाजस्तो छ।

महत्वपूर्ण काम पहिले नगर्ने व्यक्ति कहिल्यै उच्चस्तरमा पुग्न सक्दैन। आज राष्ट्रको नेतृत्व गर्ने ठाउँमा पुगे पनि तिनले कुनै तात्विक अन्तर ल्याउन सक्दैनन्।

आज हाम्रा नागरिक सामाजिक सञ्जालभरि कहिले पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानको सरकारी खर्च घटाउने अभियानको जमेर प्रशंसा गरिरहेका छन्। आफ्नो कुनै नजिकको साइनोसमेत नपरेका उरुग्वेका राष्ट्रपति होसे मुहिकाले अहिले अवकासको समयमा कुखुरा पालन गरेका तस्बिर हेरेर आफ्ना नेतामा तिनको अनुहार खोजिरहेका छन्।

सन् २०१० देखि २०१५ बीच त्यो मुलुकको ४० औँं राष्ट्रपतिका रूपमा क्रियाशील मुहिकाले संसारकै गरिब राष्ट्रपतिका रूपमा आफ्नो नाम लेखाएका थिए। हो, त्यो बेला हाम्रा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पनि तीनवटा मोबाइलमात्र भएको कथा पढ्दा पनि मुहिका हाम्रो चर्चामै थिए।

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री खानले आफ्ना लागि उपलब्ध भव्य सरकारी बंगला परित्याग गरी त्यहाँ विश्वविद्यालय खोल्ने घोषणा गर्दा हामी आश्चर्यले जिब्रो टोक्न थालिसकेका थियौँं। उनी त्यो बंगला छाडेर सैनिक सचिवका निम्ति छुट्याइएको तीन बेडरुमको घरमा बस्ने घोषणा गरेका थिए। ३३ वटा बुलेटप्रुफ कार र सयौँ सहयोगी रहेकामा तिनलाई समेत परित्याग गर्ने उनको घोषणा संसारकै निश्चित एक सुखद आश्चर्य बन्न पुगेको हो।

हाम्रो मुलुक जहाँ प्रतिव्यक्ति वार्षिक आय (जिडिपी) बल्ल एक हजार अमेरिकी डलर अर्थात् १ लाख १५ हजार रुपियाँ पुगेको छ। जहाँ गरिबीको रेखामुनि कुल जनसंख्याको २१.६ प्रतिशत जनता रहेका छन्। २ करोड ७० लाख जनसंख्यामध्ये झन्डै ६० लाख जनता गरिबीको रेखामुनि रहनु समृद्ध नेपालका निम्ति ठूलै चुनौती हो। एकातिर, प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले उचाइ छुन लागेको छ। अर्कोतिर नवउदीयमान सामन्तहरूको सगरमाथाको उचाइभन्दा पनि अग्लो आकांक्षाले नागरिकमा छटपटी बढाउन थालेको छ।

राजधानी काठमाडौँं जहाँ भूकम्प वा अन्य यस्तै प्राकृतिक विपत्ति हुँदा सर्वसाधारणले बस्ने ठाउँ छैन। त्यहाँ राष्ट्रपतिका निम्ति भनेर यति धेरै ठाउँ किन चाहिन्छ ? किन आज राष्ट्रपतिका निम्ति हुने खर्चले हामीलाई बितिसकेका दिनको बारम्बार सम्झना भइरहेको छ ? ‘जनताकी छोरी’को त्यो लोकप्रिय छवि आज कता हरायो ? बरु त्यो ठाउँमा घुँडा टेकाउने शासकको उपस्थिति केले गराइरहेको छ ?

प्रत्येक दशकजस्तो आन्दोलन देखेका नेपालीले २००७ देखि अहिलेसम्म परिवर्तनका नाममा दुःखैदुःखको पहाड टाउकोमा बोकेका छन्। मुलुक अघि बढ्छ भने जति दुःख भए पनि सहने संकल्प तिनले लिएको देखिन्छ। तर तिनले बोकेका दुःखको भारीभन्दा ठूलो नेताहरूको अहंकार र सामन्ती ढर्राले तिनलाई बढ्ता उद्वेलित तुल्याएको छ।

सडक बन्न सक्दैनन्। विकास निर्माणका काम हुन सक्दैनन्। जनता धुवाँधुलो र वातावरण विनाशबाट पीडित छन्। नागरिकका निम्ति रोजगारी छैन। लाखौंँलाख नेपाली अरबका कपाल दुखाउने गर्मीमा श्रम बेचिरहेका छन्। फर्केर आउँदा जिउँदै भइने हो कि कफिनमा आउनुपर्ने हो कुनै ठेगान छैन। सामान्य श्रम गर्नेमात्र होइन, यो मुलुकका इन्जिनियर, डाक्टर वा यस्तै सीप भएका पनि निराश भएर ‘लाहुर’ जान तत्पर छन्।

यस्तो मुलुक जसले परिवर्तनका निम्ति लड्दा लड्दा थकानमा पर्नुपरेको छ, जहाँ ‘जनताका छोराछोरी’ शासनमा पुगेपछि हिजोकै दरबारिया ढाँचा र ढर्राले तिनलाई छपक्कै ढाकेको छ। नागरिक तिनका अनुहारमा हेर्दै ‘एउटा मानिस खोजिरहेछु’ भनिरहेका छन्। तिनलाई भने यस्ता कुराले खासै फरक पारेको छैन। मुलुकको आर्थिक गति, भनेजस्तो काम गर्न नसकेको अवस्था र जनताको उद्वेलनलाई ध्यानमा राखेर सरकार अघि बढ्न सकेको छैन।

हामी अचेल केमा चिन्तित छौंँ ? राष्ट्रपति विद्यादेवी भण्डारीका निम्ति १८ करोड रुपियाँको बुलेटप्रुफ गाडी चाहिएको छ। राष्ट्रपति भवनकै छेउमा प्रहरी प्रतिष्ठान छ। प्रहरीको तालिमको आवाजले राष्ट्रपतिलाई ‘सुकला’ हुने बेलामा समस्या हुने गरेको छ। त्यसका लागि तालिम केन्द्र त्यहाँबाट हटाउनुपरेको छ। देशैभरिका संघ/संस्थाको अनुगमन गर्ने समाज कल्याण परिषद्मा उपराष्ट्रपतिको कार्यालय बनाउनुपरेको छ। तिनलाई आजै हट् भोलि नै हट् भनेर ताकिता लगाइएको छ।

अहिलेको आवश्यकता यो हो/होइन ? सामान्य ठाउँमा बसेर पनि असामान्य काम गर्न सकिन्छ। राजधानी काठमाडौँं जहाँ भूकम्प वा अन्य यस्तै प्राकृतिक विपत्ति हुँदा सर्वसाधारणले बस्ने ठाउँ छैन। त्यहाँ राष्ट्रपतिका निम्ति भनेर यति धेरै ठाउँ किन चाहिन्छ ? किन आज राष्ट्रपतिका निम्ति हुने खर्चले हामीलाई बितिसकेका दिनको बारम्बार सम्झना भइरहेको छ ? ‘जनताकी छोरी’को त्यो लोकप्रिय छवि आज कता हरायो ? बरु त्यो ठाउँमा घुँडा टेकाउने शासकको उपस्थिति केले गराइरहेको छ?

सत्तामा पुगेपछि सबैलाई यस्तै हुन्छ ? सारा नेपाली यतिबेला अवाक् छन्। केही भनौँं विरोध गरेजस्तो हुने। नभनौंँ कति दिन चूप लागेर बस्ने ? मुलुकको सर्वतोमुखी विकास गर्ने नेताले सुविधा लिँदा पनि जनता बेखुस हुँदैनन्। तर जुन देशका जनता सिटामोल खानसमेत तड्पिइरहेका हुन्छन्, त्यो मुलुकका राष्ट्राध्यक्षका निम्ति यत्रो खर्च किन ? हाम्रा निम्ति यी सेता हात्तीसरह भएका छन्। नागरिकका दुःख सम्झेर थोरैथोरै सुविधामा पनि रमाउने शासक बन्दा यहाँ सबैको प्रशंसाकै पात्र भइन्छ। सामाजिक सञ्जालभरि हाम्रा राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य नेतालाई लिएर निराशा व्यक्त भइरहेका अहिलेको अवस्थाबारे अवश्य पनि ज्ञान हुनुपर्ने हो।

महत्वपूर्ण काम पहिले नगर्ने व्यक्ति कहिल्यै उच्चस्तरमा पुग्न सक्दैन। आज राष्ट्रको नेतृत्व गर्ने ठाउँमा पुगे पनि तिनले कुनै तात्विक अन्तर ल्याउन सक्दैनन्। स्टिभन कोबे नामक एकजना अमेरिकी शिक्षाविद्, लेखक तथा प्रेरक व्यक्तिले प्रभावशाली व्यक्तिका सात महत्वपूर्ण गुणबारे चर्चा गरेका छन्। यस्ता व्यक्तिले सबैभन्दा पहिले गर्नुपर्ने कामलाई प्राथमिकतामा राख्छन्। त्यसै आधारमा उपलब्धि हासिल गर्छन्। हाम्रा नेता भने मुलुकका आवश्यकता र महत्वलाई बेवास्ता गरी आफ्नै हिसाबले अघि बढिरहेका देखिन्छ।

नेताहरू स्वयंलाई पनि यस्तो आदर्श मान्छेको अभाव खट्किएको छ। नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत संसद्बाटै ‘देश डुब्न लाग्यो, माझी छौ कि कोही...’ भनेर अभावको संकेत गरेका थिए। त्यति बेला अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भने, ‘देश डब्दैन, म आउँदै छु।’

यसअघि पनि प्रधानमन्त्री ओलीले नेता नेपालको समेत उपस्थिति रहेको ‘नागरिक’ दैनिकको गत वैशाख ११ गतेको वार्षिकोत्सव समारोहमा ‘एउटा मान्छे खोजिराख्नु पर्दैन, दायाँबायाँ हेरे मात्र पुग्ने’ बताएका थिए। तैपनि, हामीले खोजेको मान्छे अझै फेला परेको छैन। खोजी जारी छ।  

हाम्रो मुलुक यति धेरै सम्भावनायुक्त भएर पनि नेताले गरेको रन्थमोलमै अल्झिएको धेरै भयो। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गाएको एउटा व्यंग्यात्मक भजनले अहिलेको मुलुकको परिस्थितिलाई ठ्याक्कै समातेको छ–
ईश्वर तिमीले जगत् बनायौ
चन्द्र बनायौ, सूर्य बनायौ
यति सुन्दर पृथ्वी बनायौ
पृथ्वीमै राम्रो नेपाल बनायौ
यही नेपालमा हिमाल खन्यायौ, पहाड खन्यायौ, तराई खन्यायौ
एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौ?

प्रकाशित: ६ मंसिर २०७५ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App