८ वैशाख २०८१ शनिबार
विचार

चक्रव्यूहमा कांग्रेस

कांग्रेस निर्माणको पृष्ठभूमि
विशिष्ट परिस्थितिमा निश्चित उद्देश्यका साथ कलकत्ताको टाइगर सिनेमा हलमा नेपाली राष्ट्रिय कांग्रेस (नेराका बीपी समूह) र नेपाल प्रजातन्त्र कांग्रेसका बीच २००६ चैत २७ गते एकीकरण भई “नेपाली कांग्रेसको स्थापना भयो । ३ सय प्रतिनिधिले भाग लिएको उक्त सम्मेलन त्यसताका बृहत् मानिन्थ्यो। दुई दिन चलेको उक्त सम्मेलन हलबाटै दुवै दल नेराका बीपी समूहले ‘राष्ट्रिय’ र नेप्रकाले ‘प्रजातन्त्र’ शब्द हटाई ‘नेपाली कांग्रेस’ नामकरण गर्न सहमति जनाइयो । त्यही विन्दु नै नेपालमा प्रजातन्त्र स्थापनाको प्रस्थानविन्दु साबित भयो । पूर्वसहमति अनुसार नै पार्टी सभापतिमा नेराका (बिपी समूह)का अध्यक्ष मातृकाप्रसाद कोइराला छानिए भने महामन्त्रीमा नेप्रकाका सभापति महेन्दविक्रम शाह चयन भए। सदस्यहरूमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरि छानिए । उहाँहरू नेराका (बिपी समूह)बाट छानिनु भएको थियो । नेप्रकाबाट सुवर्ण शम्शेर, सूर्यप्रसाद उपाध्याय, महावीर शम्शेर र कुँवर कल्लु सिंह चयन हुनुभयो । सोही भेलाले सह–महामन्त्रीमा कृष्णप्रसाद भट्टराई र कोषाध्यक्षमा सुवर्ण शम्शेर राणालाई चयन ग-योे । यो थियो, दुई राजनीतिक दलका बीच एकीकरण गरेर नेपाली कांग्रेसको स्थापनाको अध्याय।

नेपाली राष्ट्रिय कांग्रेस बीपी समूह र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणले नेपाली कांग्रेसको स्थापनापश्चत् नेपाली कांग्रेसले निश्चित उद्देश्य, नीति तय ग¥यो । मूल नीति भने ‘जुनसुकै उपायद्वारा राणा शासनको अन्त्य’ थियो । यो प्रस्ताव बिपी कोइरालाले राख्नासाथ गिरिजाप्रसाद कोइरालाले ‘जुनसुकै शब्दभित्र हिंसात्मक आन्दोलनसमेत पर्ने भएकाले ‘शान्तिपूर्ण उपायद्वारा’ भनिनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । जुन प्रस्ताव बिपी कोइरालाद्वारा समेत स्वीकार गर्नुभयो । यहीँनेर ऐतिहासिक पक्ष के छ भन्दा सोही कालखण्डमा गणेशमान सिंहले भने, ‘नेपालमा समाजवादी गणतन्त्र’ स्थापना गर्ने उद्देश्य पार्टीले लिनुपर्ने प्रस्ताव राख्नुभएको थियो । यसरी हेर्दा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनासँग सोही कालखण्डमा समाजवादी गणतन्त्र स्थापनासम्मको विषयले कांग्रेसमा औपचारिक प्रवेश पाएको देखिन्छ।

कांग्रेस नेताहरूले आफ्नो स्थापनाकै पेरिफेरीमा आर्थिक, औद्योगिक र वैदेशिक नीतिका सन्दर्भमा दरिलो बहस चलाएको पाइन्छ । आर्थिक सन्दर्भमा कांग्रेसले सोही कालखण्डमा भनेको थियो, ‘आर्थिक दृष्टिले नेपालको वर्तमान सामाजिक अवस्था अन्यायपूर्ण मात्र नभई धनी र गरिबबीचको फराकिलो अन्तरले समाजको शक्ति नै क्षयीकरण भएको छ । राजनीतिक रूपमा प्रजातन्त्र स्थापना भए पनि आर्थिक समानता नहुँदासम्म जनताले शान्तिको अनुभूति गर्न पाउने छैनन । अन्यायपूर्ण रूपमा गरिएको भूमि वितरणको ठाउँमा न्यायपूर्ण बन्दोबस्त हुनु नै आजका सन्दर्भमा ठूलै आर्थिक क्रान्ति हुनेछ।’

औद्यागिक नीतिका सन्दर्भमा आजभन्दा ७० वर्षअघि नै स्थापना भएको कांग्रेसले भनेको थियो– नेपाली जनताले क्रान्ति गरेर राणाशाही फालेर जनताको सरकार स्थापनापश्चात् देशको औद्योगिकीकरणको सम्पूर्ण भार सरकारले नै लिनेछ । उद्योगभित्रका मजदुरलाई प्रजातन्त्रवादी सिद्धान्तका आधारमा आफ्ना हक र अधिकारका खातिर संगठन गर्ने पूर्ण स्वतन्त्रता हुनेछ । सँगै वैदेशिक नीतिका सन्दर्भमा सो समय कांग्रेसले भनेको थियो–‘नेपालको स्वतन्त्रता र सार्वभौम सत्ताको रक्षा गरेर विश्वभरका अन्य राष्ट्रसँग सन्धि गर्ने कुराको नेपाली कांग्रेस समर्थन गर्छ । छिमेकी मुलुक भारतका सन्दर्भमा नेपालको धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध हुँदै आएको छ । हामी भारतसँग सबै प्रकारको उन्नति र घनिष्ट सम्बन्ध कायम राख्ने अभिलाषा राख्छौँ । नेपालको तर्फबाट कदापि भारतको अहित हुने काम गर्नेछैन भने हालै स्वतन्त्र भएको भारतले पनि नेपालको कुभलो चिताउने कल्पनासम्म पनि गर्दैनौँ । चीनका बारे कांग्रेस भन्छ– नेपाल–चीनबीच पुरानो सम्बन्ध छ । चीनमा भएको क्रान्ति जनताबाटै उठेको ठानेर नेपाली कांग्रेस चीनको नयाँ सरकारप्रति मैत्री–भाव राख्छ । नेपालमा विदेशी शक्तिको हस्तक्षेपको नेपाली कांग्रेस घोर विरोधी छ । समग्रमा कांग्रेसको इतिहास कोट्याएर हेर्दा पार्टीको स्थापना, उद्देश्य र भावी कार्यदिशा प्रस्टै देखिन्छ । स्थापनाकालेदखि विभिन्न आरोह–अवरोह खेप्दै आएको कांग्रेस हिजोका मितिमा मूल लक्ष्यमा विचलित भएको देखिँदैन । फगत कांग्रेसले स्थापनादेखि लिएको नीतिमा देखिएको आमूल परिवर्तन भनेको संवैधानिक राजतन्त्र परित्याग गरी गणतन्त्रमा जाने नीति वास्तवमै कांग्रेस र नेपालकै इतिहासमा जोखिमपूर्ण घटना थयो।

नेपाली राष्ट्रिय कांग्रेस(बिपी समूह)सँग भएको ‘जन’ र नेपाल प्रजातन्त्र कांग्रेससँग भएको ‘धन’ मिलेर कांग्रेस अगाडि बढेको विषय सोही समय पनि चर्चाको विषय बन्ने गरेको तत्कालीन कालखण्डका दस्तावेजले उजागर गरेको पाइन्छ । उक्त कालखण्डमा एकीकृत पार्टी निर्माण गरी जनताको घरदैलोमा प्रजातन्त्रको बिहानी पु-याउन बिपी र सुवर्ण शम्शेरले पु-याएको योगदानको मूल्यांकन भावी पुस्तासम्मले गरि नै रहनेछन् । पार्टी एकीकरणको सम्मेलनपश्चात् प्रजातन्त्र प्राप्तिको आन्दोलनका लागि खर्चको जोहो गर्न गणेशमान सिंहसहित सुवर्णशम्शेर निवासमा पुग्नुभएका बिपी कोइरालाले २५/३० लाख भए क्रान्ति गर्न सकिने प्रस्ताव राख्दा सुवर्ण शम्शेरले ‘धक नमानी भन्नुहोला, २५/३० लाखले क्रान्ति सम्पन्न हुँदैन । १ करोड लिएर जानुस् । आवश्यक पर्दा अर्को १ करोडको व्यवस्था म गर्छु । एकैपटक नचाहिने भए आवश्यकताअनुसार समेत घरबाट लिएर जानसक्नु हुनेछ ।’ सुवर्ण शम्शेरको उक्त भनाइबाट अवाक् बिपीले क्रान्तिको निमित्त तयारी गर्दै राजा त्रिभुवनलाई पाल्पा भगाउने, नेपाली सेनालाई हात लिने र हातहतियारको संग्रह गर्ने’ योजना तय गरिएको तत्कालीन अवस्थाका डकुमेन्टको अध्ययनले देखाएको छ।

आजको कांग्रेस
क्रान्तिकै मैदानबाट जन्मे, हुर्केको र गणतन्त्रसम्म आइपुग्दा कांग्रेसका तर्फबाट गरेको क्रान्तिको एउटा अध्याय समाप्त भएको छ । २००७ बाट क्रान्तिको बिगुल फुकेको कांग्रेसले २०४६ को परिवर्तनसँगै २०६२/०६३ सम्म आइपुग्दा सो पार्टीभित्रका तीनपुस्ताले नेपाली जनतालाई अधिकारसम्पन्न बनाउने लडाइँ लड्दै व्यतीत गरे । बिपीजस्ता अग्ला व्यक्तित्व र चतुर राजनीतिज्ञ, कृष्णप्रसाद भट्टराईजस्ता निष्ठावान राजनेता, गणेशमान सिंह जस्ता चट्टानी अडान भएका र गिरिजाप्रसाद कोइरालाजस्ता आँट र आत्मबल भएका नेता कांग्रेसमा जन्मिएकाले यो पार्टीको इतिहास गर्व गर्न लायक छ । तर इतिहास एउटा अध्ययन र गर्व गर्ने विषय मात्र हो । आज र भोलिका पुस्ताका लागि कांग्रेसले के गर्छ ? त्यो महत्वपूर्ण विषय हो।

इतिहासको समीक्षासँगै भविष्यबारे पनि चर्चा गर्नैपर्ने हुन्छ । कांग्रेस आज चक्रव्यूहमा फसेको छ । नेकपाको सरकार ‘सर्वसत्तावाद’ उन्मुख भयो त भन्छ तर, त्यसको उच्च मनोबलसाथ संसद् र सडकमा नारा घन्काउने जोस कांग्रेसमा छैन । यो पृष्ठभूमिको अध्ययन गर्दा निचोड निकाल्न सकिन्छ– कांग्रेसमा आज स्पष्ट दुईवटा वर्ग भयो । एउटा वर्ग जनताका जनजीविकाका सवालसँगै सरकारले गरेका जनविरोधी कामको विधिसम्मत तरिकाले विभिन्न फोरमा विषय उठाउनुसँगै विधिसम्मत नै प्रतिकार गर्नुपर्छ । त्यसका लागि उच्च मनोबल भएको कांग्रेस निर्माण पहिलो सर्त हो । दोस्रो वर्ग जो संस्थापन भएर बसेको छ– ऊ भन्छ– पार्टीभित्रको सम्पूर्ण पोजिसनमाथि दाबी नगर्नुस्, सरकारका जनविरोधी क्रियाकलापको प्रतिकारमा पनि तपाईंहरू नै लडिदिनुस् । यही आश्चर्यलाग्दो चक्रव्यूहमा आज कांग्रेस छ।

१३औँ महाधिवेशनपश्चात् ओरालो लागेको कांग्रेसमा ब्रेक लाग्न सकेको छैन । पार्टीको आकार निर्वाचनमा ह्वात्तै घट्दासमेत नेतृत्व नैतिक जिम्मेवारी लिन तयार भएन । ७७ जिल्ला सभापति भेला भएको कार्यक्रममा पार्टीको संस्थापन पक्षको पक्षपोषणमा औँलामा गन्ने सभापति पनि देखा परेनन् । टिकट वितरणमा अपनाइएको अपारदर्शितादेखि समानुपातिक प्रणालीबाट सांसद बनाइएकाहरूको सूची देखेर देशदुनियाँ हाँस्दा त्यसको रापले पार्टी संस्थान पक्षलाई छोएन । जीवन्त संगठनका लागि वास्तवमा यो दुर्भाग्यपूर्ण अवस्था हो।

कांग्रेसको कार्यभार
प्रजातन्त्र हुँदै शान्तिपूर्ण तवरले गणतन्त्र स्थापनामा अमूल्य योगदान दियो कांग्रेसले । सोही कारण भन्ने गरिन्छ नेपालको प्रत्येक परिवर्तनको अगुवाइमा कांग्रेसको भूमिका अग्रणी छ । अब यो इतिहास अध्ययन गर्ने र इतिहास लेखन गर्नेका लागि विषयवस्तु बन्यो । भोलिको कांग्रेससामु दुईवटा कार्यभार देखिन्छ । पहिलो कार्यभार राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले आर्थिक क्रान्तिका माध्यमबाट समृद्ध नेपाल निर्माणमा सबल प्रतिपक्षको भूमिका निर्वाह गर्ने । दोस्रो हो– सम्भावित सर्वसत्तावादलाई रोक्न जनताको कांग्रेस निर्माण गर्ने । आजको कांग्रेस नेतृत्व कथित सम्भ्रान्त परिवारमा ‘भूजा ज्यूनार’ गर्ने संस्कृतिमा रमाउन पुग्यो । दुःख उठाउनै तयार नहुने ‘युवराज’ प्रवृत्तिको कांग्रेसबाट न त जनता जगाउन सम्भव छ, न त सम्भावित सर्वसत्तावादका विरुद्ध सडक संघर्ष नै।

आज कांग्रेसमा दुई लाइनको संघर्ष देखिन्छ । पहिलो लाइन युवराज प्रवृत्तिको माथि उल्लेख गरियो भने दोस्रो लाइन जो युवराज प्रवृत्तिमा रमाउने संस्थापनभन्दा भिन्न छ– ऊ ढोकैबाहिर सर्वसत्तावाद आएको पनि देखिरहेको छ भने माथिल्लो तलामा संस्थापना पक्ष ब्लु–लेबलमा रमाइरहेको पनि थाहा छ  । आँखै अगाडि आएको विषम परिस्थितिको रामै्र अन्दाज भएको उक्त समूह भूमिकाविहीन छ । शून्य भूमिकामा त्यो पनि टुटफुट गराइएर राखेको दोस्रो कांग्रेस आजैको मितिमा कार्यकर्ता र जनतालाई कुनै पनि विषयमा आह्वान गरिहाल्न सक्ने अवस्थामा पदीय हैसियतका कारण छैन । तसर्थ, समयक्रमले पार्टीको दोस्रो ठूलो मञ्च महासमिति बैठक हुनै लाग्दा देशैभरका महासमिति सदस्यहरूले एकै स्वरमा मुलुक, प्राप्त गणतन्त्र, जारी संविधान र खासगरी विधिको शासन स्थापनार्थ एकपटक ठूलै जोखिम उठाउने बेला आएको छ । बिपी कोइरालाले भन्नुभएकै पार्टीमा सुकिला मुकिला हाबी भए । आज बिपी रहनुभएको भए आह्वान गर्नु हुने थियो– ‘ब्लू–लेबल संस्कृतिका विरुद्ध एकपटक जुरुक्क उठ्नुस् । वास्तवमै पार्टीको साख गिरेको छ । पार्टीमा युवाको विकर्षण बढेको छ । पार्टी आज हिजोको राप्रपाझैँ १०/८ जना ढाकाटोपी लगाउने व्यक्तिको जस्तै पार्टीमा रूपान्तरण हुँदै छ । यस्ता गतिहीन शिथिल कांग्रेसले भोलिको जोखिमयुक्त कार्यभार पार लगाउनै सक्दैन । तसर्थ महासमिति बैठकमा मुलुक र लोकतन्त्रको बृहत्तर हितका खातिर खुद्रामा हैन, ठोसमै र उधारोमा हैन, हाताहाती निर्णय लिने बेला आएको छ । अन्यथा कांग्रेस नामको पार्टी त रहला, त्यो पार्टी ‘जन’को नभई ‘धन’को मात्र पार्टी बन्नेछ।

पार्टीभित्रको यो बेथिति रोक्न नसके राणा, राजा र पञ्चायतका विरुद्ध लड्दै आजसम्मको पुस्ताले समय बितायो । भोलिको पुस्ताले त्योभन्दा पनि डरलाग्दो ‘सर्वसत्तावाद’विरुद्ध समय व्यतीत गर्नुपर्छ । आजका मितिसम्म यसको हेक्का त कांग्रेस नेतृत्वलाई भएन नै, देशभरका महासमिति सदस्यहरूमा हुन्छ/हुन्न त्यो भने महासमिति बैठकसम्म कुर्नैपर्ने हुन्छ।

(आचार्य नेपाली कांग्रेसका नेता हुन् । )

प्रकाशित: ३१ असार २०७५ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App