२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ३:२३ पूर्वाह्न
विचार

आयात निर्भर निर्यात व्यापार

केही समयअघिसम्म मुलुकको वैदेशिक व्यापारमा संकुचन छाएको थियो। निर्यात तथा आयातमा कमी आउँदा कुल व्यापारसमेत घट्दै गएका तथ्यांक बाहिर आएका थिए। अहिले भने यसमा केही सुधार देखिएको छ।

आयात र निर्यात बढेसँगै पछिल्लो समय कुल वैदेशिक व्यापारको आकारसमेत बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांक अनुसार चालु आवको आठ महिनासम्म १३ खर्ब तीन अर्ब ७३ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ। समीक्षा अवधिमा एक खर्ब ५८ अर्ब १७ करोडको वस्तु निर्यात भएको छ  भने ११ खर्ब ४५ अर्ब ५६ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ।

अघिल्लो आवको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढेको देखिन्छ भने निर्यात र आयात व्यापार क्रमशः ५७.२० र ११.२० प्रतिशतले बढेको छ। तथ्यांकमा निर्यात व्यापारको वृद्धि उत्साहजनक देखिन्छ। यसैलाई आधार बनाएर सरकारले वैदेशिक व्यापार लयमा फर्किएको दाबी गरेको छ तर वास्तविकता भने फरक देखिन्छ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरू भन्ने बित्तिकै धेरैको बुझाइमा ऊनी, गलैँचा, पश्मिना, जूट तथा जूटका सामान, तयारी पोशाक, चिया आदि पर्ने गर्छ । तर पछिल्ला आवहरूका आँकडा हेर्ने हो भने मुलुकको निर्यात व्यापारको संरचना बदलिएको छ।

अहिले निर्यात हुने प्रमुख वस्तुमा पामतेल (ताडी वा खजुर), भटमासको तेल, सूर्यमुखीतेल जस्ता प्रशोधित तेल पर्ने गरेका छन्। चालु आवको आठ महिनामा डेढ खर्बको वस्तु निर्यात हुँदा यस्ता तेलको हिस्सा मात्रै साढे ५६ अर्ब रुपियाँ भन्दा बढी रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

यस अवधिमा मुलुकबाट ५६ अर्ब ३९ करोड बराबरको खाने तेल (भटमास, सूर्यमुखी, पाम) निर्यात भएको छ। जसमा सबैभन्दा धेरै ४७ अर्ब ९४ करोड रुपियाँको भटमास तेल, सात अर्ब  ९८ करोडको सूर्यमुखी तेल र साढे ४६ करोडको पाम तेल निर्यात भएको विभागले बताएको छ। यसपछि मात्र सात अर्ब २१ करोडको कार्पेट, पाँच अर्ब ८४ करोडको अलैँची, तीन अर्ब ५८ करोडको स्टिल तथा आइरन, तीन अर्ब ४५ करोडको जूट, तीन अर्ब ४१ करोडको धागो, तीन अर्ब ३१ करोडको जुस, तीन अर्ब २१ करोडको चियालगायत वस्तु निर्यात भएको छ।

 यसरी निर्यात भएका अधिकांश वस्तु नेपालको आन्तरिक उत्पादनबाट भन्दा पनि आयातित कच्चा पदार्थलाई प्रशोधन गरेर अन्य मुलुकमा निर्यात गर्ने गरिएको देखिन्छ।

मुलुकको निर्यात व्यापारमा प्रमुख भूमिका निर्वाह गरका पाम तेल, भटमास तेल तथा सूर्यमुखी तेल जस्ता वस्तुको आन्तरिक उत्पादन भने पर्याप्त छैन। पूर्वी तराईका केही जिल्लामा पाम रोपिने भएपनि यसको उपयोग निकै कम हुने गरेको छ। यी उत्पादन स्थानीय बजारमै खपत हुने गरेका छन्। भटमास देशैभर उत्पादन हुने नगदे बाली हो तर व्यावसायिकरूपमा भटमास खेतीको अभ्यास छैन। सूर्यमुखीसमेत मुलुकका केही विशेष क्षेत्रमा मात्र उत्पादन गरेको पाइन्छ।

मुलुकभर करिब दुई लाख ५९ हजार हेक्टरमामात्र तेलहन अर्थात् भटमास, तोरी, आलस, सूर्यमुखीलगायतको खेती हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। यसबाट वार्षिक तीन लाख टन कच्चा पदार्थ मात्र उत्पादन हुन्छ। यी वस्तुहरूको आन्तरिक उत्पादनले स्थानीय बजारको मागसमेत धान्न सम्भव छैन। यसैकारण यसको उत्पादनका लागि आवश्यक कच्चा पदार्थ इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, युक्रेन, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट आयात गर्ने गरिन्छ।

चालु आवको आठ महिनामा मात्रै मुलुकमा  साढे ७५ अर्बको कच्चा खाने तेल आयात भएको छ। यसमध्ये सबैभन्दा धेरै ५१ अर्ब ३५ करोडको भटमास , २० अर्ब २६ करोडको सूर्यमुखी र  तीन अर्ब ८५ करोडको पाम तेलको कच्चा पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ। नेपालका व्यवसायीहरूले यही आयातित कच्चा तेललाई प्रशोधन गरेर छिमेकी मुलुक भारतमा निर्यात गर्ने गर्छन्।

विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र भारतले दिएको विशेष सुविधाको लाभ नेपाली व्यवसायीले यी वस्तुको निर्यातबाट लिने गरेका छन्। नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ। अन्य मुलुकबाट भित्रने तेलको भन्सार दर भने भारतले गत भदौमा थप २० प्रतिशत विन्दुले बढाएको छ। भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ।

नेपालमा भने भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पाउँछन्। त्यही कारण उद्योगीहरूले निर्यातमै जोड दिएका बताइएको छ। अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै भारत निकासी गर्ने अन्य वस्तु पनि छन्।

सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ। यसरी हेर्दा डलर खर्च गरेर भित्र्याइएका कच्चा पदार्थलाई प्रशोधन गरेर भारतीय रुपियाँमा बिक्री गरेको देखिन्छ। यसैकारण राज्यले यसबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। नेपालको गार्हस्थ्य उत्पादनमा यसले कुनै भूमिका खेल्न सकेको छैन।

आगामी पाँच वर्षभित्र अर्थतन्त्रको आकारको तुलनामा २० प्रतिशत बराबरको निर्यात पु¥याउने लक्ष्य सहित ‘एकीकृत व्यापार रणनीति २०८०’ कार्यान्वयनमा आएको करिव दुई वर्ष बित्नै लाग्दा पनि मुलुकको निर्यात व्यापार अपेक्षा गरे जसरी बढ्न सकेको छैन।

हाल निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २.७५ प्रतिशत र कुल व्यापारमा निर्यातको अंश १२.१३ प्रतिशत छ। नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभई अधिकांश आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले निर्यात व्यापार अस्थिर देखिएको छ। आत्मनिर्भर अर्थतन्त्रका लागि यो चिन्ता हो।

– भट्टराई अर्थशास्त्रका अध्यापक हुन्।

प्रकाशित: १७ चैत्र २०८१ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App