१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

जब गीतसँगै देश रुन्छ

धेरै समयपछि, धेरै पुरानो गीत सुनेँ। नारायणगोपालको स्वर, गोपाल योञ्जनको शब्द र संगीत रहेको यो गीत।

जीवनदेखि धेरै, धेरै नै थाकेर

म मुर्दा भएको तिमी आज हेर।

यहाँ ढुंगाहरू गर्छ ईश्वरको अभिनय

यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय

कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने

यो परिभाषा आज च्यातिएको हेर।

कति सस्तो जीवन कति सस्तो मान्छे

जताततै देख्छु मान्छेमाथि मान्छे

सयौँ पेट मारी म अघाउने मान्छे

अवलालाई दुख्दा म रमाउने मान्छे

ढाकेरै काटेँ यो कालो मुटुलाई

म जन्मेकै भेषमा तिमी आज हेर र

म मुर्दा भएको तिमी आज हेर।

वैराग, नैराश्य, वेदना, पीडा, दुःख मात्र हैन, यी शब्दभित्र सुकिलो बस्त्रमा सजिएका नग्न मानिसहरू लक्षित गहिरो व्यङ्ग वाण तेस्र्याइएको देख्छु म त। आफूलाई, समाजलाई अनि यो समाजका सबै हकदारलाई। सबैभन्दा बढी त मै जान्ने अनि बुझ्ने भनी अहंकार गर्ने ढोंगी जमातलाई। निदाएको अभिनय गर्नेहरूलाई कसैले ब्युँझाउन सक्ंदैन। यहाँ साँच्चिकै को नै निदाउन सक्ला र ! पीडकबाहेक। पीडितहरू त पीडामा छटपटाइरहेका हुन्छन् यहाँ। असह्य पीडाले लखतरान भई अचेत मुर्दासरी लडिरहेका हुन्छन्। मात्र लडिरहेका। मानौँ, दागवत्ती दिने त्यो विदेशिएका छोरा पर्खिरहेको लाशझैँ।

जब यो गीतको रचना भयो त्यो बेला देशमा एकथरी व्यवस्था थियो। जनताको अवस्था उतिसाह्रो राम्रो नभएको होला। गीतले समय परिस्थितिको कटुसत्यमाथि व्यंग कस्यो। स्रोताहरूमा विद्रोह भावको बिजारोपण गर्‍यो। समयको बहावसँगै जनचाहनाअनुरूप व्यवस्थाहरू फेरिए तर जनताको अनि देशको अवस्था जस्ताको तस्तै रह्यो। सुन्दा साह्रै विरक्त लाग्ने, देख्दा उत्तिकै उदासीन लाग्ने। लाग्छ, जीवन व्यर्थको स्वास फेराइ हो। बेमतलबको धड्कन धड्किरहेझैँ लाग्छ। उद्देश्यबिहीन ढुकढुकी।

गीतकारले तत्कालीन निराशाजनक अवस्थाको पीडा प्रकट गरिरहँदा, गायक पनि समाजका विसंगतिहरू सुनाउन चिच्याइरहेझैँ लाग्छ। जोडजोडले कराइरहेको भान हुन्छ। अनि स्रोताहरू भने कुनै प्रतिक्रियाबिहीन लाचार भई सुनिरहेका। जिउँदो लाससरह सुनिरहेका। मात्र सुनिरहेका। समय परिस्थिति बदलियो तर जनताको अवस्था र मनोदशा ज्युका त्युँ।

करिब चार पाँच दशक पुरानो हुनुपर्छ यो गीत। तर लाग्छ, आजै लेखिएको। वर्तमान भोगाइको सविस्तार वर्णन जस्तो लाग्ने। गोपाल योञ्जन प्रवासी नेपाली भए तापनि नेपाल र नेपालीलाई साह्रै माया गर्ने सर्जक। उनका नेपालप्रति समर्पित रचनाहरू अत्यन्तै देशभक्तिपूर्ण। मन छुुने, मन पगाल्ने। कुनै कुनै त रगत उमाल्ने। देशका लागि वलिदान दिन प्रेरित गर्ने। देशभक्तिले ओतप्रोत।

तर आज कसलाई फुर्सद छ र ती गीत सुनिरहन। त्यसका भावहरू बुझिरहन। सबै व्यस्त छन् आआफ्नै दुनो सोझ्याउन ! देश र जनताको नाम भज्दै आआफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न। देश र जनताको अवस्था फेरियो भन्न नलजाउनेहरू देखेर लाग्छ, उनीहरू ईश्वरको अभिनय गरिरहेका छन्।

कति सशक्त अभिनय! छुट्याउनै नसकिने सक्कली र नक्कलीबीच। ती नक्कली देवताहरूको दर्शनार्थ लाम कस्दै हिँडिरहेका को हुन? मानिस नै हुन् कि मानिसको अभिनय गरिरहेका अरू कोही? यो मात्र त हैन देश। देश मन्दिर मात्र पनि होइन। देवगृह मात्र पनि हैन।

देश त हिमाल, पहाड अनि तराईसम्म फैलिएको गाउँ शहरको संगम पनि हो। यहाँ बसोबास गर्ने सबै जातजातीका जनता हो देश। यहाँ शहरहरूमा बसोबास गर्ने खाइलाग्दा मानिसहरू मात्र हैन, ख्याउटे गरिब र निमुखा जनता पनि छन्। कुनै पहाडी र हिमाली गाउँ पनि छ। तराईका पिछडिएका गाउँ बस्ती पनि छन्। त्यहाँ बाँचिरहेका असहाय जनता पनि छन्।  हिउँदको थुरथुर काम्ने चिसो साँझ।

अँगेनामा बालिएको मधुरो पिलपिले चुलो। त्यसमा  अड्याइएको एउटा कुच्चिएको आल्मुनियमको कालो भाँडो। त्यसमा पकाइएको आधा माटोको धुलो मिसिएको मकैको ढिँडो र सिस्नोको झोल खाने ती अर्धनग्न काला मैलामानिस को हुन्? के ती नेपाली नै हुन्? कि नेपाली भएको अभिनय गरिरहेका अरू नै कुनै लोकका प्राणी? बहुसंख्यक नेपालीको अवस्था उस्तै छ। केही जनताका सेवक भनाउदाहरू विदेशबाट झिकाइएका बाक्लो र न्यानो कपडा लगाइ, वातानुकूलित कोठामा बसेर देश र जनताको अवस्था फेरिएको बखान गरिरहेको कुरा कति हाँस्यास्पद लाग्दो ! कति लज्जास्पद ! हाँसु कि रोउँ?

मलाई मात्र हैन, सबलाई रुन मन लाग्छ यहाँको अवस्था देखेर। यहाँको भोगाइ देखेर। मुटु छियाछिया पर्छ। ती विदेशिएका सन्तानका अशक्त आमा बाबु देखेर। विदेशबाट ल्याइएका बाकसभित्रका लाश देखेर। छाती भत्भत् पोल्छ परिवारहरूको वेदना देखेर। क्रोधले सीमा नाघ्छ ती लाशका व्यापारी देखेर। ती लाजहीन सपनाका व्यापारीहरू देखेर। भक्कानिएर आँसुको भेल बग्छ जब गीतसँगै देश रुन्छ।

प्रकाशित: १४ माघ २०८१ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %