डा. रमेश ढकाल
हरेक वर्षझैं यस वर्ष पनि आजको दिन अर्थात १४ नोभेम्बरलाई ‘विश्व मधुमेह दिवस’ का रूपमा विश्वभर मनाइँदैछ । रगतमा ग्लुकोजको मात्रा धेरै भई शरीरमा विभिन्नखालका परिवर्तन देखिएमा मधुमेह हुने गर्छ । साधारणतया रगतमा ६० देखि १८० सम्म ग्लुकोज तल–माथि भइरहन्छ । स्वस्थ शरीरमा ग्लुकोजको मात्रा शरीर आफैँंले साधारण अवस्थामा ल्याउने गर्छ।
विश्वव्यापी अवस्था : सन् १९८० मा विश्व जनसंख्याको ४.७ प्रतिशतमा मधुमेह रेहेकामा २०१४ सम्म आइपुग्दा यो बढेर ८.५ प्रतिशत पुग्यो । हाल संसारमा २ करोड मानिस मधुमेह रोगको सिकार भइसकेका छन् । सन् २०१६ मा १६ लाख मानिसको यसै रोगका कारण मृत्यु भयो । २२ लाख मानिसको मधुमेह रोगकै कारण अन्य रोग लागेर मृत्यु भयो भने २०१६ सम्म आइपुग्दा मधुमेह मृत्युको सातौँ कारक बन्यो।
नेपाल पनि यो रोगबाट अछूतो छैन । संसारका मधुमेह बिरामीमध्ये ८० प्रतिशत विकासशील राष्ट्रका छन् । दक्षिण एसियामा सन् २००० मा ४,३६,००० मा रहेको मधुमेह सन् २०१४ आइपुग्दा १,३२,८०,००० मानिसमा बिस्तार भयो । विशेषगरी सहरी जीवन अवलम्बन गर्ने, हिँडडुल कम गर्ने र घरको खानाभन्दा जंक खाना खाने तथा धूमपान र रक्सी सेवन गर्नेमा मधुमेह बढी देखियो।
के गर्छ मधुमेहले ? : २–३ प्रतिशतलाई हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । नशामा रक्त सञ्चार कम भएर गोडामा घाउ हुने, संक्रमण हुने, यदाकदा औँला नै तथा हात खुट्टा नै काट्नुपर्ने स्थिति आउँछ । आँखा धमिलो भएर जाने तथा अन्धो नै हुन सक्छ । मिर्गौला फेल हुन सक्छ ।
मधुमेहका प्रकार : टाइप १– डायबिटिज मेल्लिटस , टाइप २– डायबिटिज मेल्लिटस र गेसटेसनल डायबिटिज मेल्लिटस अर्थात गर्भावस्थामा हुने मधुमेह । नेपालमा टाइप २ मधुमेहको जोखिम धेरै छ।
के कारणले हुन्छ टाइप २ डायबिटिज ?
१. वंशानुगत २. परिवर्तित जीवन शैली । यी दुईको कारण इन्सुलिन अवरोध हो । भनाइको मतलव मधुमेह लागेका व्यक्तिको शरीरमा उत्पादित इन्सुलिनले काम नगरेका भन्ने बुझिन्छ।
कस्ता मनिसलाई हुन्छ त टाइप २ मधुमेह ?
शरीरको तौल धेरै भएका, खन्चुवा, अल्छी, वंशानुगत मधुमेह भएका, कुनै जातिविशेष, पाको उमेरको व्यक्ति, गर्भास्थामा मधुमेह भएका, मिर्गौला रोगी एवं उच्च रक्तचापका बिरामी।
टाइप २ मधुमेहको उपचार : रगतमा ग्लुकोजको मात्रा अनुगमन गर्ने । चिकित्सकको परामर्शमा औषधि सेवन गर्ने । खाने औषधिले काम नगरेमा इन्सुलिन प्रयोग गर्ने । शरीरको वजन सन्तुलिन राख्ने । आहार र पोषिलो कुरा खाने र नियमितरूपमा व्यायाम गर्ने।
बचावटः मधुमेहको जोखिम छ कि छैन अन्दाज लगाउने । आफ्नो शरीरको तौल सन्तुलनमा राख्ने । नियमित शारीरिक श्रम गर्ने, मासु तथा मासुजन्य पदार्थ कम खाने । फलफूलमा र सागसब्जीमा जोड । जंक र बजारको खाना नखाने । धूमपान–मद्यपान नगर्ने । रक्तचाप नियन्त्रित गर्ने । मुटु रोगबाट बच्ने । चिकित्सकीय परामर्श नियमित लिने।
के मधुमेह विश्वव्यापी चुनौती हो ? : अवश्य पनि । मधुमेहको तथ्यांक नियाल्दा यो विश्वकै चुनौती सावित भइसकेको छ । विशेषगरी विकाशशील देशको प्रमुख समस्या बनेको छ।
निर्देशक– शंकरापुर अस्पताल, जोरपाटी
प्रकाशित: २८ कार्तिक २०७५ ०६:०५ बुधबार

