१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १:५३ पूर्वाह्न
विचार

माटोलाई माया किसानलाई सम्मान

खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति हो किसान। अनि यही कोरीमाटी पेसामा संलग्न हुनु किसानी हो। त्यसैले खेतीपाती गर्ने सबै किसान हुँदैनन्। भनाइको मतलव अब खेतीपाती जीविकाका लागि मात्र नभई ‘नाफा’ का लागि पनि गरिने कर्म हुन पुगेको छ। खासगरी ‘कर्पोरेट फार्मिङ’ भनिने यस्तो कर्म जीविकाको बाध्यताभन्दा धेरै पृथक छ– उद्देश्यका हिसाबले, स्वस्थताका नजरले, स्वच्छताका दृष्टिकोणले र दीर्घकालीन सोचको अवधारणाले।

नेपालको कृषि पारिवारिकतामा आधारित छ। यो पारिवारिक खेती प्रणालीमा सामान्यतया घरकै परिवार मिलेर काम गर्ने, नभ्याएमा अर्मपर्म लगाउने, सकभर आफ्ना लागि खाद्यान्न पुर्‍याउने र आफूलाई चाहिनेभन्दा बढी उत्पादन भएमा बिक्री गर्ने र त्यसबाट आएको पैसाले नून/तेल/मरमसला आदिमा भरथेग गर्ने उद्देश्य हुन्छ। यस्तो प्रणालीमा न लाखौँको फाइदा लिइहाल्ने महŒवाकाङ्क्षा हुन्छ न त ‘तातै खाउँ, जल्दी मरौँ’ शैलीको अल्पकालीन दृष्टिकोण नै हाबी हुन्छ। पुस्तौँ खान पाइयोस् भन्ने सोचले यसमा काम गरेको हुन्छ।

अर्कोतर्फ पछिल्लोपटक नेपालसमेत विश्वभर नै हाबी भइरहेको कर्पोरेट फार्मिङको मुख्य उद्देश्य नाफा मात्र हुन्छ। यसबाहेक उसको अरू कुनै उद्देश्य हुँदैन जसरी पुँजीवादको जगमा फस्टाएका अन्य उद्यमको हुन्छ। त्यसैले किसानी पेसामा समेटिएका विशेषताहरूलाई यसले चिन्दैन।

सकभर कम लागत लगाउने, सकभर कामदारलाई कम ज्याला दिने, धेरै उत्पादन गर्ने अनि उपभोक्तासँग सकेसम्म असुल्ने एक मात्र दृष्टिकोणबाट निर्देशित हुन्छ यस्तो प्रणाली। ठूलो कम्पनी (वा हरू) को स्वामित्वमा रहेका धेरै जमिनमा ठूलो मात्रामा हुने कृषि अभ्यासले आज नाफाको एकसूत्रीय अभियानमा लाग्दा मानवीयतासमेत बिर्सने गरेका छन्। जसका कारण अफ्रिकादेखि एसियासम्मका लाखौँ विपन्न लखेटिएका छन्।

सिरहा, भगवानपुरकी उषा चौधरी २९ वर्षकी भइन्। उनी अहिले सासू/ससुराले गरे जस्तो खेत खनेर गहुँ छर्दिनन्। धान काटेपछि लामो ठोसा भएकै खेतमा छर्छिन्। अनि चराले नखाओस् भनेर त्यही ठोसा काटेर छोपिदिन्छिन्। यसो गर्दा माटोको ऊर्वरापन बचिरहने उनको भनाइ छ। एकातिर परालको ठोसाले चराबाट गहुँको बिउ जोगाउँछ। अर्कोतिर यसले चिस्यान कायम राख्न पनि सघाउँछ। तेस्रो कुरा केही समयपछि यो कुहिने भएकाले मलको पनि काम गर्छ। खनजोत गर्दा लाग्ने ज्याला त बच्ने नै भइहाल्यो।

उषा मात्र हैन, डिहीबार महिला कृषक समूहमा आबद्ध सबैजसो किसान यतिबेला खेतीपाती गर्दा माटोलाई दख्खल पो पर्छ कि, वातावरणमा हानि पो पुग्छ कि, कतै हामीले अप्राकृतिकरूपमा धेरै फाइदा लिन खोज्दा हाम्रा भावी पुस्ताले खानै नपाउने अवस्था त आउने हैन भन्नेबारे सोच्छन्।

सोच्छन् मात्र हैन, उनीहरू यसबारे आफ्नो समूहमा गम्भीर छलफलसमेत गर्छन्। र, छलफलको निष्कर्षलाई खेतबारीमा उतार्छन् पनि। उषाहरूलाई शून्य खनजोतको खेती अर्थात पर्यावरणीय दृष्टिकोणले अति महत्त्वपूर्ण यो प्रक्रियाप्रति नसा लगाइएको राष्ट्रिय कृषक समूह महासङ्घले हो। जसले आफ्ना सदस्य समूहका सदस्यहरूलाई यस्तै प्रक्रियामा लाग्न उत्प्रेरित गरिरहेको छ।

महावती चौधरी आफूलाई स्वयंसेवक किसान भन्न रुचाउँछिन्। उनले एक कठ्ठा जमिनमा लसुन लगाएकी छिन्। त्यो पनि जमिन खनेर हैन। धान काटेपछिको खेतमा बाँकी प्रत्येक धानको प्रत्येक बुच्कोमा लसुन रोपेकी छिन्।

यसो गर्दा यो बुच्कोले लिएको मल र चिसोका कारण लसुन बढी फल्छ रे। न पानी चाहिने न त मल नै। यसो गर्दा लागत कम पर्ने भयो। फाइदा बढी हुने भयो। अहिलेसम्म नेपाली किसानले भोगेका मुख्य समस्या नै लागतभन्दा कममा आफ्ना उत्पादन बेच्नुपर्दा घाटा खानु हो। यस अर्थमा महावती र उषाहरूले पुर्खाले भोग्दै आएका यही समस्या समधानको बाटो पहिल्याएर नेपालको किसानी दुनियालाई ठूलो गुन लगाएका छन्।

शून्य खनजोत शैली कति प्रभावकारी छ भन्ने जान्न इन्भायरन्मेन्टल एन्ड इनर्जी स्टडी इन्स्टिच्युटले प्रकाशन गरेको एउटा सामग्रीमा उल्लिखित तथ्याङ्क नै काफी छ। जसमा भनिएको छ– युएसडिए (युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर) को अनुमान छ कि अमेरिकाभरि शून्य खनजोत खेती गर्ने किसानले वार्षिक ५८ करोड ८० लाख ग्यालन डिजेल इन्धन बचत गर्छन् जुन सात लाख २० हजारभन्दा बढी घरलाई एक वर्ष विद्युत् पुग्ने ऊर्जा हो। तिनीहरूले कम्तीमा ५८ लाख टन कार्बन–डाइअक्साइड उत्सर्जनलाई रोक्छन् जुन १० लाखभन्दा बढी कार सडकबाट हटाउनु बराबर हो।

मानवले गर्ने कुनै पनि कर्म दिगोपन र प्रकृतिमैत्री दृष्टिकोणमा आधारित हुनु आजको माग हो। तर कृषि मात्र हैन, अन्य क्षेत्रमा पनि यो मागलाई रुचाइएको अवस्था छैन। हामी प्रत्येक दिन आफ्नै थातथलोमा बाफिन बाध्य हुनु र अप्रत्याशित घटनाहरूको देखिजान्ने, भोगिसुन्ने साक्षी बन्नुपर्ने अवस्थाको मुख्य स्रोत यही लापरबाही हो। जसबारे हामी बुझेर पनि बुझ पचाइरहेका छौँ। यस्तो वास्तविकताबीच अहिले आफ्ना कृषक समूह सदस्यबीच राष्ट्रिय कृषक समूह महासङ्घले चलाइरहेको यो अभियान वास्तवमै घाटमा पुगेको कृषिका लागि सञ्जीवनी बन्न सक्छ।

किसानी दुनियाभरका सबै पेसामध्ये महापेसा हो किनकि यो खाना उत्पादनसँग सम्बन्धित छ जुनबिना जीवित मानवको परिकल्पना नै बेकार छ। यो यस्तो पेसा हो जुन कुनै पुस्ता, कालखण्ड वा एउटा युगमा पुगेर विश्राम लिँदैन। जबसम्म यस धर्तीमा मानिस रहन्छन् तबसम्म यो पेसा जीवन्त रहनुपर्छ। यस्तो महत्त्वपूर्ण पेसा किसानी र यसमा संलग्न किसान यस अर्थमा यो विश्वका सबैभन्दा स्तुत्य पात्र हुन्। अझ त्यसमा पनि जमिनको ऊर्वरतालाई कायमै राखी सुदूर भविष्य सोचेर उत्पादन कर्ममा लाग्नेहरू त झनै प्रशंसायोग्य छन्।

माटोको पनि इज्जत हुन्छ। मलको पनि प्रतिष्ठा हुन्छ। विषादीको पनि लाज हुन्छ। कृषि औजार प्रयोगको पनि सूत्र हुन्छ। यो दुनिया चल्ने आफ्नै नियम हुन्छ। त्यसैले आफ्नो स्वार्थ पूरा गर्न वा हामीलाई धेरै आवश्यकता छ भन्दैमा त्यसलाई पूर्ति गर्ने लोभमा यी सबै पक्षको सीमा नाघ्ने अधिकार कसैलाई छैन। हामीले प्राणीमध्ये सर्वशक्तिमान भएको घमण्डमा नियम तोड्यौँ भने माटोले पनि आफ्नो इज्जत कायमै राखिराख्नुपर्छ भन्ने बाध्यता हुन्न। मलले पनि प्रतिष्ठा कायमै राखेर उत्पादन बढाइदिनुपर्ने बाध्यता कायम राखिराख्छ भन्ने छैन। कृषि औजार पनि नबौलाउलान् भन्न सकिन्न।

त्यसैले त उनीहरू अचेल मोन्सान्टो बिउ घिनाउँछन्। विकसित देशले लादेका यस्ता बिउप्रति उनीहरूलाई फिटिक्कै विश्वास छैन। राष्ट्रिय कृषक समूह महासङ्घले दिलाएको तालिमले उनीहरूलाई आफ्नै पुर्खाले खाएर भित्तामा टाँसिदिने र बेला आएपछि रोपिने काँक्रोको बिउप्रति माया जगाएको छ।

सप्रेको धान र गहुँ अनि सिमी र भटमासका ठूला र स्वस्थ दानालाई बाजे/बज्यैले मज्जाले सुकाएर पालीमा झुण्ड्याउने गरेको बिउप्रति भरोसा जगाएको छ। त्यसैले त अन्यत्रका किसान बिउ किन्न भगवानपुरको हाट बजारमा आइरहँदा  बजरङ्गबली, लक्ष्मीनारायण, डिहीबार जस्ता कृषक समूहका महिलाचाहिँ डँडालोमा पोको पुन्तुरो भिरेर बिउ बेच्न आइरहेका भेटिन्छन्।

सही किसानीको अर्को उदाहरण पनि पेस गरेका छन् उनीहरूले। लक्ष्मीनारायण कृषक समूहकी सदस्य प्रेमकुमारी सिंह लसुन, सस्र्युँ, बकुल्ला, खेसरी र आलु एउटै जमिनमा लगाउँछिन्। त्यो पनि एकैपटक। बाली विविधीकरण भनिने यो प्रक्रिया अपनाउँदा एकैपटक धेरै बाली तयार हुन्छ रे। कुनै बालीले कुनैलाई हानि गर्दैनन् रे। सबै मिलेर हुर्कने र बढ्ने भएकाले किसानी फस्टाउन पुग्छ। विशेषगरी महिलाले नेतृत्व गरेका यो पर्यावरणमैत्री किसानी वास्तवमै लोभलाग्दो छ।

नेपाल मात्र हैन, विश्वभर यतिबेला यस्तै सही किसानीको आवश्यकता टड्कारो ठानिएको छ। उत्तरी अमेरिकाका किसानले शून्य खनजोतमा खेती गर्दा मकै र भटमासको उत्पादनमा उल्लेखनीय वृद्धि देखिएको उल्लेख गर्दै रिसर्च गेटले प्रकाशन गरेको संयुक्त अनुसन्धानमा भनिएको छ– ‘यसो गर्दा माटोको ओसिलोपन र जैविक पदार्थको संरक्षणले पोषक तत्त्व अवशोषणलाई सहज बनायो र खडेरीको जोखिमबाट बालीहरूलाई बचायो।’

 यस्तो प्रविधि प्रयोग गर्दा माटोलाई जोत्ने वा मोड्ने काम नगरी माटोको प्राकृतिक संरचना कायम राख्ने र यो दृष्टिकोणले माटोको सतहमा जैविक पदार्थलाई संरक्षण गरी अघिल्लो बाली अवशेषबाट प्राकृतिक मलजल सिर्जना गर्ने पनि उक्त सामग्रीमा उल्लेख छ। यसबाट पनि सही किसानी समयको माग हो भन्नेमा द्विविधा रहन्न।

प्रकृति दोहनका लागि मात्र सिर्जना भएको होइन। यसबाट अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसको संरक्षण गरेर। फल खाँदा हुन्छ तर बोट सग्लो र स्वस्थ राखेर। रुख काट्दा हुन्छ तर काटेकोभन्दा १० गुना बढी रोपेर। माटो हाम्रो खानाको स्रोत हो। यसलाई माया गर्न सक्दा मात्र यसले खुवाउँछ। यसलाई नै नपच्ने विष (रासायनिक मल, कीटनाशक आदि) कोच्याउन थालेपछि उसले हामीलाई खुवाउने हैसियत गुमाउँछ। उषा र प्रेमकुमारीहरूले बुझेका यति कुरा पनि बुझ्न असमर्थ हुनुले व्यावसायिक कृषिका उपासक त प्रकृतिद्रोही ठहरिन्छन् नै, पारिवारिक खेती प्रणालीका अभ्यासकर्ता हामी पनि धेरथोर भागिदार हुन्छौँ नै।

अन्त्यमा,

नेपालको कृषि नीतिले स्वदेशी बिउ र परम्परागत खेती अभ्यासहरू संरक्षणमा जोड दिने भनेको छ। त्यसैगरी वातावरणमैत्री कृषि अभ्यासलाई प्रोत्साहन गर्ने पनि भनेको छ। तर विडम्बना, विगत पाँच वर्षमा कृषिमा दिइएको अनुदान एक खर्ब सात अर्ब ६६ करोड, २७ लाख ८९ हजारमध्ये रासायनिक मलमा मात्र ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपियाँ अर्थात् ८१ प्रतिशत थियो। अर्कोतर्फ कृषकलाई दिइने अनुदानको ठूलो हिस्सा हाइब्रिड (विकासे) बिउ वितरणमा केन्द्रित छ। यस्तो सरकारी नीतिले सरकार पर्यावरणीय कृषिलाई कसरी प्रोत्साहित गरिरहेको भन्ने प्रष्टिन्छ।

प्रकाशित: १२ चैत्र २०८१ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App