५ कार्तिक २०७८ शुक्रबार
विचार

भीमसेन थापाको काल र कर्म

२०७२ वैशाख १२ गते आएको भूकम्पको विनाशलीला देखेपछि नेपाली जनताले तत्कालै एक ऐतिहासिक पात्रको सम्झना गरेका थिए, र ती पात्र अरू कोही नभएर राष्ट्रिय विभूति भीमसेन थापा थिए।

किनकि उनको कीर्तिका रूपमा दशकौँदेखि नेपालको पहिचानको प्रतीक बनेर राजधानीको केन्द्रमा गर्वकासाथ उभिएको धरहरालाई भूकम्पले ढालिदिएको थियो । नेपालको इतिहासको धरोहर बनेर उभिरहेको धरहरालाई अकल्पनीय रूपमा ढलेको अवस्थामा देख्दा मन अमिलो नहुने कुनै नेपाली थिएनन् भने विदेशी पर्यटकहरूका समेत मुहार मलिन देखिएका थिए । धरहरालाई त्यो अवस्थामा देख्नेहरू सबैजसोका मनमा वा मुखमा एउटै प्रश्न थियो, ‘धरहरा उभिएको फेरि देख्न पाइएका कि नपाइएला ?’ नेपाली इतिहासको अति नै संवेदनशील कालखण्डमा ३१ वर्षसम्म कार्यकारी जिम्मेवारीमा रहेर देशको बागडोर सम्हालेका थापालाई त्यसै राष्ट्रिय विभूतिको सम्मान दिइएको होइन ।

उनले आफूले जिम्मा लिएको कालखण्डमा अनेकौँ सामाजिक, आर्थिक सुधारका साथै कालान्तरसम्म नेपालको गरिमाका रूपमा रहन सक्ने केही कीर्तिहरू निर्माण गराएका थिए । विसं १८८२ मा उनले तत्कालीन महारानी ललितत्रिपुरा सुन्दरीको नाममा एउटा र आफ्नो नाममा एउटा गरी आफ्नै बागदरबारको नजिक एक जोडी धरहरा बनाउन लगाएका थिए । तर दुर्भाग्यवश १८९० भदौ १२ गते साँझ र राति गरी दुईपटक आएको ठूलो भूकम्पले काठमाडौँलाई तहसनहस पा¥यो । त्यही क्रममा दक्षिणतर्फको धरहरा फेदैसम्म ढल्यो भने उत्तरतर्फको केही क्षतिग्रस्त भयो । पछि पुनःनिर्माण गर्दा पूरै ध्वस्त भएको धरहरालाई छोडी केही मात्र क्षति भएको धरहराको पुनःनिर्माण गरियो । उक्त पुनःनिर्मित धरहरा एकसय वर्षपछि अर्थात् १९९० माघ २ गतेको महाभूकम्पमा फेरि क्षतिग्रस्त भयो ।

तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुननिर्माणलाई उच्च प्राथमिकता दिई दुई वर्षभित्रै अर्थात् १९९२ मै त्यसको पुनःनिर्माण सम्पन्न गरे । जुन धरहरा २०७२ वैशाखको भूकम्पमा क्षतिग्रस्त भएर ठुटो बनेको छ र कहिलेसम्म यसले पुनर्जीवन पाउँला भन्ने अझै अनिश्चित छ । भीमसेन थापाले धरहरामात्र बनाएका होइनन्, त्यसको नजिकै सुन्धारा पनि बनाएका थिए, जो अद्यापि छँदै छ । तर पानी नआउने धारा बन्न गएको छ । उनले प्रसिद्ध धार्मिक स्थाल पाल्पाको रिडीमा कलात्मक बंगला बनाएका थिए भने गोरखा बुँकोटमा बुढी गण्डकीको किनारमा महादेवको विशाल मन्दिर (भीमवीरेश्वर) बनाएका थिए।

उनले देशका विभिन्न स्थानमा निर्माण गराएका कीर्ति स्मारकहरू मात्र होइन, उनको पालामा भएका सामाजिक, आर्थिक सुधारहरू विशेष उल्लेखनीय छन् । मानिसले मानिसलाई दास बनाउने कुप्रथा संसारका धेरै ठाउँमा चलेको थियो । आज अत्याधुनिक, विकसित, सभ्य र शक्तिशाली कहलिएका मुलुकहरूको विगत पनि दासप्रथाको कलङ्कबाट अछुतो छैन । नेपालमा पनि धनी वर्गले पैसा, जग्गा वा सम्पन्नताको आडमा गरिब वर्गलाई आफ्नो पारिवारको कमाराकमारी बनाउने चलन व्यापक थियो ।

त्यो अमानवीय कुप्रथालाई हटाउन थापाले विसं १८८७ मा साहसिक ऐतिहासिक कदम चाले । गरिब परिवारलाई अन्न वा पैसा ऋण दिएर त्यसको बदलामा त्यस परिवारका काम गर्न सक्ने उमेरका छोराछोरीहरूलाई विनापारिश्रमिक कमारा कमारी बनाउने चलनलाई थापाले लालमोहरमार्फत प्रतिबन्धित गरे । उनले उक्त नियम पूरै देशभर एकैपटक लागू नगरी परीक्षणका रूपमा पश्चिम नेपालको अछामबाट सुरु गरेका थिए । उनको यो प्रयासप्रति घरमा कमारा कमारी राख्ने परम्परा भएका भारदार, शक्तिशाली र सम्पन्न वर्ग आदि थापासँग रुष्ट भए । त्यतिखेरको परिप्रेक्ष्यमा यो निकै ठूलो कदम थियो ।

त्यतिखेरको समाजमा दाजुको मृत्यु भएमा भाउजूलाई पत्नीका रूपमा स्वीकार्नुपर्ने अत्यन्तै गलत चलन व्याप्त थियो । यसले समाजमा एक प्रकारको विकृति र परिवारमा विग्रहसमेत ल्याएको थियो । मुख्तियार थापाले विसं १८९३ मा लालमोहरमार्फत यो कुप्रथामाथि पनि प्रतिबन्ध लगाए । जातीय परम्पराअनुसार नै भाउजू बेहोर्न मिल्ने किरात, लिम्बु, लाप्चा र जुम्लाका महिला पुरुषलाई भने अनिवार्य नगरी स्वेच्छा गर्न पाउने गरी छुट दिइयो । यसैगरी ब्राह्मण, क्षत्री परिवारमा समेत प्रचलित मामा वा फुपूको छोराछोरीबीच हुने विवाहलाई पनि उनले प्रतिबन्ध लगाए ।

तत्कालीन समाजमा अस्वाभाविक वैवाहिक सम्बन्धमाथि राज्यले नै रोक लगाउनु निकै क्रान्तिकारी कदम थियो ।
विशेषगरी काठमाडौँ उपत्यकाका नेवार जातिमा धार्मिक, सांस्कृतिक पर्वमा अत्यधिक खर्चगरी भोजभत्तेर गर्नुपर्ने र पुरोहितले मागे जति दानदक्षिणा दिनैपर्ने चलन थियो । यसबाट विशेष गरी आर्थिक अवस्था कमजोर भएका अधिकांश नेवार परिवार पीडित थिए । यो मर्का बुझेर उनले विसं १८८८ मा एक लालमोहर जारी गरी भोजभतेरमा गर्ने खर्च र पुरोहितले पाउने दानदक्षिणाको सीमा तोकिदिए । त्यति मात्र होइन, त्यसलाई उल्लंघन गर्ने यजमान र पुरोहित दुवैलाई दण्डसजायको समेत व्यवस्था गरेका थिए।

भीमसेन थापाले गरेका सुधारमा बेठबेगार हटाउनु पनि महत्वपूर्ण मानिन्छ । बेठबेगार भनेको समाजमा हैकम चलाएर बसेका सरकारी कर्मचारी, साहुमहाजन एवम् सम्पन्न वर्गले सर्वसाधारण श्रमिक वर्गलाई कुनै ज्याला वा पारिश्रमिक नदिई सित्तैमा आफ्नो निजी काममा लगाउने कुप्रथा हो । शोषणको यो रूप तत्कालीन भारत, चीन र तिब्बतमा समेत व्याप्त थियो । थापाले विसं १८८७ मा एक लालमोहर जारी गरी राजदरबार, सेना र युद्ध सम्बन्धी काममा बाहेक अरू काममा पारिश्रमिक नदिई कसैले कसैलाई कुनै पनि काम गर्न बाध्य पार्न नपाउने, त्यसो गरेमा दण्डसजायको भागिदार हुनुपर्ने नियम बसाले । यसबाट सर्वसाधारण श्रमिक वर्गलाई ठूलो राहत मिल्यो भने ठूलाठालू रुष्ट भए।

आर्थिक क्षेत्रमा पनि उनले महत्वपूर्ण सुधार गरेका छन् । विशेष गरी कृषिप्रधान मुलुकको मर्मलाई ध्यानमा राखी जमिन र किसानलाई प्राथमिकता दिएर थापाले नयाँ थितिहरू बसालेका पाइन्छन् । जमिनको नापी, मालपोत निर्धारण, मोही र तलसिङबीच बाली लिनेदिने कुरामा हुने गरेको किचलो समाधान गर्न लालमोहर, नगद ऋणमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था, धानचामलको सरकारी मूल्य निर्धारण, भ्रष्टाचार नियन्त्रण प्रयास आदि उनका उल्लेखनीय आर्थिक सुधारका प्रयास हुन् । त्यसबेला नगद लेनदेनको प्रचलन ज्यादै न्यून मात्र थियो । सरकारी कर्मचारीहरूले सेवाग्राही सर्वसाधारणको घरगोठमा गई दुहुनो गाई, खसी, बोका आदि लिएर गइदिन्थे । उनले त्यसरी घुस खाने कर्मचारी र खुवाउने सेवाग्राही दुवैलाई दण्डित गर्ने व्यवस्था गरे।

नेपाली सेनाको जनरल र प्रधान सेनापतिसमेत भएका भीमसेन थापालाई नेपालीहरूले सम्झिनुपर्ने अर्को मुख्य कारण हो– सेनाको आधुनिकीकरण गर्ने कार्यलाई उनले दिएका पहिलो प्राथमिकता । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहका सच्चा अनुयायी रहेका उनले नेपालका सेनालाई आधुनिक र सुदृढ बनाउन फ्रान्सको समेत सहयोग लिएको पाइन्छ । सेनालाई आधुनिक तालिम, पोसाक, ब्यारेक, युद्धमा जाँदा भरिया दिने आदिको व्यवस्था उनकै देन हो ।

साम्राज्यवादी अंग्रेज शक्तिलाई एसियाबाट नै धपाउनुपर्छ भन्ने ध्येय बोकेका भीमसेन थापालाई विसं १८३२ मा भएको नेपाल–अङ्ग्रेज युद्धका क्रममा सुगौली सन्धिमा ठक्कर खानुपर्यो । एकीकरण अभियानमार्फत नेपालले जितेको एक तिहाइ भूभाग गुमाउनु प¥यो । त्यो एक ठूलो क्षति त थियो ।

तर त्यति क्षति व्यहोरेर भए पनि थापाले राष्ट्रको मूल भूभाग र स्वाधीनता भने जोगाएको यथार्थलाई बिर्सन नहुने विज्ञहरूको धारणा छ । सायद त्यसैले होला नेपालमा तीन दशक शासन गर्ने प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर जबराले ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो’ भनेका छन् भने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘पृथ्वीनारायण शाहले निर्माण गरेको देशलाई भीमसेन थापाले आत्मा दिने काम गरे’ भनेर प्रशंसा गरेका छन् ।कम्युनिस्ट सिद्धान्तका जन्मदाता कार्ल माक्र्सले ‘एसियामा अङ्ग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र भीमसेन थापा थिए’ भनेका छन् भने नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले ‘भीमसेन थापा नेपालका मात्र नभई एसियाकै महान् नेता हुन्’ भनेका छन्।

त्यस बेलाको नेपालमा कमजोर र अकर्मण्य राजाहरू, अस्वाभाविक महत्वाकांक्षा र सौतेनी ईष्र्यामा डुबेका रानीहरू, अरूको खुट्टा नतानी आफू अघि बढन सकिँदैन भन्ने गलत धारणा बोकेका भाइभारदारहरू अनि जसरी भए पनि नेपालमा आफ्नो हस्तक्षेपकारी प्रभुत्व बढाउन उद्यत अंग्रेजहरूका कारण हत्या, हिंसा र अनेकौँ षड्यन्त्र मच्चिने गरेको पाइन्छ । त्यसैको सिकार भीमसेन थापा पनि हुनुपर्यो । तर उनको योगदानको मूल्यांकन गरेर नै उनलाई राजा महेन्द्रकै पालादेखि राष्ट्रिय विभूतिको सम्मान दिइएको छ ।जे होस्, उनी युद्ध हारे पनि इतिहास जितेका युग पुरुष हुन्, फ्रान्सका नेपोलियन बोनापार्टजस्तै । आज उनको २४३ औँ जन्मजयन्तीमा उनलाई सम्झनु सान्दर्भिक हुनेछ ।

 

प्रकाशित: ९ श्रावण २०७५ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App