जनवरी २० तारिख (सोमबार राति), पहिलोपटक नेपालको त्रिभुवन विमानस्थलमा अवतरण हुने सौभाग्य मिल्यो। कूटनीतिक कर्मचारीका रूपमा १७ वर्ष अगाडि नेपालको छिमेकी देश भारतको दिल्ली स्थित कोरियाली दूतावासमा काम गर्ने अवसर प्राप्त गरेको थिएँ।
त्यतिबेलादेखि नै संसारको सबैभन्दा उच्च हिमाल सगरमाथा र भगवान गौतम बुद्धको जन्मस्थल नेपालमा भ्रमण गर्ने चाहना थियो तर लामो समयसम्म उक्त अवसर मिलेको थिएन्। गणतन्त्र कोरिया सरकारका परराष्ट्र मामिला मन्त्री महामहिम छो थेयलको विशेष दूतका रूपमा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव पूरा भएको अवसरमा विशेष दूतको भूमिकामा नेपाल भ्रमण गर्न पाउँदा अत्यन्त खुसी छु र यो खुशी सबैसामु साट्न चाहन्छु।
गणतन्त्र कोरिया र नेपालबीच १९७४मा कूटनीतिक सम्बन्ध स्थापना भई विगत आधा शताब्दीको अत्यन्त सुमधुर मित्रवत् सम्बन्ध, आवश्यकताका आधारमा हामी दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ। हामी दुई देशबीचमा द्विपक्षीय सम्बन्धको विकासका क्रममा उल्लेख गर्न लायक दुईवटा सबैभन्दा महत्त्वपूर्ण क्षणहरूबारे स्मरण गराउन चाहन्छु।
गणतन्त्र कोरिया सरकारले सन् १९९२ मा नेपालसँग विकास साझेदारी कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँमा कोइका नेपाल कार्यालय स्थापना गरेर कोरिया सरकारले नेपालमा आवश्यकतामा आधारित भएर विकास साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कोरिया सरकारले हालसम्म नेपाल सरकारसँगको सहकार्यमा ३० करोड डलरभन्दा बढी रकमका सहयोग परियोजनाहरूलाई प्रवद्र्धन गरिसकेको छ। कोरिया सरकारले नेपालको कृषि, व्यावसायिक तालिम केन्द्र, स्वास्थ्य, सूचना तथा सञ्चारलगायतका क्षेत्रमा आफ्नो सहयोग केन्द्रित गरेको छ। विशेषगरी, कोरिया सरकारले सन् २०११ देखि १५ वर्षसम्म नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचीमा राखी नेपाललाई एक महत्त्वपूर्ण साझेदारका रूपमा लिएको छ।
त्यसैगरी सन् २००७ मा, रोजगार अनुमति प्रणाली (इपिएस) कार्यान्वयनका लागि हामी दुई देशका श्रम मन्त्रालयबीच एक सम्झौतामा हस्ताक्षर गरी नेपाली युवालाई कोरियामा रोजगारको वैधानिक बाटो निर्धारण गरेको छ। सन् २००८ बाट नेपाली श्रमिकले कोरिया प्रवेश सुरु भई हालसम्म १,१०,००० भन्दा बढी नेपाली श्रमिकले उक्त प्रणालीमार्फत कोरियामा साना तथा मझौला उद्योग, कृषि तथा पशु पालन व्यवसाय आदिमा काम गर्ने अवसर प्राप्त गरिसकेका छन्।
नेपाली श्रमिकलाई कोरियाली कामदारसरह न्यूनतम पारिश्रमिक तथा विभिन्न बिमामा समावेश गरिएको छ। मलाई जानकारी भएअनुसार कोरियाली व्यावसायिक परिचितहरू नेपाली कामदारको मेहनत र इमानदारिताले हामी दुई देशबीच जनस्तरको सम्बन्धले नयाँ आयाम थपेको छ। कोरिया सरकार तथा कोरियाली व्यवसायीले नेपाली कामदारहरूको इमानदारीलाई उच्च मूल्याङ्कन गर्छौँ।
धेरै नेपाली युवा पुस्ताले कोरिया जस्तो विदेशी मुलुकमा आफ्नो परिवारबाट टाढा रहेर बगाएका पसिना र परिश्रमको मूल्यप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं। कोरियामा रहँदा र फर्किएपश्चात नेपाली श्रमिक लगायत वैदेशिक रोजगारीका लागि कोरियामा रहनुभएका व्यक्तिहरूको सेवासुविधा, हकहितलगायत क्षेत्रमा आवश्यक पहलकदमी जारी राख्नेछु। नेपालीहरूलाई भेट्ने अवसर मिल्दा न्यानो अभिवादनका रूपमा ‘नमस्ते’ भन्ने गरेको छु।
एकै पुस्ताले समृद्ध कोरिया निर्माण गरेको ताजा अनुभव हामीसँग रहेको छ। आर्थिक गतिविधिमार्फत नेपालसँगको सम्बन्धलाई अझै मजबुत गराउन हामीले विभिन्न उतारचढावबीच हासिल गरेको समृद्धिको अनुभव साट्दै जाने योजनामा छौँ। कोरिया र नेपालबीच आर्थिक गतिविधि पनि विस्तार हुँदै गएको छ। आर्थिक वर्ष २०२३–२०२४ मा कोरिया नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमध्ये तेस्रो स्थानमा रहेको छ।
कोरियाली कम्पनीहरूले नेपालमा व्यावसायिक गतिविधिहरू पनि सक्रियरूपमा बढाउँदै गएको अवस्था छ। सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सले नेपाली कम्पनीको साझेदारीमा नवलपरासी जिल्लामा टिभी एसेम्बली प्लान्ट स्थापना गरी नेपालमा नै टिभी उत्पादन सुरुवात भएको छ।
सन् २०२४ मा हुन्डाई मोटर कम्पनीले नेपाली साझेदारसँग मिलेर नेपालमा नै पहिलो अटोमोबाइल एसेम्बली प्लान्ट स्थापना गरेर नेपाली बजारमा ‘मेड इन नेपाल’ गाडीहरू गुड्न थालेका छन्। विश्व प्रसिद्ध कोरियाली कम्पनीले नेपालमा उत्पादन थालनीले विश्वका अन्य प्रसिद्ध कम्पनीहरूका लागि यहाँमा लगानीमैत्री वातावरण भएको सकारात्मक सन्देश जानेछ भन्ने लाग्छ।
त्यस बाहेक कोरियाली साना तथा मझौला उद्योगहरूले नेपालमा आफ्ना उत्पादन कम्पनी खडा गरेर उल्लेखनीय मात्रामा रोजगारी सिर्जना गरिरहेका छन्। दक्षिण कोरियाली प्रतिष्ठित ऊर्जा कम्पनीहरूले विश्वको दोस्रो ठूलो जलस्रोतको धनी देश नेपालमा विद्युत् उत्पादनका लागि पुँजी र प्रविधि ल्याइरहेका छन् र हाल २१६ मेगावाटको माथिल्लो त्रिशूली एक निर्माण भैरहेको छ र केही वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। कोरियाबाट नेपालको जलस्रोतमा तेस्रो लगानी हुनेछ। कोरियाली ऊर्जा क्षेत्रको लगानीले नेपालको जलविद्युत् निर्माण तथा प्रशारण लाइन आदिमा सिप हस्तान्तरणका लागि अवसरका रूपमा भूमिका खेल्नेछ।
एक महिनाअगाडि नेपालका उद्योग मन्त्री दामोदर भण्डारीले कोरियाको भ्रमण गर्नुभयो र दुई देशबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्झौता (टिआइपिएफ) मा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौतापश्चात धेरै नेपाली उत्पादनको कोरियाली बजारसम्म सहज पहुँच पुग्नेछ र कोरियाली कम्पनीहरूले नेपालमा लगानीका अवसरहरूलाई गम्भीरतापूर्वक लिएका छन्। आगामी दिनमा धेरै कोरियाली लगानीकर्ताहरूले नेपालमा लगानी बढाउने छन्।
हामी दुई देशबीच श्रम शक्तिको आदानप्रदान, पर्यटन आदानप्रदान तथा विदेश अध्ययन कार्यक्रमहरूमार्फत कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध निकै बलियोरूपमा स्थापित भएको छ। दुई देशबीचको घनिष्ठ जनस्तरको सम्बन्ध स्थापना हुनु द्विपक्षीय सुमधुर सम्बन्धका लागि बलियो आधार हुनेछ।
कोरियामा काम गरेको अनुभव भएका व्यक्तिहरू नेपाल फर्किएर अङ्कुर नेपाल नामक संस्था गठान गरेर कोरियाको अनुभव र आर्जन गरेको पुँजी नेपालमा लगानी गर्नका लागि सहजीकरण गरिरहेका छन्। कोरियामा रोजगारीको अनुभव भएका, व्यावसायिक ज्ञान नेपालमा लागु गरी नेपालमा रोजगारी सिर्जनामा लागि उल्लेख्य भूमिका खेलिरहेका छन्। कोरियामा काम गरेको अनुभव भएका व्यक्तिहरूले नेपाल फर्किएर विभिन्न क्षेत्रमा व्यवसाय गरी सफल भएका उदाहरण उल्लेख्य छन्।
धेरै कोरियाली जनता आफ्नो जीवनमा एकपटक हिमाली क्षेत्रमा पदयात्रा गर्ने इच्छा व्यक्त गर्छन्। त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनी र विभिन्न विश्व सांस्कृतिक सम्पदा स्थलहरूको भ्रमण गर्न चाहन्छन्। गत वर्ष २७ हजार कोरियालीले नेपालको भ्रमण गरेर हिमालयको सुन्दरता र सांस्कृतिक सम्पदाको अवलोकन गरी आनन्द लिए।
अझै धेरै कोरियाली पर्यटकले नेपाल भ्रमण गरेर नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। त्यसका लागि हामी दुवै देशका तर्फबाट प्रचार कार्यक्रमलाई निरन्तरता दिँदै भविष्यमा धेरै कोरियालीले नेपालको हिमालय र भव्य सांस्कृतिक सम्पदाको आनन्द लिने वातावरणका लागि प्रयास गर्दै जाउँ।
कोरियाली विदेश मन्त्रीको विशेष दूतका रूपमा दुई रात तीन दिनको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, परराष्ट्र मन्त्रालयका सचिव लगायतका उच्चपदस्थ व्यक्तित्वहरूसँग भेटघाट गरी दुई देशबीच आगामी साझेदार कार्यक्रमका बारेमा छलफल गर्ने योजना छ। मेरो यस भ्रमणलाई कोरिया र नेपालबीचको विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धको मूल्याङ्कन गर्ने र आगामी ५० वर्षका लागि सहकार्यको दिशा निर्धारण गर्ने अवसरका रूपमा लिएको छु।
सन् २०२६ नोभेम्बरमा नेपाल अति कम विकसित देश (एलडिसी) बाट स्तरोन्नति हुने तयारीमा छ। नेपाल तयार देखिन्छ तर अन्तर्राष्ट्रिय समुदायले प्रदान गर्ने विभिनन सुविधाबाट वञ्चित हुने अवस्थाले केही चुनौती सामना गर्नुपर्ने विषयलाई पनि ध्यान दिनुपर्छ।
कोरियाको विकास अनुभव नियालेर हेर्दा यो प्रक्रियाले राष्ट्रिय विकास चरणमा चुनौतीहरू खडा गर्नेछन्। नेपाल सरकार र जनताले यी चुनौती पार गर्ने यात्रामा गणतन्त्र कोरिया सरकारले आफ्नो भोगाइ तथा अनुभव प्रदान गर्नका लागि तत्पर रहेका छौँ। कोरिया सरकार नेपालको आवश्यकतामा आधारित भएर सदा सहयोगी भूमिकामा रहनेछ।
अन्त्यमा, हाम्रो आगामी ५० वर्षका लागि नेपालसँगको सहयात्रा आर्थिक गतिविधि बढाउनमा केन्द्रित हुनेछौँ। हामी नेपालको जलस्रोत विकास, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रमा साझेदारीलगायतका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छौँ। हामी दुई देश आपसमा सदा सच्चा मित्र (राम्रो साथी) को भूमिकामा रहने छौँ।
– ली गणतन्त्र कोरिया सरकार, परराष्ट्र मन्त्रीको विशेष दूतका रूपमा यतिबेला नेपाल आएका छन्।
प्रकाशित: ८ माघ २०८१ ०८:०५ मंगलबार