नेपाल कृषिप्रधान देश हो जहाँ जनसंख्याको ठूलो हिस्सा कृषि पेसामा निर्भर छ। नेपालको भू–विविधताका कारण कृषि प्रणाली पनि विभिन्न प्रकारका छन्। साथौ देशको कुल उत्पादनको लगभग २५–३० प्रतिशत कृषि क्षेत्रबाट आउने गर्छ। यद्यपि नेपालको करिब ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ तर उत्पादकत्वमा कमी, आधुनिक प्रविधिको अभाव र बजार व्यवस्थापनको कमजोरीले कृषि क्षेत्रले अपेक्षाकृत योगदान दिन सकेको छैन।
कृषिका चुनौती
कृषि क्षेत्रको पुनर्जागरण एक विकासशील देशका लागि ठूलो लक्ष्य हो तर यसलाई लागु गर्दा धेरै प्रकारका चुनौती देखा पर्छन्। यी चुनौती समाधान नगरेसम्म कृषि क्षेत्रले अपेक्षाकृत विकास हासिल गर्न सक्दैन। नेपालमा कृषिमा सुधार ल्याउन निम्न चुनौती छन्-आर्थिक सीमा, कृषि क्षेत्रको पुनर्जागरण गर्न आधुनिक प्रविधि र उपकरणहरूको आवश्यकता पर्छ, जसमा ठूलो लगानी चाहिन्छ।
नेपाल जस्तो विकासशील देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को थोरै मात्र हिस्सा कृषिमा लगानी गरिन्छ। पर्याप्त बजेट अभावमा सिँचाइ प्रणालीको सुधार, माटोको ऊर्वरा वृद्धि, र प्रविधिको पहुँच सुनिश्चित गर्न असम्भव जस्तै देखिन्छ।
कृषकहरू प्रायः आर्थिकरूपमा कमजोर हुने भएकाले नयाँ प्रविधि अपनाउन उनीहरूलाई सरकारी अनुदान र सस्तो ऋण उपलब्ध गराउन कठिनाइ भइरहेको छ। नेपालमा राजनीतिक अस्थिरता एउटा ठूलो चुनौतीका रूपमा देखिएको छ। कृषि सुधारका दीर्घकालीन योजनाहरू बारम्बार सरकार परिवर्तनका कारण अवरुद्ध हुने गरेका छन्।
आधुनिक उपकरण र वैज्ञानिक पद्धतिबाट खेती गर्न सकिने लाभबारे स्पष्ट जानकारीको अभावले उनीहरूलाई परम्परागत तरिकामा सीमित बनाएको छ। यो समस्या विशेषगरी ग्रामीण क्षेत्रमा बढी देखिन्छ जहाँ शिक्षाको अभाव र प्रविधिको पहुँच न्यून छ।
कानुनी व्यवस्था र कार्यान्वयनमा कमजोरी
नेपालमा कृषि क्षेत्रको सुधारका लागि केही कानुनी ढाँचा बनाइएको छ जसका माध्यमबाट कृषि उत्पादनमा वृद्धिको प्रयास गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा खाद्य र कृषि संगठन (एफएओ) ले कृषि सुधारका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्दै आएको छ। विशेषगरी दिगो विकास लक्ष्य (एसडिजी) को लक्ष्य २ ले सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्दै कृषि उत्पादकत्व बढाउने लक्ष्य राखेको छ। केही महत्त्वपूर्ण कानुनी दस्ताबेज र प्रावधान यसप्रकार छन्:
नेपालको संविधान र कृषि क्षेत्र: नेपालको संविधानले कृषिलाई विशेष प्राथमिकता दिएको छ। संविधानको धारा ३६ ले ‘खाद्यको हक’ प्रत्याभूत गरेको छ। यसका अनुसार सबै नागरिकलाई पर्याप्त र पौष्टिक खाद्य प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ। यसले खाद्य सुरक्षा र कृषि उत्पादनको वृद्धि सुनिश्चित गर्नुपर्ने आवश्यकता दर्शाउँछ।
कृषि विकास रणनीति, २०७२: यसको उद्देश्य नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायीकरण गर्नेछ। कृषि विकास रणनीति २०७२ मा २० वर्षे योजना बनाई कृषि उत्पादनको वृद्धि, कृषकहरूको जीवन स्तर सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। यसले कृषिको व्यावसायीकरण, सिँचाइ, माटोको ऊर्वरता र कृषि प्रविधिको सुधारमा जोड दिन्छ।
कृषि पुनर्जागरण कार्यान्वयन प्रक्रिया: नेपालको कृषि क्षेत्र सुधार र आधुनिकीकरणमा विभिन्न कदमको आवश्यकता छ। कृषिमा क्रान्ति ल्याउन यी कदम प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेछ जसले कृषकहरूको उत्पादन क्षमता वृद्धि, जीवन स्तर सुधार र देशको खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउँछ।
आधुनिक प्रविधिको प्रयोगः कृषिमा क्रान्ति ल्याउनका लागि आधुनिक प्रविधिको प्रयोग अत्यन्तै महत्त्वपूर्ण छ। परम्परागत कृषि पद्धतिले उत्पादन सीमित हुन्छ र कृषकहरूको आयमा वृद्धि गर्न गाह्रो बनाउँछन्। नयाँ प्रविधि, जस्तै– सिँचाइका लागि ड्रिप सिस्टम, माटो परीक्षण यन्त्रहरू र उच्च उत्पादन दिने बिउहरूको प्रयोगले कृषिमा सुधार ल्याउन सक्छ।
सिँचाइ प्रणाली सुधार: नेपालको कुल कृषि क्षेत्रको केवल ३७ प्रतिशत भागमा सिँचाइ सुविधा उपलब्ध छ। जलवायु परिवर्तनका कारण वर्षा चक्रमा उतारचढ़ाव आएसँगै सिँचाइको महत्त्व अझ बढेको छ। सिँचाइ सुविधा बढाउनु कृषि उत्पादनका लागि महत्त्वपूर्ण छ। पर्याप्त सिँचाइबिना, वर्षाको भरमा निर्भर हुनुपर्ने कृषकहरूलाई कठिनाइ सामना गर्नुपर्ने हुन्छ।
भूमिको वैज्ञानिक वर्गीकरण: नेपालको कृषि क्षेत्रमा भूमिको सही व्यवस्थापन र वर्गीकरण अत्यन्त आवश्यक छ। यसौलाइ जोड दिन भूमिसम्बन्धी ऐन, २०२१ ले भूमिको व्यवस्थापन र वितरणको वैज्ञानिक तरिका अपनाउन आवश्यक छ। नेपालको कृषि प्रणालीमा भूमि व्यवस्थापनको महत्त्वपूर्ण भूमिका छ र यस ऐनले भूमि व्यवस्थापनमा सुधारका लागि कानुनी आधार तयार गर्छ।
कृषक शिक्षाको व्यवस्था: कृषकलाई आधुनिक प्रविधि र कृषि प्रणालीको ज्ञान दिन तालिम र शिक्षाका कार्यक्रमहरू महत्त्वपूर्ण छन्। कृषिमा सुधारका लागि कृषकहरूलाई नयाँ प्रविधिहरू र व्यापारिक कृषि प्रणालीका बारेमा सुसूचित र प्रशिक्षित गर्नुपर्छ। कृषकहरूलाई नयाँ कृषि प्रविधिहरूको उपयोग र व्यवस्थापनबारे नियमित तालिम दिइनुपर्छ।
बजार पहुँच र मूल्य स्थिरता: कृषकहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरूले बजारमा राम्रो मूल्य पाउनु महत्त्वपूर्ण छ। नेपालमा कृषकहरू प्रायः मूल्य निर्धारणको असमानता र बजार पहुँचको समस्याबाट जुझिरहेका छन्। यसले कृषकहरूको आम्दानीमा गिरावट ल्याउँछ र कृषिमा लगानी गर्न उनीहरूलाई हिच्किचाउँछ। त्यसैले कृषकलाई बजारमा आफ्नो उत्पादनको उचित मूल्य पाउनका लागि बजार व्यवस्थापन सुधार्नुपर्नेछ।
– यादव काठमाडौँ स्कुल अफ लमा बिएएलएलबी, चौथो वर्षमा अध्ययनरत् छन्।
प्रकाशित: ८ माघ २०८१ ०७:२९ मंगलबार

