२६ पुस २०८१ शुक्रबार
image/svg+xml
विचार

खिना मृत्युको खिन्नता

‘स्ट्रेचर नहुँदा शिशुसँगै बाटोमै अस्ताइन् खिना’-पुस २३ गतेका अनलाइन र सामाजिक सञ्जाल अनि पुस २४ गतेका केही अखबारहरूमा यस्तै शीर्षकमा समाचारहरू छापिए। सामाजिक सञ्जालमा आएको सो घटनाको  भिडियो निकै नै हृदयविदारक र मथिङ्गल हल्लाउने खालको थियो।

समाचारअनुसार बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया खिना बोहरालाई आइतबार दिउँसोदेखि नै सुत्केरी बेथाले च्याप्न थालेको थियो। तर घरमा सहारा दिने बलियाबांगा मान्छे कोही नहुँदा उनलाई तुरुन्त नजिकको प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन सकिएको थिएन। भोलिपल्ट बिहान चार बजे उनलाई हिँडाएरै स्थानीय देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगियो। हिँड्दाहिँड्दै बेथाले थप च्याप्यो र उनले बाटैमा शिशु जन्माइन्। तर जन्मिएको शिशु अस्वस्थ थियो। शिशुले रुने कराउने केही सङ्केत गरेको थिएन। उता शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्रावका कारण आमा पनि शिथिल हुँदै गइन्। अन्ततः आमा र शिशु दुवैको बाटैमा मृत्यु भयो। बस्दाबस्दैको एउटा सुन्दर परिवार उजाड भयो।

स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीयस्तरका नेताहरू विकासका ठुल्ठूला गफ हाँक्छन्। ग्रामीण पूर्वाधार विकासदेखि ठुल्ठूला सहरी योजनाका बारेमा भाषण दिएर थाक्दैनन् नेता र जनप्रतिनिधिहरू पनि। तर गाउँमा एउटा स्ट्रेचर नहुँदाको परिणाम नवजात शिशु र आमाले समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्‍यो। योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ?

खिना बोहरा र उनको नवजात शिशुको मृत्युले विकासका ठुल्ठूला गफ हाँक्ने स्थानीय जनप्रतिनिधिदेखि राष्ट्रियस्तरका नेता र सरकारलाई पनि गिज्याइरहेको भान हुन्छ। सडक र यातायातको सुविधा नपुगेका गाउँघरमा आपत्विपत्का बेला नभइ नहुने एउटा स्ट्रेचर पनि उपलब्ध गराउन नसक्ने सरकारले विकासका ठुल्ठूला योजनाका कुरा गरेको फिटिक्कै सुहाउँदैन। अझ विकासशील राष्ट्रमा स्तरोन्नति हुने र दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने सरकारको योजनाले खिना र खिनाजस्ता सुविधाबाट वञ्चित नागरिकको उपहास गरिरहेझैँ लाग्छ।

अन्तर्राष्ट्रिय स्तरका सेवा र सुविधा सहरमा केन्द्रित छन्। शिक्षा, स्वास्थ्य, सञ्चार, सूचनाप्रविधि जे भनौँ, ती सबै सहरकेन्द्रित छन्। संघीय राजधानीलाई हेर्ने हो भने अमेरिका र युरोपको झझल्को दिन्छन्, त्यहाँ उपलब्ध सेवा र सुविधाहरूले। तर गाउँ ? गाउँ अझै पिछडिएकै छन्। स्थानीय जनप्रतिनिधिलाई आफ्नो गाउँठाउँको विकास होइन, सहर पस्ने चिन्ता छ। अनि संघीय राजधानीले गाउँ देखेकै छैन।

सरकारले पनि गाउँका बारेमा सोचेकै छैन। विकासको जिम्मेवारी बोकेका नेताहरू ठेकेदारीमा व्यस्त छन्। दुर्गम गाउँमा लाखको स्वास्थ्य केन्द्र बनाउनुको साटो अर्बको भ्युटावर बनाउने योजनामा सहीछाप ठोक्न हानथाप गर्छन् नेताहरू। भ्युटावरको टुप्पाबाट आँखामा दुरबिन लगाएर गरिब गाउँका झुप्रा र गरिब जनताका नांगा आङ हेर्न लालायित छन् नेताहरू।

गाउँमा एउटा स्ट्रेचर नभएर मान्छे मरिरहेछन्। सिटामोल खान नपाएर मरिरहेछन्। एक पुरिया जीवनजल नपाएर मरिरहेछन्। चिसोले कठ्याङ्ग्रिएर मरिरहेछन्। भीरबाट लडेर मरिरहेछन्। तुइनबाट खसेर मरिरहेछन्। खानै नपाएर पनि मरिरहेछन्। सुविधासम्पन्न सहरमा बसेका सुविधाभोगी नेता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले गाउँको दुःख, गाउँको समस्या र गाउँको पीरमर्का बुझ्ने चेष्टा गरेको छैन। खिना बोहराको मृत्युले यही भन्छ।

सरकारको नीति, योजना र कार्यक्रम गाउँ पुग्न सकेको छैन, सहरमै सीमित छ। गाउँगाउँमा सिंहदरबार पुगेको भ्रम छरेर गाउँगाउँमा भ्रष्टाचार मात्रै पुर्‍याइएको छ। गाउँका गरिब जनताले सहरका सम्भ्रान्तले जस्तो सुविधा खोजेका पनि होइनन्। आधारभूत आवश्यकता र आधारभूत सुविधा मात्रै खोजेका हुन्। त्यति दिन राज्यले कन्जुस्याइँ गर्छ भने ती गरिब जनताले राज्य छ र सरकार छ भन्ने अनुभूति कसरी गर्न सक्छन् ?

राज्यले गरिब जनतालाई भ्रममा बाँच्न सिकाएको छ। गरिब जनतालाई भ्रममै बाँच्ने बानी परेको छ। थोरै दिँदा पनि धेरै खुसी हुने बानी परेको छ गरिब गाउँ र गरिब जनतालाई। त्यही थोरै दिन पनि अझै कन्जुस्याइँ गर्दैछ राज्यले, हाम्रो सरकारले।

भ्युटावर बनाउन अर्बौ बजेट निकासा गर्ने सरकारले गरिबको गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र बनाउन लाखको बजेट दिएको भए गाउँका हजारौंं गरिब जनता लाभान्वित हुन्थे। तुइन बिस्थापन गरेर कमसेकम झोलुङे पुल बनाइदिएको भए हजारौंँ जनताले सुविस्ताले नदी वारपार गर्न पाउँथे र काम सकेर साँझमा समयमा घर पुग्न पाउँथे। दिनहुँ ज्यान जोखिममा पारेर तुइनबाट नदी तर्दै स्कुल जाने कलिला बालबालिकाले सजिलै र समयमै स्कुल पुग्न पाउँथे र समयमै सुरक्षित घर फर्कन पाउँथे।

थोरै दिँदा धेरै खुसी हुने गरिब गाउँका गरिब जनताले माग्ने ठूलो कुरा भनेकै बाटोघाटो, स्कुल, स्वास्थ्य केन्द्र, झोलुङे पुल त हुन्। सिटामोल र जीवनजल मात्रै सहजै उपलब्ध हुने व्यवस्था गरिदिए पनि धेरै गरिबले अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने भनाइ हो जनताको। यति पनि दिन नसक्ने राज्यले विकास, विकासशील राष्ट्र, दिगो विकास लक्ष्य र मध्यम आय भएको मुलुकको कुरा गर्दा गरिब गाउँका गरिब जनताले खुसीले हाँस्नु कि पीडाले रुनु?

प्रकाशित: २६ पुस २०८१ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App