२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

गिग अर्थतन्त्रको विस्तारित गति

मानिसहरूका वर्तमान जीवनशैली, काम गर्ने तरिका, पैसा आर्जन तथा खर्च गर्ने तरिका आदिमा कोरोनाका कहर र त्यसपछि क्रमिकरूपमा विकसित भएका खण्डित कार्यपद्धति, सामाजिक दूरीमा आधारित दैनिकी, विद्युतीय भुक्तानीको तीव्र विकास, व्यावसायिक प्रतिस्पर्धाका कारणले मितव्ययी बनेको इन्टरनेट वा आमसञ्चारलागतमा मितव्ययिता ल्याउन तथा गतिविधि विस्तारकै लागि अवलम्बन गरिएको भर्चुअल जीवनशैलीमुखी गतिविधि आदिका कारणले उल्लेख्य मात्रमा परिवर्तन ल्याएको छ। जसबाट समग्र संसारमा उत्पादन, उपभोग, वितरण, क्रयविक्रय, भण्डारण लगायत समग्र सामाजिक रहनसहनसमेतमा नौलो जीवनशैली मौलाएको छ।

यस्तै परिर्वर्तित जीवनशैलीका बीचमा मानिसले आर्यआर्जनका परम्परागत रोजगारीका अवधारणहरूलाई परिस्कृत गर्दै स्वःइच्छामुखी श्रम गर्ने पद्धति विकास भएको छ जसलाई चलनचल्तीमा गिग भनेर सम्बोधन गर्ने गरिएको भटिन्छ।

कर्मचारीहरूले १० देखि ५ बजेसम्मको परम्परागत स्थिर कार्यपद्धति अनुशार काम नगरी अस्थायी वा छोटो अवधिका कार्यहरू सम्पादनमार्फत आवश्यक आयआर्जन गर्दै जीविकोपार्जन गर्ने परिपाटी गिग हो। कामदारहरूको इच्छाअनुसार काम, पारिश्रामिक, कार्यतालिका, स्थान, कार्य स्वतन्त्रता आदि निर्धारण हुने भएकाले विश्व अर्थतन्त्रमा गिगको साम्राज्य क्रमिकरूपमा फैलँदो छ जसमा राइड सेयरिङ, फ्रिलान्सिङ, डेलिभरी सेवा आदि जस्ता क्रियाकलापको बाहुल्य छ।

विशेषगरी अस्थायी, स्वतन्त्र, अनौपचारिक तथा मागमा आधारित कार्यशैली वा गिगकार्य विकासमा कोरोनापछिको कालखण्ड निकैऊर्वर बन्यो जसबाट गिग अर्थतन्त्रको मौद्रिक आयतन विस्तारमाटेवा पुगी समग्र अर्थव्यवस्थामा यसको महत्त्वपूर्ण हिस्सासमेत कायम हुन पुगेको देखिन्छ। सामान्यतः गिग कार्यभित्र दीर्घकालीनरूपमा कर्मचारी तथा रोजगारदाताको सम्बन्ध स्थपित हुनुपर्ने विद्यमान परिपाटीभन्दा बाहिर रहेर अन्य स्वतन्त्र एवं अनौपचारिक क्रियाकलापहरूबाट गरिने आयआर्जन समावेश हुने गर्छन् भने यस्ता क्रियाकलापहरूको समष्ठिगत योगफलले विश्वमा गिग अर्थतन्त्र निर्माण भैरहेको छ।

वर्तमान समयसम्म आइपुग्दा संसारभर करिब १.१ बिलियनभन्दा बढी कामदार गिगबाट लाभान्वित रहेको तथ्य छ भने प्रतिवर्ष करिब १७ प्रतिशतका दरले यो आँकडा वृद्धि हुँदै जाने प्रक्षेपणसमेत गरिएको छ। संसारका धेरै देशमा गिग गतिविधिहरूले तीनदेखि पाँच प्रतिशतसम्म राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने गरेकोसमेत देखिएको छ।

 अमेरिकामा मात्रै करिब ३६ प्रतिशत कामदारले गिगको प्लेटफर्ममार्फत काम गर्छन् भने भारतको नीति आयोगको प्रक्षेपण हेर्दा २०३० सम्ममा २५.५ मिलियन कामदार गिगमा आबद्ध हुँदैछन्। इयूमा २०२५को अन्त्यसम्ममा करिब ४३ मिलियन कामदार गिगको आश्रयमा पुग्ने देखिन्छ। लैंगिक आधारमा गिगमा आधारित कामदारहरूको वितरण हेर्दा ५५ प्रतिशत पुरुष र ४५ प्रतिशत महिला रहने गरेको समेत तथ्यहरूमा प्रष्टिन्छ।

विश्व श्रमबजारको करिब १२ प्रतिशत श्रमशक्ति गिगमा आधारित रहेकोे विश्व बैंकका तथ्यांकबाट प्रष्टिन्छ । मोबाइल प्रविधिले मात्रै विश्व अर्थतन्त्रमा करिब पाँच प्रतिशतको योगदान दिइरहँदा ५.२ खर्ब अमेरिकी डलरको मौद्रिक योगदान गर्दै करिब दुई करोड ८० लाख रोजगारीका अवसरहरू सिर्जना गरेको प्रकाशित तथ्यमार्फत दाबी गरिएको छ।

 प्रविधिगत नवप्रवर्तन तथा बदलिँदो जीवनशैलीको आडमा झाङ्गिदै गरेको गिग अर्थतन्त्रमा मुख्यरूपमा स्थान, कार्यतालिका, उद्देश्य तथा संसाधनका आधारमा निम्नलिखित पक्षहरूबीच स्वतन्त्र वा स्वेच्छिक रूपमा नियमित अन्तरक्रिया गर्ने गर्छन्:

– स्वतन्त्र रूपमा काम खोज्नेहरूको जमात जसले स्थायी रूपमा नभई केबल मागका आधारमा काम गरी आयआर्जन गर्ने अभिलाषा राख्छन्।  

– खुद्रा, अस्थायी तथा विशेष श्रम तथा सेवाका मागकर्ताहरूजसले स्थायीरूपमा नभई अल्पकालीन वा परियोजनामा आधारित काम गर्न अस्थायी श्रमिक खोज्ने गर्छन्।

– काम खोज्नेहरूलाई श्रम तथा सेवाका मागकर्ताहरूसँग जोड्ने डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालहरू।  

माथिका क्रियाकलापहरू सञ्चालनबाट एक नया“ प्रकारको परिस्थितिजन्य चक्र निर्माण हुन्छ जसबाट नयाँ व्यावसाय स्थापना गर्ने, मध्यस्थता गर्ने तथा लचकदार रोजगारी प्राप्तिका लागि अनवरत अवसर सिर्जना भैरहेका हुन्छन्। प्राविधिको बाहुल्यमा आधारित स्वतन्त्र प्रणालीमा आधारित रहने हुँदा प्रायः गिग अर्थव्यवस्थामा विशेषतः सन् १९८१ देखि सन १९९६ सम्ममा जन्मेका सहस्राब्दी पुस्ता र त्यसपछि जन्मेका एक्स वा जुमर पुस्ता जस्ता श्रमका आपूर्तिकर्ता तथा मागकर्ताहरूको बाहुल्यता रहने गरेको देखिन्छ।

गिग अर्थव्यवस्थाले विश्वब्यापी श्रम बजारको करिब १२ प्रतिशत हिस्सा ओगटेर विकासशील देशहरूमा विशेषगरी युवा तथा महिलाहरूका लागि अनलाइन वा डिजिटल प्लेटर्फममा रोजगारीका अवसर बढ्दै गर्दा सामाजिक सुरक्षाको सवालमा भने अपेक्षाकृत प्रभाकारिता आइनसकेको विश्व बैंकका पछिल्ला प्रतिवेदनहरू केलाउँदा प्रष्ट हुन्छ।

पछिल्लो समयमा उदीयमानरूपमा रहेका गिग कार्यहरूमा यातायात सवारी तथा खाना वितरण, स्वतन्त्र लेखन, अनलाइन पठनपाठन, ग्राफिक डिजाइन, छोटो समयको लागि घर वा उपकरण भाडामा लगाउने, भर्चुअल सहयोग, घरपालुवा जन्तु तथा जनावार सेवा, विभिन्न क्रियाकलापहरू सम्पादनका सहयोगी सेवा, सेवा प्रवाहक चालक, अस्थायी तथा परियोजनामा आधारित काम आदि जस्ता अनेकन समय सापेक्षित कामहरूले यसलाई समृद्ध बनाएका छन्। यसमा अदक्षदेखि विशेषज्ञसम्म सबैले अपेक्षाअनुसार अवसरको सदुपयोग गरिरहेका देखिन्छन्।

नेपालमा पनि पठाओ, इन्ड्राइभ, टुटल, फुडमान्डु, अनलाइन प्रशिक्षण तथा परामर्श, कम्प्युटर प्रोग्रामिङ तथा सूचना प्रविधिगत सेवा, सामान खरिद बिक्री आदि जस्ता अनेकन प्रकारका गिगहरूका विस्तार भैरहेको देखिन्छ। यस्ता क्रियाकलापहरूलाई गतिशीलता प्रदान गर्न डिजिटलीकरण तथा प्राविधिक संलग्नता, कृत्रिम बौद्धिकता, फाइब जीको विस्तार, क्लाउड कम्प्युटिङ, व्यवहारगत कौशल, कौशलगत पुनः सबलीकरण तथा उन्नयन आदि जस्ता पक्षले प्रत्यक्ष रूपमा प्रभाव भने पारिरहेका भेटिन्छन्।

चीनको अर्थतन्त्रमा करिब ४२ प्रतिशत डिजिटल अर्थतन्त्रले योगदान गर्दै गर्दा करिब २०० मिलियन रोजगारी गिगमा आधारित रहेको प्रतिवेदनहरूमा देखिन्छ। त्यस्तैगरी भारतमा करिब १५ मिलियन रोजगारी गिगबाट सिर्जना भएका छन्।

भारतीय श्रमबजारले गिग क्रियाकलापहरूमार्फत करिब ३१ प्रतिशत अदक्ष, ४७ प्रतिशत अर्धदक्ष तथा  २२ प्रतिशत दक्ष श्रमिकहरूलाई रोजगारी प्रदान गरिरहेको देखिन्छ भने भारतीय अर्थतन्त्रमा १० प्रतिशतभन्दा बढीको योगदान डिजिटल अर्थतन्त्रको रहेको देखिन्छ।

त्यसैगरी अमेरिकी अर्थतन्त्रमा डिजिटल अर्थतन्त्रको भार हेर्दा करिब १० प्रतिशतकै हाराहारीमा देखिन्छ भने गिग क्रियाकलापहरूले अमेरिकी श्रम बजारमा करिब ३६ प्रतिशतको रोजगारी सिर्जना गरिरहेको देखिन्छ। नवप्रर्वतनको उदाउँदो लहरसँगै जुमर तथा सहस्राब्दी पुस्ताहरूका लागि गिगका नयाँनयाँ आयाम सिर्जना हुने हुनाले आउँदा दिनमा वैश्विक अर्थव्यवस्थामा गिगमा आधारित मौद्रिक आयतनले महत्वपूर्ण हिस्सा लिने देखिन्छ।

नेपालको गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४.१२ प्रतिशत, १३.४५ प्रतिशत र ६२.४३ प्रतिशत रहेको देखिन्छ। त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा अनौपचारिक क्षेत्रको योगदान लगभग करिब ३० प्रतिशतको हाराहारीमा छ भने कुल रोजगारीमा अनौपचारिक रोजगारीको हिस्सा करिब ५६ प्रतिशत रहेको भेटिन्छ।

नेपालमा कृषि वन तथा मत्स्य, थोक र खुद्रा, सवारी साधन मर्मत संभार, उत्पादन, निर्माण आदि क्षेत्रको कुल राष्ट्रिय रोजगारीमा दुई तिहाइभन्दा अधिक योगदान रहेको तथ्यहरूमा भेट्न सकिन्छ। क्षेत्रगत आधारमा प्रयोग हुन सक्ने गिगलाई मध्यनजर गर्ने हो भने नेपालको राष्ट्रिय रोजगारीमा यसबाट ठूलै जनसंख्या आश्रित रहेको सहजै आकलन गर्न सकिन्छ।  

नेपालमा गैरकृषिमा अनौपचारिक रोजगारीको करिब ४१ प्रतिशत हिस्सा रहनुले अनौपचारिक रोजगारीको ठूलो हिस्सा कृषिमा नै आस्रित रहेकोसमेत स्पष्ट हुन्छ। गिगको विकास एवं विस्तारको प्रमुख घटककारूपमा रहने युवा पुस्ता करिब ३५ प्रतिशत रोजगारी, शिक्षा तथा तालिमबाट नेपालमा वञ्चित रहेको देखिन्छ जुन बाङ्लादेश, भारत, पाकिस्तान तथा श्रीलंकामा भन्दा अधिक हो।

यसरी हेर्दा नेपालका अधिकांश युवाको आयआर्जनको विकल्प भनेको या वैदेशिक रोजगारी हो या गिग नै हो भनेर सजिलै आंकलन गर्न सकिन्छ। परम्परागत रोजगारीका अलावा पनि आंशिक रूपमा गिग कार्य गरी आयआर्जन गर्न सकिने हुनाले गिगमा आबद्ध वास्तविक रोजगारीको अवस्था तथ्यहरूमा देखिएको भन्दा झनै अधिक हुन भने सक्छ।  

गिग कार्यहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमाका बाबजुद पनि बिनाआवतजावत प्राविधिक प्लेटफर्मबाट गर्न सकिने हुनाले यसको दायरा परम्परागत निश्चित समयतालिकामा रहेर गरिने कामभन्दा निकै विस्तारित एवं फराकिलो छ। मौद्रिक आयतन पूर्णरूपमा राष्ट्रिय आयमा समावेश नहुनु, कामका आपूर्तिकर्ता एवं मागकर्ताहरूबीच विविध विषयमा नैतिक तथा आर्थिक मापदण्ड नहुनु, आयआर्जन तथा काममा एकरूपता तथा सुरक्षा नहुनु, कामबाट दीर्घकालीन सेवा तथा सुविधाहरू नपाउनु, कतिपय विषयमा स्पष्ट कानुनी आधार तथा नियमनका मापदण्ड नहुनु आदि जस्ता अनेकन व्यावहारिक कठिनाइहरूका कारणले गिग अर्थतन्त्रको विस्तारमा केही अवरोध भने विद्यमान भेटिन्छन्।

विश्व अर्थतन्त्रमा प्राविधिक नवप्रर्वतनहरूले उल्लेख्य योगदान गर्दै गर्दा नेपालमा भनेसामाजिक सञ्जालहरूमा नियमन गर्नुको सट्टा प्रतिबन्ध लाग्ने गर्दा रोजगारी तथा आयआर्जनमा समेत प्रतिकूल अवस्था सिर्जना भई गिगमा आबद्ध जनसंख्याको ठूलो हिस्साका आर्थिक गतिविधिहरू संकुचित बन्न सक्ने अवस्था सिर्जना हुन सक्नेसम्मको संवेदनाको बोध अझै हुन नसकेको हो कि भन्ने आभास हुन्छ।

पर्यटक आगमन र विप्रेषण आप्रवाहमा देखिएकोवृद्धि, घट्दो बैंकको ब्याजदरबाट लगानीवृद्धि गराउन सक्ने अवसर, देशको सञ्चालन खर्च मात्रै भरथेग गर्ने राष्ट्रिय आयको अवस्था, अमेरिकी डलरको आकासिँदो विनिमयदरका कारणले कमजोर बन्दै गरेको नेपाली मुद्रा आदिलाई ध्यानमा राखेर अबका दिनमा विश्व अर्थतन्त्रमा आफ्नो योगदान बढाउँदै गरेको डिजिटल र गिग अर्थतन्त्रका आधारस्तम्भहरूलाईअझै सुदृढ बनाइ उर्लँदो विश्वव्यापीकरणको तीव्र वेगमा समयसापेक्ष लय मिलाउन सक्नेगरी गिगको संर्बद्धन, प्रबद्र्धन तथा नियमनका भरपर्दा आधारसहित आउँदो बजेटले संबोधन गर्न सक्दा पक्कै पनि नेपालको राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव सिर्जना हुनेछ।

- लेखक बैंकिङ क्षेत्रमा क्रियाशील छन्। विचारहरू लेखकका निजी हुन्।

प्रकाशित: १६ जेष्ठ २०८२ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App