४ माघ २०८२ आइतबार
image/svg+xml
विचार

पोप फ्रान्सिसले छरेको सुवास

एउटा सादगीपूर्ण जीवनशैली, सामाजिक न्यायप्रतिको अटुट निष्ठा अनि सेवा र आत्मीयताका माध्यमबाट सुगन्ध छर्ने अभियन्ताको पर्याय हुन् पोप फ्रान्सिस। उनले एकपटक भनेका थिए, ‘गोठालामा भेडाको महक हुनुपर्छ।’

वास्तवमा उनले राखेको यस धारणामा परबाट जारी गरिने कुनै हैकम वा शक्ति नभई नजिकको करुणा, सम्बन्ध र साझा अनुभव झल्कन्छ। कवि लेखनाथ पौडेलको उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर,फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भन्ने कविता जस्तै महान् व्यक्तिहरूको सरलता र लचकता साँच्चै नै अनुकरणीय हुने गर्छ। पोप फ्रान्सिस पनि यस्तै फलेका वृक्ष जस्तै थिए।

पोप फ्रान्सिसको जीवनयात्रा यही सरल व्यवहार र असल मित्रताबाट सुरु भएको थियो। उनको यो विचार केवल क्याथोलिक चर्च र धर्मगुरुहरूका लागि मात्र होइन, नेतृत्व के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा पनि केन्द्रित छ र यस विषयमा उनले हरहमेसा हामी सबैलाई सोच्न आह्वान गरेका छन्। उनमा कहिल्यै पनि शक्तिको उन्माद रहेन र कहिल्यै उनले आफूलाई सत्ताको उचाइबाट हेरेनन्।

सधैँ जनताको नजरबाट हेरे। पोप हुनुको अर्थ उनले धार्मिक उत्तरदायित्वमा सीमित गरेनन् बरु पीडितका घाउमा मलम बनेर अनि जीवनयात्रामा अल्मलिएकाहरूका मित्र बनेर आफ्नो भूमिका निर्वाह गरिरहे।

नेता जनतासँग यति धेरै नजिक हुन्छन् भन्ने एउटा गज्जबको उदाहरण बनेका पोप फ्रान्सिस साँच्चै नै जनताका दुःख सङ्घर्षसँग निकै निकट थिए। महक वा वासना व्यक्तिगत र नजिकबाट महसुस गरिने कुरा हो।

यो त नजिक रहेर, नजिकबाट अँगालेर र निकट उठबसबाट थाहा पाइने कुरा हो। यही निकटताबाट व्यक्तिले अरूसँग भिज्न र आफूलाई परिवर्तन गराउन सक्छ अनि अरूका दुःख, पीडा र भोगाइको हिस्सेदार बन्न सक्छ। पोप फ्रान्सिसले पनि जीवनभरि यिनै र यस्तै उदाहरणीय काम गरेका छन्। उनले क्याथोलिक मात्र होइन, सबै धर्म, जाति र सम्प्रदायका दुःखी, पीडित, बेसहारा र भुइँमान्छेहरूसँग सधैँ निकट रहे र उनीहरूका जीवनका वासना र रङहरूलाई आफ्नै दुःख र भोगाइका रूपमा लिएर अनुभूति गरे।

सेवक नेतृत्वका व्यक्तित्व

पोप फ्रान्सिसमा कुनै पनि किसिमको दम्भ र अहंकार थिएन। उनको नेतृत्वलाई अहिले पनि धेरैले सेवक नेतृत्व भन्ने गर्छन्। अझ सूक्ष्मरूपमा उनले नेतृत्वलाई गोठालो नेतृत्व पनि भन्ने गरिन्छ। उनले नेतृत्वलाई कहिल्यै आदेशका रूपमा लिएनन् बरू साथी भएर हिँड्ने र साथी बनेर सुनिरहने तथा सिकिरहने व्यावहारिकतामा आधारित नेतृत्वलाई पछ्याइरहे।

पोप बनेको क्षणदेखि नै फ्रान्सिसले नयाँ बाटो रोजका थिए। उनले विलासितालाई त्यागे र सादा पहिरनलाई गहना बनाए अनि सामान्य कार चढे र आलिसान बङ्गला नरोजी सामान्य घरको बसाइमा रमाए। दुःखी बिरामीहरूको साथमा रहे र शरणार्थीहरूसँग समय बिताए। उनले भव्यता खोजेनन्, सधैँ विनम्रता रोजे।

हातमा शक्तिको राजदण्ड घुमाएनन् बरु मटुभरि करुणा बोकेर बाँचे। उनी वास्तवमा जनताका बीचबाट उठेका एउटा सच्चा आत्मिक अगुवाका रूपमा चिनिन्छन्। साँच्चै उनका सन्देश चर्को स्वरबाट नभई स्पर्शबाट महसुस गरिने किसिमका थिए। बोलीमा सान्त्वना, अनुहारमा आत्मीयता र सम्बन्धमा रहेको निकटताले उनी धेरैका आँखाका नानीमा राखे पनि नबिझाउने प्रबुद्ध व्यक्तित्व बन्न पुगेका हुन्।

उनी नयाँ भूगोल खोज्ने कोलम्बस जस्तै नेतृत्वको नयाँ आयाम र परिभाषा खोज्ने व्यक्तित्व हुन्। उनी मञ्चबाट आदेश दिने नेतृत्व कहिल्यै भएनन्। सडकमा भेट हुने जो कोहीले पनि महसुस गर्न सक्ने, जनजनको आवाजलाई सुन्न सक्ने र साथ दिने धर्मगुरुका रूपमा आफूलाई सिद्ध सावित गरेका थिए। त्यसैले भन्ने गरिन्छ, पोप फ्रान्सिस एउटा नाम मात्र थिएनन्, उनी एउटा स्पर्सकर्ता र अनुभूति हुन्। उनले गरिबी निवारण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि मञ्चबाट नभई साझा चिन्ताको थलोबाट नेतृत्व प्रदान गरेका थिए।

साँचो शक्ति सेवाबाट आउँछ र प्रभाव करुणाबाट जन्मन्छ भन्ने मान्यतालाई पोप फ्रान्सिसले संसारलाई सम्झाए। अन्धो आज्ञा पालन गर्ने दासत्व प्रवृत्तिलाई अस्वीकृत गर्दै सँगसँगै पाइला चाल्न र हिँड्न प्रेरित गरिरहे। त्यसैले उनका यिनै आदर्श विचारले मानिसमा रहेको अविश्वास र शङ्का हट्दै गए र धेरै मानिस उनीप्रति आकर्षित बन्दै गएका पाइन्छ। यिनै गुणले गर्दा संसारलाई नजिकबाट नियाल्ने, नजिकका नेता र आफूलाई भेट्ने जति सबैका निम्ति वास्तविक नेतृत्वका रूपमा स्थापित भए।

सुगन्ध जो रहिरहन्छ

उड्दैन फूलको रङ्ग सुक्दैन महको रस

छ जीवन तिमीभित्र बन जीवन्त मानिस

राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो काव्यिक मर्म जस्तै पोप फ्रान्सिसको नेतृत्व सुगन्धको अमिट छापबाट जो कोही प्रभावित भएको पाइन्छ। छोटो समयका लागि भए पनि जब कोही असल मान्छे तपाईँ हाम्रो जीवनमा आउँछन् त्यसको गहिरो छाप तपाईँ हामीमा जुग–जुगन्तसम्म रहिरहन्छ।

पोप फ्रान्सिसले आफ्नो सुकर्मका माध्यमबाट सबैलाई आध्यात्मिक र आत्मिक अंकमाल गरेका छन्। उनको यो हार्दिकतामय अङ्गालोमा बाँधिने जति सबैले सहानुभूति, साहस र आत्मयीताको सुगन्ध महसुस गर्दै जान थाले। उनका सुकर्महरूको सुवास चारैतिर फैलिँदै गयो र यसको प्रभाव कतिपय धार्मिक अभियन्ताहरू तथा युवाहरूमा पनि देखिँदै जान थाल्यो। फलस्वरूप धार्मिक नेताहरूले गरिबहरूप्रति सहानुभूति र सादगीपूर्ण विचार राख्न र सोहीअनुसारको व्यवहार प्रदर्शन गर्न थाले भने उनीबाट प्रभावित भई युवाहरूले न्याय र गरिबीका पक्षमा आवाज उठाउन थाले।

जिम्मेवारीसहितको आँट

पोप फ्रान्सिस आलोचनासँग डराउने व्यक्तित्व थिएनन्। यद्यपि उनले गरेका कामका विषयले चर्चलाई आलोचित गरेन। सधैँभरि समाधान र उपचारमुखी कर्म गर्ने फ्रान्सिसले आफ्नाबारे गरिएका गुनासा, बहाना र आलोचनाको कुनै प्रवाह गरेनन् किनभने आफूलाई चिन्नुपर्ने र बुझ्नुपर्ने मानिसले चिनेका छन् भन्ने कुरामा उनी निश्चिन्त थिए। सन् २०१५ मा बोलिभियाको भूमिमा उभिएर उनले उपनिवेशवादको खरो विरोध गरे। त्यहाँका उपनिवेशवादीहरूले स्थानीय जनजातिहरूमाथि गरेको दमन, अपमान र घृणाको विरुद्धमा आवाज उठाइरहे।

उनी सन् २०१९ मा रोमानिया पुगे र त्यहाँ पनि उनले चर्चका तर्फबाट भएका गल्तीका लागि क्षमायाचना गरेका थिए। त्यस्तै सन् २०२२ माउनी क्यानडा गए र चर्चद्वारा सञ्चालित आवासीय विद्यालयहरूमा भएका दुष्टतापूर्ण दुर्व्यवहारबारे त्यहाँका आदिवासीका बीच प्रत्यक्ष रूपमा आफ्ना धारणा राखेका थिए। उनले यी क्षणहरूमा गरेका कुरा केवल औपचारिकता पूरा गर्न वा चर्चको छवि जोगाउनका लागि मात्र गरिएका थिएनन्। यी कुरा त सत्य र विनम्रताका साथ गरिएका साहसिक कदम थिए। यस क्रममा भोगेका पीडादायी सत्यहरूलाई स्वीकार गर्दै उनले हामी गल्ती थियौँ भन्ने कुरामा चट्टानी अडान पनि लिएका थिए।

फैलँदो सुवासको प्रभाव

सुवास मनको मुस्कान हो। यो आँखाले होइन, हृदयले देख्ने र सुन्ने कुरा हो। मनको पर्खालमा लुकेको शीतल भावना हो। जीवनलाई सुवासमय बनाउन चाहेर पनि सबैले सकेका हुँदैनन्। अझ नेतृत्वमा रहेर सुवास छर्नु सजिलो कुरा होइन।

नेतृत्वको शक्ति महसुस गर्न वा कुनै कुराको प्रत्यक्ष अनुभूति गर्नका लागि तपाईँ हामी कोही पनि क्याथोलिक वा धार्मिक हुनुपर्दैन। यो त आपसी सम्बन्ध र हार्दिकतामा निर्भर रहने कुरा हो। यो सम्बन्ध र हार्दिकताले मात्र अरूका पीडा महसुस गर्न सकिन्छ। यसले अरूलाई छुने मात्र होइन, आफैँ अरूको संवेदनाबाट छुइन सक्ने बनाउँछ।

पोप फ्रान्सिस पनि मानिसका नजिक पुगेर उनीहरूका संवेदना सुनिरहने व्यक्तित्व थिए। उनले आफ्ना विचार र कर्मले चर्चलाई मात्रै होइन, विश्वव्यापी संवादको स्वरूप नै बदलिदिएका छन्। उनी बार्दलीमा बसेर अरूलाई आदेश गर्ने नेतृत्व थिएनन्, मानिससँग सधैँ सँगसँगै यात्रा तय गर्दथे।

हामीले छाड्ने वासना

साँचो नेतृत्वले करुणा र नम्रतालाई शक्तिका रूपमा उपयोग गरेको हुन्छ। सत्यको मार्गबाट सबैप्रति गहिरो प्रेम बाँड्दै सुवासमय जीवन बनाउनु उत्कृष्ट नेतृत्वको विशेषता हो। हरेक व्यक्ति आफ्ना मूल्य, मान्यता, निर्णय, विचार र उपस्थितिहरूको वासना बोकेर हिँडेको हुन्छ। यो कुरा केवल सेतो वस्त्र लगाएका व्यक्तिको मात्र होइन।

त्यसो भए यहाँ महत्त्वपूर्ण प्रश्न के हो भने हामीले अरूको जीवनमा कस्तो सुगन्ध छोडेका छोँ त ? यसै सन्दर्भमा पोप फ्रान्सिसले अरूको विचार र व्यवहारले हामीलाई प्रभावित बनाए जस्तै हामी पनि अरूलाई प्रभावित बनाउन सक्छौँ र परिवर्तन गर्न सकिन्छ र सम्भव हुन्छ भन्ने कुरा देखाएका छन्। फ्रान्सिसमा रहेको सुगन्ध प्रेम, करुणा र साहसको हो।

पोप फ्रान्सिसले भने जस्तै त्यस्तो करुणा र प्रेमको वासना नर्सिङ सेवामा देख्न सकिन्छ। अध्ययनका लागि संघर्ष गरिरहेका विद्यार्थीलाई हरहमेसा साथ दिने शिक्षकमा भेट्न सकिन्छ। एकआपसमा साथ सहयोग, ऐँचोपैँचो र एकताको भाव सुनिश्चित गर्ने छिमेकीमा देख्न सकिन्छ। वास्तवमा यही सुवास हो पोप फ्रान्सिसले बोकेको र अहिले धेरैले ग्रहण गरिसकेको। 

प्रकाशित: १२ जेष्ठ २०८२ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App