१९ पुस २०८२ शनिबार
image/svg+xml
विचार

क्रूर युगमा नैतिक जीवन

मेरो जीवनकालमा मैले शिष्टतालाई समर्थन गर्नेभन्दा क्रूरताप्रति सहिष्णु बनेको धेरै देखेको छु। अब हामी कता जान्छौं त ?

अहिले हामी त्रासद युगमा बाँचिरहेका छौं। दोस्रो विश्वयुद्धपछि र मेरो जीवनकालमा विश्वका शक्तिशालीहरू अहिले जत्ति असंयमित  कहिल्यै थिएनन्।

अब प्रश्न उठ्छः यस्तो युगमा हामी कसरी नैतिक जीवन जिउने?

रुसी नेता भ्लादिमिर पुटिनले युक्रेनमाथि भयावह युद्ध सुरु गरेका छन्। हमासको आक्रमणपछि बेन्जामिन नेतन्याहुले गाजालाई नष्ट पार्दैछन् र अहिले बचेको जनसंख्यालाई भोकमरीले मृत्युवरण गर्न बाध्य पार्न उद्यत् छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बसिरहेका हजारौं मेहनती मानिसलाई अपहरण गरी ‘डिटेन्सन क्याम्प’मा कोचेका छन्, उनीहरूका परिवारलाई क्षतविक्षत पारेका छन्, त्रास र डर फैलाइरहेका छन्। आप्रवास हेर्ने उनको एजेन्सीले गहुँगोरो (ब्राउन) वर्णका मानिसलाई लक्षित गरेको आरोप छ।

उनले अमेरिकी संसद् (कंग्रेस) को अधिकार हडपेका छन्, अदालतको अवज्ञा गरेका छन्् र आफ्ना शत्रुमाथि दोषारोपण गर्ने गरेका छन्।

उनी र उनका रिपब्लिकन सहयोगीले गरिबहरूका लागि जीवनरेखा बनेका औषधी र खाद्यान्न सहयोगलाई कटौती गरेका छन्। प्रष्ट छ– यसले करोडौं बालबालिकालाई असर गर्छ। उनले धनीहरूलाई कर छुट दिन सकियोस् भनेर यसो गरिरहेका छन्।

दक्षिणपन्थी मिडिया र सामाजिक सञ्जालमा घृणा फैलाउनेहरूले ट्रान्सजेन्डर, आप्रवासी, मुसलमान, फरक वर्णका मानिस र एलजीविटीक्यू–प्लस समुदायमाथि घृणा फैलाइरहेका छन्।

शक्तिशाली पुरुषहरूले महिलामाथि दुव्र्यवहार गरेका छन्। तीमध्ये केही त बालबालिका समेत पीडित हुने गरेका छन्।

शक्तिशाली पुरुष राजनीतिज्ञले महिलालाई सुरक्षित गर्भपतन सुनिश्चित गर्न समेत असम्भव बनाइरहेका छन्।

सिइओहरूले ऐतिहासिक लाभ र पारिश्रमिक बटुल्छन्, जबकि कामदारलाई न्यून ज्याला दिइन्छ र युनियन बनाउन खोजे भने जागिरबाट निकाली  दिने गरिन्छ।

अर्बपतिहरूले राजनीतिज्ञलाई चुनावका लागि प्रशस्त चन्दा दिइरहेका छन्, जुन कानुनी घुस हो। राजनीतिज्ञले ती अर्बपतिले तिर्नुपर्ने कर कटौती गर्न र नियमनहरू हटाउन सहयोग गरिरहेका छन्। यसरी गरिने प्रत्येक शक्ति दुरूपयोगले अरू थप दुरूपयोगलाई प्रोत्साहन दिन्छ। यी हरेक क्रियाकलापले सभ्यताका आधारभूत मान्यतालाई कमजोर पार्छ।

जब बलियाले कमजोरलाई धम्क्याउँछन्, समाजको आधारभूत संरचना संकटमा पर्छ। धम्की नियन्त्रण गरिएन भने यो संरचना भत्किन थाल्छ। आफूलाई असहाय, असुरक्षित, र कटु अनुभव गर्ने पीडितहरू शक्तिशालीको शिकार बन्छन्। यी नेताले जनतालाई हिंसा, युद्ध र तानाशाहीतर्फ लैजान्छन्।

त्यसो त यो बिल्कुल नयाँ कुरा होइन। इतिहासले के देखाउँछ भने सभ्यताको लागि भएका हरेक संघर्ष शक्तिशालीहरूको क्रूरता विरुद्ध हुने गरेको छ। सभ्यता क्रूरताको विरोध हो। एक सभ्य समाजमा बलियाले कमजोरलाई अमानवीय व्यवहार गर्न पाउँदैनन् तर मेरो जीवनकालमै मैले त्यो संरचना भत्किँदै गएको देखेको छु। मैले के पनि देखेको छु भने कुनै एक समय शिष्टता र मर्यादाको समर्थनमा थियो, अहिले अशिष्टता र नांगां क्रूरता पाच्य हुँदै गएझैं देखिन्छ।

ट्रम्प कारण होइनन्, परिणाम हुन्

त्यसो भए हामीले धम्क्याउनेहरूको युगमा नैतिक जीवन कसरी जिउने?

हामीले जे सक्छौं, त्यो सबै गर्नुपर्छ। क्रूरता रोक्न, शक्तिशालीलाई जवाफदेही बनाउन र असहायको रक्षा गर्न हरसंभव प्रयाश गर्नुपर्छ।

पुटिन र नेतन्याहु युद्ध अपराधी हुन्, उनीहरूको अपराध रोक्नुपर्छ। ट्रम्प अधिनायकवादी हुन्, जसलाई सत्ताबाट हटाउनुपर्छ।

श्वेत इसाई राष्ट्रवादलाई प्रोत्साहन दिने दक्षिणपन्थी राजनीतिज्ञको निन्दा गर्नुपर्छ र चुनावबाट उनीहरूलाई हराउनुपर्छ। जातिवाद र विदेशी घृणालाई बढावा दिने टिप्पणीकारको आवाजलाई निस्तेज पार्नुपर्छ। महिला र बालबालिकामाथि यौन दुर्व्यवहार गर्ने शक्तिशाली पुरुषलाई सख्त कारबाही गर्नुपर्छ। आफ्नै शरीरमाथि महिलाको पूर्ण अधिकार हुनुपर्छ। उनीहरूको सुरक्षित गर्भपतनमा पहुँच हुनुपर्छ।

निहत्था निर्दोष मानिसलाई मार्ने प्रहरीलाई न्यायको कठघरामा ल्याउनुपर्छ। आप्रवास हेर्ने एजेन्सीले सडक, घर, अदालत वा कार्यस्थलबाट सर्वसाधारणलाई अपहरण गर्न नपाउने सुनिश्चित गर्नुपर्छ। कामदारलाई अत्यन्त तुच्छ र अपमानजनक व्यवहार गर्ने सिइओहरूलाई पर्दाफास गर्नुपर्छ र दण्डित गर्नुपर्छ। कर छुटका लागि सांसदहरूलाई घुस दिने अर्बपतिहरूलाई कारबाही गर्नुपर्छ– त्यस्ता घुस स्वीकार गर्ने सांसदहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ।

यो राजनीतिक दृष्टिले ‘बायाँ’ वा ‘दायाँ’ को विषय होइन, यो सही के हो भन्ने विषय हो। त्यसैले धम्क्याउनेहरूको युगमा नैतिक जीवन बाँच्न हामी सबैको संयुक्त प्रयास आवश्यक हुन्छ; यो एक्लै सम्भव छैन। हामी सबैले नैतिक प्रतिरोधको विशाल सञ्जाल बनाउनुपर्छ र त्यसमा सक्रिय हुनुपर्छ।

यही विषय नै सभ्यताको माग हो। यही कुरालाई सामाजिक न्यायको संघर्षले माग गर्छ। यही कारणले त्यो संघर्ष अहिले अत्यन्त महत्त्वपूर्ण छ र हामी सबै त्यसको अंग बन्नु जरुरी छ। गार्जियनबाट अमेरिकाका पूर्वश्रममन्त्री एवम् लेखक राइच युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेका सार्वजनिक नीति विषयका सेवा निवृत्त प्राध्यापक हुन्।

प्रकाशित: १४ श्रावण २०८२ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App