१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

वकिलहरूको ‘दलीय’ चुनाव

यही असार २३ गते सर्वोच्च अदालत बार एसोसियनको चुनाव हुँदैछ। आफ्नो जित सुनिश्चित गर्ने दौडधूपमा प्रजातान्त्रिक र प्रगतिशील खेमाबन्दी भएर उम्मेदवारहरू मतदाताहरूको घरदैलो कार्यक्रममा लागिपरेका छन्। प्रथमतः आफूहरूलाई निश्चित राजनीतिक दल वा सिद्धान्तको परिचय बोकेर वकिलहरूको संस्था यसरी चुनावमा भाग लिनु कत्तिको शोभनीय हुन्छ भनेर प्रश्न गर्नुको कुनै औचित्य रहेन। यसरी बार एसोसियनहरू क्रमशः राजनीतिक दलहरूको भगिनी संस्थाको हैसियतमा रूपान्तरित र परिचालित हुन थालेको आभास हुन थालेको छ। यसको मूलभूत मनोविज्ञान भनेको आफूहरू प्रतिबद्ध राजनीतिक दलहरूको मार्गदर्शन र मार्गनिर्देशन पालना गर्न निजहरू बाध्य हुन्छन्। यसबाट स्वतन्त्र न्यायपालिकाको समग्र साखवृद्धिमा भन्दा राजनीतिक विचारबाट निर्देशित हुनु कदाचित शुभ मानिँदैन। हुनत, आफूहरू राजनीतिक विचारको भ-याङ चढेर उम्मेदवार हुन नैतिकरूपमा बाध्य भए तापति निवार्चनउप्रान्त आफूहरू बारको स्वतन्त्र छवि  कायम गर्न दत्तचित्त रहने प्रायः सबै उम्मेदवारको भनाइ सुनिन्छ । भनाइ र गराइको भिन्नता महसुस गर्न पाइएको तथ्यांक सम्भवतः बारसित नै छैन होला।

कार्यपालिका र व्यवस्थापिकाले स्वतन्त्र न्यायपालिकाको अभिभावकत्व गर्न चाहँदैन । सम्भव भए न्यायपालिकालाई धेरै हथकण्डा प्रयोग गरेर उल्टै आफ्नो मुठीमा पार्ने कोसिस गरिन्छ। सिद्धान्ततः न्यायपालिकाको अभिभावक भनेकै बार एसोसियन हो । न्यायपालिकाको स्वतन्त्रता कायम राख्न बारले अहं भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । बरु उल्टै राजनीतिक परिचयधारीलाई न्यायाधीशमा नियुक्त भएर वा गराएर स्वतन्त्र न्यायपालिकाको धज्जी उडाउन लागिपरेका हुन्छौँ, अनि त्यस्ताको औपचारिक सम्मान गर्ने गर्दछौँ । सर्वोच्च अदालत बार एसोसियन भनेको सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरूसित एउटै टेबलमा बसेर वैचारिक र सैद्धान्तिक अन्तक्र्रिया गर्ने हैसियतको हुनुपर्छ भनिन्छ। सर्वोच्च अदालतकै परिवेशभित्र रहेर काम गर्नुपर्ने बारमा उम्मेदवार चयन गर्दा के–कत्तिको गम्भीर भइएको छ भनेर चर्चा गर्नु निरर्थक मानिन्छ। पेसागत हैसियत र बौद्धिक मापदण्डको कुरा गर्नुको कुनै अर्थ छैन । यस्तो परिवेशमा सर्वोच्च अदालतका न्यायाधीशसित पेसागत र बौद्धिक हैसियतमा खुलेर निर्धक्कसित आफ्ना विचार राख्न सक्नेछन् भनेर पूर्वानुमान गर्नु झनै अर्थहीन हुन्छ।

बार एसोसियनहरू राजनीतिक दलहरूको भगिनी संस्थाको हैसियतमा रूपान्तरित र परिचालित हुन थालेका छन्।

यसरी न्यायाधीशहरूको पल्ला भारी हुने आजसम्मको अनुभवबाट स्पष्ट भएको छ । न्यायाधीशहरूसित पौँठाजोरी खेल्न भनिएको होइन, तर सर्वोच्च अदालतभित्र कार्यविधि, कजलिस्ट व्यवस्थापन, सुनवाइ पद्धति तथा न्यायपालिकाको साखमा अनुचित र नकारात्मक प्रभाव पार्ने भनेर सुन्ने गरिएका बेथितिहरूको बारेमा छलफल गर्न सक्नुपर्छ । यसका लागि उम्मेदवारमा पेसागत तथा बौद्धिक परिचय अनिवार्य मानिन्छ । उम्मेदवार हुन चाहनेहरूको एउटा रहर हुनसक्ला, तर पेसागत र बौद्धिक परिचय नभएका व्यक्ति चयन गर्ने व्यक्ति तथा राजनीतिक दलहरू यसबाट सिद्धान्ततः हँस्सीको पात्र बन्नसक्छ । कतिपय अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशले चिन्दै नचिनेका व्यक्ति अर्थात् औपचारिक भेटमा ‘यहाँको नाम ?’ भनेर सोध्नुपर्ने अवस्था सिर्जना भएमा व्यक्ति र चयनकर्ताले यसको नैतिक जिम्मेवारी लिएर आफूहरू सुध्रन तयार हुनुपर्छ । यहाँहरूको कारणले बार र स्वतन्त्र न्यायपालिकाको छविमा नकारात्मक प्रभाव पर्नदिनु हुँदैन । वकिलबाट न्यायाधीश भएका एकजना व्यक्तिले बारको कुरा सुन्नु त परै जाओस्, बरु उल्टै बारप्रति नकारात्मक धारणा व्यक्त गरेको सन्दर्भ एकजना सदस्यबाट सुनिएको थियो । पहिलो कुरा त निज न्यायाधीश अब वकिलको परिचयभित्र छैन भनेर बुझ्ने कोसिस गरिएन । दोस्रो कुरा, अब निजको हालको परिचयसित साक्षात्कार हुन आपूmहरू पनि त्यतिकै अध्ययनशील हुनुपर्छ भनेर हामीले बिर्सियौँ । अब निजको प्राथमिकता भनेको बार नभएर अदालत हो । तसर्थ बारले आफ्नो प्राथमिकता तयार गर्न नसक्दा यस्ता ‘इन्काउन्टर’ सहन बाध्य भइरहनु पर्छ।

बारका पदाधिकारी भनेको सिद्धान्ततः त्यस बारका बाँकी सदस्यहरू तथा त्यस बारले निर्वाह गर्नुपर्ने भूमिकाको सम्बन्धमा अभिभावक मानिन्छ। व्यवहारमा मैले पदाधिकारीहरूलाई प्रायः ‘अभिभावक’ भनेर सम्बोधन गर्ने गरेको छु । यसरी सम्बोधन गर्ने क्रममा मेरो पेसाको प्रारम्भिक दिन अर्थात् २०३४ सालमा वरिष्ठ अधिवक्ता गणेशराज शर्मा दाइले चासो देखाउनु भएको थियो। बारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको वहाँको मान्यता थियो। अभिभावकले आफ्नो सही र सार्थक भूमिका निर्वाह गर्न नसक्नु पदाधिकारीहरूको कमजोरी हो, तर निजहरूलाई ‘अभिभावक’ हौ भनेर झक्झकाइरहन पनि त्यसरी सम्बोधन गर्ने मर्यादा कायम राखेको छु। अभिभावकत्व भनेको पदमात्र होइन । समग्रमा यो एउटा व्यक्तित्व पनि हो। आफ्नो व्यक्तित्वबारे लघुताभास हुने अवस्थाका उम्मेदवार तथा निजहरूका चयनकर्ताहरूलाई लज्जाबोध हुने कार्य कदाचित गर्नु हुँदैन । यसबाट व्यक्ति, बार तथा समग्रमा न्यायपालिकालाई प्रतिकूल प्रभाव पर्ने स्थिति आउन सक्छ । केही दिनअघिसम्म वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला दाइले बारको अध्यक्ष पदका लागि उम्मेदवारी दिने कुरा उठाउनु भएको थियो। निर्विरोध हुने सम्भावना नभएर उहाँले उम्मेदवारी नदिनु भएको हुनसक्छ, तर न्यायाधीशहरूभन्दा धेरै जेठा वकिलहरूलाई विद्युतीय भ(याङ (लिफ्ट) प्रयोग गर्न नदिने तथा माथि खुला जग्गा भएको अवस्थामा पनि कार्टेलिङ शैलीमा वकिलका गाडी प्रवेशमा नियन्त्रण गर्न खोजिएका जस्ता विषयमा कुरा उठाउनु पर्छ भन्ने उहाँको मान्यता सुनिएको थियो । यस्तो किन पनि भनिएको हो भने निर्वाचित पदाधिकारीहरू लट्ठी टेकेर पनि अदालत धाइरहनु हुने गुरुदेव कृष्णप्रसाद भण्डारी र गुरुप्रसाद बरालका पनि अभिभावक हुन् । भण्डारी र बरालजस्ता व्यक्तित्व बारकै शोभा र मर्यादाका धरोहर हुन् । उहाँहरूले पनि लिफ्ट प्रयोग गर्न नपाएको सन्दर्भ अब धेरै उठाइरहनु नपर्ला।

माथि गणेशराज शर्माको कुरा उठाइएको छ । उहाँले चालीसको दशकदेखि बारलाई बहिष्कार गर्नुभएको थियो । स्मरण रहोस्, बारलाई बहिष्कार गर्न सकिँदो रहेछ, तर शर्माजीलाई बहिष्कार गर्ने हैसियत बारसित छैन । बारले वहाँको मनोविज्ञान र मान्यतालाई कहिले सम्बोधन गर्न सकेन । उहाँलाई बारले बारभित्र पुनरागमन गराउन सकेन । यसबाट बारको मनोविज्ञान कति राजनीतिक र कति साँघुरो रहेछ भनेर प्रमाणित भएको छ । चुनावी घोषणापत्र बोकर मत माग्नु र राजनीतिक दल आबद्ध सदस्य एवम् केही स्वतन्त्र मतपत्रको समिश्रणबाट चुनाव जित्नु र आफ्नो कार्यकाल पूरा गर्नुको औचित्य निजहरूको कार्यशैली र कार्यप्रगतिबाट सन्तोष लिन सकिएको छैन । जेहास्, बारलाई बहिष्कार गर्न सकिँदो रहेछ भन्ने स्थापित मान्यता तोड्न बारले खेल्नुपर्ने भूमिका अहिले नै सुनिश्चित हुन जरुरी छ।

मत माग्न आउने उम्मेदवारसितको संवादमा आफूहरू बढीमा एक दशक पेसामा रहिएला, तर यहाँहरूमध्ये अधिकांश व्यक्ति ३०–३५ वर्षसम्म पेसामा रहनु हुने उमेर छ । त्यति लामो यात्रामा अगाडि बढ्न बारलाई निष्पक्ष पेसागत र बौद्धिक संस्था बनाउने र स्वतन्त्र न्यायपालिकालाई संवद्र्धन र प्रवद्र्धन गर्न अभिभावकत्व भूमिका निर्वाह गर्नका लागि शुभकामना छ भन्ने गरेको छु । आफू उभिएको धरातल सफा भएमा लामखुट्टेले टोक्न सक्दैन भन्ने न्यूनतम मान्यता सबैले बुझ्न सक्नुपर्छ । धेरै पहिलेदेखि भन्दै आएको एउटा सन्दर्भ यहाँ उल्लेख गर्नु उचित ठानेको छु । बारका कुनै सदस्यको मृत्यु भएमा श्रद्धाञ्जलि समारोह आयोजना गर्ने गरिन्छ । त्यसबेला निर्लज्ज भएर १८–२० जनाको हातमा मोबाइल क्रियाशील रहेको पाइन्छ । त्यसरी नै छड्के संवाद पनि चलिरहेको हुन्छ । यस्तो औपचारिकताको कुनै अभिलेख हुँदैन, तर मृत्यु भएका सदस्यको सम्बन्धमा निजसित सुपरिचित कानुन व्यवसायीबाट केही पृष्ठको आलेख तयार गर्न लगाएर बारको वेबसाइटमा राखिदिएमा त्यस्ता व्यक्तिबारे अभिलेखीकरण हुनेछ । केही व्यक्तिहरूको अभिलेखीकरण उप्रान्तपछि पुस्तकाकारमा प्रकाशन गर्न सकिन्छ । त्यसरी नै विभिन्न समितिहरूको निर्माण पनि कताकता औपचारिकतामा नै सीमित रहेको पाइन्छ। नेपालमा औपचारिकतावाद एकप्रकारको रोग नै हो । बारले यस्ता औपचारिकतालाई अन्त्य गरेर अभिलेखीकरण हुनसक्ने कार्यप्रणाली थालनी गर्न सक्नुपर्छ।

यदाकदा सर्वोच्च अदालतले खास प्रकृतिका मुद्दाहरूमा ‘एमिकस क्यूरी’का लागि अनुरोध गर्ने गरिएको पाइन्छ, तर बारसित विशेषज्ञ व्यक्तिहरूको कुनै ‘रोस्टर’ छैन । यसबाट बार विशेषज्ञ प्रवृत्ति र प्रणालीप्रति गम्भीर छैन भनेर अथ्र्याउन सकिन्छ । बारभित्रको विशेषज्ञतालाई रोस्टरमा राखेर बारले ‘एमिकस क्यूरी’ लगायत धेरै क्षेत्रमा विशेषज्ञ आपूर्ति गर्न सक्नेछ। एकपटक एउटा कानुन निर्माणमा परामर्शका लागि बोलाइएको बैठकमा बाबुराम भट्टराईको सामुन्ने सामान्य कुरा गरेर फर्कनुपर्ने विशेषज्ञ भनेर पठाइएको व्यक्तिप्रथालाई बारले अन्त्य गर्न सक्नुपर्छ । हालैको अनुभव सुनाउन पर्दा आगामी भदौ १ गतेदेखि लागु हुने देवानी र फौजदारी संहिताको सहजीकरण र अभिमुखीकरण तालिमका लागि बारले यथेष्ट विशेषज्ञ आपूर्ति गर्न सकेको देखिएन । त्यसमा भएको व्यवस्थालाई मात्र प्रकाश पार्ने हो भने त्यस्तो कुनै कार्यक्रमको आवश्यकता पर्दैन, तर त्यसभित्र रहेका विधिशास्त्रीय त्रुटि तथा कमी–कमजोरी देखाएर त्यसलाई सच्याएर सुधार गर्नेतर्पm विशेषज्ञ आपूर्ति भएको देखिएन । स्मरण रहोस्, दृष्टान्तका रूपमा फौजदारी संहितामा रहेका केही कानुनी प्रावधान भदौ १ पूर्व नसच्याउने हो भने हामीले कानुनी विधिशास्त्र पनि पढेका छौँ भनेर मुख देखाउन लाज हुनेछ । बारले यस्ता धेरै कुरामा विशेषज्ञता आपूर्ति गर्नेतर्पm समयमै ध्यान दिनु जरुरी भइसकेको छ।

बारका पदाधिकारीले पद पाउनु मात्र प्रशस्त हुँदैन । पदको गरिमालाई न्यायोचित ठहराउन सकारात्मक रूपमा सक्रिय हुनुपर्छ । बारकै कारण अदालतमा भएका बेथिति नियन्त्रण गर्न सकिएको छ भनेर इतिहास रच्न सक्नुपर्छ । आज सात हजारभन्दा बढी फैसला लेखिन बाँकी छ भन्ने समाचार सार्वजनिक भएको छ । बारले यसमा समयमै चासो देखाउन सक्नुपर्छ । नवागन्तुक र महिला कानुन व्यवसायीको पेसागत भूमिका सुनिश्चित गर्न बारले ठोस कदम चाल्न सक्नुपर्छ। त्यसरी नै कानुन निर्माणमा पनि बारले बौद्धिक योगदान दिन सक्नुपर्छ। यस्ता धेरै कुरा छन्, जसप्रति बारले समयमै गम्भीर भएर सोच्नुपर्ने हुन्छ। बार भनेको समग्र सदस्यहरूका लागि गौरवको विषय बनाइनु पर्छ भनेर सोच्न सक्नुपर्छ।

प्रकाशित: १५ असार २०७५ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App