१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:५८ पूर्वाह्न
विचार

नीतिको राजा राजनीति

सबैले त नभनौँ, हिजोआज अधिकांश मानिस या...!  यो राजनीतिको मसँग कनै कुरै नगरौँ, मलाई मनै पर्दैन, म त कुनै पक्षसँग पनि छैन, जोसुकै आउन्/जाउन् मलाई मतलवै छैन। यो राजनीति भनेको फोहोरी खेल हो - अधिकांश मानिसले भनेको सुनिन्छ। किन अधिकांश मानिस राजनीतिलाई यस्तो भन्छन्, राजनीतिप्रति किन मानिसको यत्रो वितृष्णा पैदा हुन्छ?  

आजको संसारले यत्रो विकास गरेको छ, विकशित राष्ट्रहरूले यत्रो विकास गरेका छन् जसले गर्दा त्यहाँका मानिसले त्यत्रो सुखसुविधा भोगिरहेका छन्।

बोक्रेयुगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ। मानिसले गर्ने काम आज सारा यन्त्रमानवले गरिरहेका छन्। मानिस केवल हेरेर बस्ने दर्शक जस्ता भइसकेका छन्, त्यो जति पनि यो संसारमा विकास भएको छ सबै त्यो देशको राजनीतिले गरेर भएको छ।

मानिसले जतिसुकै जेसुकै भनून न, राजनीतिबिना कहाँ के कुरा हुन्छ र ? त्यो सम्पूर्ण कार्य राजनीतिले गर्दा भएका छन्। त्यो सबै गर्ने राजनीति हो। भनेपछि राजनीतिबिना कोही मानिस बाहिर जान सक्छ र? सक्दैन नि। जोसुकैले जे भने पनि राजनीतिबाहिर कुनै मानिस हुनै सक्दैन। यो त मानिसले एउटा भन्ने थेगो मात्र हो। राजनीतिबाट कुनै मानिस अछूतो रहन सक्दैनन्। र, पनि मानिसले किन यसो भनिरहेको छ भन्ने अचम्मको विषय छ।

राजनीति गर्नेहरूले राजनीतिलाई फोहोरी खेलमा परिणत गराएकाले आजका मानिसले यो राजनीति भनेको त फोहोरी खेल हो भन्ने गरेका हुन्। उनीहरूले यसको परिभाषा नै बदलेका हुन्। यही कारण राजनीतिप्रति मानिसको यस्तो वितृष्णा बढेर गएर राजनीति गर्नेहरूले खाली ढाँट्छल, लुच्चाइ, फटाइ, बेइमानी, भ्रष्टाचार गर्ने र विपक्षलाई दबाउने काम मात्र गर्छन् भन्ने पारिएको छ। भित्र एउटा र बाहिर एउटा कुरा गर्ने, आफ्नो समर्थन नगर्नेलाई संहार गर्ने र अनेकौँ दुःख कष्ट दिने जस्ता काम राजनीति गर्नेहरूबाट हुँदा आजका मानिस राजनीतिको रसमेत सुन्न चाहँदैनन्, नचाहने भए।

पहिला कुनैबेलाको इमानदारिताको जगले गर्दा विकास त गरे, पछि पछि आएर राजनीतिको जस्तो साँचो अर्थ लग्न सकेको छैन। साँचो अर्थमा राजनीतिको परिभाषा लगाउनुपर्दा सबैभन्दा असल नीति भनेको राजनीति हो। सबैभन्दा राम्रो नीतिहरूमा राजा नीति नै राजनीति हो। यो पहिला पहिला राजाहरूले चलाउँथे। अहिले राजाले चलाएको नीति राम्रो भएन भनेर जनताबाट यो राजनीति चलाउन जो योग्य छ उसलाई यति वर्ष तिमीले चलाउनु भनेर जनताले भोट दिएर जसलाई पठाउँछन उनैले चलाउने गर्दछन्।

सुरुमा राजाले जमिन रैतीलाई बाँडे। यो जग्गा तिमीहरूले कमाएर खानू। त्यसको केही अंश हामीलाई पनि दिनू भने। किनकि हामीलाई नीति निर्माण गर्न र त्यसको कार्यान्वयन गर्दा फुर्सद हुँदैन। हामी नीति निर्माण गर्छौँ र कार्यान्वयन गर्छौँ र तिमीहरू त्यो कमाएर खानू र त्यसको केही अंश हामीलाई दिनू, हामी त्यसैबाट नीति चलाउँछौँ भनेर त्यसैअनुसार चलाउँदै आए। चल्दै आयो अहिलेसम्मै। हामीले जग्ग्दा कर तिर्नुको मतलब पनि यही हो। कसैले यसलाई राजाले चलाउने नाति भएकाले राज्य भनिएको हो भने।

यसलाई सबैभन्दा असल राम्रो नीति राजा नीति कसरी भन्न सकिन्छभन्दा कुनै पनि जाली फटाहाले सोझैँ जनतालाई लुटेर खान नपाइने, मारपिट गर्न नपाइने, ठगठाग गर्न नपाइने, साँध किल्ला मिच्न नपाइने, सन्धि सर्पन मिच्न नपाइने, कसैको लुटेर खान नपाइने, गाली बेइज्जती गर्न नपाइने जस्ता नीति नियम बनाएर सर्वसाधारण र जनताको संरक्षक बनाएर सबै जनता समाजमा निर्धक्कसँग हिँड्न भनेर सर्वसाधारणको संरक्षणका निम्ति यो नीति बनाइएको हो। त्यसैले जनताको संरक्षणका लागि हरेक कार्य गर्ने भएकाले यो नीति सबैभन्दा असल राम्रो नीतिको राजा हो। त्यसैले यसलाई राजनीति भनिएको हुन सक्छ।

प्रकाशित: ७ चैत्र २०८१ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App