२५ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

रैथाने भान्सै राम्रो

केही वर्षपहिले सन्तोष शाहले  बेलायतमा सेफको ‘उपविजेता’ भएपछि नेपाल आएर बडो सम्मान पाए। हामीले उनको सफलतामा गर्व गर्‍यौँ। तर शाहलाई विदेशीहरूले ‘क्याबात’ भनेपछि मात्र सम्मान दियौँ। शाहले जस्तै गरेर पकाउने हाम्रा घरका मान्छे (आमा, बज्यै, दिदी, फुपू, छोरी) हरूले पकाएका खानालाई भने अवहेलना गर्छौँ।

सन्तोष शाहले नेपाली नामले विदेशमा भएका परिकार नै पकाएर ख्वाएपछि त्यो नाम अंग्रेजीमा खोजी भयो तर हामीचाहिँ कुनै खाना अंग्रेजीमा भनेपछि ‘वाह... क्या राम्रो’ भनिहाल्छौँ। अहिले हामी घरमा अतिथि बोलाउँदा बाहिरबाट स्वास्थ्य खराव पार्ने पिज्जा र केक ल्याएर ख्वाउँछौँं। घरमा पकाएको दाल, भात, तरकारी, रोटी, अचार, साग दिन हामीलाई लाज लाग्छ। त्यसैगरी पाहुनालाई मोही, कागती र बाबरीको सर्वत दिन हिच्किचाउँछौँं। तर पाहुनालाई ‘स्वास्थ्य खराब पार्ने गुलियो पेय पदार्थ भने मनग्य ख्वाउँछौँ।

हामी पाहुनालाई बदाम दिन लाज मान्छौँ तर पिनटको ‘प्याकेट’ दिन भने गर्व गर्छौँ। चना भुटेर पाहुनालाई दिन हिच्किचाउने हामी प्याकेटमा रहेको नून हालेको ‘ग्रिनपिज’ भने दिन्छौँ। दूध खाए मुटुमा बोसो लाग्छ र मुटुको रोग लाग्छ भनेर कुनै विदेशकाले भनेपछि हामी गाईको दूध छाडेर भटमासको दूध खान्छौँ।

खाना खाँदाखेरी कति कति पोषण तत्त्व शरीरमा चाहिन्छ भनेर ‘वैज्ञानिक तरिकाले’ हाम्रा पुर्खालाई थाहा थिएन, उनीहरूले शुद्ध खाए। अहिले विदेशी वैज्ञानिकले भनेपछि हामी अनेक शुद्ध पोषक तत्त्वबारे कुरा त गर्छौँ तर हजारौँ वर्षदेखि हाम्रा पुर्खाले यसबारेमा ज्ञान दिएका थिए भनेर हामी बिर्सन्छौँ। जबकि तिल, मुगंरेलो, अमला, अम्बा हाम्रो दैनिक जीवनका अंग थिए।

स्वास्थ्यलाई संरक्षण गर्न पसलको चक्की खाने बानीले दिक्क लागेको छ। यसरी चक्की किन्दा हामी के बिर्सन्छौँ भने यी सब कुरा हाम्रो भान्छामा सजिलैसँग पाइन्छ। विदेशीले ‘क्यालोरिफाइड बटर’ खाए राम्रो हुन्छ भनेपछि हामीले आँखा चिम्लेर मान्यौँ। धेरैले ‘बटर’ ल्याएर खायाैं तर त्यो महँगो ‘बटर’ हाम्रो घरमा नै पाइने घिउको एक रूप हो भनेर हामीले बिर्सियौँ। घरमा सजिलै पाइने ‘बाबरी’ को पातलाई वास्ता नगर्ने हामीहरू ‘मिन्ट वाटर’ भनेर बोतलमा आएपछि महँगोमा किन्दाचाहिँ दंग पर्‍यौँ ।

विदेशीको नक्कल गरेर हामीलाई खानेकुराभन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राबारे बढी बुझ्यौँ। ‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौँ। मैले अहिलेसम्म कहिल्यै भान्छाको खानेकुरामा कति ग्राम प्रोटिन वा कति मिलिग्राम सूक्ष्म पोषक तत्त्व पाइन्छ भनेर हेरेको छैन।

म खोले, भात, तरकारी, रोटी खिचडी, हलुवा, बदाम र गुडको लड्डु, कागती पानी, मोही, दही, दूध खान्छु। अनेकथरिका भिटामिनको एक क्याप्सुल पनि खाएको छैन। गर्भवती हँुदा पनि मैले आइरन चक्की खाइन। किनभने मेरो खानामा रोटी, भात र खिचडीमा पर्याप्त लौहतत्त्व थियो ।

यी खानेकुरा खाँदा हाम्रो स्वास्थ्य राम्रो भएपछि त अनेकथरिका रोगसँग लड्ने शक्ति बढ्छ अनि अस्पताल र औषधिको खर्च पनि त बच्छ। आर्थिक रूपमा पनि हामी सबल बन्छौँ। अफसोस, प्रोटिन पाउन हामी चना र भटमास खाँदैनौँ। अनेक बिस्कुट, प्रोटिन क्याप्सुल खान्छौँ। पैसा तिरेर रोग ल्याउनका लागि तयार रहन्छौँ। सन्तोष शाहले विदेशीलाई बनाएर खुवाएको खानामध्ये त कतिपय घरमा नै मज्जासँग बनाउन सकिन्छ तर यो पनि हामी  बजारबाट किन्छौँ।

हामी फर्सीको तरकारी मन अमिलो पारेर खान्छौँ। ‘पम्पकिन सुप’ भने आनन्द मानेर खान्छौँं। पम्पकिन र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरा नै अर्को हुने थियो। थाहा नपाउनेले सोयाविनचाहिँ वाह भनेर खान्छन्, भटमास वास्ता गर्दैनन्। भुटेको भात छ्या हुन्छ तर होटलमा ‘फ्राइड राइस’ बढी पैसा तिर्दा आनन्द लाग्छ। किन हामीलाई भोजनमा पनि अंग्रेजी मोह ? अंग्रेजी भाषामा भनिएका खाना राम्रो, नेपाली भाषाका परिकारभन्दा नराम्रो भन्ने मानसिकताले जरो गाडेको छ। मौलिक खानलाई बेवास्ता गरेर बाहिर आएको खाना बालबालिकालाई दिँदा कुपोषण भएको कुरा हेक्का नै नहुने।

बालबालिकालाई कसरी कुपोषणबाट बचाउने हो भनेर योजना बन्दा गहुँ, फापर, आलु, बोडी, सिमी सबै नेपालीले प्रयोग गर्ने सस्तो वस्तु भएकाले त्यसरी वास्ता गरिन्न किनभने त्यो रंगीचंगी प्याकेटमा आउँदैन तर प्याकेटमा आएका महँगा वस्तुचाहिँ बालबालिकालाई दिइन्छ।

फर्सीको खिर खुवाउनुपर्छ भन्ने संस्थाले कुभिण्डो वा लौका र इस्कुस पनि स्वस्थयकर हुन्छ भनी ज्ञान दिँदैनन्। फर्सी नभएको ठाउँमा कुभिण्डो र लौका फल्यो भने पनि स्वास्थ्यकर्मीलाई वास्ता नभएर नजिकै फलेको लौकाचाहिँ कुहिएर जान्छ। नजिकको तीर्थ हेला भनेको यही होला। तर त्यही कुभिण्डो वा इस्कुसको भोलि अंग्रेजी जान्ने मान्छे आएर गुणगान गायो भनेचाहिँ हामी सबै यो पोषणका लागि उत्तम रहेछ भन्ठान्छाैं।

पम्पकिनको यसरी नै प्रचार भइरहे केही समयपछि कति गाउँमा विदेशबाट प्याकेटमा पोको आउने ‘पम्पकिन नट’ वा ‘पम्पकिन फुड’ भनेर बेचिनेछन्, सुपरमार्केटमा। अनि स्वास्थ्यकर्मी महिला, स्वास्थ्य स्वयंसेविका सबैले ‘पम्पकिन नट’ खाऔँ र कुपोषणबाट बचाँऔँ भन्ने छन्। ‘पम्पकिन नट’ बच्चाबच्चीलाई दिनेछन्। सुदूरपश्चिमको गाउँमा सबै ठाउँमा यही ‘पम्पकिन नट’ लगेर बेचिनेछ। फर्सीको तरकारी पकाउन झन्झट गर्नुको साटो ‘पम्पकिन नट’ खाए त  भैहाल्छ भनिनेछ।

अहिले रैथाने ज्ञानको खोजी गरेर हजुरआमाहरूको ज्ञानको आदर गर्दैनौँ। छलफल गर्दैनौँ। रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर अनेक कार्यक्रम ल्याउँदैमा दिगो विकास हुन सक्दैन। हामी त्यसैले मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौँ। कोदोको रोटीको सट्टा प्यान केक खान्छौँ। भान्छाको खानेकुराले कुपोषण कम हुन्छ भन्ने विचारलाई अवहेलना गर्छौं।

केही दिनअघि गाउँमा जाँदा बाटो बाटोमा आफैँ फलेको कर्कलो टिपेर घरमा ल्याएर सुकाएपछि गुन्द्रुक र मस्यौरा बनाएर फलामको भाँडामा पकाएर अमिलो गोलभेँडाको अचार र भात खाएँ। यसले शरीरमा लौहतत्त्व पनि दियो। यो ज्ञान यदि गाउँघरमा बाँड्न सकिए त सायद महिला र बालबालिकालाई रक्तअल्पताबाट बच्न मद्दत हुने थियो।

चीन, ब्राजिल, ताइवान, बाङ्लादेश र अफ्रिकामा खाइने कर्कलो र कर्कलोको जरा अर्थात् पिँडालु पनि प्रयोग गरिन्छ। नेपालमा भने कर्कलो र पिँडालु खाने केही विशेष दिन भए पनि प्रायः अरूबेला हेला नै गरिन्छ। सायद कर्कलो र पिँडालु यति अपहेलित भएको कारण जताततै पाइने भएर होला।

स्वस्थ व्यक्तिहरूलाई स्वादका साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो त विभिन्न तरिकाले प्रयोग गरेकै वेश हुन्छ। सस्तो भन्दैमा हेप्नु पर्दैन। बाहिरको प्याकेटका कुहिएका खानेकुराभन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे स्वस्थ भइन्छ भनेर कसले सिकाइदिनु? अंग्रेजीमा ‘अमरान्थ’ भनिने र सुपर फुड भनिने लट्टेको सागको तरकारी पाहुनालाई ख्वाउँदा उनीहरूले अपमानित महसुस गर्न सक्छन् तर जब त्यही लट्टेचाहिँ अंग्रेजी नाम दिएर ठूलो होटेलमा बेच्दा वाह, क्या गजब मानिन्छ। भान्सामा पाइने यस्ता भोजनबारे मन्थन गर्ने हो कि?

प्रकाशित: २५ पुस २०८१ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App