२४ चैत्र २०८१ आइतबार
image/svg+xml १४:४१ अपराह्न
विचार

अराजकताको उपचार हो अध्यात्म

एउटा उमेर र समय हुन्छ व्यक्तिको जतिबेला उसलाई लाग्छ यो संसारलाई गलत बनाएर देखाइदिउँ। खबरदारी, वकालत, तर्क र विभिन्न अभियानमार्फत आफ्नो सकारात्मक र नकारात्मक दुवै उत्तेजनाको प्रयोग गरी आफू हुनुको अस्तित्व प्रस्तुत गर्न र केही गरेर देखाइदिन्छु भन्ने अहं जागृत हुन्छ। केही हदसम्म समाज परिवर्तन गर्न, सचेतना जागृत गर्न र व्यक्तिगत विकासमा पनि यसले मद्दत पुगेको अनुभव हुन सक्छ। तर जतिजति समय बित्दैछ, समयसँगै उमेर अनि वर्तमान अस्तव्यस्त आधुनिक र भौतिक प्रगति र पहुँचले परिवर्तन गरेको जीवनशैलीसँगै अब मानिस भौतिक विकास मात्र होइन, आन्तरिक रहस्यको खोजी गर्न थाल्दोरहेछ।

सबै कुरा देखिसकेर, भोगिसकेर, जानिसकेपछि नजानिँदो तरिकाले भौतिक कुराहरूप्रति मोहभंगको भावना बढ्दै गएको छ। मानिस आफ्नो जीवनको गहिरो अर्थ र उद्देश्य पत्ता लगाउन आध्यात्मिक पुस्तकहरू, सन्तहरूका प्रवचनहरू र आत्मनिरीक्षण अभ्यासहरूतर्फ उन्मुख भइरहेका छन्। समग्रमा भन्नुपर्दा आधुनिक जीवनको अस्तव्यस्ततालाई पार गर्न, आन्तरिक शान्ति प्राप्त गर्न र हाम्रो सही उद्देश्य र अस्तित्वको गहिरो रहस्यहरूसँग पुनः जोडिन हामीलाई आध्यात्मिक जागरुकताको आवश्यकता छ।

यसै सन्दर्भमा ओशोको पुस्तक द बुक अफ वुमन अध्ययन गर्ने अवसर जुरेको थियो। पुस्तक ओशोको प्रवचनलाई आधार मानेर तयार पारिएको र जसको निचोड थियो– महिला र पुरुष चेतनागतरूपमा शुद्ध जागरुक प्राणी हुन् यिनमा विभेद छैन। समाजका मान्यता, संस्कार, परम्परा र जैविक एवं सांस्कृतिक अभ्यासका आधारमा महिला र पुरुषप्रतिको दृष्टिकोण अलग भए पनि प्राकृतिक स्वभाव, जन्म, प्रेम र अनुभूतिका आधारमा केवल उत्कृष्ट चेतना हुन् भनेर ओशोले व्याख्या गरेका छन्। 

अझै पनि महिला अधिकार, पितृसत्तात्मक सामाजिक संरचना जस्ता बहस र अभियान जारी भैरहँदा पनि एउटा कुनामा उत्तेजना सबै शिथिल भएर आधुनिक जीवन, प्राविधिक प्रगति र सुविधाहरूले भरिएको भए तापनि भित्रबाट रित्तो र खाली महसुस भैरहँदा अब आफ्नो अस्तित्व के हो, अस्तित्वको रहस्य के हो, म को हो र केका लागि मेरो जन्म भएको, म केका लागि यहाँ छु? जस्ता आन्तरिक प्रश्नले झक्झक्याउन थाल्दा महिला र पुरूष नामको विभेद मानसिक उपज हो भन्ने ज्ञान बढ्दै गएको पनि महसुस गर्न सकिन्छ। 

किनकि सबै किसिमका प्रयास, आन्दोलन, अभियान अनि मेहनतपछि प्राप्त भएको धन सम्पत्ति, सफलता र भौतिक सम्पत्तिले मात्र अनन्त आनन्द दिन सक्दोरहेनछ भनेर धेरैलाई महसुस हुन थालेको छ। यो चेतनाले आजका मानिसलाई अस्तित्वका आधारभूत प्रश्नहरूलाई सम्बोधन गर्ने आध्यात्मिक शिक्षाहरूको अन्वेषण गर्न उत्प्रेरित गरिरहेको छ।

भूमण्डलीकरण र प्रविधिका कारण मानिसलाई अहिले विभिन्न परम्पराबाट यी गहन प्रश्नहरूमार्फत आध्यात्मिक ज्ञान प्राप्त गर्न सहज पनि भएको छ। ओशोका प्रवचन, ओशोधारामार्फत जीवन्त गुरुको मार्गनिर्देशन, भगवद्गीता, बुद्ध दर्शन र उपनिषद्देखि बाइबल, कुरान र जेन गुरुहरूका शिक्षाहरूसम्म, यी ग्रन्थले व्यक्तिहरूलाई आत्म–खोजको यात्रामा लाग्न प्रोत्साहित गरिरहेको छ। सन्तहरूका प्रवचनहरूले यी पुरातन सत्यहरूलाई सरल बनाउँदै तिनीहरूलाई दैनिक जीवनमा सम्बन्धित र कार्ययोग्य बनाउनमा मद्दत गरिरहेका छन्। भिन्नता होइन, यो अस्तित्वमा नै सबैको आफ्नो अस्तित्व र रहस्य छ, सृष्टिका सबै प्राणी अद्वितीय छन् र सबै प्राणी एवं संरचना शुद्ध जागरुकता हुन् भनेर मनन गर्न सक्ने ज्ञान प्रदान गरिरहेका छन्।

भौतिक रूपहरू र सामाजिक भूमिकाहरूभन्दा बाहिर, सबै मानवको वास्तविक प्रकृति समान छ। समाजमा प्रचलित जैविक, सांस्कृतिक र सामाजिक संरचनाहरूलाई पार गर्दै विभेदको सट्टा एकतामा जोड दिँंदै आध्यात्मिक दृष्टिकोणलाई प्रतिविम्बित गर्दै प्रेम र विश्वासद्वारा यो संसारमा र स्वयंभित्र स्वजागरुकता अनुभव गर्ने समय आएको छ। किनकि सृष्टिका सबै संरचनालाई आफ्नो अस्तित्वमा रहने क्षमता– सबै व्यक्तिको आधारभूत प्रकृति हो। 

यसलाई स्वीकारेर हामीले सतही भिन्नताभन्दा माथि उठेर समानता, करुणा र समझदारीलाई बढावा दिनु छ। यो अनुभूतिले हामीलाई मानिसलाई लैंगिकताको चश्माले होइन, उनीहरूको अस्तित्वको गहिराइबाट प्रेम र विश्वासका साथ हेर्न प्रोत्साहित गर्दछ अनि पारस्परिक सम्मान र आन्तरिक सत्यको खोजी सिर्जना गर्दछ।

यो समयले प्रत्येक मानिसमा आधुनिक जीवनको तनाव-प्रतिस्पर्धा, सामाजिक अपेक्षाहरू र सूचनाको अत्याधिक बोझले मानिसहरूलाई भित्री शान्ति खोज्न उत्प्रेरित गरेको छ। त्यसैले त मानिस ध्यानको अभ्यासमा समय दिन थालेका छन्। मानसिक शान्ति र ज्ञान प्राप्तिका लागि पवित्र ग्रन्थहरू पढ्ने जस्ता आध्यात्मिक अभ्यासहरू विकसित गर्दैछन्।

आज मानिस आफूभन्दा ठूलो कुरासित र आन्तरिक रहस्यसँग सम्बन्ध राख्न चाहन्छन्। प्रकृतिबाट, समाजबाट र आफूबाट समेत थुप्रै मानिस अलग्गिएको महसुस गर्न थालेका छन्। एक अर्कासँगको सम्बन्धको अपेक्षामा बाँच्नुभन्दा अन्तरसम्बन्धको अनुभूति गरेर हामी अलग–अलग प्राणी होइनौँ तर एक ठूलो ब्रह्माण्डीय भाग हौँ भन्ने समझको विकास गर्न खोज्दैछन्। यो समझले करुणा, कृतज्ञता र अपनत्वको भावना बढाउँछ।

प्रकाशित: १३ माघ २०८१ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App