१६ चैत्र २०८० शुक्रबार
विचार

जेरी र पुनर्निर्माण

आजभन्दा करिब तीस वर्ष पहिले जतिबेला म ५ वर्षको थिएँ । मेरा एकजना अग्रजले मलाई गजबको कहानी सुनाउनुभएको थियो । हालको कर्णाली प्रदेशको जुम्ला जिल्लाका एकजना भेडापालक किसान हिउँदमा भेडा लिएर बेँसीतिर झर्ने क्रममा सुर्खेत आइपुगे । म जन्मिएको पहाडी गाउँ गर्पनमा त्यतिबेलाका ससाना खुद्रा पसल, चियानास्ता पसल र कपडापसलहरू फाटफुटरूपमा खुलेका थिए । खाजापसलहरूमा नमकिन, समोसा, चिया, चना, जेरी र बिस्कुटहरू पाइथ्यो । त्यतिबेला भेडा लिएर जुम्लाबाट आउने ती किसानहरूलाई जुम्ली भनिन्थ्यो (आजकाल यो सम्बोधनलाई हेयका रूपमा लिइन्छ ।) अग्रजका अनुसार ती जुम्ली किसान भेडाहरू डाँडामा राखेर भोक मेट्न खाजा पसलमा आए । त्यतिबेला जुम्लाको विकट गाउँहरूमा नपाइने खाजाका परिकारहरू देखेर उनकाई के खाजा खाने सकसक भयो । ती खाजाका नाम उनलाई थाहा भएन । उनको आँखा जेरीमा गएर अडियो । किनकि यो विचित्रको थियो । तेलमा तारेर खाने घुमाउने रोटी (सेलरोटी) को स्वाद पाएका उनलाई यो पनि त्यस्तै हुन सक्छ भन्ने त लागेको थियो तर नाम भने थाहा थिएन । अझ त्यो जेरीमा केही मौरीहरू पनि घुमेको देखेपछि यो पक्कै रसिलो छ भन्ने लाग्यो । किनकि मौरीहरू त रस चुस्न फूलमा मात्र घुम्छन् । जेरी खाने निधो गरी उनले साहुजीसँग जुम्ली लवजमा आफूलाई मन लागेको परिकार मागे । साहुजी त्यो उसले उसलाई उसले उसलाई समातासमात गरेको चिज दिनुस् त । पसलमा बसेका अन्य व्यक्ति गललल हाँसे । अनि त्यतिबेला त्यो कहानी गाउँभर निक्कै चर्चित भयो।

तेस्रो संविधान दिवस मनाइरहेको यो परिवेशमा उल्लिखित कहानी महाभूकम्प २०७२ वैशाख १२ पश्चात् नेपालको पुनर्निर्माण प्रक्रियामा ठ्याक्कै मेल खाएको छ । भूकम्प गएको ३ वर्षभन्दा बेसी भइसकेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ६.७ रेक्टर स्केलको भूकम्प र सोपश्चात्को दोस्रो शक्तिशाली धक्का तथा हजाराँै परकम्पनले नेपालको साबिकको मध्य र पश्चिमाञ्चलका १४ वटा जिल्लाहरूमा कहालीलाग्दो गरी र अन्य आसपासका १७ जिल्लाहरूमा नराम्ररी क्षतविक्षत पा-यो।

यसबाट ८ हजार ७९० जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाए । २२ हजार ३०० व्यक्ति घाइते र अंगभंग भए । ४ लाख ५८ हजार ८५२ घर पूर्ण रूपमा क्षति भए भने २ लाख ५६ हजार ९५७ घर आंशिक रूपमा क्षति भए । ३६ लाख जति मानिस विस्थापित भए । देशका सांस्कृतिक र पुरातात्विक सम्पदाहरू धरहरा, स्वयम्भू, वसन्तपुर दरवार, पाटन दरबार लगायतका सम्पदाहरू क्षतविक्षत भए । सार्वजनिक र सरकारी भवनहरू जस्तै विद्यालय, स्वास्थ्य, सरकारी कार्यालय लगायतका भवनहरूमा अकल्पनीय क्षति भयो । जीविकोपार्जन र अर्थतन्त्रको महत्वपूर्ण कृषिक्षेत्र, पर्यटनक्षेत्र, होटेल, व्यवसाय, उद्योगलगायत क्षेत्रहरूमा पनि अर्बौंको क्षति भयो । यस महाविनाशबाट नेपालमा कुल ७ अर्ब ६ करोड ५० लाख अमेरिकी डलरको बराबर क्षति भएको आँकलन राष्ट्रिय योजना आयोगको भूकम्पपश्चात्को लेखाजोखा प्रतिवेदनमा उल्लेख छ । भूकम्पले देशको कुल जनसंख्याको ३ प्रतिशत नागरिक पुनः गरिबीको रेखामुनि धकेलिन बाध्य भए।

विपद् जानकारी दिएर आउँदैन । नेपाल बहुप्रकोपजन्य विपद् जोखिममा संसारमै २० औँ नम्बरमा पर्छ । अहिले हामीले आर्जन गरेको विपद्सम्बन्धी ज्ञान, अभ्यास र विज्ञतालाई हामीले सुरक्षित गरी राख्न जरुरी छ । हामीले खोजेको रहेक विकास र पूर्वाधारमा दिगोपना अपनाउन जरुरी छ । विपद्सम्बन्धी समुदायको ज्ञान र क्षमता बढाई उनीहरूको सहभागितामा पुनर्निमाण गर्नु अझ प्रभावकारी हुनेछ । अब हरेक स्थानीय तहले विपद् पूर्वतयारी योजना, विपद् कोषजस्ता कुराहरूमा ध्यान दिँदै हरेक आवधिक योजनाहरूमा अनुकूलनका काम सञ्चालन गरिनुपर्छ।

प्रकाशित: २१ आश्विन २०७५ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App