भीडतन्त्रको मनोविज्ञानलाई प्रायः लुटपाट, हिंसा आदिसँग बढी जोडिने गरेको भए तापनि हाम्रो सामाजिक जीवनको अनेक पक्षमा यसको उपस्थिति देखिन्छ । राम्रै ठानिएका कतिपय उद्देश्यका निम्ति समेत मानिसका समूहको यो विशिष्ट मनस्थितिको उपयोग गरिएको हुन्छ भने खराब उद्देश्यका निम्ति पनि त्यत्तिकै दुरुपयोग गरिएको हुन्छ । हाम्रै सामाजिक जीवनमा यसका प्रशस्त उदाहरण छन् । हाम्रो ऐतिहासिक लोकतान्त्रिक आन्दोलनमा समेत भीड मनोविज्ञानले महत्वपूर्ण (सकारात्मक) भूमिका निभाएको थियो भने अर्कातिर अनेक अन्धविश्वासीहरूको भीडले ज्यादै निकृष्ट अपराध गरेको समाचार दिनहुँ पढ्नु परिरहेको हुन्छ । तानाशाहहरूले त्यही भीड मनोविज्ञानको शोषण गरेर आफ्ना कुत्सित उद्देश्य पूरा गरेका हुन्छन् भने सत्याग्रहमा जम्मा भएको भीडको मनोविज्ञानले योगमायाको जलसमाधी जस्तो आत्म बलिदानसम्म मानिसलाई पु-याउन सक्छ । कुनै ठूलो सांगीतिक भेलामा जम्मा भएको भीडको ‘बोहुलट्टी’ रमाइलो लाग्ने खालको हुन्छ भने साम्प्रदायिक भीडहरू असुन्दर अमानवीय दंगामा परिणत हुन्छन्।
जस्तोसुकै भीड भए पनि, फरक फरक भीडका फरक उद्देश्य र ध्येय देखापरे पनि, भीड मनोविज्ञानको समान विशेषता हो– भीडको आवेगबाट प्रतिस्थापित भएपछि हरेक व्यक्तिका निजी विचार र विवेक तत्क्षणका निम्ति निलम्बित हुन्छ, मूच्र्छित हुन्छ । भीडमा सामेल भएका बेला त्यो भीड जति जति ठूलो हुँदै जान्छ, जति जति समय बित्दै जान्छ, उति उति नै त्यसको एउटा अंश बन्न पुगेको व्यक्ति प्रभावित हुँदै जान्छ । लज्जालु स्वभावको मानिस अचानक कुनै साङ्गीतिक भेला (म्युजिकल कन्सर्ट) मा सबथोक बिर्सेर उफ्रीउफ्री नाच्न थाल्छ, सामान्यतया शान्त रहने मानिस कौतूहलवश कुनै विरोध प्रदर्शनमा सामेल भएका बेला अचानक माइक खोसेरै चर्का भाषण गर्न थाल्छ, सौम्य, सुशील मानिसका रूपमा चिनिएको कुनै केटो भीडमा अरुसँग मिलेर कसैलाई कुट्नै थाल्छ... । भीडको आवेग अत्यन्त शक्तिशाली हुन्छ । त्यसले अकल्पनीय नतिजा निकाल्न सक्छ । यस्ता नाटकीय परिणाम कुनै बेला ज्यादै ठूलो सकारात्मक परिवर्तन पनि हुनसक्छन्, कुनै बेला भने अत्यन्त हानिकारक नयाँ परिस्थितिमा रूपान्तरण पनि हुन सक्छन्।
भीडको आवेगमा हैन, सामूहिक विवेकमा आधारित भएर नयाँ, पुराना, सत्तासीन, प्रतिपक्ष सबै पार्टीहरू लाग्न सकून्।
संसारका धेरै ठाउँमा विभिन्न कालखण्डमा ठूला ठूला आन्दोलन, विद्रोह, विप्लव र क्रान्तिहरू भएका छन् । जनताको असन्तुष्टिको विष्फोट नभएका ठाउँ संसारमा विरलै होलान् । तर सबै आन्दोलनले सुखद उपलब्धि मात्र हासिल गरेका छैनन्– झन् ठूलो दुःखको भुमरी पनि आइलागेको छ । बहुसंख्यक जनताले अत्यन्त धेरै आशा गरेका र जनताको ठूलो पंक्ति प्रत्यक्ष रूपमा सामेल भएका क्रान्तिहरू पनि दुःखको निरन्तरताका कारणसमेत बनेका छन् ।
किन यस्तो हुन्छ?
किनकि मानिसको समाज अत्यन्त संवेदनशील र जटिल प्रणाली हो । कुनै पनि संवेदनशील प्रणालीमा गरिने, हुने, गतिविधिहरूको थालनीमा थोरै मात्र विचलन हुँदा पनि, थोरै मात्र बेठीक हुँदा पनि, त्यसको परिणाम भने चाहेभन्दा धेरै फरक हुन्छ, चाहेभन्दा खराब हुन्छ । ‘करिब करिब ठीकै जस्तो’ काम गर्दा परिणाम पनि ‘करिब करिब ठीकै जस्तो’ आउँदैन, धेरै बेठीक हुन्छ परिणाम । ‘विशृंखलताको सिद्धान्त’ (केयस थ्योरी)ले यसै भन्छ।
भीडमा सृजना भएको आवेग कहिल्यै ज्ञान र विवेकमा परिणत हुन सक्दैन । शान्त मनस्थितिमा रहेका बेला त्यो पुनरावलोकनको विषय बन्न सक्छ, त्यसबाट के के पाठ लिने भन्ने कुरा हुन सक्छ, तर व्यक्तिगत विवेक र विचार निलम्बित भएको, त्यो भीड मनोविज्ञान हाबी भएको बेलाका संवेगका ती छालहरू आफैं भने नयाँ ज्ञानमा विकसित हुने कुरा हुँदैन।
क्रान्तिकारीले मात्रै हैन, तानाशाहले पनि भीड मनोविज्ञानलाई साधन बनाउँदै आएका छन् । परम्परागत राजनीतिमा प्रतिपक्षले मात्र हैन, सत्तामा रहेकाहरूले पनि भीडको आवेगलाई उपयोग र दुरुपयोग गर्दै आएका छन् । तत्कालका निम्ति आफ्ना पक्षमा अत्यन्त प्रभावकारी हुनसक्ने भएकाले भीड मनोविज्ञानप्रतिको यो मोहलाई कुनै पनि राजनीतिक दल वा स्वार्थ समूहले त्याग्न सकेका हुँदैनन् । तर यसले समाजमा र आफ्नै कार्यकर्ता पंक्तिभित्र पनि के कस्ता हानिकारक प्रभाव पारिरहेका हुन्छन् भन्ने बारे भने धेरै कमले हेक्का राखेका हुन्छन् । अरुको दानवीकरण नगरी अस्तित्वमा टिक्नै सम्भव हुन्न भन्ने मान्यतामा आधारित भएकाले परम्परागत राजनीतिमा लाग्नेहरूले निरन्तर शत्रुउत्पादन गरिरहनुपर्ने बाध्यता देख्छन् । र आफ्नै विचारले सृजना गरेको यो बाध्यताका बन्दी बन्न पुग्छन् । सत्तासीन वा प्रतिपक्षमा रहेका सबै खाले परम्परागत राजनीतिकर्मी तथा नेताहरूको यो साझा रोग हो।
कुनै बेला यी पार्टीहरूमा ‘पार्टी अनुशासन’का नाममा अनेक हानिकारक कारबाहीका सिलसिला चले भने कुनै बेला ‘लोकतन्त्रको सुन्दरता’ भनेर गुटवादलाई स्वीकार्ने बाध्यता भयो।
हालसालका घटनाहरूले के देखाइरहेका छन् भने सत्ताधारी तथा प्रतिपक्ष दुवैले कुनै न कुनै रूपमा भीड मनोविज्ञानको दुरुपयोग गरिरहेका छन् र यो दुरुपयोग झन् झन् बढ्दै जाने सम्भावना छ । आफूलाई जनताको वैकल्पिक राजनीतिको वाहक ठान्ने नयाँ दलहरूले समेत यो रोगप्रति बेलामै चनाखो हुन जरुरी छ । दलगत राजनीतिभित्र यस्तो भ्याम्पायर लुकेको छ, जो स्नेहले गला मुसारेझैँ गरी थाहै नदिई अरुका घाँटीमा दारा गाडिसक्छ र त्यसले जसलाई टोक्यो त्यही भ्याम्पायरमा परिणत बन्न पुग्छ । कुनै बेला नागरिक समाजका महत्वपूर्ण नायक भएका असल मानिसहरू समेत परम्परागत दलगत राजनीतिबाट बिटुल्याइएको अहिलेको बेलामा, औपचारिक दलगत फ्रेममै ढालिएका नयाँ दलहरू पुराना रोगबाट जोगिइन सजिलो छैन । बेलैमा होस नपु¥याए ‘निरन्तर शत्रु–उत्पादन’को अभ्यासमा रहनुपर्ने पुराना पार्टीको रोग नयाँ पार्टीहरूमा पनि प्रवेश गर्नेछ । आफ्नै पंक्तिभित्र पनि ‘शत्रु–उत्पादन’को सिलसिला चल्न थाल्नेछ । अनि यो सबै नै हामीले देख्दै भोग्दै आएको पुराना पार्टीहरूको दिशाविहीनता, संगठनात्मक संस्कारको अभाव, विविधताबीच समानता खोज्ने अक्षमता, साँघुरा स्वार्थ समूहको अधीनताजस्ता रोगमा सजिलै अनूदित हुन सक्नेछ।
भीड मनोविज्ञानप्रति राजनीतक पार्टीहरू यसरी सजिलै आकर्षित हुनुको कारण आन्तरिक दुर्बलता हो । यो दुर्बलतामाथि विजय प्राप्त गर्ने एउटै उपाय हो, यो लोभलाई सामूहिक विवेकले प्रतिस्थापन गर्नु । भीडको आवेग र सामूहिक विवेक तात्विक रूपमै फरक र परस्पर विरोधी कुरा हुन्।
कुनै पनि राजनीतिक समूह व्यक्तिले बनेको हुन्छ । व्यक्तिका आआफ्ना वैयक्तिकता हुन्छन्, कुनै पनि दुई व्यक्ति पूर्णरूपेण समान हुँदैनन् । (जुम्ल्याहा तिम्ल्याहा पनि फरक हुन्छन् !) कुनै पनि दुई व्यक्तिबीच भिन्नता पहिल्याउन धेरै माथापच्ची गरिरहनु पर्दैन । तर भिन्न व्यक्तिबीच समानता खोज्ने भने यत्न गर्नुपर्छ । यही यत्नका क्रममा विचार, दर्शन, सभ्यता, संस्कृति आदिको विकास हुन्छ जसका बारेमा मानव जातिले यति धेरै गर्व गर्ने गरेको छ । मानिसले बनेको कुनै पनि समूह – दम्पती, परिवार, संगठन, पार्टी, समुदाय, समाज, राष्ट्र... पूर्णरूपेण समघनत्वपूर्ण (होमोजेनस) हुँदैनन् । आआफ्नै अनुभूतिले बनाएका फरक फरक मनोढाँचा सहितकै मानिसले बनेका हुन्छन् यी समूह । विभिन्न किसिमका अन्दोलन, विद्रोह, क्रान्तिका क्रममा जन्मेका पार्टीहरूले तत्कालीन आवश्यकताबोधका आधारमा ‘फलाम जस्तो एक ढिक्का’ भएको संगठन बनाउने लोभ गरे तापनि ती कहिल्यै त्यस्ता हुन सकेका छैनन् । पार्टी सदस्यहरूका वैयक्तिक विशिष्टतालाई मान्यता नदिँदा ‘सर्वोच्च’ नेताको विचार लादिने क्रम सबैजसो पार्टीमा चलिरह्यो । नैसर्गिक भिन्नताले निकास नपाउँदा, जहिले पनि सबै पार्टीमा गुट–उपगुट बनिरहे । कुनै बेला यी पार्टीहरूमा ‘पार्टी अनुशासन’का नाममा अनेक हानिकारक कारबाहीका सिलसिला चले भने कुनै बेला ‘लोकतन्त्रको सुन्दरता’ भनेर गुटवादलाई स्वीकार्ने बाध्यता भयो । तर पार्टी सदस्यका वैयक्तिक विशिष्टताबाट सिंगै पार्टी पंक्ति लाभान्वित हुने र असमानताका बीचमा समानता खोज्ने गम्भीर प्रयत्न भने कहिल्यै भएन । यस्तो प्रयत्न विनासामूहिक विवेक र सामूहिक ज्ञानको विकास तथा प्रकटीकरण हुन सक्दैन । यो भएन भने जहिले पनि जस्तोसुकै पार्टी पनि परम्परागत राजनीतिका रोगहरूबाट ग्रस्त भइरहन्छन्, भइरहेका छन् । ती मध्येकै एउटा रोग हो– शीघ्र तुष्टीकरण (अर्ली ग्यार्टिफिकेसन्)को लोभमा नेताका चाहनाअनुसार भीड मनोविज्ञानको दुरुपयोग गर्नु । यसले पार्टी पंक्तिबाहिर मात्रै हैन, भित्रै पनि निरन्तर शत्रु–उत्पादन गरिरहेको हुन्छ।
नेपालले लोकतान्त्रिक यात्रामा ढिलै गरेर मात्र पाइला चाल्न थालेको हो । तर यसका केही फाइदा पनि छन् – पुराना यात्रीहरूले गरेका गल्तीबाट जोगिन सकिन्छ । तर यसका निम्ति स्पष्ट दिशाबोध, दुरदृष्टि, अविरल गति र स्फुटता (खुलापन) को आवश्यकता पर्छ । नयाँ संविधान बनिसकेपछि पनि सबै पार्टीहरूले लगातार कुनै न कुनै गल्ती गर्दै आएका छन् । तर अझै केही बिग्रेको छैन । अब भीडको आवेगमा हैन, सामूहिक विवेकमा आधारित भएर नयाँ, पुराना, सत्तासीन, प्रतिपक्ष सबै पार्टीहरू लाग्न सकून् । भविष्य आफैँले त बनाउने हो!
प्रकाशित: १८ श्रावण २०७५ ०४:०१ शुक्रबार