२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

समाजले नकारेको हाम्रो राजनीति

शाश्वत पौडेल सेन्ट जेभियर्स कलेज काठमाडौँमा पढ्ने १२ कक्षाका विद्यार्थी हुन् । निर्मला हत्या काण्ड र बलात्कारविरुद्ध असोज १३ गते माइतीघर मण्डलमा उपस्थित हजारौँ विद्यार्थीमाझ शाश्वत पनि एक थिए । उनी राष्ट्रिय मुद्दामा सडकमा समूहबद्ध भएर निस्कन पाएकोमा उत्साही थिए, अझ सोचेको भन्दा ठूलो भीडको उपस्थितिले उनमा हौसला थियो भावी दिनमा पनि राष्ट्रिय मुद्दामा सहभागी हुने।

मैले शाश्वत पौडेलझैँ अनेकन् युवा÷युवती देखेँ जो यताका दिनमा राष्ट्रिय मुद्दामा सडकमा निस्केका छन् ।निर्मला हत्याकाण्डमा न्यायको खोजी गर्दै सडकमा निस्केका किशोर विद्यार्थीहरू राज्यले न्यायको प्रत्याभूति गर्छ भन्ने विश्वासका साथ निस्किएका हुन् । राज्यप्रति युवाहरूको बढ्दो विश्वास र भरोसाको यो शुभ संकेत हो । लोकतान्त्रिक संस्कार पनि यही हो।

राजनीतिलाई अगाडि बढाउन  समाज विज्ञान, विकासक्रम र ऐतिहासिक द्वन्द्वबुझ्नुपर्छ। र, त्यहीअनुसार सिद्धान्त र दृष्टिकोण अपनाउने विश्वव्यापी प्रचलन छ। प्रम ओली यसमा शतप्रतिशत चुकिरहेका छन्।

प्रम विदेशको भूमिबाट निर्मला हत्याकाण्डका अपराधी समात्न १२ वर्ष पनि लाग्नसक्छ भन्ने अभिव्यक्ति दिन्छन् । प्रमका यस्ता अभिव्यक्तिले देशका भावी कर्णधार युवाहरूको कलिलो मनमस्तिष्कमा के असर पर्छ होला भन्ने सचेत सोच प्रममा देखिएन । प्रमको विदेश भूमिबाट निशृत अभिव्यक्तिहरू अलोकतान्त्रिक छन्, असभ्य पनि छन् ।प्रम ओलीको ओठे जवाफ शैलीले उनको दुईतिहाइबहुमतको भविष्य के हुने होला भन्ने चिन्ता छ । चिन्ता यसकारण पनि गहिरो छ कि मुलुकले पहिलो पल्ट स्थिर सरकार पाएको छ । अनि नेपाली जनता आफँैले बनाएको संविधान कार्यान्वयनको जिम्मेवारी पनि यही सरकारको हो । संविधान कार्यान्वयन धरापमा परेर फेरि देश लामो द्वन्द्वमा फस्ने डर प्रमका ओठे जवाफमा देखिन्छ।

अंग्रेजी विद्यालयका हजारौँ विद्यार्थी न्यायको खोजीमा काठमाडौँको सडकमा शान्तिपूर्वक जुलुस लिएर हिँडेको देखिनु नेपालको लोकतान्त्रिक रूपान्तरणको सुखद र मनमोहक पक्ष लाग्यो मलाई । प्रमले यो अवसरलाई संबोधन गर्न सकेनन् । चुके । अंग्रेजी माध्यमको स्कुलमा पढ्ने विद्यार्थीहरूलाई ‘ब्वाइलर कुखुरा’ भन्थे पुरानो पुस्ताले र तिनका अभिभावक स्वयम्ले पनि । स्कुलको शिक्षकले दिने ज्ञानभन्दा फिटिक्क यताउता नसोच्ने ‘रोबोट’ मा रूपान्तरित हुन् अंग्रेजी माध्यमका विद्यार्थी भन्ने धारणा थियो विगतमा ।यो विस्तारै फेरिँदैछ, रूपान्तरित हुँदैछन् अंग्रेजी माध्यमका विद्यार्थी पनि।

समाज, राजनीतिर सरकारसँग मात्र होइन, आफ्नै अभिभावक र आसपाससँग पनि टाढिएको मनोविज्ञान थियो अंग्रजी माध्यमका विद्यार्थीबारे । यीझण्डै नेपालभर१५ प्रतिशत छन् । बाँकी ८५ प्रतिशत १२ कक्षासम्मका विद्यार्थी अझै नेपाली माध्यमको सामुदायिक सरकारी विद्यालयमै पढ्छन् । यिनै १५ प्रतिशत अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका अभिभावक परिवार र सन्तानको सुविधा जुटाउने यन्त्र थिए विगतमा । सन्तानको सुविधा जुटाउने नाममायी अभिभावकले हदैसम्मको नैतिक मर्यादाविपरित पनि काम गर्न हिच्किचाएनन् । तर आज तिनकै सन्तान देशमा भएको हत्या, बलात्कार, भ्रष्टाचार र कुशासनविरुद्ध सडकमा निस्कन सक्नु भनेको चानुचुने कुरा होइन नेपालमा।

प्रम ओली संविधानको मूल सिद्धान्त व्यक्तिको स्वतन्त्रता विपरित शक्तिको मात्र भाषा बोलिरहेका छन् ।  यसले गर्दा प्रमको नागरिकसँग झमेला खडा भएको छ यतिखेर । प्रमको बोली विपक्षी दल, युवा विद्यार्थीहरूको जुलुस, पार्टीका प्रभावशाली नेता सबैविरुद्ध विदेशबाट बोलिएको शक्तिको भाषा हो।

सरल भाषामा भन्ने हो भने आज देशको बेथितिका लागि दुई किसिमको शिक्षा, स्वास्थ्य, यातायात व्यवस्था र कानुनको कार्यान्वयन जिम्मेवार छ भन्दा हुन्छ ।यी चार पक्षमा दुईतिहाइको कम्युनिस्ट सरकारले सुधारका क्रान्तिकारी पाइला अगाडि नबढाउने हो भने विश्व इतिहासमा पतनको रसातलमा पुगेको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक रूपान्तरण पनि फिका हुनेछ।

किशोर र युवा परिवर्तन हुँदैछन् भन्ने कुरा पहिलो पल्ट नेपाली समाजले ३ वर्षअगाडि भूकम्पको समय अनुभव गर्न पायो । र त्यस उप्रान्त नेपालका युवाहरूको ‘हिरो’ खेलकुद र गीत÷संगीतको माध्यमबाट अगाडि आए, आइरहेकै छन् ।दुर्भाग्यनै भन्नुपर्छ, नेपालका युवाहरूका लागि ‘राजनीतिक हिरो’ कोही हुन सकिरहेका छैनन् । जुन दिन नेपालका युवाहरूले ‘राजनीतिक हिरो’ भेट्छन् नेपालको बेथिति र भ्रष्टतन्त्रको सञ्जाल टुट्छ।

मध्यमवर्गीय परिवारका युवाहरू राष्ट्रिय मूलधारमा आउन ‘हामी जे गर्छौँ देशमै गर्छौँ’ भन्ने टिसर्ट लगाएर सडक, रेस्टुरा र कलेजमा हिजोआज देख्न र हेर्न पाउनु सामान्य भएको छ । यो नेपाल परिवर्तनको संकेत हो जसलाई प्रम ओली बुझ्न चाहिरहेका छैनन्।

मैले केही युवा विद्याथीलाई राजनीति के हो भनी सोधेँ । सबैले एउटै उत्तर दिए– यो फोहोरी खेल हो । राजनीतिमा असल मानिसको अरुचि हुन्छ, भ्रष्ट, अपराधी र अनपढ राजनीतिमा जान्छ भन्ने आममान्यता नेपालका युवामा रहेछ । युवाहरूमा यस्तो धारणा विकसित हुन हाम्रा शासक र प्रशासकले यथेष्ठ व्यवहार देखाएका छन् ।सरकार र यसका नेतृत्वकर्ता जनताप्रति पटक्कै संवेदनशील नभएको उदाहरणप्रम खड्ग ओलीको कोस्टारिका भ्रमणलाई जोडेर विद्यार्थीले मलाई सुनाए।

कोस्टारिकाको ४ दिनको भ्रमणको प्रयोजन प्रमको के हो ? प्रष्ट छैन । काठमाडौँमा चलेको चर्चाअनुसार प्रम दुई व्यापारीको स्वार्थ सिद्ध गर्न कोस्टारिका गएका हुन् । एकातिर काठमाडौँ र देशभर युवा विद्यार्थी हत्यारा र बलात्कारीलाई समात भनी जुलुस, नारा र धर्नामा बसेका छन् भने अर्कोतिर प्रम बेपर्वाहझैँ अमेरिकाबाट कोस्टारिकातर्फ लामो यात्राका लागि पुगेका छन्।

निसन्देह कोस्टारिकाबाट सिक्न सक्ने कुरा धेरै छन् नेपालका प्रमले । तर त्यो सिक्न आजको सूचना र प्रविधिको युगमा कोस्टारिकै पुग्नु पर्दैन । कोस्टारिकामा सेना छैन । स्थिर लोकतन्त्र छ । वातावरणमैत्री विकास छ । दवाई उत्पादनको ठूलो केन्द्र यही देश हो । अनि विदेशी लगानीमैत्री सम्पूर्ण वातावरण छ । मोटामोटी कोस्टारिकाबाट लिने शिक्षा यही हो । तर यो सबैभन्दा माथि कोस्टारिकाबाट सिक्ने भनेको शासनमा बस्नेहरू जनताप्रति संवेदनशील हुनुपर्छ भन्ने हो । कोस्टारिकाको शासक सत्ता पाएपछि जनताको सेवक बने र मध्य अमेरिकी यो देश आज स्पेनिस उपनिवेशबाट स्वतन्त्र भएपछि महादेशकै होइन, विश्वकै उदाहरणीय देश बनेको छ।

कोस्टारिकाको समृद्धिपछाडि कुदेर प्रमलाई सामान्य ज्ञान प्राप्त होला । यो सकारात्मक पक्षको विपरित केही स्वार्थी व्यापारीको हितमा प्रमले ४ दिन कोस्टारिकामा बिताएका हुन् भने अनुमान गर्न सकिन्छ– नेपालको समृद्धिको यात्रा अब छैन । राज्य लुटतन्त्र र डनतन्त्रको पन्जामा पुग्दैछ भनेर । नेपालका अंगे्रजी माध्यमबाट पढेका किशोर र युवा परिवर्तन हुँदैछन्, देशको सामु आएका समस्याको शान्तिपूर्ण समाधानका लागि सडकमा निस्केका छन् । तसर्थ आशा गरौँ, प्रमज्यू पनि कोस्टारिकाबाट फर्केर आएपछि परिवर्तन होलान्, जनताप्रति संवेदनशील होलान् भनेर।

वर्तमान स्थितिमा ‘राजनीति घृणा’ सँग जोडिएको छ। यसका कारण छन् । कारण माथि नै भनियो कि शासक र प्रशासक जनतासँग संवेदनशील भएनन् भनेर । संवेदनशील किन छैनन् भने अधिकांश शासक र प्रशासकका सन्तान नेपालमा छैनन् । ती विदेशमा छन् वा विदेश जाने तयारीमा परिवारले प्रशिक्षित गरेको छ । जुन परिवार, शासक र प्रशासकको यो देशमा पारिवारिक जरा छैन, समाजसँग टाढिएको छ, त्यसले यो देशको समृद्धि र भलो गर्छ भन्नु रावणले स्वर्ग जाने बाटो बनाउँछु भनी नसकेकोझैँ अवस्था हो । तसर्थ शासक र प्रशासकले यो देशको स्वामित्व आधा अधुरो लिने होइन, पूरा लिने दायित्व वोध गर्नुपर्छ । तबमात्र देश विकास सम्भव छ।

नेपालका प्रशासक परिवर्तन हुन तयार छैनन्, यिनले जतिसुकै सिद्धान्त र मीठा कुरा गरे पनि ‘यी नियुक्तिपछि नियुक्ति खाने दाउ’बाहेक अरु यिनमा केही सोच छैनतर शासक जनताले छानेको हो । यी जनताका सेवक भनिन्छ । दलका असंख्य नेता र कार्यकर्ताले नेता छानेको हुनाले तिनबाट अपेक्षा गरिन्छ परिवर्तनको । नेताबाट अपेक्षा गरिन्छ देशलाई समृद्धिको मार्गमा अगाडि बढाउने।

राजनीति समाजको समस्या समाधान गर्ने औजार हो– राजनीतिशास्त्रका जननी ‘अरस्तु’भन्छन् । एक शब्दमा भन्नुपर्दा राजनीति समस्या समाधान गर्ने ‘चावी’ हो । राजनीतिलाई अगाडि बढाउन  समाज विज्ञान, विकासक्रम र ऐतिहासिक द्वन्द्वबुझ्नुपर्छ । र, त्यहीअनुसार सिद्धान्त र दृष्टिकोण अपनाउने विश्वव्यापी प्रचलन छ । प्रम ओली यसमा शतप्रतिशत चुकिरहेका छन्।

राज्य शक्तिको प्रतीक हो भने व्यक्ति स्वतन्त्रताको प्रतीक हो । नेपालको संविधान व्यक्ति र राज्यबीच स्वतन्त्रता र शक्तिको सन्तुलन पनि हो ।प्रम ओली संविधानको मूल सिद्धान्त व्यक्तिको स्वतन्त्रता विपरित शक्तिको मात्र भाषा बोलिरहेका छन् ।  यसले गर्दा प्रमको नागरिकसँग झमेला खडा भएको छ यतिखेर । प्रमको बोली विपक्षी दल, युवा विद्यार्थीहरूको जुलुस, पार्टीका प्रभावशाली नेता सबैविरुद्ध विदेशबाट बोलिएको शक्तिको भाषा हो । प्रमलाई मैले सम्झाइरहने विषय होइन कि प्रमको दल नेकपा माक्र्सवाद,लेनिनवाद, स्टालिनवाद, माओवादबाट मदन भण्डारीवादमा आइसकेको छ । अर्थात प्रम ओलीको कम्युनिस्ट सिद्धान्त अनेकन् यात्रा तय गर्दैविचारधाराको रूप लिँदै ‘मदनवाद’ मापुगेको छ जहाँ दम्भ, शक्ति र ओठे जवाफको स्थान हुँदैन भनेर । प्रम ओली नै नेकपाको विचारधाराको यो यात्राबाट अबुझ भए उनकै पार्टीका दुई नम्बर अध्यक्ष प्रचण्डबाट के आश गर्ने ? उनले किन केही बुझ्नुप-यो?

राजनीति ‘फोहोरी खेल’ भनी सर्वत्र आलोचित छ । नेपालमा मात्र होइन, विश्वभर नै असल र सिद्धान्तप्रति निष्ठावान व्यक्ति वा समूह हिजोआज राजनीतिलाई फोहोरी खेल भनी यसको प्रक्रिया र संगठनमा संलग्न हुन खासै रुचि राख्दैनन् । बीसौँ शताब्दीका महान् विचारक वर्टेन्ड रसेलले त ‘असल मानिसले खराब मानिसलाई कुर्सी खाली गर्ने खेल’ नै राजनीति हो भने।

तर पनिराजनीति सर्वत्र छ । र, यो अपरिहार्य छ भन्ने तत्वज्ञान सबैलाई छ । तर जुन कुरा सर्वत्र छ त्यही कुराको पाठशाला नेपालमा छैन । राजनीतिको ज्ञान र जिम्मेवारी वोध गराउने कुनै निकाय वा संस्था नेपालीमाझ छैन । यो नभएकै कारण हो राजनीति फोहोरी खेल भयो भन्नुपरेको । यही कारण हो राजनीतिलाई शक्तिको भाषामा मात्र बुझ्दा यसमा अपराधी, डन र शक्तिपीठहरूको लालच बढेको।

राज्य वा सरकार जे भने पनि मनुष्य जातिले अनेकन् कालखण्डमा विविधताबीच ‘सबै बाँचौँ र बाँच्न दिउँ’ भन्ने सिद्धान्तअन्तर्गत सम्झौता गरी निर्माण गरेको हो राजनीति । विभेद छ, असमानता छ, अभाव र वञ्चना पनि छ । राज्यले न्याय गर्छ । न्याय र भातृत्व निर्माणको कल्पनाले सरकार निर्माण भएको हो मानव सभ्यतामा । प्रम ओली राज्य र व्यक्तिको सम्बन्धबारे अनभिज्ञ पक्कै छैनन् होला । उनले जेलमा बिताएका १४ वर्ष लोकतान्त्रिक संस्कार र व्यक्तिको स्वतन्त्रता बुझ्न पनि केही समय पक्कै खर्चे होलान्।

आशा गरौँ, स्वतन्त्रता र शक्तिको सन्तुलनबाट प्रमले बाँकी समय समृद्धिको बाटो समात्नेछन् र  किशोर शाश्वत पौडेलको सडकमा निस्कने कारण सम्बोधन हुनेछ । साथै युवा, वृद्ध र बालकसम्मलाई सरकारको अनुभूति गराउन प्रम ओलीले राजकाजमा ध्यान दिने छन्।

प्रकाशित: १६ आश्विन २०७५ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App