मनसुनमा खडेरी छ। घाम लाग्नुपर्ने बेलामा पानी परेको छ। यो बदलिइरहने मौसमले गर्दा शरीर बोझिलो, मन नरमाइलो, बिरामी र चिन्तित जस्तो के भाको हो कुन्नि?– मेरी आमा भान्छामा खाना बनाउदै एकोहोरो बोलिरहनुभएको थियो। उहाँको कुरालाई समर्थन जनाएँ– त्यही त। तर मनमनै सोचेँ– महिला अधिकार, लैंगिक समानता भन्ने नारा र अभियान त चले। यिनले कति राहत दियो महिलाको गरिमा बढाउन भन्ने समयचक्रले त्यो परिवर्तनलाई ऊजागर गर्दै लैजानेछ। तर बदलिँदो जलवायु परिवर्तनको असरले महिलाको जीविकोपार्जन, दैनिकी, मनोभावना र स्वास्थ्यमा नजानिँदो तरिकाले प्रभाव पार्न थालेको कुरालाई हामीले त्यत्तिको हेक्का गरेका छैनौँ।
महिला कामकाजी भए पनि, खेती किसानी गर्ने भए पनि र घरकै काममा व्यस्त हुने भए पनि परिवारका लागि खाना, पानी, ऊर्जा सुरक्षालगायतमा महिलाको नै प्रमुख भूमिका रहन्छ।
त्यसैगरी प्रजनन स्वास्थ्य, मातृत्व सुरक्षासँग पनि यो विषय जोडिएर आएको हुन्छ। किनभने अरू घटना र परिस्थिति सजिलै देखिने र मूल्यांकन गर्न सकिने हुन्छन् तर जलवायु परिवर्तनको वैश्विक असर सबै महिलाको जीवनमा प्रत्यक्ष परेको छ तर त्यसप्रतिको सचेतना उजागर भैसकेको जस्तो लाग्दैन। खडेरी, बाढी, पहिरो लगायतका विपत्ति र बेमौसमको वातावरणीय परिवर्तन र परिस्थितिले महिलाको जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको छ।
सचेतना, सूचनामा सीमित पहुँच, गतिशीलताको सीमितता र निर्णय गर्ने सीमित शक्तिका कारण यस्ता घटनामा महिला र बालबालिकाले भोग्नुपर्ने समस्या र सम्भावना १४ गुणा बढी हुन्छ भनेर विभिन्न अनुसन्धानले मात्र हैन, संयुक्त राष्ट्रसंघको प्रतिवेदनले पनि बताएको पाइन्छ। यसबाहेक, जलवायु परिवर्तनबाट विस्थापित अनुमानित ८० प्रतिशत मानिस महिला र बालिका हुन्, जसले उनीहरूलाई हिंसा र शोषणको उच्च जोखिममा पारेको पनि अनुसन्धानमा उल्लेख छ।
जलवायु परिवर्तनले महिलाको शारीरिक र मनोभावनात्मक स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तथ्य पुष्टि भैसकेको छ। अत्यधिक गर्मी र प्रदूषणले गर्भावस्थामा जटिलता महसुस हुने, विपत्तिको समयमा आवश्यक सेवाहरूको अवरोधले प्रजनन स्वास्थ्य सेवाको पहुँचमा बाधा पुर्याउने गरेका तथ्य हामीले भोगिसकेका छौँ।
बाढीपहिरोले सडक अवरुद्ध हुँदा सुत्केरी हुने बेलाको महिलालाई टायरमाथि राखेर नदी पार गरेर अस्पताल पुर्याएको दृश्यलगायत विकट जिल्लाबाट हेलिकोप्टरको सहायताबाट महिलाको उद्दार गरेका प्रशस्त उदाहरण हामीसँग छन्। यसबाहेक, वातावरणीय परिवर्तनका कारण उत्पन्न तनाव र विस्थापनले महिलामा मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गइरहेको अनुभूति गर्न सकिन्छ।
कतिपय महिला यो परिस्थितिबाट अन्जान छन् भने थाहा हुनेहरूले पनि हाम्रो समाजको परम्परागत प्रचलन र धारणाले गर्दा आफ्नो भूमिका र निर्णय क्षमतालाई खुलेर लागु गर्न नसक्ने अवस्था छ। जलवायु परिवर्तनको प्रभाव भनेकै स्रोतहरूमा महिलाहरूको पहुँच, निर्णय लिने शक्ति र अनुकूलन रणनीतिहरू लागु गर्ने क्षमतामा प्रभाव पार्नु हो।
महिलालाई घरेलु स्रोत र परिस्थितिमा निर्णय लिने ठाउँ रहे पनि दिगो अभ्यास र ज्ञान अनि आफ्नो राय र निर्णयको भूमिका निर्वाह गर्ने परिस्थिति अझै मिलिरहेको छैन।
आजकल बढ्दै गएको आप्रवासको समस्या, पुरुषहरूले घर छाडेर वैदेशिक रोजगारीमा जाने प्रक्रिया र महिलाले कृषि कर्ममा समेत योगदान पु¥याउनुपर्ने हँुदा जलवायु परिवर्तनको असर झनै बढेर गएको तथ्य जगजाहेर छ।
कृषि कर्मका लागि पानी, सिँचाइ र मलको व्यवस्थापन, पानीका मुहान सुक्दै जानु र टाढा–टाढाबाट यसको व्यवस्थापन गर्नुपर्ने वाध्यता यसको परिणाम हो। अझ खेतीबालीमा रासायनिक मल र औषधिको प्रयोगसमेत महिलाले नै गर्नुपर्ने हुँदा प्रजनन स्वास्थ्यमा यसको प्रत्यक्ष असर परिरहेको छ।
सामाजिक मान्यता र अभ्यासको फलस्वरूप महिलाको समस्या र यथार्थ अनौपचारिकरूपमा मात्र सम्बोधन हुने गरेको महसुस गर्न सकिन्छ। औपचारिक निर्णय लिने प्रक्रियाहरूमा उनीहरूको सहभागिता अझै सीमित छ। उनीहरूको बहुमूल्य अन्तर्दृष्टि व्यापक जलवायु परिवर्तनको समाधानका पहलहरूमा महत्व राख्छ तर त्यस सोचअनुरूप सहभागिता भएको छैन।
यसका अतिरिक्त, भूमि, ऋण र प्रविधिमा सीमित पहुँचले महिलाको नवीन कृषि प्रविधिहरू अपनाउने वा जीविकोपार्जनमा विविधता ल्याउने क्षमतामा मद्दत हुन सकिरहेको छैन। जसले गर्दा समुदायव्यापी समानता र सहभगितामा असर पर्न सक्छ।
यसको विपरीत, पुरुषहरूको संसाधनहरू र निर्णय लिने प्लेटफर्महरूमा अधिक पहुँच देख्न सकिन्छ तर बढ्दै गएको जलवायु परिवर्तनको असर कम गर्न महिला–पुरुष दुवैको सहभागिता र भूमिका आवश्यक देखिएको छ। त्यसैले समावेशी नीतिहरूको आवश्यकता महसुस गरी महिला सहभागिता र सशक्तीकरणमा जोड नदिने हो भने जलवायु परिवर्तनको सामना गर्न असम्भव हुनेछ।
त्यसैले त सन् २०२१ देखि हरेक वर्ष आयोजना हुँदै आएको कोप सम्मेलनमा विभिन्न देशका महिला जलवायु न्यायको माग गर्दै सडक प्रदर्शनमा उत्रिने गरेका हुन्छन् र डिकार्बोनाइज्ड भविष्यका लागि आह्वान गरेका हुन्छन्। ग्रामीण संसारमा, सुख र शान्तिमा आफ्नो परिवारसँग रमाइरहेका हामीले जलवायु परिवर्तनको सामना गर्नुपर्ने कारण के र किन ? उनीहरू आवाज उठाइरहेका हुन्छन्।
जलवायु परिवर्तनसँग जोडिएर आउने समावेशी शिक्षाले मात्र लैंगिक समानता, सामाजिक आर्थिक स्थिति र अन्य पहिचानमा समान सिकाइ र पहुँच मिल्ने हँुदा त्यतातिर ध्यान दिन महिलाहरूको आग्रह रहने गरेको छ। संकटको अवस्थामा विभिन्न लैंगिक समूहहरूको विभिन्न आवश्यकता, क्षमता र सामना गर्ने रणनीतिहरूको द्रुत मूल्यांकन गर्दै लैंगिक–उत्तरदायी र न्यायसंगत वातावरण माग गरिरहेका छन् महिला।
प्रकाशित: ११ पुस २०८१ ०५:२८ बिहीबार