४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

नारी–मुक्तिको धर्मशास्त्र

कार्य–आधारित लैंगिक भेदभाव दुनियाँभर छ तर हिन्दू ब्राह्मण व्यवस्थाले आफ्नो खास ‘आध्यात्मिक फासीवादी’ विचारधाराबाट लैंगिक विभेदलाई संस्थागत गरेको छ । उक्त विचारधाराले सामाजिक चेतनालाई गहिरो रूपमा प्रभावित गरेको छ । कार्यस्थललाई वि–लैंगिकीकरण महिला आजादीको मूल उद्देश्य हुनुपर्ने हो तर वि–लैंगिकरणका लागि वि–हिन्दूकरण जरुरी छ । वि–हिन्दूकरण नारी विरोधी हिन्दूशास्त्रको व्यावहारिक बहिस्कारबाट सम्भव छ । नारी उत्पीडन व्यावहारिक रूपमा हिन्दू–ब्राह्मण विचारधारासँग जोडिएको छ । सतिप्रथा, कन्यादान, बालविवाह, दहेज प्रथा, नारी अशिक्षा, महिलाको सम्पत्तिबाट वञ्चित, भयको निर्माण आदि मनुवादी विचार हुन्।

हिन्दू ब्राह्मण समाज वैज्ञानिक र आध्यात्मिक विचारधाराको बीचमा पुल बनाउन असफल भएको कारण हिन्दूत्वको मृत्यु भइरहेको छ । हिन्दूत्व विचारधारा आफ्नै कारणले दिन प्रतिदिन कमजोर हुँदैछ । तर्क र विश्वासबीच संवाद बनाउन सकिरहेको छैन । संसारलाई मुख्य चार आध्यात्मिक संसारका रूपमा विभाजन गर्न सकिन्छ : क) इसाई जगत्, ख) बौद्ध जगत्, ग) इस्लामी जगत् र घ) हिन्दू जगत् । यसका अतिरिक्त अरु पनि ससाना धार्मिक जगत् छन् तर तिनको आध्यात्मिक संसार बनिसकेको अवस्था छैन।

संसारका चारै ठूला धर्ममध्ये हिन्दू धर्म सबभन्दा सानो र गरिब छ जोसँग समाज रूपान्तरणको कुनै आध्यात्मिक सूत्र छैन । हिन्दू व्याख्याकार आदि शंकराचार्यदेखि सर्वपल्ली राधाकृष्णनसम्म ब्राह्मणवादी रुढिवाद, जाति–संस्कृतिको नकारात्मकताको समर्थक छन् । भारत र नेपालमा हिन्दू धार्मिक पहिचान एकदमै नयाँ छ तर यो धर्मको आधारमा मौजुदा ब्राह्मणवाद पुरानो चिज हो । हिन्दू धर्म फैलिने धर्म होइन । किनभने गैर–हिन्दूलाई हिन्दू बनाउनु प¥यो भने कुन वर्ण वा जातमा राख्ने भन्ने समस्या छ । वर्ण र जात जन्मसँग जोडिएको छ । ब्राह्मणले रुढिवादी आध्यात्मिक–तन्त्रको हिन्दू पहिचानको श्रेय मुस्लिम विद्वान्लाई दिन्छ।

७१२ ई. मा मुस्लिम आक्रान्ता मुहम्मद विन कासिम ब्राह्मण राजा दाहिरलाई परास्त गरेर सिन्धलाई आफ्नो उपनिवेश बनाउँछन् । त्यतिबेला भारतमा बहुदेववादको झण्डा बुलन्द भएको देख्छन् । बहुदेववादको बीजारोपण गरेका आर्य–ब्राह्मणलाई मूर्तिपूजक कुफ्र वा काफिर नाम दिन्छन् । यसरी मन्दिर निर्माण गरेर कथित देवताको मूर्ति प्रस्थापित गरेर धर्मको धन्धा चलाउने बहुदेववादीलाई हिन्दू नाम दिइएको थियो जसको अर्थ हो काफिर । यसको श्रेय मुस्लिम विद्वान् अल–बेरुनीलाई जान्छ जसले आफ्नो प्रसिद्ध पुस्तक ‘अल–हिन्द’ लेखे र हिन्दू शब्द आफूभन्दा अलग गर्न गालीका रूपमा प्रयोग गरे । आठौँ शताब्दी ई.पूर्वको कुनै भाषामा हिन्दू र हिन्दूस्तान शब्दको प्रयोग भएको पाइँदैन । भारतमा हिन्दू शब्दको प्रयोग १२औँ शताब्दीको अन्ततिर राजा पृथ्वीराज चौहानका दरबारी कवि चन्द्र वरदाईको ‘पृथ्वीराज रासो’मा भएको देखिन्छ । तर, अरब र फ्रान्समा यो शब्दको प्रयोग पर्याप्त पूर्वकालदेखि नै हुँदै आइरहेको थियो।

कार्य–स्थल वा क्षेत्रको वि–लैंगिकीकरण महिला र पुरुषको सम्बन्धमा रूपान्तरण ल्याउनुको साथै समाजलाई पनि नयाँ शिराबाट व्यवस्थित गर्छ । हिन्दू–ब्राह्मण धर्मले नारी–सौन्दर्यको धारणालाई साडी–ब्लाउजको वरिपरि निश्चित गरेको छ । जब धर्ममा आध्यात्मिक लोकतन्त्रको स्थान हुँदैन र मान्छेको चेतनालाई लगातार आध्यात्मिक तानाशाहीबाट प्रशिक्षित गर्छ तब नारी मुक्तिका सबै बाटा बन्द हुन्छन् । हिन्दू ब्राह्मण धर्मबाट आध्यात्मिक लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । ब्राह्मणहरू केवल असमानताबाट मात्र सन्तुष्ट भएन, त्यसैले उनीहरूले चर्तुवर्ण व्यवस्थाको निर्माणबाट क्रमिक असमानताको सिद्धान्त निर्माण गरे।

हिन्दू अध्यात्मले नारी शरीरलाई केवल पुरुषको यौन सन्तुष्टि क्षेत्रका रूपमा देख्छ । तर, बहुजन नारीवाद उनीहरूको कार्यक्षेत्रको उत्पादन नैतिकताबाट प्रभावित हुन्छ । बहुजन नारीत्वले आफ्नो उत्पादनको नैतिक बलबाट पितृ–व्यवस्थालाई लोकतान्त्रिक बनाएको छ । बहुजन नारीवाद श्रम र उत्पादनद्वारा वि–लैंगिकीकरण गरेको छ । पितृसत्ताको मूल चरित्र उनीहरूमा छैन । मूल चरित्र मनुवादमा छ जसलाई ब्राह्मणहरूले विभिन्न शास्त्र निर्माण गरेर कडाइपूर्वक लागू गरे । पितृसत्ताको मूल स्रोत ब्राह्मणवाद हो । मनुवादी नारीवाद पितृसत्ताको विरोध गर्छ तर ब्राह्मणवादको विरोध गर्दैन । हिन्दू धार्मिकतन्त्रको निर्माण नै यस्तो छ कि नारीलाई केवल यौनवस्तुका रूपमा देख्छन् । यो ब्राह्मण संस्कृतिको हिस्सा हो।

बाबासाहेव डा. अम्बेडकरको विचारधाराअनुसार नारीत्वको परिधि, गुण, व्यवहार, उनीसँग जोडिएको भूमिका तथा मौलिक कर्तव्यबाट समाज निर्माण भएको छ । हामीले वास्तविक नारीत्वको संज्ञान निस्पक्ष दृष्टिकोणबाट गर्नुपर्छ । समाजमा सबभन्दा पहिला नारीत्वको निर्धारण प्राकृतिक दृष्टिकोणबाट भएको हो । प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन कायम राखिराख्न यौन कर्तव्यको भिन्नतालाई छाडेर नारीको जुन कर्तव्य निर्धारित ग-यो, त्यसैको समानान्तरमा पुरुषको भूमिका पनि निर्धारण ग-यो । यही विन्दुबाट वास्तविक नारीत्वको निर्माण हुन्छ।

बहुजन नारीवादी आन्दोलन अम्बेडकर विचारधाराबाट प्रभावित छ । अम्बेडकरी अन्दोलनमा मानवताको परिधिको निर्माण दुई समान त्रिज्या (स्त्री–पुरुष) योगको व्यासबाट हुन्छ । मूलनिवासी बहुजनको इतिहासको केन्द्र न त मातृसत्तात्मक थियो न त पितृसत्तात्मक नै थियो । समाजको संरचना लैंगिक समता तथा समतुल्यतामा आधारित थियो । मातृसत्तात्मक तथा पितृसत्तात्मक दुई विचारधारामध्ये कुनै एउटा हुनुको मतलब असमानताको नै प्रतिनिधित्व गर्नु हो ।

मूलनिवासी बहुजन समाज जातिवादको शोषणबाट पीडित छन् तर बहुजन महिलाहरू जातिवादको सँगसँगै मनुवादको गैरबराबरी व्यवस्थाबाट पनि पीडित छन । विधवा विवाह नहुनु, समयको एउटा कालखण्डसम्ममा सति प्रथा, बालविवाह, घुँघट प्रथा, बुर्का प्रथाबाट महिलाहरू किन पीडित छन् ? यी प्रथाको विरुद्धमा मनुवादी नारीवादीहरू किन आवाज उठाउँदैनन् ? यसको मूल कारण महिला सम्पत्तिको अधिकारबाट वञ्चित हुनु हो । महिलाको सम्पत्ति छैन बरु महिला स्वयं पुरुषको सम्पत्ति हुन् यो विचारधारा मनुवादी विचारधारा हो।

नेपालको नारीवादी आन्दोलन जातव्यवस्थाको श्रेष्ठताबाट संक्रमित छ । आन्दोलनको नेतृत्व सवर्ण वर्चश्ववादीले गरिरहेका छन । बहुजन महिलालाई प्रतीकका रूपमा राखेका छन । सवर्ण महिलाले बहुजन महिलासँग छुवाछूत, उचनीचको व्यवहार, सामाजिक विभेद गर्छन् । सवर्ण शास्त्र, परम्परा, स्वजातीय विवाह, जातव्यवस्था, कन्यादान आदि विषयमा आमूल परिवर्तनकारी दृष्टिकोण राख्दैनन् । पितृसत्ताको मूल स्रोत हिन्दू–ब्राह्मण शास्त्रलाई नकार्ने र सामाजिक रूपमा बहिष्कार गर्ने दृष्टिकोण र कार्यक्रम छैन । ब्राह्मणवाद रहेसम्म पितृसत्तालाई रूपान्तरण गर्न सकिँदो रहेनछ भन्ने कुरा व्यवहारबाट प्रमाणित भएको छ । जब कुनै दलित महिला हिंसामा पर्छ, छुवाछूतको शिकार हुन्छ, जातीय विभेदको शिकार हुन्छ तब मनुवादी नारीवाद कहीँकतै देखिँदैन।

बहुजन नारीवादको आन्दोलनको शब्दावली पुरुष वर्चश्ववादी हुनु हुँदैन । महापुरुषको सट्टा महानायक र महिलाको हकमा महानायिका शब्दको प्रयोग गर्नुपर्छ । बहुजन पुरुषभित्र जुन पुरुषवाद छ त्यो ब्राह्मण पुरुषबाट आयातित हो । त्यो उसको मूल प्रवृत्ति होइन । त्यस्तै वर्तमानमा बहुजन नारीमा जुन नारीवाद छ त्यो पनि ब्राह्मण नारीबाट आयातित छ । बहुजन नारीहरूमा जसले आफ्नै नारीलाई शोषण गर्छन्, जजसले शोषण भोगेका छन्, उनीहरूले त्यो प्रवृत्ति सवर्ण महिलाबाट सिकेका हुन् । नारी उत्पीडनको प्रवृत्ति बहुजनको मूल प्रवृत्ति थिएन।

नक्कलको सन्दर्भमा गैबरिल टार्डेले वैज्ञानिक अध्ययन गरेका छन् । उनकाअनुसार नक्कल गर्ने प्रवृत्तिलाई तीन भागमा विभाजन गरी विश्लेषण गरेको छ । उनको तीन नियममध्ये एउटा नियम ‘तलकाले माथिको नक्कल’ गर्छन् । उनकै शब्दमा ‘अवसर मिल्दा दरबारी सधैँ आफ्नो नायक, आफ्नो राजा, अधिपतिको नक्कल गर्छ र आम जनता आफ्नो सामन्तको नक्कल गर्छन् (डा. अम्बेडकर, भारत में जातिप्रथा)’।

नारी आफैं धेरै शक्तिशाली छन् किनभने नारीले नै पुरुषको जन्म दिन्छ । पुरुषलाई जन्म दिने भएको हुनाले पुरुषवादलाई पनि नारीले नै खत्तम गर्न सक्छन् । नारीको आजादी वि–हिन्दूकरणसँग जोडिएको छ।

(अम्बेडकरी तथा बहुजन अध्येता)

प्रकाशित: १० आश्विन २०७५ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App