३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
विचार

स्वतन्त्रताको स्वाद

तिमी सबै फूलहरू काट्न सक्छौ तर वसन्तको बाटो रोक्न सक्दैनौ

- पाब्लो नेरुदा (सन् १९०४-१९७३)

पाब्लो नेरुदा चिली, दक्षिण अमेरिकाका लोकप्रिय कवि, प्रख्यात राजनीतिक र कूटनीतिक व्यक्तित्व। साहित्यका नोबेल पुरस्कार विजेता। उनको यो उद्धरण पढेँ, मन बेचैन बन्न थाल्यो। कति उच्च र गहिरो उद्गार उनको। हिमालको उचाइभन्दा अग्लो। महासागरको गहिराइभन्दा गहिरो। न म उड्न सक्छु त्यो उचाइ चुम्न। न त डुब्नै सक्छु त्यो गहिराइ भेट्न।

मेरो असमर्थता कति बृहत्तर ! मेरो जिज्ञासा अनि मेरो उत्सुकता कति अतृप्त ? एउटा पिँजडाको चरा स्वतन्त्रताको भोको भएझैंँ। सुनकै पिँजडा किन नहोस्, पिँजडा पिँजडै हो। त्यो बन्धनै हो। पिँजडाभित्र बन्दी भइ बाँच्नु त सजाय हो, यातना हो। बन्धनभित्र निस्फिक्री पाइने आहार पनि कति बेस्वादिलो, अरूचिकर।

खुला आकाश, स्वतन्त्र विचरण, त्यसको मज्जा आफ्नै। स्वतन्त्रताको उपभोग पनि कति मादक। मानिस स्वतन्त्रताको भोको, अनि दुव्र्यसनी। आफूलाई जे मन लाग्यो त्यो गर्‍यो। जता जान मन लाग्यो, उतै लाग्यो। जे मन पर्‍यो, त्यही खायो। जे मन लाग्यो उही लगायो। आफ्नै धूनमा आफ्नै सुरमा, मनलाग्दो। मन नै त हो यो देहको सञ्चालक पनि। मन मनुष्यको दिग्दर्शक। मार्गनिर्देशक पनि। मनको स्वतन्त्रता सुखानुभूति, आत्मसन्तुष्टि। मनको सुख मानिसको सुख। अनि मनको दुःख मानिसकै दुःख। मन स्वच्छ, शुद्ध र विवेकपूर्ण भए मानिस पनि विवेकशील बन्छ।

कति अन्योन्याश्रित सम्बन्ध मन र मानिसबीच। सजावटको एक्वेरियमका बन्दी माछाले महासागर चाहर्न चाहेझैँ। भीमकाय माछाहरूको आक्रमण अनि त्रासको पर्वाह नगरी स्वतन्त्र हुन खोजेझैँ। त्यो बन्दी जीवनबाट सदाका लागि मुक्ति खोजेझैँ। मानिस पनि स्वतन्त्रता खोजिरहन्छ, त्यसका लागि लालायित हुन्छ। स्वतन्त्रता नैसर्गिक।

प्रकृतिको फूलबारीमा सबले स्वतन्त्र भई विचरण गर्न पाउनुपर्छ तर त्यहाँ फुलेका सुन्दर फूलहरूलाई मिचेर होइन। खुला हिँड्न पाउनुपर्छ तर ती फूलहरूलाई कुल्चेर होइन। एउटा कोमल फूलले जसरी नओइलाउञ्जेल फक्रन पाउनुपर्छ, उसको लहलहाउँदो बैंस र सौन्दर्यले पनि हाँस्न पाउनुपर्छ। तर यो कस्तो विडम्बना ? सुन्दरता नै अभिशाप बन्छ यहाँ।

सौन्दर्य सजावटको सामग्री बन्छ। क्रय–बिक्रयको सामान बन्छ। सुन्दर वस्तु लुछ्नु अनि त्यसलाई सजाउनु पौरख बन्छ यहाँ। पुरुषार्थ बन्छ। पौरख र पुरुषार्थको पराकाष्ठासँगै मानिस आफैँ अधिनायक बन्छ। सबथोक आफ्नो अधीनमा राख्ने चाहनाले नै मानिसलाई अधिनायकवादी बनाउने त हो।

यो निरंकुशताको प्रारम्भ हुन सक्छ। यसले एक नायकलाई निरंकुशताको पथमा अघि बढाउन सक्छ। एउटा स्वतन्त्र मानिस कसैको अधिनमा बस्नु भनेको आफ्नो स्वतन्त्रता गुमाउनु हो। त्यो एक प्रकारको दासत्व हुन सक्छ। दासत्व कदापि स्वीकार्य हुन सक्दैन, एक स्वतन्त्र मानिसका लागि। एक स्वतन्त्र राज्यमा।

भोगचलनको स्वतन्त्रता गुमाउनु पीडा बन्छ। उत्पीडन अभिशाप बन्छ मानिसका लागि। उत्पीडनविरुद्ध आवाज उठाउनु उसको अधिकार बन्छ। एउटा स्वतन्त्र राज्यको एक स्वतन्त्र नागरिकले आफ्नो हक अधिकारका लागि बोल्न पाउनुपर्छ। उसको आवाज दबाउनुहुन्न। एकजना मानिसको स्वर–आवाजलाई दबाउन सकिएला। उसको स्वर मेटाउन सकिएला। हजारौँ, लाखौँ आवाज दबाउन सकिँदैन, मेटाउन सकिँदैन। मानवता मेटाउन सकिँदैन। मानवता मेटाउने चेष्टा आफ्नै विनाश हुन्छ। मानवता यो ब्रह्माण्ड अनि पृथ्वीको सिर्जना। यो ब्रह्माण्ड र पृथ्वी रहुञ्जेल मानव सभ्यता फक्रन पाउनुपर्छ। सम्पूर्ण ब्रह्माण्डलाई अधीनमा राख्ने चाहना दिवास्वप्न हुन सक्छ।

अर्बौ वर्षअघिदेखि अविच्छिन्न आफ्नै नियममा चल्दै आएको यो ब्रह्माण्ड। त्यसका अदृश्य शक्ति कति महान् ? उनको दैवीशक्ति झनै महान्। त्यसलाई पराजित गर्ने शक्ति कसैमा छैन। त्यसलाई मेटाउने सामथ्र्य कसैमा छैन। आफैँ मेटिन्छन् उसलाई मेटाउन खोज्नेहरू। ब्रह्माण्ड सुन्दर छ । यो शान्त अनि विशाल छ। ऊ स्वतन्त्र छ। ऊ कसैको अधीनमा बस्दैन।

हामी मानव पनि ब्रह्माण्डकै एक अंश। त्यसैले हामी पनि स्वतन्त्र रहन चाहन्छौँ। स्वतन्त्रता हाम्रो वंशानु। यो हाम्रो वंशानुगत गुण। हामी हाम्रो वंशानु मेटाउन सक्दैनौँ। स्वतन्त्र भन्नु आफ्नै तन्त्र। तन्त्र सञ्चालन विधि। आफूले आफैँलाई सञ्चालन गर्ने विधि भन्नुु स्वसञ्चालन। स्वसञ्चालन भन्नु नै स्वतन्त्रता। सबै मानिस स्वसञ्चालन चाहन्छन्। तर सञ्चालन विधि सही हुनुपर्छ। सहअस्तित्वमुखी हुनुपर्छ। सबैको हितका लागि हुनुपर्छ।

सबैको हित सबैको सुख। एक्लैको हितले सबैलाई सुख दिलाउन सक्दैन। हित, उन्नति अनि समृद्धि केही मानिसका लागि सीमित भयो भने बहुसंख्यक मानिस निराश बन्छ। मनमा विद्रोह जाग्छ। मानिसलाई विद्रोही बनाउँछ। विद्रोह विस्फोटक हुन्छ। विस्फोटले विनाश गर्छ।

प्रकाशित: १५ जेष्ठ २०८२ ०७:४८ बिहीबार