निरकुंश शासन व्यवस्थाविरूद्ध आफूलाई सशक्त रूपमा प्रस्तुत गरेको इतिहास बोकेर नेकपा एमाले आफैँ निरकुंश अभ्यासमा जाकिँदैछ। आफूविरुद्ध बोल्ने आफूले गरेका निर्णयमा प्रश्न गर्नेहरूलाई सहजरूपमा पाखा लगाउने अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली तल्लीन छन्।
एमालेभित्र ओलीका विरुद्धमा प्रश्न गर्नु भनेको बहिर्गमनका लागि तयार रहनु जस्तै बन्दै गइरहेको छ। जसका कारण पार्टीलाई लोकतान्त्रिक अभ्यासमा डोहोर्याउने गोरेटो बन्दै थियो, उसैलाई पाखा पार्ने हिम्मत गर्नु आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्नु हो भन्नेहरू एमाले पंक्तिमै छन्।
नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको विषय एमालेभित्र निकै तरंगित बनिरहेको छ। एमालेभित्र नेता भीम रावललाई यथार्थवादी नेता गुटबन्दी बनाउने र नेतृत्वको गुनगानमा समय खर्चिनेलाई अवसरको टीका लगाइदिनेभन्दा पनि पार्टी जीवनमा त्याग गर्ने क्षमता र योग्यताको आधारमा अवसर दिने र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने मुद्दालाई सशक्ततवरबाट पार्टीमा राख्ने नेताको छवि बनाएका भीम रावल अन्ततः पार्टीबाट किनारा पारिएरै छाडे।
अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा चुनाव लडेपछि भीम रावल निसानामा परेका थिए। संसद्को ह्विप पनि नमानेपछि रावल आफैँ पाटीबाट पन्छिनुभएको भन्नेहरू पनि एमालेको दैलामा छन्। नेकपा एमाले अध्यक्ष ओलीले मुलुकको स्टिेयरिङ सिटमा छन् अहिले।
विशेषगरी कम्युनिस्टहरूको मार्गदर्शन कोर्ने भन्दै वाम एकतालाई आधार बनाएर नेकपा बनाएका ओली आफ्नै कारण खुम्चिँदै गएको धेरैको ठम्याइ छ। आफ्नै नेतृत्वको झन्ने दुईतिहाइको वाम सरकार ढल्ने वातावरण ओलीकै कारण बन्दै गएपछि एमालेभित्र खटपट सुरु भएको अवस्था जीवितै छ।
अहिले पनि स्वार्थसँगको साइनो भएर एमालेले गठबन्धन गरेको भन्नेहरूका कुनै कमी छैन। मुलुकको लोकतन्त्र दलहरूकै कारण धराशायी बन्दै गएको अनुमान गर्नेहरूका लागि सरकार हाँकिरहेको दल एमालेका अध्यक्षबाट पार्टीभित्रको लोकतन्त्र निमोठ्ने अभ्यास भएपछि धेरैको चिन्ता छ कि यही भिजन र अभ्यासबाट लोकतन्त्रको रक्षासहितको समृद्धि नेपालको सपना पूरा हुनेमा शंका गर्ने ठाउ धेरै छ।
लोकतन्त्रको प्रवचन सुनाउनेबाट नै निरंकुशताको अभ्यास हुनु निकै दुखद् पक्ष हो भन्नेहरू पनि धेरै छन्। पार्टी नेतृत्वले गलत निर्णय गर्दा पार्टीको जीवनमा नकरात्मक असर गरी आन्तरिक कलहले ठाउँ पाउने ठम्याइ भएपछि नेतृत्वलाई सजग गराउन पनि रावलजस्ता नेताको खाँचो पार्टीमा हुनुपर्ने हो तर एमालेमा ठीक विपरित हुँदै गएपछि कार्यकर्तामा पनि एकखालको निराशा देखिन थालेको छ।
ओलीको विरोध पछिल्लो समय निकै मडारिइरहेको छ। सार्वजनिक ठाउँमा विरोध गर्नेहरूको जमात निकै बढिरहेको बेला देखिनेगरी आन्तरिक लोकतन्त्रमा धब्बा लाग्नेगरीको निर्णयले पार्टीलाई कता लान्छ त्यो त समयले बताउला नै,स्वयं ओलीका लागि पनि आत्मघाती हुने देखिन्छ। निष्काशनभन्दा पनि सम्झाउनुपर्छ भन्ने मत आउँदाआउँदै जबर्जस्त निष्काशन गर्न नहुने मत ओलीकै कित्ताबाट सेलाएको छैन।
नेतृत्वको भिजन नै सधैँ सर्वेसर्वा हो भन्नु हाँडीमा गलाएको मासु दारा किटेर चपाउनु जस्तै हो। विचार मन्थन गर्ने अभ्यासलाई जसले इन्कार गर्छ भने उसलाई निरंकुशताको भूतले भेटेको जाने हुन्छ।
निरंकुश भनेको यस्तो अभ्यास हो जसले कुनै पनि विकल्प देखेकै हुँदैन। पार्टीलाई जीवन्तता दिने आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने भनेको पार्टीमा रहेका नेताहरूको योग्यता क्षमता र अनुभव नै हो। एकअर्काको विचार र भिजनको मन्थन गर्ने अभ्यास पार्टीमा अपरिहार्यता बनाउनु पर्दछ भन्ने मत कमजोर छैन।
समयअनुसार नेतृत्व फेरबदलको अभ्यासले पार्टीलाई झन बलियो बनाउने कुरा स्वयं ओलीलाई राम्रो ज्ञान छ। आफैँ नयाँ बन्न सकिएन भने नयाँ युगको सपना पूरा गर्न सकिन्न भन्ने कुराको हेक्का ओलीलाई राम्रै छ। तर पनि ओरालो लाग्दै गरेको पार्टीप्रतिको जनभरोसालाई रोकौँ भन्नेहरू आज एमालेमा अटाउन नसक्नु निकै दुःखद् विषय बन्दैछ।
आफू सरकारको नेतृत्वमा रहेका बेला ठूलो हिस्सा दान लिनु स्वार्थको बझान हुन्छ भन्ने चेत नेतृत्वलाई हुँदा हुँदै त्यसतर्फ अग्रसर भएपछि उषाकिरणहरूले निर्णयको विरोधमा बोले। अर्बौँको जग्गा दान लिनु हुन्न भन्ने पनि पार्टीमा नअटाउने मार्गमा नेतृत्वको निर्णय केन्द्रित थियो र छ पनि। नेतृत्व स्वेच्छाचारी विचारलाई लगाम लगाउनेहरू क्रमशः पाखा लाग्नुपर्ने वातावरण बन्दै जाने अवस्था देखेर कम्युनिस्टहरूमा विचारले भिजनले नेतृत्वलाई उछिन्ने छूट छैन भन्ने सन्देश दिएको बुझ्न कठिन छैन।
प्रकाशित: १४ पुस २०८१ ०८:०५ आइतबार