कार्ल माक्र्स उन्नाइसौँ शताब्दीका मात्रै महान् चिन्तक थिएनन् । आजको हाम्रो समय बुझ्ने सन्दर्भमा पनि उनको चिन्तन बृहत् छ । समाज बुझ्न माक्र्सको चिन्तन जतिको उपयुक्त अरू छैनन् । ‘माक्र्सवादी’हरू माक्र्सले आफ्नो समयको सापेक्षमा लेखेका कुराको मात्र रटान लगाइरहने ‘माक्र्सोलोजी’भन्दा धेरै अघि बढेका हुन्छन्। उनीहरूले इतिहासको नयाँ विकासअनुसार आफ्नो नवीन तरिका अवलम्बन गरेका हुन्छन्। माक्र्स स्वयंले आफ्नो जीवनकालमा आफ्ना विचारलाई निरन्तर विकास र पुनरावलोकन गरेका थिए।
माक्र्सले पुँजीवादी व्यवस्थालाई उत्पादनको नयाँ चरणका रूपमा मात्र बुझेका थिएनन्। मूल्यको नियमले पुँजीवादी धनसञ्चयलाई मात्र नियमन गर्ने होइन बरु आधुनिक सभ्यताका सबै पक्षमाथि नियन्त्रण गर्ने कुरा बुझेर उनले आधुनिक पुँजीवादी समाजका सबै आयामको अध्ययन गरे। यस्तो मौलिक दृष्टिकोणकै कारण माक्र्स सामाजिक सम्बन्धलाई मानवशास्त्रको फराकिलो परिधिसँग जोडेर पहिलो वैज्ञानिक सिद्धान्त दिन सक्षम भएका थिए। त्यसै सिद्धान्तमा उभिएर उनले आफ्नो विश्लेषणअन्तर्गत ‘पर्यावरण’ भनिने विषय प्रतिपादन गरेका थिए। पर्यावरणको विषय माक्र्सको निधनको एक शताब्दीपश्चात् पुनःआविष्कार गरिएको हो। माक्र्सको यो प्रारम्भिक अध्ययन सारबारे अरू कसैलाई भन्दा जोन बेलामी फोस्टरलाई राम्रो थाहा छ।
पथभ्रष्ट माक्र्सवादी परम्पराले सामाजिक परिवर्तनको द्वन्द्ववादको यान्त्रिक अवमूल्यनलाई प्रभावित बनाएको छ।
मैले भने माक्र्सको अर्को अध्ययन–सारलाई बढी जोड दिएको छु । मैले जोड दिएको विषय भूमण्डलीकरणको भविष्यसँग सम्बन्धित छ । सन् १९५७ मा पूरा भएको पीएचडीको मेरो शोधदेखि मेरो पछिल्लो पुस्तकसम्ममा सञ्चयको नियमको विश्वव्यापी विस्तारले निम्त्याउने असमान विकासबारे अध्ययन गर्न मिहिनेत गरेको छु । यही अध्ययनबाट मैले समाजवादको नाममा ‘परिधि’ (पेरिफेरी) बाट सुरु भएर विश्व प्रणालीका रूपमा विकास हुने क्रान्तिहरूको व्याख्या गरेको छु । मेरो प्रयासमा अतिरिक्त (नाफा) को अवधारणाको परिभाषा दिन मिहिनेत गर्ने पाउल बारन र पाउल स्वीजीको प्रयासको बलियो प्रभाव छ।
माक्र्सको अर्को अध्ययन–सारको पनि यहाँ चर्चा गर्न चाहन्छु । उनले यो अध्ययन–सारलाई सन् १८४८ को प्रारम्भिक कालदेखि आफ्नो अन्तिम लेखनसम्ममा विकास गरेका छन् । यो अध्ययन–सारअनुुसार इतिहासमा पुँजीवादी व्यवस्थाले आधार तयार गरेको अवधि छोटो हो । पुँजीवाद भनेको एउटा छोटो समयावधि (एक शताब्दी) मा रचना भएको ऐतिहासिक चरण हो । यो चरणले सभ्यताको उच्चतम चरणका रूपमा बुझिएको साम्यवादतर्फ जाने परिस्थिति बनाइदिएको हुन्छ।
सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रमा माक्र्सले वर्गसंघर्ष सधैँ ‘या त बृहत् रूपमा समाजको क्रान्तिकारी रूपान्तरणमा नभए शासक वर्गको सार्वजनिक अवसानमा’ टुंगिने गर्छ भनेका छन् । लामो समयसम्म यो वाक्य मेरो चिन्तनको अग्रभागमा रहिरह्यो । त्यही भएर म ‘क्रान्ति वा विघटन ?’ शीर्षकमा मेरो विचार यहाँ प्रस्तुत गर्दैछु।
विकसित पश्चिमा देशबाट क्रान्तिको अवधारणा बेपत्ता भइसकेको छ भने समाजवादी क्रान्ति विश्वप्रणालीको परिधि (पेरिफेरी) मा सीमित भइसकेको छ।
१. विकसित पुँजीवादी देशहरूमा हुने क्रान्तिहरूको शृंखलासम्बन्धी अवधारणाबाट मात्र मजदुर र समाजवादी आन्दोलन अघि बढ्न सकेको छैन । जर्मन सामाजिक प्रजातन्त्रको कार्यक्रममाथि माक्र्स र फ्रेडरिक एंगेल्सले गरेका आलोचनादेखि रुसी क्रान्तिको अनुभवबाट बोल्सेविकवादले निकालेको निष्कर्षसम्ममा संसारभरि समाजवादतर्फ संक्रमणका लागि मजदुर तथा समाजवादी आन्दोलनबाहेक अरू कुनै बाटो देखिएको थिएन।
तथापि बितेका ७५ वर्षमा संसारमा समाज रूपान्तरणले अर्को बाटो लिइसकेको छ । विकसित पश्चिमा देशबाट क्रान्तिको अवधारणा बेपत्ता भइसकेको छ भने समाजवादी क्रान्ति विश्वप्रणालीको परिधि (पेरिफेरी) मा सीमित भइसकेको छ। यो नयाँ परिस्थितिलाई पुँजीवादी बन्दोबस्तको विश्वव्यापी विस्तारका रूपमा मात्र हेर्ने कतिपय मानिसका लागि ठूलै अन्योलको विषय बनेको छ । असमान विकाससम्बन्धी अवधारणामा आधारित भएर विश्लेषण गर्दा यसको फरक जवाफ प्राप्त हुन सक्छ । समकालीन साम्राज्यवादी व्यवस्थाको प्रारम्भिक इतिहास विश्लेषण गर्दा हामीलाई अघिल्ला ऐतिहासिक चरणहरूका असमान विकासको प्रकृति र अर्थबारे बुझ्न उत्साहित गर्छ।
एउटा उत्पादनको चरणबाट अर्को उत्पादनको चरणसम्मको संक्रमणको तुलनात्मक इतिहासले सामान्यतः संक्रमणको चरणमाथि सैद्धान्तिक प्रश्न उठाउने गर्छ । त्यसकारण ऐतिहासिक भौतिकवादमा विश्वास नगर्ने केही इतिहासकार आजको अवस्था र रोमन साम्राज्यको अन्त्यको युगबीचको समानतालाई औँल्याएर दुई परिस्थितिबीच समानान्तर रेखा खिच्न खोज्छन् । अर्कोतिर माक्र्सवादको केही निश्चित कोरा सिद्धान्तवादी व्याख्याले यो विषयमा थप चिन्तन नै बन्द गर्न पनि ऐतिहासिक भौतिकवादको शब्दावली प्रयोग गर्ने गरेको छ । तसर्थ सोभियत इतिहासकारहरूले ‘रोमको विघटन’को कुरा पनि गरे साथै पुँजीवादी उत्पादन–सम्बन्धको विकल्पका रूपमा ‘सोभियत क्रान्ति’लाई एउटै मात्र विकल्पका रूपमा पनि अघि सारे । उत्पादनको सापेक्षमा प्राचीन र पुँजीवादी संकटको रूप र सारबारे तुलनात्मक अध्ययन गर्ने तलको विश्लेषणले मात्र यो विषयको सम्बोधन हुन सक्छ । के यी दुई संकटलाई एउटाका लागि ‘विघटन’ र अर्कोका लागि ‘क्रान्ति’ शब्द प्रयोग गरेर न्याय हुन सक्छ?
एउटाका लागि ‘विघटन’ र अर्कोका लागि ‘क्रान्ति’ शब्द प्रयोग गरेर न्याय हुन सक्छ ?
मेरो मुख्य तर्क के हो भने यी दुई संकटबीच निश्चित समानान्तर प्रवृत्ति अस्तित्वमा छ । दुवै सन्दर्भमा प्रणाली संकटमा परेको छ किनभने दुवैले जम्मा गरेको धन सञ्चयको अत्यधिक केन्द्रीकरण भएको छ । यसरी धन सञ्चयको अत्यधिक केन्द्रीकरण दुवै बन्दोबस्त उभिएको उत्पादन–सम्बन्धभन्दा अघि छ । त्यसकारण प्रणालीको ‘परिधि’मा उत्पादक शक्तिको विकासले त्यो प्रणालीको विघटन अपरिहार्य बनाउँछ । अनि अतिरिक्त नाफाको संकलन र उपयोगका लागि विकेन्द्रीकृत प्रणालीले यसलाई विस्थापन गर्छ।
२.ऐतिहासिक भौतिकवादभित्र पनि सबैले स्वीकार गर्ने सिद्धान्त भनेको उत्पादनको तीन चरणको क्रम होः दास चरण, सामन्तवादी चरण र पुँजीवादी चरण । यो ढाँचामा रोमको विघटन भनेको दास बन्दोबस्तबाट भूदास बन्दोबस्ततर्फको संक्रमणमात्र हो । हामीले पु“जीवादी र समाजवादी क्रान्तिको विषयमा जति कुरा गर्छौं, ‘सामन्ती क्रान्ति’को विषयमा हामी किन त्यत्ति कुरा गर्दैनौँ भन्ने बुझाउन अझै बाँकी नै छ ।
मैले यसलाई पश्चिमकेन्द्रित व्याख्याका रूपमा लिएको छु । पश्चिमकेन्द्रित व्याख्याले पश्चिमको इतिहासको विशिष्ट चरित्रलाई नै सामान्यीकरण गर्छ । साथै अरू विशेषता भएका जनताको इतिहासलाई यसले उपेक्षा गर्ने गर्छ । यो अवधारणाभन्दा भिन्न, विश्वभरिको अनुभवमा आधारित ऐतिहासिक भौतिकवादको नियमको अध्ययन गर्ने बाटो मैले चुनेँ । त्यसैकारण पुँजीवादी व्यवस्थाभन्दा अघि एउटैमात्र उत्पादनको चरण हुन्छ भन्ने कुराको मैले वैकल्पिक तर्क प्रस्तुत गरेको छु । मेरो वैकल्पिक प्रस्ताव भनेको विभिन्न शाखाको चरण हो जसतिर सबै वर्गीय समाज उन्मुख छन् । पश्चिमको इतिहास भनेको उदाहरणका लागि रोमन सभ्यताको उदय, त्यसको विखण्डन, सामन्ती युरोपको स्थापना र अन्ततः व्यापारिक युगका अधिनायकवादी राज्यहरूको विकास हो । अर्थात् पश्चिमको इतिहास समान आधारभूत धारमा अघि बढेको देखिन्छ । तर अन्यत्रको सन्दर्भमा अलि फरक छ । यसको सबैभन्दा उपयुक्त उदाहरण हो, चीन । पुँजीवादी र सामन्ती उत्पादन चरण जस्तै दास व्यवस्था विश्वभरि सबैको इतिहासमा थिएन । यो उत्पादन–सम्बन्धको विस्तारसँग गहिरो गरी जोडिएको विशिष्ट चरण हो।
रोमको अपरिपक्वता र सामन्ती विखण्डनले नै पश्चिमलाई ऐतिहासिक लाभ दिएको छ।
यो अवधारणाले रोमको स्थापना र पछि त्यसको विघटनलाई सामन्ती निर्माणको अपरिपक्व प्रयत्नका रूपमा हेरेको छ । उत्पादक शक्तिको विकासको अवस्थाले रोमन साम्राज्यको पालामा सामन्ती केन्द्रीकरणको आवश्यकता भएन । रोमन साम्राज्य पहिलो असफल प्रयासपछि सामन्ती विखण्डनमार्फत जबर्जस्ती संक्रमण भयो । त्यसैको आधारमा फेरि एकपल्ट पश्चिममा अधिनायकवादी राजतन्त्रको ढाँचाभित्र केन्द्रीकरण लागू भयो । त्यसपछि मात्र पश्चिमको उत्पादन–सम्बन्ध पूर्णतः सामन्ती उत्पादन–सम्बन्धमा फेरियो । त्यही अवस्थादेखि मात्र पश्चिममा उत्पादन शक्तिको विकास भएको थियो । त्यस्तो उत्पादन शक्ति चीनमा अगाडि नै भइसकेको थियो । यी दुई (रोम र चीन) बीच त्यसबेला कुनै सम्बन्ध भने थिएन।
रोमको अपरिपक्वता र सामन्ती विखण्डनले पश्चिमको पछौटेपना देखाउ“छ । यो पछौटेपनाले नै पश्चिमलाई उसका ऐतिहासिक लाभ पनि दिएको छ । प्राचीन सामन्ती उत्पादन चरण र बर्बर मानव समुदायको चरण मिलेर सामन्तवादलाई परिभाषित ग-यो र त्यसले पश्चिमलाई लचकता पनि प्रदान ग-यो । त्यसैकारण युरोपमा पूर्ण सामन्ती चरण तीव्र गतिमा पार भएको थियो । पश्चिममा उत्पादन शक्तिको विकासको चरण तीव्र गतिमा पार गर्नुको कारण पनि त्यही हो । त्यसकारण पश्चिमा देशहरू चाँडै पुँजीवादमा पुग्न सफल भए । पश्चिमा देशको यो लचकता र गतिकै कारण तुलनात्मकरूपमा कडा र धिमा गतिमा रहेका पूर्वी देशहरू पछाडि परेका हुन्।
निःसन्देह रोमन–पश्चिम सभ्यता अपूर्ण सामन्ती निर्माणको एउटै मात्र उदाहरण होइन । हामीले त्यस्तै प्रकृतिका अरू तीनवटा उदाहरण प्रस्तुत गर्न सक्छाैँ, जसका आ–आफ्नै विशेषता छन् : बेजानटिन–अरब–अट्टोमन सभ्यता, भारतीय सभ्यता र मंगोल सभ्यता । यी सबै सभ्यताको उदाहरणमा उत्पादनशील शक्तिको विकास आवश्यकताभन्दा निकै अघि थियो । सबै सभ्यताको सन्दर्भमा केन्द्रीकरणको रूप भनेको राज्य, अर्ध सामन्तवाद र वस्तुको अर्थको भिन्नभिन्न विशिष्ट संयोजन भएको छ । उदाहरणका लागि इस्लामिक राज्यको सन्दर्भमा वस्तुको केन्द्रीकरणले प्रभावशाली भूमिका खेलेको थियो । त्यसपछि भारतीय सभ्यताको असफलताको कारण हिन्दु दर्शन हो । मैले हिन्दु दर्शनलाई कन्फुसियसवादबाट अलग राख्ने गरेको छु । जहाँसम्म चङ्गेज खाँको साम्राज्यको कुरा छ, त्यसको आयु ज्यादै छोटो भएको सर्वविदित कुरा हो।
३. समकालीन साम्राज्यवादी प्रणाली आफैँ नाफाको केन्द्रीकरणको बन्दोबस्त हो । यो विश्वव्यापी प्रकृतिको बन्दोबस्त हो । केन्द्रीकरणको यो प्रणाली पुँजीवादी उत्पादन–सम्बन्धको आधारभूत नियमअनुसार चल्ने गर्छ । पुँजीवादी बन्दोबस्तको प्रारम्भिक विकासको चरणमा रहेको परिधि (पेरिफेरी) माथि दमनको आधारमा साम्राज्यवादी प्रणाली चलेको हुन्छ । मैले विश्वव्यापी रूपमा पुँजीको सञ्चयको सिद्धान्तलाई विश्वव्यापी मूल्यको नियमको अभिव्यक्तिका रूपमा प्रस्तुत गरेको छु । मूल्य केन्द्रीकरणका लागि साम्राज्यवादी बन्दोबस्त धन सञ्चयको गति र प्रणालीको केन्द्रमा उत्पादनशील शक्तिको विकासका रूपमा परिभाषित हुने गर्छ । ‘परिधि’का देशमा भने उत्पादनशील शक्तिको विकास पछाडि पर्नुका साथै निराकार छ । विकास र अल्पविकास एकै सिक्काका दुई पाटा हुन्।
‘परिधि’का देशमा उत्पादनशील शक्तिको थप विकासका लागि नाफाको केन्द्रीकरण गर्ने साम्राज्यवादी प्रणालीको विघटन आवश्यक पर्छ । पृथ्वीमा बनाउन सम्भव वर्गविहीन समाज निर्माणका लागि इँटा साबित हुने उच्चस्तरको विकासअघि विकेन्द्रीकरणको आवश्यक चरण, देशहरूभित्रै समाजवादी रूपान्तरणको स्थापना आवश्यक पर्छ । यो मूल सिद्धान्तअन्तर्गत समाजवादी रूपान्तरणका सिद्धान्त र रणनीतिका अनेकन् प्रभाव रहने गर्छ।
‘परिधि’का देशमा समाजवादी संक्रमण राष्ट्रिय मुक्तिभन्दा भिन्न हुने गर्दैन । राष्ट्रिय मुक्ति स्थानीय पुँजीपति वर्गको नेतृत्वमा सम्भव हुँदैन भन्ने कुरा प्रस्ट भइसकेको छ । तसर्थ मजदुर र किसानको नेतृत्वमा चरणबद्ध तरिकाले दीर्घकालीन क्रान्तिको प्रक्रियामा प्रजातान्त्रिक चरण स्थापना हुनुपर्छ । राष्ट्रिय मुक्ति र समाजवादको लक्ष्यबीचको एकीकरणले नयाँ समस्याको जन्म गराउँछ । ती समस्याको हामीले विश्लेषण गर्न आवश्यक छ । एउटा सामाजिक चरणबाट अर्को सामाजिक चरणमा फड्को मार्दा समाजको वास्तविक गति भने कहिले प्रगतितिर त कहिले पश्चगमनतिर, कहिले एकतातिर त कहिले विखण्डनतिर तलमाथि हुने गर्छ । विशेषतः राष्ट्रवादको नाममा यस्तो हुने गर्छ । यहाँ पनि हामीले रोम साम्राज्यप्रति बर्बर समाजको मनसाय तुलना गर्न सक्दछौँ । रोम समाजसँग बर्बर समाजको विरोधाभासपूर्ण सम्बन्ध थियो । उनीहरू रोमनप्रति आक्रामक पनि थिए, साथै उनीहरू आफैँले खेदो खनिरहेको रोमन प्रणालीको नक्कल पनि गर्थे।
यही समयमा केन्द्र (सेन्टर) को समाजमा परजीवी प्रवृत्ति अझ बाक्लो बन्दछ । कुनै–कुनै समाजमा साम्राज्यवादले आफ्नै देशका मजदुर वर्गलाई भ्रष्ट बनाएर क्रान्ति रोक्ने गरेका छन् । साम्राज्यवादी ‘केन्द्र’को समाजमा अनुत्पादक रोजगारमार्फत आफ्नो जनतालाई फाइदा दिलाएर सुविधासम्पन्न स्थानमा राख्ने गरेका छन् । यो दुवै सुविधा उसले असमान अन्तर्राष्ट्रिय श्रम विभाजनबाट दिन सकेको हो । त्यसकारण साम्राज्यवादी प्रणालीबाट अलग्याएर प्रभुत्ववादी मोर्चालाई पराजित गर्नसक्ने साम्राज्यवादविरोधी मोर्चा बनाउन र समाजवादतिरको संक्रमण आरम्भ गर्न सजिलो हुने गर्दैन।
४. उत्पादनको नयाँ सम्बन्ध सुरु गर्न आजको विश्व बन्दोबस्तअन्तर्गत केन्द्र (सेन्टर) मा भन्दा परिधि(पेरिफेरी) मा केही सजिलो देखिन्छ । रोमन साम्राज्यको पालामा सामन्ती सम्बन्धले गाल र जर्मनीमा तीव्र गतिमा जरा गाड्यो तर इटाली र पूर्वमा निकै शुष्क गतिमा मात्र त्यो सम्बन्धको बिस्तार भयो । दास प्रथाको ठाउँमा भूदासप्रथा आविष्कार गर्ने रोम नै थियो । तर सामन्ती सत्ताको विकास भने रोममा भएन, अन्यत्रै कतै भयो । इटालीमा सामन्ती सत्ताको पूर्ण विकास कहिल्यै भएन।
वर्तमान विश्व बन्दोबस्तको केन्द्रमा पुँजीवादी उत्पादन–सम्बन्धविरुद्ध अप्रकट क्रान्तिको भावना खँदिलो छ । तर त्यस्तो भावना शक्तिहीन छ । ‘केन्द्र’मा बसेका जनता ‘आफ्नो जीवनमा परिवर्तन चाहन्छन् ।’ तर उनीहरू आफ्नो देशको सरकार बदल्न असमर्थ छन् । त्यसकारण परिवर्तनका भावना उत्पादन र राज्यका संरचनामा भन्दा सामाजिक जीवनमा मात्र प्रस्ट देखिएको छ । जीवनशैलीमा मौन क्रान्ति, परिवारमा विखण्डन, पुँजीवादी मूल्यमान्यताको विर्सजन आदिले पुँजीवादी उत्पादन–सम्बन्धप्रतिको कमजोर असन्तोषको विरोधाभासलाई प्रदर्शन गरेको छ । ‘परिधि’का देशमा परम्परा र विचार प्रायशः धेरै पछाडि रहेको हुन्छ तर पनि त्यहाँ समाजवादी राज्य स्थापना भएका छन्।
पथभ्रष्ट माक्र्सवादी परम्पराले सामाजिक परिवर्तनको द्वन्द्ववादको यान्त्रिक अवमूल्यनलाई प्रभावित बनाएको छ । उत्पादनका पुराना सम्बन्धलाई उन्मूलन गर्ने र नयाँ उत्पादन–सम्बन्ध स्थापना गर्नु नै उत्पादन शक्तिहरूको थप विकासको पूर्वसर्त हो र यो नै वास्तवमा क्रान्ति हो । क्रान्ति प्राकृतिक नियममा आधारित हुन्छ । मात्रात्मक परिवर्तन गुणात्मक परिवर्तनमा रूपान्तर हुने प्राकृतिक नियमको सामाजिक संस्करण नै क्रान्ति हो । यो वस्तुगत आवश्यकतालाई वर्ग संघर्षले उजागर पारिदिएको हुन्छ । सैद्धान्तिक र सांगठनिक स्खलनभन्दा माथि रहेको अग्रदस्ता अर्थात् राजनीतिक पार्टीले मात्र इतिहास निर्माण गर्न र इतिहास निर्माणमा प्रभाव बसाइरहन सक्छ । इतिहास निर्माणको काम अरू कसैलाई सुम्पिन मिल्ने कुरा होइन । क्रान्तिलाई परिभाषा गर्ने राजनीतिक समय भनेको त्यो समय हो जब अग्रदस्ता पार्टीले राज्यमा कब्जा जमाउने गर्छ । लेनिनवाद आफैँ दोस्रो अन्तर्राष्ट्रियको माक्र्सवादको सरल व्याख्या (पोजिटिभ रिडक्सनिज्म) भन्दा निकै भिन्न भने छैन । अग्रदस्ता पार्टीलाई वर्गबाट अलग बनाउने सिद्धान्त विगतका (समाजवादी क्रान्तिभन्दा अघिका पुँजीवादी) क्रान्तिमा काम लागेनन् । पुँजीवादी क्रान्तिले त्यो रूप लिएनः पुँजीवादी क्रान्तिमा पुँजीपति वर्गले सामन्ती महाराजाविरुद्ध किसानहरूको संघर्षसँग सहकार्य गरे । पुँजीपति वर्गलाई उनीहरूसँग भएको विचारधाराले त्यसो गर्न दियो । विडम्बना आज उनीहरूसँग भएको त्यो विचारधारालाई नै उनीहरूले पराइ बनाइदिएका छन् । त्यसकारण खासमा ‘पुँजीवादी क्रान्ति’ भनेको केही कुरा छैन । ‘पुँजीवादी क्रान्ति’ भन्ने शब्दावली त पुँजीवादी विचारधाराको उत्पादन मात्र हो । पुँजीवादी क्रान्ति भनेको अरू केही नभई पुँजीपति वर्गले नेतृत्व गरेको वर्ग संघर्ष मात्र हो । अझ प्रष्ट रूपमा भन्नुपर्दा पुँजीपति वर्गसँग सहकार्यमा भएको किसान विद्रोहलाई नै पुँजीवादी क्रान्ति भनिएको हो । ‘सामन्ती क्रान्ति’को विषयमा त अझ हामीले कमै मात्र भन्न सक्छौँ । किनभने त्यतिबेलाको संक्रमण नै नजानिँदो पाराले भएको थियो।
भविष्यमा हुने समाजवादी क्रान्ति भिन्न तरिकाबाट हुनेछ किनभने त्यो क्रान्तिले सबै शोषणको उन्मूलनको कुरा पहिलो पटक गरेको छ । समाजवादी क्रान्तिले पुरानो शोषणको तरिकाको सट्टामा नयाँ शोषणको तरिकाको कुरा गर्ने गर्दैन । तर समाजवादी क्रान्ति त्यतिबेला मात्र सम्भव हुनेछ जब समाजवादी क्रान्तिको विचारधारा उत्पादन शक्तिको विकासका आवश्यकताको चेतनाभन्दा भिन्न हुन सक्नेछ । समाजवादी विकासको लागि शोषणको नया“ तरिकाको यथास्थितिवादी उत्पादन–सम्बन्धको कुनै आवश्यकता हुने गर्दैन।
५) मानिसले मात्र आफ्नो इतिहास बनाउन सक्छ । मानिस बाहेक अरू प्राणी वा निर्जीव वस्तुले आफ्नो विकासक्रम आफ्नो वशमा राख्न सक्दैन । मानिस इतिहासका निर्माता हुन् । नियतिवाद र मानवीय हस्तक्षेपको संश्लेषणको अभिव्यक्तिका रूपमा समाजमा रीतिरिवाजको अवधारणा चलेको हो । आधार र उपरिसंरचनाको द्वन्द्वात्मक सम्बन्ध पनि समाजमा स्थापित छ र त्यसको प्रकृतिमा कुनै समानान्तर छैन । यस्तो सम्बन्ध एकपक्षीय सम्बन्ध होइन । उपरिसंरचना भनेको आधार संरचनाको आवश्यकताको प्रतिविम्ब होइन । यदि आधार संरचना उपरिसंरचनाको मागको प्रतिविम्ब हुँदो हो त समाज जहिल्यै पनि अलग हुने थियो । त्यस्तो अवस्थामा हामीले यो समाजलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा कसरी सोच्न सक्छौँ।
मैले एउटा उत्पादन–सम्बन्धबाट अर्को उत्पादन–सम्बन्धमा संक्रमणका दुई भिन्न गुणात्मक तरिकाबारे छुट्टाछुट्टै हेर्नुपर्ने बताउँदै आएको छु । जब संक्रमण अचेत रूपमा हुने गर्छ वा कुनै अज्ञात चेतनाबाट हुने गर्छ । अथवा जब वर्गमा आधारित विचारधारालाई परिवर्तनको प्रक्रियामा नेतृत्व गर्न दिइँदैन, पछिल्लो उत्पादन चरण प्राकृतिक परिवर्तन जस्तो देखापर्छ । विचारधारालाई पनि प्रकृतिकै हिस्साका रूपमा लिइन थाल्छ । यस्तो प्रकारको संक्रमणका लागि हामीले ‘विघटनको मोडल’ भन्ने शब्दावली प्रयोग गर्नु उपयुक्त हुनेछ । त्यसको विपरीत, यदि विचारधाराले इच्छाएको परिवर्तनलाई पूर्ण र वास्तविक रूपमा अभिव्यक्त गर्न सके मात्र हामीले क्रान्तिको कुरा गर्न सक्छौँ।
हाम्रो युगको समाजवादी क्रान्तिले विघटनको प्रकृति देखाएको छ वा क्रान्तिकारी बाटो हिँडेको छ ? निःसन्देह हामीले यो प्रश्नको उत्तर यकिनका साथ दिन सक्ने अवस्थामा अहिले छैनौँ । केही निश्चित अर्थमा आधुनिक विश्वको रूपान्तरणमा माथि परिभाषित गरे जस्तै अभूतपूर्व क्रान्तिकारी चरित्र छ । पेरिस कम्युन र रुसी तथा चिनियाँ क्रान्तिहरू (विशेषतः चिनियाँ सांस्कृतिक क्रान्ति) मा गहिरो सामाजिक चेतना थियो । त्यसो भए के हामी अर्को थरीको संक्रमणमा लागेका छैनौँ त ? आजको समयमा कहीँ पनि साम्राज्यवादी देशहरूको असंलग्नता गाह्रो काम हो र त्यही कारण समाजवादी बाटोमा अघि बढिरहेका ‘परिधि’का देश (पुँजीवादी पुनःस्थापनाको सम्भावना, यथास्थितिको चरणमा फसेको, प्रतिगमन, राष्ट्रवादी विचलनमा फसेका देश) मा आज पुरानो बोल्सेविक मोडलमाथि प्रश्न उठ्ने गरेको छ।
केही मानिस आजको समय समाजवादी संक्रमणको समय नभई पुँजीवादी व्यवस्थाको विश्वव्यापी विस्तारको समय भएको विश्वास गर्छन् । ‘युरोपको सानो कुना’बाट सुरु भएको पुँजीवादी बन्दोबस्त आज दक्षिण र पूर्वमा पनि विस्तार भइरहेको उनीहरूको भनाइ छ । यो रूपान्तरण पुँजीवादको उच्चतम अन्तिम विन्दु साम्राज्यवादी चरणमा नभई विश्वव्यापी पुँजीवादमा पुगेर टुंगिने उनीहरूको भनाइ हो । यदि कसैले साम्राज्यवादसम्बन्धी लेनिनवादी सिद्धान्तमाथि विश्वास गरे, राष्ट्रिय मुक्ति संघर्षलाई पुँजीवादी क्रान्तिको हिस्साका रूपमा नभई समाजवादी क्रान्तिको हिस्साका रूपमा माने अपवादबाहेक उनीहरूले नयाँ पुँजीवादी केन्द्र सम्भव भएकामा विश्वास गर्दैछन् । यो सिद्धान्तले पूर्वी देशहरूमा यथास्थितिवादी उत्पादन–सम्बन्धको विकास वा पुनःस्थापनालाई जोड दिने गर्छ । यसले पुँजीवादी व्यवस्थाको विस्तारको वस्तुगत प्रक्रियालाई मात्र चित्रण गर्छ, त्यो वास्तवमा नक्कली समाजवादी क्रान्ति मात्र हो । उनीहरूको बुझाइमा यहाँ माक्र्सवाद एउटा अलग विचारधाराका रूपमा देखापरेको छ जसले विकासका वास्तविक चरित्रलाई छोपिरहेको छ।
यो विचार बोक्नेहरू ‘केन्द्र’को उत्पादन शक्तिको विकासको स्तर पूरा विश्वमा फैलाउन सक्षम नहुन्जेलसम्म हामीले वर्ग उन्मूलनको प्रश्न उठाउनु हुन्न भन्ने मान्यता राख्छन् । उनीहरूको भनाइमा पहिले युरोपेलीहरूले युरोपलाई उपरीराष्ट्रका रूपमा विकास गर्न दिनुपर्छ । त्यसो गर्दा राज्यको उपरीसंरचनालाई उत्पादन शक्तिसँग मिलाउन सकिनेछ । यसको अर्थ उत्पादन शक्तिको स्तरका आधारमा एउटा विश्वस्तरीय राज्य बन्ने समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र त्यो उत्पादन शक्तिलाई ध्वस्त बनाउन सकिने वस्तुगत परिस्थिति बनाउन सकिन्छ।
उनीहरूभन्दा अरू (जसमा म समेत पर्छु) यो विषयलाई फरक रूपमा हेर्ने गर्छौं । चरणबद्ध रूपमा अविछिन्न क्रान्ति अझै पनि ‘परिधि’का देशहरूको मुद्दा हो । समाजवादी संक्रमणको क्रममा पुनःस्थापना नहुने कुरा होइन । केन्द्रको कमजोर सम्बन्धका कारण साम्राज्यवादी मोर्चामा विखण्डन अवश्यम्भावी छ।
(झन्नै एक महिनाअघि अगस्ट १२ मा बितेका विख्यात चिन्तन समिर अमिनको यो लेख मन्थ्ली रिभ्युमा २०१८ मे १ मा प्रकाशित छ । अमिनको यो अन्तिम प्रकाशित लेखलाई नीरज लवजूले अनुवाद गरेका हुन्।)
प्रकाशित: २५ भाद्र २०७५ ०५:०३ सोमबार