२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
विचार

जोसेफ नाई अर्थात् सफ्ट पावरका पिता

गत मे ७ मा ८८ वर्षका जोसेफ नाईको मृत्यु भयो। अन्तर्राष्ट्रिय सम्बन्धमा उनी नरम शक्ति अर्थात् ‘सफ्ट पावर’ सिद्धान्तका प्रतिपादक हुन्। उनले सन् १९९१ मा प्रकाशित आफ्नो पुस्तक ‘बाउन्ड टु लिड’ मा पहिलोपटक ‘सफ्ट पावर’ शब्दावली प्रयोग गरेका थिए।

उक्त पुस्तकमा उनले सफ्ट पावरको उति लामो व्याख्या भने गरेका थिएनन्। तर, ‘सफ्ट पावर’ अवधारणा अन्तर्राष्ट्रिय राजनीतिमा त्यसपछि ज्यादै चर्चित बन्यो। त्यसकारण उनले सन् २००४ मा सफ्ट पावरः द मिन्स टु सक्सेस इन वल्र्ड पोलिटिक्स पुस्तक लेखे। त्यसपछि भने अन्तर्राष्ट्रिय राजनीतिमा सफ्ट पावर अलग्गै अवधारणाका रूपमा प्रयोग हुन थाल्यो।

नाईको परिभाषाअनुसार सैनिक वा आर्थिक शक्तिको प्रयोगबिना कसैलाई स्वेच्छाले आफ्नो नीति पछ्याउन लगाउने राज्यको क्षमता नरम शक्ति हो। राज्यले आफ्ना मूल्यमान्यता र उदाहरणबाट अर्को राज्यको मन जित्न सके सैनिक र आर्थिक शक्तिको परिचालनबिना नै आफूले चाहेको काम गराउन सकिने र त्यस्तो शक्तिलाई नरम शक्ति भन्न सकिने उनको विचार थियो।

नरम शक्तिको प्रयोगबाट आफूले चाहेको जस्तो लक्ष्य हासिल गर्न सकिने अवस्था भए कडा शक्तिको प्रयोग गर्नु आवश्यक नभएको उनको तर्क थियो। उनले अर्को देशलाई आफ्नो तखतमा ल्याउन यसअघि प्रयोग हुँदै आएका सैनिक र आर्थिक शक्तिलाई कडा शक्ति (हार्ड पावर) भनेका हुन्।

धेरैजसो शक्ति राज्यले आफूले चाहेको स्वार्थ पूरा गर्न गाजर र लट्ठीको नीति (क्यारट एन्ड स्टिक पोलिसी) प्रयोग गर्छन्। भनेको माने खरायोलाई गाजर दिने नभए लठ्ठीले ठेगान लगाउने नीतिलाई नाइले कडा शक्तिको प्रयोगको संज्ञा दिएका हुन्। तर नरम शक्तिको प्रयोगबाट लठ्ठी प्रयोग गर्नै नपर्ने अवस्था आए कडा शक्तिभन्दा नरम शक्तिको प्रयोगले क्षति कम हुने र त्यस्तो नीतिको प्रयोग बुद्धिमानी हुने उनको विचार थियो।

नाइले लेखेका छन्– राजनीतिक नेताहरूलाई थाहा छ, शक्ति भनेको आकर्षणबाट आउने कुरा हो। मैले चाहेको कुरा मप्रतिको आकर्षणबाट नै प्राप्त हुने अवस्था छ भने मैले किन कडा शक्तिको प्रयोग गर्नु?

उदाहरणका लागि, कुनै राज्यले आफ्नो इतिहास, संस्कृति, सभ्यता, भाषा, विचारधारा, जीवनशैली, शिक्षा, प्राविधिक विकास आदिबाट अर्को राज्यलाई आकर्षित गर्न सक्छ र त्यही आकर्षणबाट अर्को राज्यलाई आफ्नो प्रस्तावमा सहमत गराउने क्षमता राख्छ अथवा कम्तीमा आफूसँग नजिक ल्याउन सक्छ भने त्यो क्षमता नै त्यो राज्यको नरम शक्ति हो।

त्यस्तो शक्तिको प्रयोगले आफूले चाहेको लक्ष्य हासिल गर्न सकिने अवस्था भए कडा शक्तिको प्रयोगले राज्यलाई अलोकप्रिय बनाउनेछ। अझ कतिपय अवस्थामा सैनिक र आर्थिक शक्तिले हात पार्न नसकेका उपलब्धिसमेत नरम शक्तिको प्रयोगबाट हासिल गर्न सकिन्छ।

सन् १९८० दशकमा अमेरिकाको बढ्दो अलोकप्रियताबीच नाइको नरम शक्ति सिद्धान्तको बीजारोपण भएको थियो। नरम शक्ति अवधारणाको जन्मको पृष्ठभूमिबारे चर्चा गर्दै नाइले सन् २०१७ फेब्रुअरीमा लेखेका छन्, ‘त्यतिबेला अमेरिका ओरालो लाग्दैछ भन्ने मत व्यापक थियो। पल केनेडीको पुस्तक द राइज एन्ड फल्स अफ ग्रेट पावर पुस्तक न्युयोर्क टाइम्सको ‘बेस्ट सेलर’ बनेको थियो।

 पलको सोचाइमा अमेरिकी सामथ्र्यलाई जति तन्काउन सकिने हो तन्काइसकेको र अब उसको अवस्था सत्रौँ शताब्दीको स्पेन र एडवर्डकालीन बेलायतको जस्तो उँधो लाग्नेछ। यो सोचाइसँग सहमत हुनेहरू धेरै थिए। सोभियत संघले सैनिक क्षमता र जापानले आर्थिक क्षेत्रमा अमेरिकालाई जित्दै गएपछि यो मतलाई अझ बलियो बनाएको थियो। यस्तो परिस्थितिमा अमेरिकाको सेना र आर्थिक स्रोत नियाल्दा मलाई भने केही कुरा खट्केको महसुस भइरहेको थियो। कसैमाथि आफ्नो कुरा थोपर्ने र आर्थिक कारोबारभन्दा पर अरू शक्ति राज्यको तुलनामा अमेरिकासँग अन्य राज्यलाई आफूप्रति आकर्षित र प्रोत्साहित गर्ने क्षमता भएको मेरो बुझाइ थियो।’

नाइको त्यही बुझाइ नै नरम शक्ति अवधारणाको जग बन्यो। उनले संसारका अरू शक्तिसँग नभएको तर अमेरिकासँग मात्र भएको यस्तो आकर्षण क्षमता नै सैनिक र आर्थिक क्षेत्रभन्दा शक्तिशाली अमेरिकी औजार हुन सक्ने विचार अघि सारे।

राजनीतिक विचारधारा, सञ्चार माध्यम, गैरसरकारी संस्था, लोकप्रिय संस्कृति, विज्ञान प्रविधि आदिको आकर्षणले अमेरिकालाई अरूको तुलनामा भिन्न र अझ शक्तिशाली बनाइराख्ने नाइको बुझाइ थियो। त्यसकारण अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धमा आफूसँग भएका यस्ता शक्तिको प्रयोग गर्दा अलोकप्रियताको कोपभाजनबाट जोगिनेछ।

सन् १९८० को विश्वमा सोभियत संघ, युरोप र जापान पनि त्यस्ता नरम शक्तिका प्रतिस्पर्धी भए पनि अमेरिकाको तुलनामा उनीहरू यस मामलामा कमजोर भएको उनको निष्कर्ष थियो।

नाइले नरम शक्तिको पक्षमा बोल्दै गर्दा उनले कडा शक्तिको विरोध वा निषेध भने गरेका थिएनन्। शक्ति राज्यले आफ्नो प्रभाव विस्तार गर्न सैनिक र आर्थिक शक्ति प्रयोग गर्नै नपर्ने मत उनको थिएन। नवयथार्थवादी राजनीतिक विचारधारासँग वैचारिक निकटता राख्ने नाइले कडा शक्तिको महत्त्व पनि राम्ररी बुझेका थिए। नरम र कडा शक्ति दुवैमा राज्य शक्तिशाली हुनुपर्ने तथापि कडा शक्तिको अत्यधिक प्रयोगले राज्य अझ अलोकप्रिय र कमजोर हुने उनको मत थियो। त्यसकारण दुवै शक्ति, नरम र कडाको संयोजन गरी समझदार शक्ति (स्मार्ट पावर) प्रयोग गर्न सके राज्य बलियो हुनेछ।

अमेरिकी सरकारका आलोचक

नाईले अमेरिकी कार्टर र क्लिन्टन सरकारमा सल्लाहकारका रूपमा सरकारी सेवा गरेका थिए। उनले शीतयुद्ध अन्त्यपछि सोभियत संघसँग भएका आणविक हतियारको व्यवस्थापनबारे अध्ययन गरी अमेरिकी सरकारको नीति तर्जुमामा भूमिका खेलेका थिए।

सरकारी सेवामा रहँदा उनले आफ्नो नरम शक्ति अवधारणाका केही व्यावहारिक प्रयोगको प्रयास गरे पनि। तर, हतियार उद्योग र पुँजीवादको पकड भएको अमेरिकी राजनीतिमा उनको सिद्धान्तले त्यति काम गरेको देखिँदैन। अमेरिकी अनुदारपन्थी राजनीतिक नेतृत्व र यथार्थवादी बौद्धिकहरू नरम शक्ति भन्ने कुरा नहुने मतमा बलियो विश्वास गर्छन्। उनीहरूको मतअनुसार नरम शक्तिमा बढी जोड दिँदा राज्य  कमजोर हुनेछ।

तथ्यांक नियाल्दा शीतयुद्धपछि संसारमा अमेरिकी कडा शक्तिको प्रयोग अझ व्यापक भएको देखिन्छ। नाइले भनेको नरम शक्तिमाभन्दा अमेरिकी नेतृत्वको जोड आर्थिक र सैनिक प्रतिस्पर्धामा बढी देखिन्छ।

सन् २००१ नोभेम्बर ११ मा भएको हमलापश्चात तत्कालीन बुस सरकारले आतंकवादविरुद्ध युद्धको घोषणा गर्‍यो। त्यसयता नरम शक्ति सिद्धान्त अझ ओझेल परेको देखियो। तथापि, त्यस्ता हमलाले अमेरिका संसारभर अझ अलोकप्रिय भएको भन्दै नाईले लगातार उसको युद्ध नीतिको विरोधमा मत व्यक्त गरिरहे।

नरम शक्तिबारे आफ्नो दोस्रो पुस्तकमा उनले इराक र मध्य पूर्वी देशमा हमलाका कारण अमेरिका अलोकप्रिय बनेको र त्यसको क्षतिपूर्ति गर्न नरम शक्ति विस्तारमा जोड दिनुपर्ने पक्षमा लेखेका छन्।

पछिल्ला दुई दशकमा संसारको उदयीमान अर्थतन्त्र चीन र अमेरिकाबीच भएको आर्थिक र व्यापारिक प्रतिस्पर्धा अस्वस्थ हानथापमा बदलिन सक्नेप्रति नाइले चिन्ता व्यक्त गरिरहे। त्यस्तो दुर्दशाबाट जोगिन नरम शक्तिको प्रयोगमार्फत सहकार्यलाई जोड दिनुपर्नेमा उनले लगातार जोड दिए।

यो अवधिमा उनले कम्तीमा २५ पटक चीन भ्रमण गरे र दुई शक्ति देशबीचको प्रतिस्पर्धा सहकार्यमूलक हुनुपर्नेमा जोड दिए। एउटा अन्तर्वार्तामा उनले भनेका छन्– यथार्थ अस्तित्वको संकट चीन र अमेरिकाले लडाइँमा जाने भुल गरेबाट सुरु हुन सक्छ। प्रतिस्पर्धा निरन्तर जारी रहनेछ। तर हामीले के कुरा नबिर्सौँ भने सहकार्यको स्थान पनि निकै महत्त्वपूर्ण छ।

उनी ट्रम्प सरकारका आलोचक थिए। मार्च महिनामा प्रकाशित उनको लेखमा उनले ट्रम्पलाई नरम शक्ति र विदेश नीतिमा त्यसको भूमिकाबारे ज्ञान नभएको व्यक्ति भनी आलोचना गरेका थिए। ट्रम्पका नीतिले अमेरिकालाई विश्वमा अझ अलोकप्रिय बनाउने उनको विश्लेषण पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ।

आज क्यानडा, जापान र युरोपेली देशहरू जस्ता अमेरिकी शिविरका भित्री सदस्यहरूसमेत अमेरिकी सरकारबाट रुष्ट छन्। आर्थिक हतियार प्रयोग गरेर अरूलाई आफ्नो पछि लगाउने ट्रम्प सरकारको नीति नरम शक्तिको अवधारणाभन्दा ठीक विपरीत छ।

इतिहास नियाल्दा नाईको नरम शक्ति अवधारणा नितान्त नयाँ अवधारणा नै भने होइन। ग्राम्स्कीको प्रभुत्ववादको सिद्धान्तका केही पक्ष नरम शक्ति सिद्धान्तसँग मेल खान्छन्। दुई राज्यबिच सांस्कृतिक सम्बन्धको अभ्यास प्राचीनकालदेखिकै विषय हो।

 हतियारले जित्न नसकिएका कति लडाइँ सामाजिक नाता, सांस्कृतिक सम्बन्ध, प्राज्ञिक तथा कूटनीतिक मिलन आदिबाट प्राप्त भएका अनगिन्ती उदाहरण छन्। यो सबै राज्यले विभिन्नरूपमा गर्दै आएका नियमित काम हुन्। तथापि, विशेषतः शीतयुद्धपछि एकधु्रवीय विश्वमा कडा शक्तिको बढ्दो प्रयोगको अमेरिकी नीतिलाई प्रतिवाद गर्न नाईको सिद्धान्तले भूमिका खेलेको देखिन्छ। उनको सिद्धान्तले कडा शक्तिको विकल्पको खोजीका प्रयासलाई अझ जोड दिएको छ।

अमेरिकी राजनीतिमा उनको यो अवधारणा विशेषतः डेमोक्रेटहरूले रुचाए। त्यही कारण डेमोक्रेटिक सरकारहरूले प्रजातन्त्र र मानव अधिकार जस्ता नरम हतियार प्रयोग गरेर पनि संसारलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयासलाई जारी राखे। तर रिपब्लिकनहरू भने नरम शक्ति सिद्धान्तप्रति सकारात्मक नभएको एउटा उदाहरण अहिलेको ट्रम्प सरकार स्वयं हो।

नाईले नरम शक्तिको चर्चा गर्दै गर्दा उनले अरू देशमाथि आफ्नो निर्णय वा स्वार्थ लाद्नु हुन्न भनेका छैनन्। उनी आफैँ पनि अमेरिकी राज्यले अंगालेको नीतिकै हिस्सा भएकाले उनले अमेरिकाको साम्राज्यवादी नीतिकै विरोध भने गरेका थिएनन्। उनले कुनै पनि देशका स्रोत साधन र राजनीतिमाथि आफ्नो प्रभुत्व कायम गर्नु बेठीक होइन भनेका होइनन्। बरु उनले त्यस्तो नीति लागु गर्दा हतियार र आर्थिक ज्यावलको प्रयोग गर्दा शत्रुको संख्या बढ्यो, त्यसकारण ती देशलाई फकाइफुलाइ गरी आफ्नो कुरा मान्न लगाउनुपर्छ भनेका हुन्। त्यसकारण नाईको नरम शक्ति सिद्धान्त अमेरिकी हस्तक्षेप सिद्धान्तकै अलग रूप मात्र हो।

केटाकेटीले भनेको कुरा नमान्दा थप्पड लगाउनु हुन्न बरु उसलाई सम्झाइबुझाइ गरी आफ्नै कुरा मान्ने बनाउनुपर्छ भन्ने आशय नै नाईको मूल आशय बुझिन्छ। यो अवधारणा सुन्दा आदर्शवादी र मीठो सुनिएपछि यथार्थवादीहरूको शब्दमा भद्रगोल अन्तर्राष्ट्रिय राजनीतिमा यस्तो आदर्शले कति काम गर्ने हो? सन्देहकै विषय हो।

यो वास्तविकता नाईले पनि राम्ररी बुझेका छन्, त्यसकारण उनले आफ्नो विचारलाई नरम शक्तिसम्म मात्र सीमित राखेनन्। बरु कडा शक्ति र नरम शक्तिको सन्तुलन मिलाएर समझदार शक्तिको प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

जे होस्, अन्तर्राष्ट्रिय राजनीतिमा नाईको उपस्थितिले कम्तीमा बेलगाम शक्ति राष्ट्रहरूलाई लगाम लगाउन केही कमजोर नै भए पनि भूमिका खेलेको छ। अन्तर्राष्ट्रिय राजनीतिलाई कुनै एउटा निश्चित सिद्धान्तमा समेट्न सजिलो छैन। तथापि, विभिन्न कालखण्डमा परिस्थितिको उपजका रूपमा देखापर्ने विचारले विश्वलाई कसरी अझ सुरक्षित बनाउने भन्ने अन्तरक्रियालाई गति दिने गर्छ। त्यस अर्थमा जोसेफ नाईको वैचारिक भूमिका विमर्शयोग्य छ। उनको मृत्युसँगै यो वैचारिक अन्तरक्रियाका एकजना विचारकले बिदा लिएका छन्। उनीप्रति श्रद्धाभाव!

प्रकाशित: ३१ वैशाख २०८२ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App