१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

आन्दोलनकाे औचित्य

यतिखेर मुलुक स्थायी सरकारको नियन्त्रणमा छ । तर कताकता यो सरकार स्थायी त हो भन्ने प्रश्न पनि खडा भएको छ । एकातिर नहुनुपर्ने घटना भइरहेका छन् भने अर्कोतिर भइरहेका घटना र त्यसमा संलग्नलाई कारबाही नहुने विडम्बनापूर्ण स्थिति देखापरेको छ । यही कारण पनि वर्तमान सरकार स्थायी हो कि हैन भन्नेबारे विवाद उठेको हो।

खासगरी अहिले पनि मुलुकमा विभिन्नखाले आन्दोलन भइरहेका छन् । कतिपयल आन्दोलन गर्ने धम्की दिइरहेका छन् । एकातिर बलात्कारपछि हत्या गरिएकी निर्मलाका आफन्त र शुभचिन्तक तथा न्यायप्रेमी जनता सडकमा उत्रेका छन्, जसको माग दोषीलाई कारबाही हुनुपर्छ भन्ने छ । अर्कोतिर ट्याक्सीवालादेखि ठेकेदारसम्म, कर्मचारीदेखि व्यपारीसम्म आन्दोलन गर्न तम्सिएका देखिन्छन् र बेलाबेलामा धम्कीसमेत दिइरहेका छन् । मात्र ठग्न पाउँ भनेर । यसो घोत्लिएर हेर्दा उनीहरूको मागमा जनहितका कुनै संकेत नै देखिन्नन्।

त्यसैले अहिले मुलुकमा भइरहेका र हुनेवाला आन्दोलनलाई एउटै डालोमा हालेर सोलोडोलोरूपमा व्याख्या विवेचना गर्न मिल्दैन । निर्मला पन्तसँग जोडिएको आन्दोलन जायज छ । जुन आन्दोलन न्यायको पक्षमा छ । यसमा खासै कसैको स्वार्थ देखिएको छैन । तर अरु आन्दोलन पनि यहाँ छन् जसको न कुनै ओचित्य पुष्टि हुन्छ न त ती आवश्यक नै देखिन्छन् । त्यसैले आन्दोलन सबै नै उचित हुन्छन् भन्ने भ्रमबाट हामी मुक्त हुन जरुरी छ।

हुँदाहुँदा केही मधेसकेन्द्रित दलसमेत अब आन्दोलन गर्छौँ भनेर धम्क्याइरहेका छन् । संविधान बनिसक्यो । त्यसलाई जलाए । अनि त्यही संविधानअन्तर्गत भएको चुनावमा उठेर जितेर स्थानीय सरकारसमेत चलाइरहेका छन् । केही दल भने केन्द्रीय सरकारमा समेत सामेल भइसकेका छन् । मिले जति र सके जति फाइदा पनि लिइरहेका छन् । तर विडम्बना, उनीहरू नै अहिले पनि आन्दोलनको धम्की दिइरहेका छन् । फाइदा पनि लिइरहने, त्यसको विरोध पनि जारी राख्ने ? जनतालाई दिइने योभन्दा ठूलो भ्रम अरु के हुन सक्छ ?

त्यसैले सर्वसाधारणले कुनै पनि आन्दोलनमा सहभागी हुनुअघि त्यसको आवश्यकता र औचित्यका बारेमा घोत्लिनै पर्छ । एकाध व्यक्तिको स्वार्थका लागि गरिने आन्दोलन सही आन्दोलन हुन सक्दैन । त्यसले केही व्यक्तिलाई फाइदा पुर्याउँछ तर राष्ट्र र बाँकी जनतालाई भने ठूलो नोक्सानी पुर्याउँछ । यसको असर अर्थात घाउ मुलुकका लागि दीर्घकालीन काउसो बनेर रहने सम्भावना रहन्छ । एकाथरी आन्दोलन (जस्तो– निर्मला पन्तको, कमैयाको, कमलरीको, दलितको, अपांगको आदि) सामाजिक न्याय प्राप्तिसँग सम्बन्धित छन् । त्यसैले यस्तो आन्दोलन कतिपय अवस्थामा आवश्यक पनि हुन्छ । यही कारण जुन पायो त्यही आन्दोलनमा होमिइहाल्ने प्रवृत्ति कुनै पनि हालतमा सही हुन सक्दैन।

आन्दोलन हेर्दा सामान्य लागे पनि यसले दीर्घकालीन असरहरू छाडेर जाने गर्छ । जस्तो– केही व्यक्तिमात्र सडकमा निस्किदिने हो भने त्यसबाट हुने सवारी विचलनका कारण थुप्रै यात्रु विचल्लीमा पर्न सक्छन् । थुप्रैको व्यापार व्यवसाय प्रभावित हुन सक्छ । थुप्रै सवारी साधन अनावश्यकरूपमा रोकिनुपर्दा एकातिर इन्धन खपत बढी हुन्छ भने अर्कोतर्फ यिनीहरूबाट निस्कने प्रदूषणले सहरलाई बढी दुर्गन्धित तुल्याउँछ । कोहीको जँचाउने समय कट्छ भने कसैको लामो दूरीको बस वा प्लेन छुट्छ । कतिको परीक्षा छुट्छ । त्यसैले यस्ता विविध पक्षको असर धेरै पछिसम्म पर्न सक्छ । यसैले आन्दोलन कहिल्यै पनि रहर र लहडबाजी हुनुहुँदैन।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App