विकाससम्बन्धी अवधारणालाई आर्थिक सम्पन्नता र भौतिक समृद्धिसँग जोडेर ठूला भवन, चिल्ला सडक, पक्की पुल तथा सहरीकरणका अनेकौँ पक्षलाई सीमित गरेर मात्र बुझियो। गाउँमा खनिने धुले सडक र खोलामा हालिने पक्की पुल जस्ता पक्षलाई मात्र विकास भनियो। भौतिक साधन र स्रोतद्वारा सम्पन्न हुनु विकासको एउटा प्रमुख सूचक हो। सम्पूर्ण सूचक होइन। नेपाल इतिहासदेखि नै मूलतः भारत र तेस्रो विश्वका कतिपय मुलुकहरूमा नोकरी गर्ने वा लाहुर जाने र फर्कँदा ‘छड्के टोपी, कालो चश्मा, ठूलो ब्याग र धन (?) बोकेर’ आउँछन् भन्ने सोच र चिन्तनले परनिर्भरता थप बढाएको हो।
वास्तवमा विकास मानिसको आर्थिक उन्नत्ति, जीवन र स्वास्थ्य, आधुनिकता, मानवीय मूल्य, सामाजिक दर्शन, सभ्यता, संस्कृति, शिक्षा र ज्ञान, विज्ञता, विज्ञान, समृद्धि, उन्नत्ति, प्रगति, स्तर, पहिचान, पूर्वाधार र सामथ्र्य, प्रणाली, विधि, व्यवस्थापन, तरिका, सूचना, प्रयोग, सम्पन्नता, सोच्ने क्षमता, तुलनात्मक दक्षता, भ्रमण तथा खर्च गर्ने हैसियत, विश्व दृष्टिकोण र बुझाइ आदि जस्ता कुराहरू सन्तुलित ढंगले झल्केको स्थितिलाई बुझ्नुपर्दछ।
नोबेल पुरस्कारद्वारा पुरस्कृत अमेरिकी विधिशास्त्री अमत्र्य सेन (१९३३) ले प्रसिद्ध पुस्तक ‘डेभलपमेन्ट एज फ्रिडम’ (१९९९) मा ‘विकासको लागि प्रत्येक नागरिकको आफ्नो स्वतन्त्र छनोट गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने र कतैबाट पनि हस्तक्षेप हुन नहुने’ भने। उनले विकासलाई वैकल्पिक छनोट गर्न सक्ने स्वतन्त्रताका रूपमा व्याख्या गर्दै सामथ्र्यताको विस्तार हुनु नै विकास हो भने। विकाससम्बन्धी अवधारणा आफैँमा व्यापक, विवादित र जटिल हो। विकासको अर्थ के हो? यसका आफ्नै अर्थ, व्याख्या, बुझाइ र धारणा हुने गरे। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशमा विकास भन्नाले क्रमशः बढ्दै वा सुध्रिँदै गएको स्थिति, उन्नति, उत्तरोत्तर प्रगति, क्रमिक परिवर्तन, हुर्केको वा सप्रेको अवस्था, वृद्धि, विस्तार र फैलावट आदि भनियो।
विकास सर्वाधिक प्रचलित र भूराजनीतिको लोकप्रिय अवधारणा पनि हो। जुन मानव सभ्यताको सुरुवातको चरणदेखिनै निरन्तर चल्दै आएको मानवीय, सामाजिक र आर्थिक गतिविधिको समुच्च नाम हो। विकासमा भौतिकवादी साधनस्रोत मात्रको बढी चाहनाले नेपाली समाजलाई लाहुरे र विदेशी सहयोगको मानसिकता बढाइरहेको छ। पैसा मात्र थुपार्ने सोच विकासको व्यापक अर्थको जीवनवादी विकास हुन सक्दैन। प्राविधिक र केही हदसम्मको भौतिक विकासको सोच र बुझाइले समाज, देश तथा व्यक्तिले दिगो र बृहत्मा सफलता पाउँदैनन्।
पश्चिमा युरोपेली र अमेरिकी मुलुकहरू केवल धनी भएकाले मात्र विकसित एवम् सम्पन्न छैनन्। अफ्रिकाका विभिन्न मुलुक तथा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, बाङ्लादेशजस्ता देश तथा समाज आर्थिक दृष्टिकोणले धनी नभएर मात्र अविकसित भएका पनि होइनन्। मूल कुरा सोचाइ, कार्यशैली, चिन्तन, प्रणाली, सपना, बुझाइ र व्यवस्थापन हो। युरोपका स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, फिनल्यान्ड, बेलायत, जर्मनी, फ्रान्स जस्ता मुलुकहरूमा उल्लिखित कुराहरूको सन्तुलित, सार्थक तथा अर्थपूर्ण संयोजन भएको देखिन्छ। यसैकारण ती मुलुक र समाज हरेक दृष्टिले सम्पन्न तथा आत्मनिर्भर बने।
सोचाइ, व्यवहार, कार्यशैली, विधि, प्रणाली तथा समग्रतामा ती देश र समाज सबै दृष्टिले बढी आत्मनिर्भर भएकाले तिनीहरूका सबै सूचक उच्च भयो। यता दक्षिण एशिया, अफ्रिका, ल्याटिन अमेरिका र एसियाका धेरैजसो मुलुकहरूमा गरिबी भएरभन्दा पनि गरिब तथा परनिर्भर मानसिकता बढी भएर समस्या भएको हो। चीन, क्युबा जस्ता समाजवादी मुलुकहरूमा साधनस्रोतको बहुउपयोगले उनीहरू बढी आत्मनिर्भर बने। अमेरिका, जापान, अस्ट्रेलिया, युरोपको स्विट्जरल्यान्ड, नर्वे, न्युजिल्यान्डजस्ता विकसित र सम्पन्न मुलुकहरूले राजनीतिक, कानुनी र सामाजिक प्रणालीलाई समृद्ध बनाएकाले तिनीहरू बढी समृद्ध रहे। विकाससम्बन्धी पश्चिमा नीति, योजना, कार्यक्रम र खासमा स्वार्थ थोपर्दा गरिब मुलुकहरू थप परनिर्भर बन्दै आएका हुन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युएसएआइडीलगायतका अमेरिकी सहयोग रोक्ने निर्णयबाट विदेशी सहयोगमा बढी भर परेका विश्वमा धेरै मुुलुक प्रभावित हुँदैछन्। नेपालमा पनि त्यसको असर परेको छ। विकास र सहयोगको नारा, सपना, लोभ र कागजी प्रस्तावले गरिब देश र समाज छिट्टै भ्रममा फस्ने भएकाले पनि ती मुलुक र समाजमा परनिर्भरता बढेको हो। भूराजनीतिमा प्रभाव वृद्धि गर्न र अन्तर्राष्ट्रिय कूटनीतिमा ‘सफ्ट पावर’ बढाउन पश्चिमाले गर्दै आएका सहयोग र आश्वासनले ‘हामी सक्छौँ’ भन्ने भावना मार्ने काम गर्दै आयो। परनिर्भर मानसिकताले तिनले दिएका र भनेका कुरालाई मात्र विकास हो भन्ने ठान्दा आफ्ना मौलिक क्षमता, सिप, ज्ञान र स्रोत ध्वस्त भइसके।
विकास हरेक मानिस, व्यक्ति र समाजका लागि आवश्यक कुरा हो। तथापि मुलुक, समाज र देशको इतिहास, भूगोल, अवस्था, आवश्यकता, स्थानीय सिप एवम् नागरिक छनोटको आधारमा हुनुपर्दछ। पश्चिमा मुलकहरूले तिनका बजार, वस्तु र सेवा विक्री गर्न बहुराष्ट्रिय कम्पनीहरूको सञ्जाल निर्माण गरेर शोषण गर्दै आए। यहीकारण विकासोन्मुख मुलुक, समाज र नागरिक थप परनिर्भर बने। विदेशीले देला र खाउँला भन्ने आशे मानसिकताको वृद्धि भएको कारण नेपालका बजेट, नीति र भौतिक योजनासमेत प्रभावित हुँदै आएका छन्।
अर्काेतर्फ विकास मानिसका आय स्तर, खानपान, फेसन, वस्तु तथा सेवाको प्रयोगमा पहुँच, शिक्षा, स्वास्थ्यलगायतका समग्र मानव विकासलाई तौलेर राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक स्तरमा आउने वृद्धिलाई हेरिनुपर्नेमा भौतिक र आर्थिक वृद्धिलाई मात्र ध्यान केन्द्रित गर्दा अनेकौँ समस्या सिर्जना भए। ठूला भवन, सडक, महँगो कार, सुट, बियर, वाइन, अर्नामेन्ट, डिस्को, डान्स, पिज्जा, केएफसीको चिकेनको खवाइ, भौतिक सुविधा र खर्चको असीमित हैसियत जस्ता पक्ष मात्र विकास र समृद्धिको सूचक हो भन्ने भ्रम पश्चिमाहरूले आफ्ना व्यापार बढाउन विश्वव्यापीकरणको नाममा फैल्याइरहेका छन्।
क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोलाई एकजना पश्चिमा पत्रकारले ‘तपाईँको देशको राजधानी हवानामा एउटा राम्रोखालको अत्तर पनि पाइने रहेनछ’ भनेर प्रश्न गरेपछि क्यास्ट्रोले ‘यहाँका प्रत्येक बालबालिकालाई सरकारले दैनिक एक लिटर दूध उपलब्ध गराइरहेको छ, त्यो नपाइएको भए भन्नुहोस्’ भने। त्यो सोचले दशकौँदेखि नाकाबन्दी भएर पनि मुलुक आत्मनिर्भर भएर अघि बढ्न सक्यो। अत्तर हुनु र अत्तरको प्रयोग गर्नु मात्र धनी हुनु हो भन्ने सोचले मानिसलाई गरिब बनाउने मात्र हो। जुन सोच साँघुरो, अवस्तुवादी, अज्ञानी, अपूर्ण तथा सङ्कीर्ण भ्रम हो। यस्तो मानसिकताले नागरिकलाई अनावश्यक क्षेत्रमा खर्चालु बनायो। समाजमा रहेका यस्ता सोचलाई बढावा दिने काम ‘चुनावी विकास’का नाममा सपना बेच्ने संस्कृतिले पनि बढाएको हो।
– सिलवाल अधिवक्ता हुन् ।
प्रकाशित: ४ चैत्र २०८१ ०९:२९ सोमबार