विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारमा १५ वर्ष उमेर नाघेका झण्डै ४० करोड मानिस रक्सीको प्रभावमा परेका छन्। झण्डै २१ करोड जनसंख्या यो बिना दिन काट्नै नसक्ने गरी कुलत फसेका छन्।
यति धेरै जनसंख्या अल्कोहलको भयानकता जान्दाजान्दै पनि किन कुलतमा फसे भन्ने प्रश्न उठ्छ नै। सर्वेक्षणले विकसित मुलुकमा ७० प्रतिशतभन्दा अधिक बालिगलाई अल्कोहलयुक्त पेय स्वास्थ्यका लागि हानिकारक रहेको जानकारी रहेको एक अर्को अध्ययनले उल्लेख गरेको छ। यो सचेतता प्रतिशत नेपाल जस्ता विकासोन्मुख देशका नागरिकमा पनि खासै कम नरहेको प्रतिवेदनको ठहर छ।
अध्ययनअनुसार, पहिलो पल्ट रक्सीको गिलास समात्दा नै अधिकांश मानिसलाई आफूले पिउन लागेको वस्तुले हानि गर्छ भन्ने जानकारी हुन्छ। आखिर आफूले खान लागेको वस्तु हितकर छैन भन्ने जान्दाजान्दै मानिस किन पिउन पुग्छन् भन्ने सम्बन्धमा रक्सीप्रतिको सामाजिक स्वीकार्यतालाई दोष दिन्छन् विज्ञहरू। जसरी घूस खान हुँदैन भन्ने जान्दाजान्दै पनि कर्मचारीले जागिरको सुरुवाती दिनमै सेवाग्राहीसँग पैसा असुल्नुमा राष्ट्रसेवकले अनैतिक रकम लिनुलाई समाजले मौन सम्मति दिनुसँग तुलना गरिन्छ रक्सीसँगको प्रारम्भिक परीक्षण यात्रालाई।
कार्यालयका सबै कर्मचारी भ्रष्ट हुँदा नयाँ जागिरेले निर्धक्क घूसको रकम समाएझैँ साथी र आफन्तहरू सबैले सोमरसको प्याला हातमा लिएको देख्दा भर्खरको युवाले यसलाई स्वीकृति दिन्छ। पटक–पटकको पिउने अभ्यासपछि व्यक्तिले रक्सीको खराबी छुट्याउने क्षमता गुमाउँछ अनि बिस्तारै अल्कोहलको आदतमा फस्छ। यसरी जमघटमा रमाउने सामाजिक ‘ड्रिङ्कर’ थाहै नपाई अल्कोहल नभई नहुने अम्मली बन्न पुग्छ।
अन्य जीवभन्दा पृथक विश्लेषण क्षमता अनि विवेकका लागि मानिसको दिमागले भूमिका खेल्छ। दिमागले व्यक्तिलाई सोच्ने क्षमता दिन्छ। त्यस्तो महत्वपूर्ण मस्तिष्कमा चोट पुग्दा व्यक्तिले सन्तुलन गुमाउँछ। त्यस्तो अवस्थामा मानिसले न्यायोचित निर्णय गर्न सक्दैन। प्रयोगशालाको टेस्ट ट्युबमा गरिएको परीक्षणले अल्कोहलले दिमागी कोस ९सेल०, न्युरोनलाई नजानिँदोरूपले फेरेको देखाउँछ। ल्याब परीक्षणमा झैँ रक्सीसँगको लामो सामीप्यले अम्मली व्यक्तिको दिमागका कोसहरूको बनोट परिवर्तन हुन्छ, दिमागमा आघात पुग्छ। हाम्रो क्रियाकलाप र आदतलाई नियन्त्रण गर्ने मस्तिष्कका कोसहरू फेरिएपछि व्यक्तिको सही र गलत ठम्याउने तागत स्खलित हुन्छ।
अमेरिकाको मेयो क्लिनिकले गरेको एक अध्ययनले रक्सी सेवनले व्यक्तिको ठीक र बेठीक छुट्याउन मद्दत गर्ने अनि आनन्दित रहन सिकाउने दिमागको खण्डहरूलाई धुमिल बनाउँछ। यसरी सोमरससँगको लामो सहयात्राले दिमागको बायोलोजीलाई नै निकम्मा बनाउँदा व्यक्तिले आफूलाई प्रसन्नता दिने कुरा केबल रक्सी मात्र हो भन्ने ठान्छ। परिवार र साथीसँगको घुलमिल अनि अन्य मनोरञ्जनात्मक क्रियाकलापले व्यक्तिलाई खुसी बनाउन सक्दैन बरु अम्मलीको दिमागले केबल अल्कोहललाई मात्र सम्झन्छ। परिणामस्वरूप अम्मली विवेकहीन निर्णय गर्न पुग्छ। के स्वयम् अनि परिवारको हितमा छ भन्ने खुट्याउन सक्दैन। तसर्थ, एकपटक रक्सीको खराब लतमा फसेको व्यक्तिलाई सद्धे बनाउन त्यति सहज छैन अनि ठूलो लगानी आवश्यक पर्छ।
रक्सीका सम्बन्धमा बहुआयामिक अध्ययन भएका छन्। तथ्यांकअनुसार केबल ब्रेनलाई सुषुप्त बनाउने होइन बरु अल्कोहलले शरीरका अंग प्रत्यंगलाई बिस्तारै निकम्मा बनाउँछ। सन् १९९० देखि २०१६ सम्म संसारका १९५ देशका १५ वर्षदेखि ९५ वर्ष समूहका लाखौँ नागरिकलाई समेटेर गरिएको एक बृहत् अध्ययनले अल्कोहल सेवन गर्ने समूहलाई यसलाई नछुने पक्षको दाँजोमा क्यान्सर, मुटु रोगलगायतका दर्जनौँ स्वास्थ्य समस्याले गलाउने संभाव्यता अत्यधिक पाएको छ। स्वास्थ्य विज्ञान क्षेत्रको प्रतिष्ठित जर्नल ल्यान्सेटमा प्रकाशित उक्त आलेखले सोमरसको न्यूनतम मात्रा पनि मानव शरीरका लागि सुरक्षित नभएको उल्लेख गरेको छ। यसरी सूक्ष्म तहमा गरिएको ल्याब परीक्षण र अन्तर्देशीय श्रेणीमा गरिएको व्यापक अध्ययन दुवैले सोमरस मानिसका लागि उचित छैन भन्ने देखाएपछि चिकित्सा क्षेत्रले यसलाई विषादीको श्रेणीमा राखेको छ।
सानो स्तरमा गरिएको परीक्षण अनि अन्तर्राष्ट्रिय तथ्यांकको विश्लेषण समेतले रक्सीजन्य पदार्थलाई खराब देखाएपछि यसलाई उपभोग गर्न नहुने सोच प्रवाहित भइरहेको छ। परीक्षण नतिजा सञ्चारमा आएपछि सर्वसाधारणमा सोमरसप्रतिको अवधारणा फेरिँदैछ। अल्कोहल मुक्त जीवनको चाह राख्नेको संख्या बढ्दो छ। अम्मलीले समेत नपिउनेलाई सम्मान गर्ने र तिनको सादगीपनलाई देखाएर त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने चाह राख्छन्। हालतसँग बाध्य व्यक्तिसमेत आफूलाई अल्कोहलबाट मुक्तिको सपना देख्छ।
एक सर्वेक्षणले नयाँ वर्षको दिन संसारका ५० प्रतिशत अल्कोहलको आदत परेकाले रक्सी खान छाड्ने प्रतीक्षा गर्छन् भन्छ। शून्य नै बनाउन नसके पनि कम्तीमा पिउने मात्रा घटाउने वाचा गर्छन् भन्छ आकडाले। बुझ्दा संकल्प गरेकाहरूले सतही वाचा नगरेको बरु भित्री हृदयदेखि नै रक्सी छोड्न प्रण लिएको देखिन्छ। तर प्रतिज्ञा गरेकामध्ये आधाले एक साता पनि नपुग्दै तोड्ने गरेको पाइन्छ। रक्सी छोड्न भित्री प्रण गर्ने व्यक्ति एक सातामै बोतल बोक्ने अवस्थामा किन पुग्छ त?
व्यस्त कार्यतालिकामा रहनेले दिनभरको थकान र चिन्ता कम गर्न विविध परिस्थितिका कारण सोमरसको सेवन सुरु गरे। कसैको मद्दतबिना नै एक बोतलको भरमा रम्न सक्ने भएपछि रक्सीको लोकप्रियता बढ्यो। अल्कोहल दर्जनौँ रोगको स्रोत र दिमागी तन्तुहरूलाई नै असन्तुलित बनाउने देखिएपछि अल्कोहलबिना नै दिनभरको चिन्ता दूर गर्ने विकल्पको खोजी हुनु स्वाभाविक हो।
स्ट्यानफोर्ड विश्वविद्यालयमा दुर्व्यसनीको क्षेत्रमा अध्ययनरत डा। ऐना लेम्कीको विचारमा रक्सीको अम्मल छुटाउन धेरै विकल्प नभएका होइनन् तर ती मार्गहरू बोतलको झोल गिलासमा हालेर पिउनु जस्तो सजिलो छैन। सोमरसको लामो सेवनले अम्मलीको दिमागको प्रसन्नता नियन्त्रण गर्ने भाग बिचलित भएकाले सर्वप्रथम मस्तिष्कलाई केबल रक्सीले मात्र खुसी दिँदैन बरु अन्य क्रियाकलापले पनि आनन्द लिन सकिन्छ भन्ने पुनस् प्रशिक्षण जरुरत हुन्छ।
अन्य क्रियामा व्यस्त हुँदा पनि आनन्दित हुन सकिन्छ भन्ने कुरा कुलतका कारण एकांकी भएको आफ्नो दिमागलाई सिकाउन सक्ने हो भने सोमरस मुक्त हुन नसकिने होइन भन्छिन् युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसकी दुव्र्यसनविज्ञ डा। लारा रे। जीवनको पूर्वार्धमा आफूलाई खुसी दिने तर तत्कालमा आफूले अवलम्बन नगरेका क्रियाकलापलाई जीवन्त बनाउन सके आदत छुट्ने देख्छिन् डा। रे। विगतमा हिँड्दा, पकाउँदा, संगीत साधनादेखि करेसाबारीमा काम गर्दा आफूलाई आनन्द मिल्थ्यो भने बिस्तारै उक्त अभ्यासलाई बिउझाउँदा फाइदा हुने देख्छिन् उनी।
अल्कोहल पिउने समयमा आफूलाई जिमखानामा व्यस्त राखेर स्वस्थकर दुस्ख दिँदा शरीरमा दिमागलाई क्रियाशील बनाउने डोपामिन, सेरोटोनिन जस्ता न्युरोट्रान्समिटरहरू उत्पादन हुन्छ। अनि ती तत्वले दिमागलाई प्रसन्न बनाई रक्सीको वैकल्पिक आनन्द दिने भएकाले फाइदा हुने देख्छिन् स्ट्यानफोर्डकी डा। लेम्की। त्यस्तै, भगवानको प्रार्थना, आराधना, भजन कीर्तन, योग जस्ता क्रियाकलापले पनि दिमागी प्रसन्नता दिने भएकाले साँझको रक्सी खाने समयमा मन्दिर धाउन सके हित गर्ने देखिन्छ। सोमरसको बोतल किन्नमा खर्च हुने पैसालाई एउटा खुत्रुकेमा राखेर त्यसलाई सकारात्मक लोकहितका लागि खर्च गर्दा पनि एउटा समूहलाई रक्सी छोड्न सकारात्मक ऊर्जा दिएको पाइयो।
रक्सी खान सिकाउने सामान्यत साथीसंगी नै भएझैँ असल मित्रको सामीप्यले अल्कोहलको लत छुटाउन मद्दत गर्ने देखियो। प्रेमी प्रेमिका अनि असल साथीहरू घण्टौँसम्म संवादमा बस्नुको बायोलोजिकल कारण उत्खनन गर्दा असल मित्रसँगको सामीप्यले दिमागमा डोपामिन अनि विभिन्न किसिमका प्राकृतिक नसा, ओपिवइड्स, उत्पादन हुन्छन्। मिल्ने साथीसँगको संगतले दिमागमा उत्पादन हुने रासायनिक तत्वले प्रसन्नता दिने भएकाले रक्सीको तलतल मेटाउन असल साथीसँगको भेटघाट र संवाद हितकर देखिन्छ।
रक्सी सेवनले शारीरिक स्वास्थ्य र मानसिक अवस्था दुवैलाई खल्बल्याउँछ। तसर्थ, स्वस्थ जीवन बिताउन अल्कोहललाई ‘हुन्न’ वा ‘छुन्न’ भन्ने संस्कार स्थापना गरौँ। मस्तिष्कका कोसलाई समेत खल्बल्याउने हुँदा रक्सीको लत छुटाउन कठिन छ तर असंभव भने होइन। इच्छाशक्ति भए रक्सीको तलतल लाग्दा जिमखाना, मठमन्दिर, परिवार र साथीसँगको वार्तालापलगायत आफूलाई प्रसन्न बनाउने क्रियाकलापको सहारा लिन सकिन्छ। रक्सीदेखि परै बस्ने, मिल्ने साथीसँग गफिँदा प्राकृतिकरूपले शरीरमा उत्पादन हुने आनन्ददायक रासायनिक पदार्थले अल्कोहलको तलतललाई बिर्साउन सक्छ। त्यसैले असल मित्रको संगत सोमरसको कुलत छुटाउन प्रभावकारी हुने देखिन्छ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: २ वैशाख २०८२ ०९:३२ मंगलबार