२८ पुस २०८१ आइतबार
image/svg+xml
विचार

अपरिहार्य नागरिक शिक्षा

हाम्रो जस्तो मुलुकमा राजनीतिक तथा नागरिक स्वतन्त्रताका लागि जति लडेर ल्याएको लोकतन्त्र भए पनि व्यवहार कमजोर नै देखिँदै आएको छ। खासगरी हाम्रो सन्दर्भमा लोकतन्त्रको जग नै बस्न नसकेको र लोकप्रियतावादी नारा र भाषण भने थुप्रै हुने गरेको पाइन्छ। यसले गर्दा निर्वाचित तानाशाहहरूको बाहुल्यता बढ्दै जाने र सिधासाधा नागरिक भने सस्तो लोकप्रिय भाषण नाराप्रति आकर्षित भइरहेका छन्।

सस्ता र झुट कुराले राजनीति कहिल्यै सप्रन सक्दैन। सत्तामा रहनेहरू लिसो टाँसिएझैँ आजीवन सत्तालिप्सामा रहिरहने प्रवृत्ति हाम्रो जस्ता मुलुकमा व्याप्त छ। यस प्रवृत्तिले सत्य र तथ्यगत आधारलाई नै विकृत तुल्याउनेबाहेक केही हुँदैन। यसखाले नेतृत्वले आफू गलत भएको स्वीकार्दैनन्। विरोधीका सही कुरालाई पनि स्वीकार्न सक्दैनन्। आफ्नो असफलताको दोष अरूलाई थोपर्छन्। सरकारमा जो बस्छन्, कानुन उनैले मिच्ने गरेका छन्।

औपनिवेशिक शासन अन्त्य भएको यत्रो अन्तरालमा पनि त्यसको भूतले अझै छाडेको छैन। स्वतन्त्र राष्ट्रका शक्तिशाली शासकहरू चाहे फिलिपिन्सका मार्कोस हुन् वा इन्डोनेसियाका सुहार्तो जस्ता केवल लोकतन्त्रका नाममा अधिनायकवादी बने।

पहिलेका निरंकुश शासकहरू हतियारका बलले जनतालाई तर्साउने र दबाउने गर्थे भने आधुनिक निर्वाचित तानाशाहहरू आफूअनकूल कानुन निर्माण गरेर वा नीतिगत परिवर्तनबाट जनताको स्वतन्त्रतामाथि बलमिचाही गर्छन्। जनचेतनाको अभावमा यस्ता कुरा भइरहेका छन्।

नागरिक चेतनाबारे ज्ञान दिई लोकतान्त्रिक सुदृढीकरणको बाटो लाग्नुपर्ने हो। पारस्परिक सहिष्णुता, विवेकशीलता र तर्कसंगत सोचका लागि नागरिक शिक्षा नै माध्यम बन्न सक्दछ। विश्व इतिहासका कालखण्डमा शक्ति पिपासुहरूले पदलोलुपताका कारण शक्ति प्रदर्शन गरी कैयौँ मुलुकमा अशान्ति र युद्ध मच्चाएका घटना मानव स्मृतिपटलमा अझै ताजा छन्।

यसै क्रममा हिटलर, मुसोलिनी, नेपोलियन जस्ताको स्वार्थले गर्दा लाखौँ जनताको रगतको खोलो बग्यो। यसरी शक्ति पिपासुहरूले आफ्नो शक्तिको दुरूपयोग गरी संसारमा नै तहल्का मच्चाएका थिए।

यही विश्व मानचित्रभित्रको एउटा सानो भूभाग नेपालमा जन्मिएका शान्तिका अग्रदूत बुद्ध, नेपाल राष्ट्र निर्माण गर्ने बडामहाराज पृथ्वीनारायण शाह, भारतको भूमिमा जन्मेका महात्मा गान्धी जस्ता विश्वविख्यात शान्तिका प्रतीकहरू नभएका होइनन्।

 यस्तै दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति नेल्सन मन्डेला जस्ता त्यागी संघर्षशील व्यक्ति जो २७ वर्ष कारागारमा बिताउने रंगभेदवादी गोरा शासन अन्त्य गर्ने देशमा लोकतान्त्रिक पद्धति स्थापित गर्ने, लोकप्रियताको चुलीमा हुँदाहुँदै पनि राष्ट्रपति पद त्याग्न पछि नहट्ने जस्ता व्यक्तिको पनि इतिहासले स्मरण गरिरहन्छ।

नोबल शान्ति पुरस्कारबाट सम्मानित भैसकेका मन्डेलाको योगदान र बलिदानलाई स्मरण गर्दै भारतलगायतका मुलुकले गान्धी शान्ति पुरस्कार प्रदान गरेका थिए। नेपालका गणेशमान सिंहले पनि २०४६ सालको जनआन्दोलनबाट प्रस्थापित प्रजातान्त्रिक सरकारको नेतृत्व गर्न राजा वीरेन्द्रबाट आग्रह हुँदा अस्वीकार गरेका उदाहरण पनि छ। यस्ता त्यागी नेताका अनुयाहीहरू अहिले स्वार्थी र सत्तालिप्सामा टाँसिएका छन्। यो दुःखद कुरा हो।

लोकतन्त्रका लागि नेपाली जनताले लामो संघर्ष बलिदानपछि निरंकुश सत्तालाई पटक–पटक घुँडा टेकाए तर नेताहरूको दलगत स्वार्थले गर्दा फेरि बेलाबेलामा निरंकुश शासनतन्त्र ब्युँताउने काम मात्र गरे।

दलहरूको ईर्ष्या र दम्भले परिवर्तनको लाभ जनताले उठाउन सकेनन्। भष्टाचार, संसद्मा खरिद बिक्री, प्राडो पजेरो काण्डले सरकारलाई मात्र होइन, राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्ने ठाउँ पैदा गर्‍यो। 

मुलुकमा देखिएको सत्ता संघर्ष भागवन्डाको राजनीतिले युवा पुस्तामा निराशा र कुण्ठा बढ्दो छ। लोकतन्त्र र संघीयताले खाली छोटे राजा उत्पादन गर्ने काम गर्‍यो भनिन्छ। युवा पुस्ताले बुझेको लोकतन्त्र विकास र राज्यको समृद्धि थियो। देशमा सकुशल यातायात व्यवस्था, रेलमार्ग, भव्य सडक, चुस्त सेवा प्रवाह, स्मार्टसिटी ठूला ठूला पूर्वाधार, उन्नत रोजगारी, स्वस्थ जीवन आदिको सपना विपरित भष्ट्राचार, महँगी, बेरोजगार अस्वस्थ जीवन, प्रदूषित वातावरणलगायतका संकट बेहोर्न बाध्य भएको छ। नागरिक समाज कमजोर बन्दैछ। समाजमा विवेकको अभाव छ।

वास्तविक सही मार्गउन्मुख चेतना जागरणतर्फ ध्यान कसैको गएको छैन। मानव चेतना जगाउने साधन नागरिक शिक्षा भनिए पनि त्यसलाई सुव्यवस्थित तरिकाले परिचालन गरिँदैन।

मुलुकका प्राध्यापक, शिक्षक, विद्यार्थी कर्मचारीसमेत कुनै न कुनै राजनीतिक दलका सहयोगी बन्दै आफ्नो डम्फू बजाएर हिँड्न विवश छन्। यसरी मुलुकमा प्राज्ञिक वर्ग पनि राजनीतिक छायामा ओत खोज्नु देशका लागि अशोभनीय हो। हरेक नागरिकलाई लोकतान्त्रिक पद्धतितर्फ उन्मुख गराउने प्रभावकारी राजनीतिक प्रशिक्षण नै हो।

सबै किसिमका सुधारका प्रस्थान विन्दु भनेको नै सुशासन प्रणालीबाट प्राप्त हुने हो। यसका लागि मानव अधिकार विधिको शासन, जनसहभागिता, पारदर्शिता र उत्तरदायी सरकारको खाँचो पर्दछ।

अहिले समाजमा असमानता र विभेद पनि बढ्दो छ। अब समाजलाई लोक कल्याणकारी बाटोमा लगाउन विद्यमान शोषण उत्पीडनलाई न्यूनीकरण गर्दै लोक कल्याणकारी मार्गको चिन्तन र मनन गर्न नागरिक शिक्षाको स्रोतलाई परिचालन गर्नु जरुरी छ। यस्तो नागरिक शिक्षाले मात्र बाटो बिराएको वर्तमान अवस्थालाई सही मार्गमा ल्याउन मद्दत गर्छ। त्यसैले हामी सबैको जोड नागरिक शिक्षामै हुनुपर्छ।

प्रकाशित: २८ पुस २०८१ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App