१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सुस्तश्रवण अपांगताका अनेक अहस्र समस्या

अपांगता अधिकार ऐन, २०७४ अनुसार अपांगतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ । यी प्रकारका अपांगतामध्ये सुनाइसम्बन्धी अपांगता भित्रको पहिलो नम्बरमा बहिरा अपांगता र दोस्रो नम्बरमा सुस्तश्रवण अपांगतालाई समावेश गरिएको छ । सुस्तश्रवण सुनाइसम्बन्धी अपांगता हो । अपांगता अधकार ऐन, २०७४ मा अपांगताको परिभाषामा समावेश गरेको परिभाषाअनुसार सुन्नका लागि श्रवण यन्त्रको प्रयोग गर्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुस्तश्रवण अपांगता भनिएको छ । यस्तो समस्या भएका अपांगता भएका व्यक्तिहरू कान कम सुन्ने तर कम सुनेर सफासँग बोल्न सक्ने, सुन्नका लागि श्रवण यन्त्र प्रयोग गर्ने गर्छन् । यस्ता व्यक्तिहरूले कान कम सुन्ने भएका कारण पारिवारिक तथा सामाजिक रूपमा विभिन्न समस्याहरूको सामना गर्न परेको छ । कान कम सुन्ने भएकै कारण उनीहरूले शिक्षा लिने क्रममा, रोजगारीका क्रममा र घर परिवार तथा समाजमा हुने विभिन्न कार्यक्रमहरूबाट वञ्चित हुनु परेको छ । सुस्तश्रवण भएकै कारण घर परिवार तथा समाजमा विभिन्न समस्याहरूको सामना गर्नु परेको छ । नेपालको सन्दर्भमा ६५ डेसिबलदेखि ८० डेसिबलसम्मको सुनाइ क्षमता भएको व्यक्तिलाई सुस्त श्रवण भनिन्छ । तर अन्तर्राष्ट्रिय मान्यताअनुसार २५ डेसिबलसम्मको सुन्न सक्ने क्षमता भएकालाई सामान्य, ४० डेसिबलसम्मको सुन्न सक्ने क्षमता भएकालाई मध्यम, ६१ डेसिबलसम्मको सुन्न सक्ने क्षमता भएकालाई अति र ८० डेसिबलसम्मको सुन्न सक्ने क्षमता भएकालाई पूर्ण सुस्तश्रवण भएको भनेर वर्गीकरण गरेको पाइन्छ । तर नेपालमा भने अति र पूर्ण सुस्तश्रवण अपांगता भएका व्यक्तिहरूलाई मात्र सुनाइसम्बन्धी अपांगता भनिएको छ । नेपालमा सुस्तश्रवण भएका अर्थात् कान कम सुन्ने व्यक्तिहरूको सही तथ्यांक भने पाइँदैन।

सुस्तश्रवण भएका व्यक्तिहरूले राम्ररी कान नसुन्ने भएका कारण उनीहरूसँग घर परिवारका व्यक्तिहरू तथा समाजका व्यक्तिहरू बोल्न नखोज्ने, उनीहरूका कुरा नबुझेर सोधेमा रिसाउने, झर्किने गरेको पाइन्छ । त्यसै गरेर उनीहरूले राम्ररी सुन्न नसकेका कारण विद्यालय तथा क्याम्पस स्तरको शिक्षा लिनमा पनि समस्या भोग्नु परेको छ । उनीहरू सुस्तश्रवण भएकै कारण विद्यालय स्तरको शिक्षा लिनमा कठिनाइ भएपछि आफूले चाहेर पनि शिक्षा लिने अवसरबाट वञ्चित हुनु परेका धेरै उदारहण पाइन्छ । यस्तो अवस्थामा उनीहरूले शैक्षिक योग्यता प्राप्त गर्न सक्दैनन् चाहे अनुसारको रोजगारीमा सहभागिता हुन पनि कठिनाइ हुन्छ । हाम्रो समाजमा यस्ता धेरै उदारहण रहेका छन् । यस्तै उदाहरणमध्ये काठमाडौँ कीर्तिपुर बस्ने सुनिता महर्जनको सानै उमेरमा कान पाकेको थियो तर समयमै  उपचार गर्न नसक्दा अर्को कानको पनि सुन्ने क्षमतामा कमी हुँदै जान थाल्यो । जसोतसो कक्षा १२ सम्मको अध्ययन सकेपछि रोजगारीका लागि पहल गर्दा कान कम सुन्ने भएका कारणले नै रोजगारी पाउन नसकेको र  केही कुराहरू कम सुन्ने कारण नबुझेर सोध्दा मान्छेहरू झर्किने, रिसाउने, त कान नसुन्ने मान्छेलाई हाम्रो कुरामा किन चासो दिनपु-यो भनेर रिसाउने गर्दा जीवन यापनमा कठिनाइ भएको उनको गुनासो रहेको छ । साथै हाम्रो समाजमा सुस्त श्रवण भएका अधिकांश अपांगता भएका व्यक्तिहरूलाई घर परिवारले बेवास्ता गर्दा उनीहरूमा निराशा आउने, एक्लो महसुस गर्ने, कुनै पनि सूचनाहरूबाट वञ्चित हुने, घर परिवार तथा सामाजिक कार्यहरूमा सहभागी नगराउने गर्दा उनीहरू मानसिक तनावमा रहने जसले गर्दा मनोसामाजिक विचलन हुन सक्ने डर पनि रहेको छ।

सुस्तश्रवण भएका व्यक्तिहरूका लागि श्रवण यन्त्रको आवश्यक हुन्छ । साथै सांकेतिक भाषाको पनि त्यति नै जरुरी हुन्छ तर उनीहरूको आर्थिक अवस्था कमजोर भएका कारण आफूलाई मिल्ने श्रवण यन्त्र किन्न सक्दैनन् र समाजमा सधँै एक्लो भएर जीवन बिताउन बाध्य हुन्छन् । उनीहरूले प्रयोग गर्ने श्रवण यन्त्र पनि ज्यादै महँगो हुने हँुदा किन्न पनि नसक्ने भएका कारण यत्तिकै बस्नुपर्ने, रोजगारीबाट वञ्चित हुनुपर्ने लगायतका समस्याहरूको सामना गरेको पाइन्छ । हेटौँडा निवासी अभिभावक सुमित्रा राईका पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरीमध्ये छोरी १ वर्षको हँुदा कान सुन्न नसक्ने भइन् । उनको उपचारका लागि वीरगञ्ज हुँदै देशका विभिन्न ठाउँमा लगियो र केही समयपछि काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएपछि उनलाई श्रवण यन्त्र प्रयोग गर्नुपर्ने भयो । पहिलो पटक १० हजार रुपियाँ तिरेर किन्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दोस्रो पटक उक्त श्रवण यन्त्र किन्न नसकेपछि कुनै एक संस्थाले सहयोग गरिदियो र तेस्रो पटक फेरि आवश्यक भएर किन्न जाँदा ७० हजार पर्ने भनेपछि किन्न नसकेर कीर्तिपुरमा रहेको नेपाल सुस्त श्रवण संघको सहयोगमा अहिले लगाएको अभिभावक सुमित्रा राई बताउँछिन्।   

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा अपांगता भएका व्यक्तिहरूको संख्या १ दशमलब ९४ प्रतिशत रहेको छ । त्यसभित्र पनि १५ दशमलब ५ प्रतिशत व्यक्तिहरू बहिरा तथा सुस्तश्रवण अपांगता भएको पाइए तापनि सुस्तश्रवण अपांगता भएका व्यक्तिहरूको सही विवरण भने पाइँदैन । सुस्तश्रवण अपांगता भएका व्यक्तिहरूमा पनि कतिपयलाई श्रवण यन्त्र, सांकेतिक भाषा तथा क्याप्सनिङको आवश्यकता हुन्छ । (क्याप्सनिङ भनेको अरूले भनेको कुरालाई कम्प्युटरमा लेखेर अगाडि स्क्रिनमा देखाउनु हो) तर हाम्रो समाजमा सर्वसुलभ रूपमा यस्ता व्यवस्थाहरूको विकास हुन सकेको छैन । गुणस्तरिय श्रवण यन्त्र किन्न हाम्रो आर्थिक क्षमताले भ्याउँदैन भने राज्य स्तरबाट आजसम्म त्यस्ता सामग्री उपलब्ध भएका छैनन् । नेपाल सरकारसँग सुस्त श्रवण भएका व्यक्तिहरूको सही तथ्यांक नभए तापनि काठमाडौँमा स्थापना गरिएको संस्था श्रुतिमा २५ जना र काठमाडौँको कीर्तिपुरमा स्थापना भएको नेपाल सुस्त श्रवण संघमा ९२ जना सुस्त श्रवण भएका व्यक्तिहरू आबद्ध भएको पाइन्छ । नेपालको सन्दर्भमा सुनाइ क्षमता ६५ डेसिबलदेखि ८० डेसिबलसम्मको व्यक्तिलाई सुस्त श्रवण व्यक्ति मानेको छ । काठमाडौँमा रहेको श्रुति संस्थाकी अध्यक्ष नीताकेशरी भट्टराईका अनुसार अन्तर्राष्ट्रिय मान्यताअनुसार सुस्त श्रवणलाई ४ भागमा बाँडिएको छ । माइल (सामान्य) मोडरेट (मध्यम), सिविएर (अति) र प्रोफाउन्ड (पूर्ण) । यसमा माइल (सामान्य) भनेको २५ डेसिबल, मेडरेट (मध्यम)  भनेको ४० डेसिबल, सिविएर (अति) भने ६१ डेसिबल, र प्रोफाउन्ड (पूर्ण) भनेको ८० डेसिबल हो । तर नेपालमा भने सिविएर (अति) र प्रोफाउन्ड (पूर्ण) लाई मात्र सुनाइसम्बन्धी अपांगता भनिएको छ । नेपालमा भने बहिरा तथा सुस्त श्रवण भनेर लिएको छ तर सुस्त श्रवण भनेर छुटै वर्गमा समावेश गरिएको छैन।

अधिकांश अपांगता भएका व्यक्तिहरूमा पनि सुस्तश्रवण अपांगता भएका व्यक्तिहरूले आफू अनुकूलको संरचना नहँुदा राज्यले उपलब्ध गराएका सेवा सुविधा लिन वञ्चित छन् । हाम्रो देशमा अपांगता भएका व्यक्तिहरूका लागि विभिन्न समयमा विभिन्न नीति नियम तथा कानुनहरू बनेका त छन् तर ती नीति–नियम तथा कानुनहरू कागजका पानामा मात्र सीमित हुँदा आज अधिकांश अपांगता भएका व्यक्तिहरूले विभिन्न समस्याहरूको सामना गर्नु परेको छ । अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिमा विभिन्न हक अधिकारको व्यवस्था गरेको छ । त्यसै गरेर नेपालको संविधान, २०७२ मा पनि अपांगता भएका व्यक्तिहरूका सवालहरूलाई समावेश गरिएको छ । यस्ता नीति नियमहरूलाई पूर्ण रूपमा कार्यन्वयन गर्न सकेमा सुस्तश्रवण अपांगता भएका व्यक्तिहरूले पनि राज्यले उपलब्ध गराएका सेवा सुविधाहरूको उपयोग गर्न सक्ने थिए । अबका दिनमा अपांगताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू, राज्य स्तर र अपांगतासँग सरोकार राख्ने निकायहरूले भएका नीति नियमहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, उनीहरूलाई आवश्यक श्रवण यन्त्र सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने, सांकेतिक भाषाको पहुँच हुनुपर्ने, घर–परिवार तथा समाजमा उनीहरूलाई सम्मानजनक रूपमा स्वीकार गर्नुपर्ने लगायतका सवालहरूमा काम गर्न आवश्यक छ।

प्रकाशित: ७ भाद्र २०७५ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App