७ माघ २०८२ बुधबार
image/svg+xml
विचार

यसरी फर्कन्न राजतन्त्र

राजतन्त्र भनेको राजाले शासन गर्ने शासन प्रणाली हो। राजतन्त्रमा देशका प्रमुख राजा वा सम्राट हुन्छ। यस प्रणालीमा नियम वंशानुगत हुन्छ। यसको अर्थ राजाको मृत्युपछि उनको छोरा अर्को शासक बन्छ। यसलाई राजतन्त्रात्मक शासन पनि भनिन्छ। यस्तो प्रणालीमा शासकमाथि कुनै पनि प्रकारको संविधान वा कानुनको कुनै बन्देज हुँदैन। शासकले आफ्नो इच्छाअनुसार देश चलाउँछ र नियम र कानुन पनि आफैँं बनाउँछ।

महान् विचारक कार्ल माक्र्सको एउटा महत्त्वपूर्ण र उत्कृष्ट पुस्तक ‘लुइस बोनापार्टको अठारौँ ब्रुमेयर’ हो, जसको प्रस्तावनामा उनले लेखेका छन् क्रान्तिकारी संकटको क्षणमा तिनीहरू उत्सुकतापूर्वक विगतका भूतहरूलाई आफ्नो सेवामा बोलाउँछन् र तिनीहरूबाट विगतका नामहरू, विगतका युद्धका नाराहरू र विगतका लुगाहरू माग्छन्, ताकि तिनीहरू यस समय–परीक्षित पोशाकमा नयाँ युद्धभूमिमा आफूलाई प्रस्तुत  गर्न सकून्।

आज चलिरहेको राजतन्त्र पुनस्र्थापना आन्दोलनमा माक्र्सको यो भनाइ कति उपयुक्त छ र कुनै पनि देशमा संकटको समयमा मृत प्रतिक्रियावादी शक्तिहरूको भूत फेरि कसरी जागृत हुन्छ ? भन्ने विचारणीय छ। सन् २००६ मा नेपालमा अर्को जनआन्दोलन भएको थियो, जसको परिणामस्वरूप सन् २००८ मा राजतन्त्र अन्त्य भइ नेपालमा गणतन्त्र घोषणा गरियो। अहिले फेरि एउटा समूहबाट राजतन्त्रको माग भइरहेको छ।

सन् २००१ जुन १ मा भएको दरबार हत्याकाण्डमा नेपालको लगभग सम्पूर्ण राजपरिवारको हत्या भएको थियो। तत्कालीन राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र र उनको परिवार मात्र बाँचे। यसपछि सत्तामा आएका ज्ञानेन्द्र केही समय निर्वाचित सरकारसँगै रहे तर त्यसपछि उनले संसद् भंग गरेर सबै शक्ति आफ्नो हातमा लिए। अप्रिल २००६ मा, प्रजातान्त्रिक दलहरू मिलेर अर्को जनआन्दोलन सुरु गरे। १९ दिनको कफ्र्युपछि राजा ज्ञानेन्द्रले सत्ता त्यागे र संसद् पुनस्र्थापित भयो।

सन् २००८ मा शान्ति सम्झौताअन्तर्गत नेपालको २४० वर्ष पुरानो राजतन्त्र अन्त्य भयो। यसै वर्ष संविधान सभाको चुनाव भयो। निर्वाचित संविधान सभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। २०१५ मा भारी बहुमतका साथ नयाँ संविधान लेखियो र लागु गरियो। अहिले नेपालमा पनि अन्य लोकतान्त्रिक देशहरू जस्तै राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छन्। राष्ट्रपति राष्ट्र प्रमुख हुन् भने प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्छन्।

नेपालका अधिकांश प्रमुख दल राजतन्त्र पुनस्र्थापनाको विरुद्धमा छन्। मार्च २६ मा, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् कसैले देशको प्रगतिमा बाधा पु¥याउने प्रयास गर्छ भने त्यो सह्य हुने छैन। यसैगरी पूर्वप्रधान मन्त्री शेरबहादुर देउवाले पूर्वराजालाई आफ्नो लोकप्रियता मापन गर्न चाहेमा राजनीतिक दल बनाएर चुनाव लड्न चुनौती दिए। विपक्षी नेता पुष्पकमल दाहालले राजतन्त्र पुनस्र्थापित गर्ने कुनै पनि प्रयासले नेपालको गणतन्त्रात्मक उपलब्धिहरूलाई कमजोर बनाउने बताए। यस सवालमा विज्ञहरूसमेत विभाजित छन्।

राजनीतिक विश्लेषकहरू विश्वास गर्छन् सार्वजनिक असन्तुष्टिले राजतन्त्रलाई फेरि प्रभावशाली बन्ने अवसर दिइरहेको छ। मानिसहरू राजनीतिक अभिजात वर्गबाट निराश महसुस गरिरहेका छन्, त्यसैले राजतन्त्रप्रति आकर्षण बढ्दै गएको छ। यद्यपि, उनीहरू राजतन्त्र समर्थक अभियानमा नयाँ र विश्वसनीय नेतृत्वको अभाव रहेको बताउँछन्।

हाल नेपालका राजनीतिक विश्लेषकहरू राजतन्त्र फर्कने कुनै सम्भावना देख्दैनन्। उनीहरूका अनुसार राजनीतिकर्मीको अक्षमता र बढ्दो स्वार्थीपनबिच यस्तो माग केही असन्तुष्ट समूहहरूका लागि राहत मात्र हुनेछ। अहिले राजतन्त्र पुनस्र्थापनाको माग राख्दै भइरहेका जमघट र प्रदर्शन यिनै निराशाको परिणाम मात्र हुन्। जसले राजतन्त्र फर्काउने हैसियत राख्दैन।  

प्रकाशित: २७ चैत्र २०८१ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App