२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

संस्कृति जोगाउन तीज

हरेक वर्ष महिला तीज आउन एक महिना बाँकी हुँदादेखि नै तीजका नाममा नाचगान गर्ने र दर खाने गर्छन् । मानौँ, एकले दर खाने कार्यक्रम राखेपछि अर्कोले पनि दर खुवाउनैपर्ने जस्तो । पछिल्ला केही वर्षदेखि त विभिन्न संघ–संस्था, महिला समूह र संगठनले पनि आफ्ना कर्मचारी, सदस्यहरूलाई पार्टी प्यालेसमै  बोलाएर दर खुवाउँछन्।

आजभोलि तीजका नाममा महिला एक ठाउँमा जम्मा हुन्छन्,  खान्छन्, पिउँछन् र रमाउँछन् पनि । तर हाम्रो परम्परामा दर खाने र तीज मनाउने चलन त्यसरी चलेको भने होइन ।सम्पर्क गर्ने कुनै माध्यम पनि थिएन । आमा बुबाले आफ्ना छोरीचेलीलाई बिहे गरेर टाढा–टाढा दिएका हुन्थे । उनीहरूलाई माइत जान अहिले जस्तो यातायातको सुविधा थिएन। 

पितृसत्तात्मक संस्कारमा ती चेलीका कलिला हता घाँस, दाउरा, पानी पँधेरा, चुलो चौको गरेर बित्थे ।  वर्षभरि सासू ससुरा, नन्द आमाजू र श्रीमान् रिझाउमै ब्यस्त हुने चेलीबेटी एक्लै डाँडाकाँडा काटेर माइती घर जान पनि समस्या नै हुने गथ्र्यो । तीजमा नौ डाँडापारि पुगेका चेलीबेटी लिन बाबु, दाजु भाइ नै जानुपथ्र्यो ।  घरधन्दामा रमाइरहेका चेलीबेटी दाजुभाइ वा बाबुको साथ लागेर तीजमा  माइती पुग्थे । दिदीबहिनीहरू जम्मा भएर माइतीघर छोड्दाको पीडा, विवाह घरमा काटेका दुःखसुखका कहानी तीज गीतहरूमा व्यक्त गर्थे । परम्परामा विश्वास गर्ने चेलीहरू व्रत बस्थे, पूजा गर्थे, नाच्थे, गाउँथे र रमाउँथे । न कि आजकलजस्तो महँगा गरहना, कपडा देखाउनुपथ्र्यो त्यतिखेर। 

तीज  पौराणिक समयको उपज पनि हो । शिवपुराणमा पार्वतीले शिवलाई मन पराएको तर पार्वतीलाई उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन लागेकाले साथीहरूले उसलाई भगाएर वनमा पुर्याएको र पार्वतीले निराहार व्रत बसेकाले शिव प्रसन्न भएर उपस्थित भई वरदान दिएको वर्णन छ । अहिले समाज धेरै परविर्तन भइसक्यो । विकासले फड्को मारिसकेको छ । संसारसँग छिनभरमै जोडिन सकिन्छ । पहिला पहिला दिदीबहिनीले तीज जसरी मनाउँथे अहिले त्यसमा धेरै नै भिन्नता आइसकेको छ । तीजमा दिदीबहिनीले आधुनिक  भेटघाट र खानपान गर्छन् । गरगहना देखाउँछन् । कसको भन्दा कसको घरमा खाएको दर मीठो, कसले लगाएको लुगा र गहना राम्रो  तीजमा यस्तै चर्चा हुने गर्छ । अहिले जति पनि महिलामाथि हिंसाका घटना बाहिर आएका छन् ती सबै पितृसत्तात्मक सोच र सामन्ती संस्कृतिका रूपमा देखापर्ने यस्ता चाडका कारणले नै भएका हुन् भनेर सोच्न ढिला भइसकेको छ। 

यसपालि पनि महिलाले तीजको कार्यक्रम गरिरहँदा ठाउँठाउँमा कलिला नानीहरू बलात्कृत भइरहेका छन् । तर हाम्रो देशका उच्च तहमा पुगेका महिलासमेत तीज मनाउन तल्लीन छन् । राष्ट्र प्रमुखले समेत महिला नेता, अधिकारकर्मी र सांसदहरूलाई जम्मा गराएर निवासमै तीज कार्यक्रम गरिरहँदा बलात्कृत नानीहरूका  मनले के सोच्यो होला ? । के अब पितृसत्तालाई पक्षपोषण गर्ने तीज मनाउन छाडेर निर्दोष चेलीमाथि भएका हिंसाविरूद्ध बोल्नुपर्दैन ? किनकि तीजको  सन्दर्भले अवश्य पनि सामन्ती संस्कृति र पितृसत्तात्मक सामाजिक सोचको समर्थन गर्छ। 

प्रकाशित: २७ भाद्र २०७५ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App