१३ पुस २०८२ आइतबार
image/svg+xml
विचार

बाङ्लादेशको ऊर्जा बजारमा नेपाल

प्राकृतिक ग्यास र कोइला बाङ्लादेशमा प्रयोग भइरहेका ऊर्जाका प्रमुख स्रोत हुन्। यी दुई ऊर्जाका स्रोतमध्ये ६५–७० प्रतिशत ग्यासबाट र २५–२८ प्रतिशत कोइलाबाट आपूर्ति हुने गरेको छ। अर्थात् बाङ्लादेशमा ९८ प्रतिशत ऊर्जा जीवाश्म स्रोतबाट आपूर्ति हुने गरेको छ। बाङ्लादेशमा २० वर्षका लागि पुग्ने ग्यास रहेको अनुमान गरिएकोमा, ऊर्जा मागको ६५–७० प्र्रतिशत हिस्सा प्राकृतिक ग्यासबाट आपूर्ति हुने गरेको छ।

उद्योगधन्दाहरूमा १३ हजार मेगावाट बराबरको ऊर्जा प्राकृतिक ग्यासबाट आपूर्ति भइरहेकोमा ग्यासको लागत उच्च रहेकाले ६ हजार मेगावाटमा झारिएको छ। जहाँ, अन्य ऊर्जाको औसत मूल्य प्रतियुनिट ११ सेन्ट पर्ने गरेकामा ग्यासबाट ऊर्जा आपूर्ति गर्दा प्रतियुनिट १५ सेन्ट पर्ने गरेको छ। अर्कोतर्फ, बाङ्लादेशमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको अनुमान गरिएकामा पछिल्लो अध्ययनबाट यो परिमाण सोचेभन्दा अति नै कम पाइएको छ।

जलविद्युत् उत्पादनको कुल सम्भावना सात सय ५५ मेगावाट मात्र रहेको बाङ्लादेश जलविद्युत्का दृष्टिकोणबाट ठगिएको मुलुक हो। कुल सम्भावनामध्ये दुई सय ३० मेगावाट मात्र दोहन हुन सक्दा कुल ऊर्जा मिश्रणमा जलविद्युत्को हिस्सा एक प्रतिशतभन्दा कम रहेको छ जहाँ बाङ्लादेशमा प्रतिव्यक्ति ऊर्जा उपभोग सन् २०२२ मा पाँच सय ९६ किलोवाट प्रतिघण्टा मात्र छ।

बाङ्लादेशले सन् २०४१ सम्ममा ऊर्जा आवश्यकताको ४० प्रतिशत नवीकरणीय स्रोतबाट आपूर्ति गर्ने प्रतिबद्धता कोप–२६ मा व्यक्त गरिसकेको छ। सन् २०२५–२०३० को अवधिमा  सात प्रतिशतको दरले आर्थिक वृद्धि दरको लक्ष्य अगाडि सारेको बाङ्लादेशले उक्त लक्ष्य हासिलका लागि सो अवधिसम्ममा ३८ हजार ६ सय मेगावाट विद्युत् आवश्यक पर्ने आकलन गरिएको छ।

त्यस्तै, ऊर्जा उत्पादनका लागि कोइला तथा प्राकृतिक ग्यासमा निर्भर रहेकामा सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक पर्ने बताउँदै उक्त अवधिसम्ममा नेपाल, भारत तथा भुटानबाट १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने योजना तय गरिएको छ।

सन् २०४१ सम्म ५० हजार मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरिएकामा नेपाल, भारत तथा भुटानबाट नौ हजार मेगावाटसम्म विद्युत् आयात गर्ने रणनीति तय गरिएको छ। सन् २०४१ सम्ममा कुल ऊर्जामध्ये ४० प्रतिशत स्वच्छ ऊर्जाको प्रयोग गर्ने जलवायुसम्बन्धी पेरिस सन्धिको वाचाअनुरूप यस्तो रणनीति अगाडि सारिएको हो। सन् २०५० सम्ममा आवश्यक पर्ने ऊर्जाको १४ प्रतिशत अर्थात १५ हजार सात सय मेगाावट छिमेकी मुलुकबाट आयात गर्ने योजना तयार गरिएको छ।

बाङ्लादेश–भारतबीच जिटुजी सम्झौताको आधारमा विद्युत् व्यापार हँुदै आइरहेको छ। भारत–बाङ्लादेशबीचको अन्तरदेशीय विद्युत् व्यापारका निमित्त सन् २०११ मा वहरामपुरा–भेरामारा चार सय केभी प्रसारण लाइन निर्माण गरिएको छ। कुल तीन सय ३२ मिलियन डलर एशियाली विकास बैंकको लगानीमा निर्मित भारत–बाङ्लादेशबीचको एक मात्र उच्च भोल्टको प्रसारण लाइन हो। तथापि, उक्त प्रसारण लाइनको अधिकतम क्षमता बढीमा एक हजार मेगावाट मात्र रहेको छ।

भारत–बाङ्लादेशबीच सन् २०१२ फेबु्रअरीमा विद्युत् व्यापार सम्झौता भएको थियो। सोअनुरूप बाङ्लादेशले सन् २०१३ देखि बिनाबोलपत्र अर्थात् आपसी सहमतिका आधारमा भारतको उत्तरपूर्वी त्रिपुरा राज्यबाट एक सय ९२ मेगावाट र पश्चिम बङ्गाल राज्यको भेरामारावाट एक हजार मेगावाट गरी कुल एक हजार एक सय ९२ मेगावाट विद्युत् आयात गर्दै आइरहेको छ।

त्रिपुरा राज्यबाट, त्रिपुरा–कुमिल्ल प्रसारण लाइनमार्फत र पश्चिम बङ्गालबाट बहरामपुर–भेरामारा प्रसारण लाइनमार्फत बाङ्लादेशले विद्युत् आयात गर्ने गरेको छ। विद्युत् व्यापार, भारतको सार्वजनिक कम्पनी एनभिएनएन र बाङ्लादेश विद्युत् विकास बोर्ड (पावर डेभलपमेन्ट बोर्ड) बिच हुने गरेको हो।

बाङ्लादेश वस्तुतः भारतपश्चात नेपालको विद्युत् बिक्री गर्न सकिने दोस्रो नजिकको बजार हो। सोअनुरूप, नेपाल–बाङ्लादेशबीच २०१८ अगस्ट १० मा विद्युत् व्यापार समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। दुईपक्षीय हितका लागि सार्वजनिक, निजी लगानी प्रवद्र्धन गर्नु लगानीका लागि संयुक्त उपक्रम निर्माण गर्नु, ग्रिड अन्तरआबद्धता निर्माण गर्नु, सार्क, विमस्टेक, बिबिआइएन (क्षेत्रीय तथा उपक्षेत्रीय स्तर) मा सहभागी भई विद्युत् व्यापार प्रबद्र्धन गर्नु उक्त समझदारीपत्रको उद्देश्य हो। समझदारीपत्रको बुँदा नंं. ४ को प्रावधानअनुरूप समझदारी कार्यान्वयन, सहजीकरण, निर्देशन र प्रगति अनुगमन गर्न  ऊर्जा सचिवस्तरीय निर्देशक समिति  र ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल गठन भई कार्यान्वयनमा आइसकेको छ।

प्रस्तुत सन्दर्भमा, नेपालमा वर्षामा विद्युत् बचत हुँदा बाङ्लादेशमा बढी विद्युत् आवश्यक पर्ने गरेको, बाङ्लादेशमा तयारी पोशाक उद्योग लामो समयदेखि मौलाइरहेको, उक्त उद्योग प्रवर्द्धनका लागि थप सफा ऊर्जा आवश्यक रहेको, वार्षिक विद्युत् माग ८–१० प्रतिशतका दरले वृद्धि भइरहेको, कैयन् ग्रामीण समुदाय अझै विद्युत्को पहुँचभन्दा बाहिर रहेका, कतिपय समयमा विद्युत् अभावका बेला पंखा चलाउन एवं साँझ ८ बजेपश्चात् पसल सञ्चालन गर्न निषेध गर्ने गरिएको छ।

यसका साथै प्राकृतिक ग्यासको भण्डार सोचेभन्दा न्यून पाइएको, भएको भण्डार रित्तिँदै गएको, अन्य ऊर्जाको औसत मूल्य प्रतियुनिट ११ सेन्ट पर्ने गरेकामा प्राकृतिक ग्यासमा आधारित ऊर्जाको १५ सेन्ट पर्ने गरेको, कोईला भण्डार न्यून भइरहेको, सौर्य ऊर्जा उत्पादन गर्न उपयुक्त भूमि अभाव रहेको, बाङ्लादेशको ढुकुटीमा ४० अर्बभन्दा अधिक अमेरिकी डलर सञ्चिति रहेको, वर्षा याममा नेपालमा विद्युत् बचत हुँदा बाङ्लादेशमा बढी विद्युत् आवश्यक पर्ने गरेको, सन् २०२४ अक्टुबर ३ मा प्रतियुनिट ६.४० सेन्टका दरले पाँच वर्षका लागि विद्युत् बिक्री सम्झौता भई २०२४ नोभेम्बर १५ देखि ४० मेगावाट विद्युत् निर्यात प्रारम्भ भइसकेको सन्दर्भमा बाङ्लादेशको ऊर्जा बजार नेपालका लागि अपूर्व अवसर हो। 

प्रकाशित: १८ वैशाख २०८२ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App