पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम समसामयिक र सान्दर्भिक बनाउने भनी २०७६ सालमा परिमार्जन गर्यो। परिमार्जित पाठ्यक्रममा विद्यालय तहमा अध्ययन अध्यापन गरिँदै आएको विज्ञान विषयमा प्रविधि शब्द जोडेर विज्ञान तथा प्रविधि विषय बनाइयो।
विज्ञान प्रविधि विषय शीर्षकले नै विज्ञानका सिद्धान्त र ती सिद्धान्तमा आधारित भई व्यवहारपरक उपकरणहरूको विकास, प्रयोग र फाइदाका विषयमा पाठ्यवस्तु समावेश हुन्छन् भन्ने सङ्केत गर्छ। पाठ्यक्रम प्रारूप (२०७६) ले विद्यालय तहका विद्यार्थीमा वैज्ञानिक सोच, चिन्तन र तदनुकूल व्यवहारको अपेक्षा गरेको छ। यसैलाई आधार मानेर निर्माण भएको विज्ञान तथा प्रविधि विषयमा भने प्रविधि शब्दको अर्थ सङ्कुचन गरी प्रविधि भनेको कम्प्युटर र त्यसमा पनि सूचना प्रविधि मात्रै हो भन्ने अर्थ लगाई पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको छ।
प्रविधि दिनानुदिन परिवर्तन भइरहन्छ। इन्जिनको आविष्कार भएपछि खेतबारी जोत्नका लागि परम्परागत हलोका सट्टामा ट्याक्टर प्रयोग गर्नु पनि प्रविधि नै हो। यस्तै खोला अथवा कुवाबाट पानी बोकेर घरमा ल्याउनु परम्परागत कार्य हो भने पाइपको आविष्कार गरी घरै वा घर नजिकै पानीको धारा बनाउनु नयाँ प्रविधि हो।
सौर्य वा अन्य कुनै शक्तिको प्रयोग गरी तल्लो तहमा रहेको पानी माथिल्लो सतहमा लिफ्टिङ गर्नु झनै आधुनिक प्रविधि हो। बाँसका छेस्काले रुखका बोक्राहरूद्वारा निर्माण गरिएको मसीमा चोप्दै भोजपत्र वा ताडपत्रमा लेख्ने परम्परागत लेखन पद्धति हो। मसीको आविष्कार र आधुनिक कलमको निर्माण गरी कलमभित्रै मसी राखी निरन्तर रूपमा लेख्न सकिने बनाउनुलाई लेखन कार्यमा नयाँ प्रविधिको प्रयोग भन्न सकिन्छ।
त्यति मात्र नभएर लेख्ने कुरालाई कम्प्युटरका माध्यमबाट टंकन गर्ने र छापाखानाका माध्यमबाट छाप्ने काम पनि नयाँ प्रविधि हो। खेतबारीमा मौसमअनुसारका खेतीपाती लगाउनु परम्परागत कार्य भए जस्तै टनेलको प्रयोग गरी बेमौसमी र हाइब्रिड बिउबिजनबाट प्रशस्त उत्पादन लिनु नयाँ प्रविधि हो। यसैले प्रविधिलाई सानो क्षेत्रमा सीमित गर्न सकिँदैन।
प्रविधिभित्र विज्ञानको तथ्य लुकेको हुन्छ भलै तथ्यपूर्ण रूपमा स्थापित नभएकै पनि हुन सक्छ। यसरी परापूर्वकालदेखि नै कुनै न कुनै रूपमा मानवले नयाँ नयाँ प्रविधिहरूको प्रयोग गर्दै आएको छ। यसका पछाडि मानिसमा विकास हुँदै गएको वैज्ञानिक खोज अर्थात् कार्यकारण सम्बन्धको अध्ययन विश्लेषण र त्यसको व्यावहारिक प्रयोग नै मुख्य रूपमा रहेको छ। हरेक क्षेत्रमा प्रविधि प्रयोग भएको हुन्छ यसैले प्रविधिको क्षेत्र असीमित र अनन्त देखिन्छ।
पाठ्यक्रममा प्रयोग भएको विज्ञान तथा प्रविधि शब्दले विज्ञान र यसले आविष्कार गरेका कुराहरूको व्यावहारिक प्रयोग भन्ने अर्थ स्थापित गर्छ। अन्यथा यसप्रकारको समान महत्त्वबोध गराउने शब्दलाई शीर्षकका रूपमा राखिँदैन। तर पाठ्यक्रम विकास केन्द्रबाट निर्माण भएको पाठ्यक्रम र त्यसैअनुसार तयार गरिएको पाठ्यपुस्तकलाई हेर्ने हो भने सामान्य व्यक्तिले पनि बुझ्न सक्ने र सहज अर्थ लगाउन सकिने कुरालाई पाठ्यक्रम निर्माताले बुझ्नै नसकेको देखिन्छ।
पाठ्यक्रममा १० ओटा सक्षमताको उल्लेख गरिएको छ। तीमध्ये सातौं सक्षमतामा सूचना तथा सञ्चार प्रविधिको जानकारी र सिकाइ प्रक्रियामा सदुपयोग भनेर राखिएको छ। यसबाटै पाठ्यक्रम निर्माता प्रविधि भनेको सञ्चार पद्धति मात्र हो भन्ने भ्रममा परेका छन्।
कक्षा ९ मा १४ घण्टा पाठ्यभार दिई एकाइ १३अन्तर्गत दूरसञ्चार प्रविधिको कार्यप्रक्रियाको परिचय, दूरसञ्चार प्रविधिमा भूउपग्रहको महत्त्व, दूरसञ्चार प्रविधिमा इन्टरनेटको उपयोगिता, इन्टरनेटमा सिकाइ सामग्रीको खोजी र अनलाइन सुरक्षाका उपाय अवलम्बन गर्न सक्षम विद्यार्थी बनाउने उद्देश्य राखी त्यसैअनुसारको जानकारीमूलक सामग्री समावेश गरिएको छ।
प्रविधिको एक क्षेत्रलाई नौ कक्षामा समावेश गरी १० कक्षामा अरू क्षेत्रलाई विस्तार गरिएको छ कि भनी कक्षा १० को पाठ्यक्रमको अध्ययन गर्दा त्यस्तो देखिँदैन। कक्षा १० मा राखिएका विषयवस्तुको अध्ययन गर्दा हाम्रा विज्ञको अल्पज्ञ र सङ्कुचित सोचले पाठक स्वयंलाई लज्जित हुने अवस्था सिर्जना गरेको छ।
१० पाठ्य घण्टा निर्धारण गरी समावेश गरिएको विषयवस्तुमा डिजिटल सिग्नल र यसको प्रभाव, डिजिटल आरोग्यता, श्रव्यदृश्य सामग्री निर्माण र प्रस्तुतीकरणलाई समावेश गरिएको छ। यसको उद्देश्य श्रव्यदृश्य सामग्री अर्थात् अडियो भिडियो रेकर्ड र सम्पादन गरी प्रस्तुत गर्नेसम्मको सिप विद्यार्थीले सिकून् साथै इन्टरनेटमा भएको सामग्रीको खोजी गर्ने सिपको विकास गर्ने उद्देश्य राखिएको छ।
एक्काइसौँ शताब्दीका सिकाइ सिपअन्तर्गत पर्ने साक्षरता र जीवनोपयोगी सिपलाई समेत समेटेर निर्माण गरिएको भनिएको पाठ्यक्रममा १९औँ शताब्दीमा समावेश गर्न सकिने सूचना तथा सञ्चारसित सम्बन्धित सामान्य र आंशिक पद्धतिलाई मात्र समावेश गरेर पाठ्यविषयकै नाम विज्ञान तथा प्रविधि राख्नु शोभनीय, सान्दर्भिक र उपयुक्त छैन।
विज्ञान विषयमा प्रविधि राख्ने हो भने हरेक एकाइमा अध्ययन गरिएका सिद्धान्त र प्रयोगशालामा गरिएका प्रयोगहरूलाई व्यावहारिक जीवनका प्रविधिसँग जोड्नुपर्छ। यसले त्यस्ता प्रविधिहरू एक क्षेत्रमा प्रयोग भएका छन् भने अन्य क्षेत्रमा कसरी स्थानान्तरण गर्न सकिन्छ, परम्परागत प्रविधिलाई अझ आधुनिकीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा विद्यार्थीमा जिज्ञासा बढाउन सक्थ्यो।
परम्परागत प्रविधिभित्र रहेको विज्ञानको अध्ययन र आधुनिक विज्ञानले निर्माण गरेका सिद्धान्त र प्रविधिलाई दैनिक जीवनका क्रियाकलापमा प्रयोग गरी सिर्जनात्मक, वैज्ञानिक र व्यावहारिक शिक्षा प्राप्त गर्ने राम्रो अवसरका रूपमा विज्ञान र प्रविधिलाई प्रयोग गर्न सकिन्छ। जसले विज्ञान तथा प्रविधि भन्ने शीर्षकलाई पुष्टि पनि गर्छ भने राष्ट्र, राष्ट्रियता र स्थानीय सिप र प्रविधिप्रति आकर्षित गर्दै श्रम र उत्पादनलाई जोड दिने जनशक्ति निर्माण पनि गर्न सकिन्छ तर हाम्रो नयाँ भनिएको पाठ्यक्रमले यी सबै कुरालाई तिरस्कार गरेको छ।
समग्र पाठ्यपुस्तकको पाठ्यभार १६० घण्टा रहेकोमा कक्षा ९ मा १४ घण्टा र १० मा १० घण्टा मात्र प्रविधिका लागि छुट्याएर र प्रविधिका विविध क्षेत्रहरूमध्ये एक प्रतिशतलाई समेत नसमेटी निर्माण गरिएको पाठ्यक्रमले विद्यार्थीलाई उपलब्धिहीन, अरूचिकर, अव्यावहारिक एवं झुटो कुरा सिकाएको छ।
आधुनिक एवं एक्काइसौं शताब्दीका सिकाइ सिपहरूलाई आधार मानेर निर्माण गरिएको भनिएको पाठ्यक्रम एक्काइसौँ शताब्दीलाई गिज्याउने सामग्री मात्र बनेको छ। यसैले विद्यालय तहको विज्ञान विषयको पाठ्यक्रम तुरुन्तै परिमार्जन गरी व्यावहारिक र त्रुटिरहित बनाउनु आवश्यक छ।
विज्ञानलाई व्यावहारिक बनाउन विज्ञान र प्रविधिलाई ५०–५० प्रतिशत पाठ्यभार छुट्याउनुपर्छ ताकि प्रयोगशाला नभएका ठाउँमा पनि विद्यार्थीले आफ्नो समाजमा प्रयोग भएका विभिन्न प्रविधिका माध्यमबाट वैज्ञानिक सिद्धान्तलाई बुझ्न र वैज्ञानिक सिद्धान्तका आधारमा परम्परागत उपकरणहरूमा रहेका प्रविधिलाई परिमार्जन गर्न सक्ने क्षमता आर्जन गर्न सक्छन्।
एक्काइसौं शताब्दीको सिकाइ सिपले वैज्ञानिक र अन्तर्राष्ट्रिय सोच तथा स्थानीय पद्धति, मूल्य र प्रविधिको आधुनिकीकरणको लक्ष्य राखेको छ। राज्यको ठुलो धनराशि खर्च गरी बनाइएको त्रुटिपूर्ण पाठ्यक्रममा परिमार्जन गरी आगामी पुस्तालाई गलत तथ्य सिकाई अपूर्ण र अवैज्ञानिक बनाउनबाट रोक्न ढिलाइ गर्नु हुँदैन।
प्रकाशित: १६ फाल्गुन २०८१ ०६:५५ शुक्रबार