२२ असार २०७७ सोमबार
विचार

किताब भर्सेस इन्टरनेट

गत वर्ष एउटा प्रशिक्षण कार्यक्रममा एक प्रशिक्षार्थी साथीले सरले सोध्नेबित्तिकै तुरुन्तै जवाफ दिइरह्यो। मलाई मेरो सामान्य ज्ञानमाथि प्रहार भएको महसुस भयो। त्यसपछि मैले आफैँलाई मूल्यांकन गरेँ, किन कोही मभन्दा बढी जान्ने भइरहेको छ?

म १ देखि १० कक्षासम्म पढ्दा सामान्य ज्ञान, किताबभन्दा बाहिरका कुरामा बढी जान्ने थिएँ। अतिरिक्त ज्ञानमा म कहिले त सरलाई नै जित्थेँ भने कहिले म सर सँगसँगै हुन्थेँ । स्कुल तहमा अतिरिक्त ज्ञानमा कसैले जित्न सकेन, मलाई। कोर्सको पढाइमा टप १० मै पर्थें । तर कक्षा ११ पढ्न सहर पसेपछि चाहिँ मेरो अतिरिक्त ज्ञानको भण्डारमा धक्का लाग्यो । कक्षा ११ र १२ मा म जस्ता जान्ने–सुन्ने विद्यार्थी धेरै थिए । ११ मा मैले विज्ञान पढ्दा धेरै सरहरूले ‘किरण तिमी त आर्ट्स पढ्नुपर्ने कता विज्ञानमा आको’ भन्थे । स्नातक चाहिँ चलचित्र अध्ययनमा गरेँ।

सहर पसेदेखि नै मैले अतिरिक्त ज्ञानको स्पेस घटिरहेको महसुस गर्न थालेँ । सोच्दै र खोज्दै जाँदा अन्ततः मैले के थाहा पाएँ भने, मेरो ज्ञानको स्रोत पुरानो रहेछ र सहरिया साथीहरूको ज्ञानको स्रोत नयाँ रहेछ । मेरो ज्ञानको स्रोत थियो किताब, पत्रिका र रेडियो । तर साथीहरूको स्रोत थियो, इन्टरनेट । म ब्याचलरसम्म पनि इमेलबाहेक अरु चलाउँदिनथँे । फोन गर्न र मेसेज पठाउन मिल्ने खालको मात्र मोबाइल थियो । राम्रो मोबाइल किन्न नसकेर भन्दा पनि समयको नष्ट नहोस्, ध्यान भर्चुअलभन्दा पनि भौतिकी वरिपरि जाओस् भनेर  । मेरा साथीहरू पुस्तक कमै अध्ययन गर्थे, रेडियो झनै सुन्दैनथे र पत्रिका त पढ्दैनथे नै । टिभी त म पनि हेर्दैनथेँ र मेरा साथीहरू पनि हेर्दैनथे । तर पनि उनीहरू जान्ने–सुन्ने थिए । लामो स्वअध्ययनपछि मैले आफ्नो जिज्ञासा मेट्ने उत्तर पाएँ । वास्तवमा पुस्तक, रेडियो र पत्रिका ज्ञान प्राप्तिको ढिलो माध्यम रहेछ।

पुस्तक पढ्न पहिलो त गहिरो रुचि र धैर्य नै हुनुपर्छ, जुन सबैसँग हुँदैन । पुस्तक, रेडियो र पत्रिकाबाट ज्ञान र सूचना लिनु एउटा लामो प्रक्रिया हो । नेटमा तपाईंले चाहेको सूचना तुरुन्त लिन सक्नुहुन्छ । एउटा मात्रै पुस्तकबाट कुनै पनि कुराको पुष्टि गर्न सकिँदैन । तर नेटले तुरुन्तै धेरै तथ्य उपलब्ध गराउँछ र तपाईं तथ्यहरू भिडाएर तुरुन्ताको तुरुन्तै एउटा निचोडमा पुग्न सक्नुहुन्छ । इन्टरनेटमा एउटै विषयमा धेरै सूचना हुने हुनाले सम्बन्धित विषयबारे धेरै जानकारी एकैपटक उपलब्ध हुन्छ । त्यसकारण म अध्ययनशील हुँदाहुँदै, नियमित पत्रिका पढ्ने हुँदाहुँदै र रेडियो नियमित सुन्दासुन्दै पनि इन्टरनेट चलाउने साथीहरूभन्दा पछि हुन पुगेको छु । सुरुमा मलाई इन्टरनेटले आधारभूत सूचना मात्र दिन्छ, विषयवस्तुमा बलियो बनाउँदैन भन्ने लाग्थ्यो । तर जति धेरै सूचना, उति बलियो ज्ञान हुने हो । फेरि सूचना छिटो पनि पाउनुप¥यो । आजकाल कुनै पनि सामाजिक तथ्य होस् या वैज्ञानिक तथ्य, चाँडचाँडो परिवर्तन भइरहेका छन् । जसले धेरै बेसिक कुरा भन्छ, उसलाई कन्टेन्ट पनि थाहा होला भन्ने ठानिएको हुने रहेछ । जस्तो कि, हिग्स बोसोनका बारेमा सोधियो भने मैले भन्नुपर्दा कन्टेन्ट भन्छु । जस्तो कि, त्यो वस्तुमा वेट (भार) दिने सबभन्दा सानो एलिमेन्ट हो भन्छु । तर इन्टरनेटमा भर पर्ने साथीले हिग्स बोसोन एकदम नयाँ तथ्य हो, यसमा नोबेल पुरस्कार दिइयो भन्यो भने ‘ए उसलाई त सबै थाहा रहेछ’ जस्तो देखिन्छ।

इन्टरनेटले दुई कुरामा विशेष प्रभाव पारेको छ । पहिलो, ज्ञानको उत्पादनमा । र, दोस्रो सेलिब्रिटीको उत्पादनमा । किताब र पत्रिका किनेर पढ्न उतिसारो महँगो त होइन, तर पनि खै किन हो, यी दुवै सामान्य मान्छेको पहिलो रोजाइमा पर्दैन । इन्टरनेट मोबाइलमार्फत हात–हातमा पुगेको छ । जस्तै बेरोजगारले पनि मोबाइल बोक्छ तर कमाउने सबैले पत्रिका पढ्दैनन् र पुस्तक पनि पटक पटक किन्दैनन् । सामान्य रूपमा पनि किताबभन्दा मोबाइल नै बढी उपहारका रूपमा दिइरहेको देख्छौँ । मोबाइलमार्फत इन्टरनेट आम मानिसको हात हातमा पुगेकाले ज्ञानको उत्पादनमा इन्टरनेटको योगदान बढी छ । ज्ञानको उत्पादन सम्प्रेषण, विश्लेषण, संश्लेषण र पुनरुत्पादन सजिलो बनेको छ । एक प्रकारले भन्दा गरिब युवाहरू पनि मोबाइलमार्फत इन्टरनेटको पहुँचमा पुगेका छन् । त्यस हिसाबले भन्दा गरिबहरूका लागि पनि इन्टरनेट ज्ञानको स्रोत बनेको छ । इन्टरनेटका कारण सेलिब्रिटी उत्पादन सजिलो बनेको छ । पुस्तक लेखेर वा लेखाएर, पत्रिकामा छपाएर र रेडियोमा फुकाएर मान्छे धेरै ढिला मात्र प्रसिद्ध हुन्थ्यो । कमै मात्र मान्छेको पहुँच रेडियो, टिभी, पत्रिका र पुस्तकमा हुने हुनाले कमै मात्र मान्छे सेलिब्रिटी हुन्थे । संघर्ष नै लामो हुन्थ्यो । तर अहिले इन्टरनेटका कारण मान्छे संघर्ष गर्दागर्दै, बच्चैमा पनि सेलिब्रिटी भइसक्छ । अहिले राम्रो गरे पनि सेलिब्रिटी, नराम्रो गरे पनि सेलिब्रिटी । तर आज देखेको सेलिब्रिटी भोलि पुरानो भइसक्छ । इन्टरनेटले दिनहुँ प्रतिस्पर्धी उत्पादन गर्ने हुनाले हिजोको सेलिब्रिटी आज पनि सुरक्षित भने छैन।

म पहिले पुस्तक मात्रै अध्ययन गर्दा महिनाको एउटा मात्र लेख लेख्थेँ तर अहिले मसँग कम्प्युटर छ, इन्टरनेट छ । सन्दर्भ सामग्री जुटाउन सजिलो छ, म धेरै लेख्न थालेको छु । तर जो लामो समय अध्ययन र अनुसन्धान, चिन्तन र मनन गरेर लेख्छ, उही राम्रो लेख्छ । इन्टरनेटमा भर परे पनि उनीहरू भन्छन्, जुन मिठास र वास्ना पुस्तक र पत्रिकामा छ, त्यो इन्टरनेटमा छैन । मेरा लागि अहिले पनि पुस्तक–पत्रिका पढ्नुमा जति मजा अरूमा छैन।

प्रकाशित: १४ श्रावण २०७५ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App