१५ आश्विन २०७७ बिहीबार
विचार

श्रद्धा कि श्राद्ध?

जुन कार्य श्रद्धाले गरिन्छ, त्यो श्राद्ध हो । हिन्दु धर्मको मान्यताअनुसार असोज महिनाको कृष्ण पक्षबाट औँसीसम्म आफ्ना पितृहरूको सम्मान स्वरूप सोह्र श्राद्ध गर्ने परम्परा चलिआएको छ । एक वर्षमा हुने बाह्र महिनाको मध्यमा पर्ने भदौ–असोज महिनाको १५ दिनलाई पितृ पक्षका रूपमा मनाउने प्रचलनको आफ्नै मान्यता छ । सूर्य पनि आफ्नो पहिलो राशी मेषबाट भ्रमण सुरु गरेर छैटौँ राशी कन्यामा पुग्दाको बखत सोह्र श्राद्ध पर्ने हुँदा वर्षको मध्य भागमा पर्नु र ग्रहको आधारमा पनि मध्यमा पर्नुले मानिसको शरीर र महत्वसँगै यसको महत्व छ । शास्त्रअनुसार पनि मानिसलाई सिधा भएर उभिनका लागि हड्डी (ब्याक बोन) बलियो हुनुपर्छ जुन शरीरको मध्य भागमा नै हुन्छ । जसको सहाराले हाम्रो शरीरको पहिचान दिन्छ । त्यसैगरी, हाम्रा पूर्वज, पितृहरूको सहारा र सहयोगले हाम्रो जीवनको पहिचान मिलेको हुनाले उनीहरूको श्रद्धास्वरूप वर्षको मध्यमा सोह्र श्राद्धका रूपमा चलिआएको हो भन्ने गरिन्छ । हाम्रा वंशज हाम्रा पारिवारिक पहिचान भएकाले उनीहरूको सम्मान र श्रद्धास्वरूप श्रद्धाञ्जली व्यक्त गर्ने र स्मरण गर्ने एउटा शुभ अवसर पनि हो श्राद्ध।

त्यसैगरी, हिन्दू धर्मले बताउँछ कि मानव जीवनमा ३ किसिमका ऋण हुन्छन्, देवऋण, ऋषिऋण र पितृऋण । यी ३ मध्ये पितृऋण सबैभन्दा महत्वपूर्ण मानिन्छ र पितृ ऋणबाट मुक्ति पाउनका लागि श्राद्ध गर्ने प्रचलन चलेको मानिन्छ । श्राद्धको अघिल्लो दिन एकछाकी बसेर घर सफाइ, पात खुटेर दुना टपरी गाँस्ने र शुद्ध खाएर भोलिपल्टको श्राद्धका लागि तयारी गर्ने गरिन्छ । श्राद्धको दिन पितृहरूलाई सम्झना गर्नु, पूजा गर्नु, पिण्ड दान गर्नु, तर्पण दिनु, पितृहरूलाई मन पर्ने किसिमका थरीथरीका भोजन तयार गरेर ब्राह्मण एवं आफन्तलाई खुवाउनु र दान दक्षिणा दिनु र पितृबाट आशीर्वाद लिनु यसका प्रमुख विधि हुन् । तापनि, सक्नेले आफ्नो गच्छे र सुविधाअनुसार सामान्य तरिकाले पितृ स्मरण गरे पनि आशीर्वाद मिल्छ भनेर उल्लेख गरिएको पाइन्छ । अवश्य पनि शरीर छुटिसकेका पितृहरूले हामीले बनाएको भोजन सिधै ग्रहण गर्न पाउँछन्, पाउँदैनन् । यो मान्यता आफ्नै ठाउँमा छ तर हाम्रो भावपूर्ण स्मरण र श्रद्धाञ्जली भयो भने अवश्य प्राप्त गर्नेछन्।हिन्दूधर्ममा पितृ पूजा सबैभन्दा महत्वपूर्ण र पितृको उद्धार गर्ने छोरा हुन्, त्यसैले छोरा चाहिन्छ भनेर व्याख्या छ । तर, सन्तान सन्तान नै हुन् छोरा र छोरीमा भेद गर्नुको कुनै तुक छैन । जन्मदाता मातापिता र वंशजको मृत्यु उपरान्त उनीहरूलाई बिर्सन नपरोस् भन्ने हेतुले श्राद्ध गर्ने विशेष विधान बनेको होला भन्ने मान्यता सबैको छ । आफ्ना तीन पुस्ताले यो कार्य गर्नुपर्छ भन्ने मान्यता पनि छ । पितृहरूलाई खुसी पार्नु नै पितृ ऋणबाट मुक्ति, पापबाट मुक्ति र जीवनमा मोक्ष पाउने भएकाले श्राद्ध महत्वपूर्ण पुण्य कर्म हो भनेर विश्वास गरिँदै आइएको छ।

परम्परा र मान्यता जे भए पनि आफ्ना पुर्खाहरूले हामीमाथि गरेको योगदानको कदर गर्दै उहाँहरूप्रति अहोभाव व्यक्त गर्नु हामी सबैको कर्तव्य मात्र नभई स्वभाव नै बन्नुपर्छ । हाम्रा पितृहरूको योगदान, प्रेम र आशीर्वादस्वरूप हामी आज यो स्थानमा रहन सकेको तथ्य कसैले भुल्नुहुन्न। ओशो भन्नुहुन्छ, ‘तिमीलाई तिम्रो दाइले मनी ट्रान्सफरमार्फत अमेरिकाबाट डलर पठाए भने नेपालमा डलर नै प्राप्त गर्दैनौ । अमेरिकाबाट तिम्रो नाममा पैसा आएको खबर तिमीलाई दिइन्छ । त्यो डलरलाई यहाँको एजेन्सीले रुपियाँमा रूपान्तरण गर्छ र तिमीलाई दिन्छ । त्यसैगरी तिमीले तिम्रा पितृलाई गर्ने श्रद्धासुमन कर्महरू अस्तित्वको माध्यमबाट पितृसम्म पुग्छ । तिमीले पठाउने भनेको खबर हो त्यो खबर ध्यानबाट स्मरण गरेर पनि पठाउन सक्छौ । ध्यानले स्वयं तिमीलाई जागृत त गराउँछ नै, तिम्रा पितृहरूप्रति अरू सजग र अहोभावले भरिन्छौ । तिमी कुनै ध्यान उत्सवद्वारा पनि आफ्ना पितृहरूको स्मरण गर्न सक्छौ । परोपकारका कामबाट पनि पितृ ऋण तिर्न सक्छौ । जुनसुकै पुण्य र परोपकारका काम तिमीले गर्छौ त्यो तिम्रा पितृसमक्ष भावद्वारा पुग्नेछ । पुराना मान्यता र प्रचलन अँगाल्नु कुनै हानि नहोला तर स्वयंको रूपान्तरणका लागि मान्यताभन्दा उचित कर्मलाई अँगाल्नु अधिक राम्रो हुनेछ।’

आफ्ना पितृहरूको योगदान कसैले भुल्नु हुँदैन र भुल्न पनि सक्दैन तर त्यसलाई अभिव्यक्ति गर्ने क्रममा नयाँ आयामले सोच्दा पनि फरक पर्दैन । हामीले गर्ने पुरातन प्रचलन र विधिले हामीमा सकारात्मक सोच, पुण्य कर्मको प्रेरणा, शान्त शुद्ध चित्त, आनन्दित जीवन मिलेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । कर्मकाण्डमा हामीले गर्ने खर्च कहीँ अशक्त र असहायका लागि काम आउन सक्छ कि त्यो पनि सोचनीय छ । कर्मकाण्डस्वरूप बनाइने असामान्य भोजन, चाहिनेभन्दा बढी तडकभडक र देखासिकी बढ्दै नजाओस् भन्नेतिर पनि त्यत्तिकै सजग हुनुपर्ने जरुरी छ । बाहिरी शुद्धता र सफाइको महत्व त छँदै छ, आन्तरिक सफाइ, शुद्ध चित्त र भित्रैबाट परोपकारी भाव जागृत हुनु पनि त्यति नै जरुरी छ । पितृको स्मरणका लागि गरिने कर्म पितृले प्रत्यक्ष देखेका हुँदैनन् तर हामीमा कर्ताभाव बढी नै जागेको हुन सक्छ । हामीले गर्ने दान–पुण्यका काम देखावटी हुनु जरुरी नै छैन । श्रद्धा र प्रेम भित्र हृदयबाट जागृत हुनुपर्छ र त्यो सबै प्राणीप्रति हुनुपर्छ ।  पितृको आशीर्वाद सधैँ बर्सन्छ, जबसम्म हाम्रो आचरण सही र हाम्रो मार्ग सत्यमा हुन्छ । पितृ ऋण तब तिर्न सक्छौँ हामी जब उहाँको हामीप्रतिको चाहना असल व्यक्ति भएर समाज हितमा काम गर्न सक्छौँ र स्वयं शान्त र आनन्दित जीवन जिउन सक्छौँ । हामीले असत्य कर्म गरेर कमाएको सम्पत्तिको दान र असत्यको मार्गमा हिँडेको मनले पितृहरू अवश्य खुसी हुन सक्दैनन् । हाम्रो सही कर्म, सही विचार र सही मार्ग नै पितृ खुसी राख्ने माध्यम हो । स्वयं आनन्दित हुनु र अरूलाई आनन्दित हुने मार्ग प्रशस्त गर्नु पितृ ऋण तिर्ने सर्वोत्तम उपाय हुन सक्छ।

प्रकाशित: १६ आश्विन २०७५ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App