असल साथी हुनु नै एक वरदान मानिन्छ। गर्जो टार्न, पढाइमा सहकार्य, सुखदुःखका बेलाको सामीप्यदेखि मनको कुरा बिनारोकटोक भनिन्छ साथीसँग। परिवारका सदस्य अनि जोई/पोइका बीच नसाटिएको परिदृश्य पनि भनिन्छ साथीलाई। संगीसँग गफिँदा मनको पीडा घटेको महसुस हुन्छ, मनमा आनन्द मिल्छ। यस्तो बहुगुणी मित्रताले मानिसको स्वास्थ्यमा के फलिफाप दिन्छ त? साथी हुनु अथवा नहुनुले मानिसको जीवनमा पार्ने स्वास्थ्य प्रभावको लेखाजोखा यो आलेखको लक्ष्य हो।
अमेरिकाको हावर्ड विश्वविद्यालय र अस्ट्रेलियाको युनिभर्सिटी अफ क्युन्सल्यान्डका अनुसन्धानकर्ताले गत वर्ष द ल्यान्सेट साइकियाट्रीमा एक बृहत् सर्भेमार्फत विश्वमा मानसिक रोगीको बोझको आंकडा सार्वजनिक गरे। उक्त अन्वेषणले विश्वका ५० प्रतिशत जनसंख्यालाई ७५ वर्ष उमेर पुग्दासम्ममा कुनै न कुनै किसिमको मस्तिष्कको रोगले सताउने देख्यो। विश्व स्वास्थ संगठन (डब्लुएचओ) को आंकडालगायतका अन्य अन्वेषणले चार जनामध्ये एक व्यक्तिमा दिमागी समस्या आउने देखाएकामा गत वर्षको रिसर्चले मस्तिष्क रोगको अझ बिकरालता बतायो। आखिर यत्रो भयानक दिमागी समस्या समाधानका लागि संसारको मानसिक चिकित्सकको संख्या पर्याप्त छ त भन्ने प्रश्न उठ्छ नै। डब्लुएचओको तथ्यांकले नै एक मानसिक चिकित्साकर्मीको भागमा एक लाख जनसंख्याको हेरचाह पर्ने देखाउँछ अनि नेपालको अवस्था अझ डरलाग्दो भएको यथार्थ लुकेको छैन नै। यत्रो ठूलो संख्यामा रहेका दिमागका बिरामीको उपचार कसरी गर्ने त? भन्ने प्रश्न उठ्छ नै।
औद्योगिकीकरणपछिको विकासले मानिसमा प्रतिस्पर्धात्मक मानसिकतामा अस्वाभाविक वृद्धि भयो। प्रविधिको विकास, परिवर्तित कार्यशैली अनि सामाजिक सञ्जालका कारण मानिसले आफ्नो र पारिवारिक सफलतालाई अरूको प्रगतिसँग दाँज्न थाले। आर्थिक उन्नति, शैक्षिक तरक्की र व्यावसायिक सफलताको तुलनात्मक मानसिकताले आफू अलि तल परेको महसुस गर्ने बित्तिकै व्यक्तिमा दिमागी तनाव बढ्यो। आर्थिक हैसियत गुम्नु, पढाइमा असफल हुनु अनि परिवारका सदस्य गुमाउनु जस्ता घटनाले व्यक्तिले हरेस खान्छ, मानसिक रोगको सिकार बन्न सक्छ। यसरी सोचे जस्तो जीवन नहुँदा दिमागी रोगको सिकार बन्न पुगेका व्यक्तिको संख्या अकासिएको अवस्थामा त्यसको समस्या के हो त?
स्टानफोर्ड युनिभर्सिटीको साइकियाट्री तथा बिहेबियरल साइन्सका प्राध्यापक किथ हम्फ्रिजका अनुसार मानसिक रोगीमा दरिएका अधिकांश बिरामीलाई चिकित्सकीय हेरचाहको जरुरत हुँदैन बरु सामान्य साथीभाइको परामर्श नै पर्याप्त हुन्छ। समान प्रकृतिको समस्यालाई विगतमा झेलिसकेको सँगीसँगको अनुभव साटासाट मात्रले पनि ओखतीको काम गर्ने ठान्छन् हम्फ्रिज। विगतमा छोरा गुमाएर सामान्य दिनचर्यामा फर्किएका मातापितासँग भलाकुसारी गर्दा भर्खरै सन्तान गुमाएकी आमाले सहज महसुस गर्छिन्, पीडा कम हुन्छ। आखिरमा त्यसो किन हुन्छ त?
हाम्रो दिमाग धेरै हिसाबमा दैनिक प्रयोग हुने कम्प्युटर जस्तै गरी चल्छ भन्दा अत्युक्ति हुँदैन। तत्काल प्रयोग हुने फाइलहरू सहजताका लागि थम ड्राइभमा अनि लामो समय आवश्यक नपर्ने फाइल कम्प्युटरको मुख्य भण्डारमा राखेझैँ मस्तिष्कले पनि तत्कालीन स्मरण र दीर्घकालीन हितका सम्झनालाई क्रमशः हिप्पोक्याम्पस र कर्टेक्स भन्ने दिमागका दुई फरक फरक स्थानमा राख्छ। थम ड्राइभको फाइल खोज्न सजिलो अनि हार्डडिस्कको तथ्यांक उत्खनन जटिल भएझैँ हाम्रा स्मरण पनि मोटामोटी त्यही हिसाबमा काम गर्छ। सन्तान बितेको केही वर्षपछि अभिभावकको दिनचर्या केही सहज हुनुमा कर्टेक्समा पछिल्ला दिनमा जम्मा भएका फरक प्रकृतिका सम्झनाहरूले भूमिका खेलेको देखिन्छ। धेरै फाइल रहेको हार्डड्राइभमा एउटा पुरानो डकुमेन्ट खोज्न समय लागेझैँ हुन्छ धेरै वर्षअघिको संगिन घटनाको स्मरण पनि।
अरूको जीवनमा भएको समान प्रकृतिको घटना विश्वासिलो मित्रको मुखबाट सुन्दा आफ्नो दुःखमात्र सोची बसेको व्यक्तिको दिमाग अन्य परिदृश्यमा भुल्ने हुँदा स्वयंको पीडा कम हुने विज्ञको राय देखियो। सन् २०२२ मा इन्टरन्यासनल जर्नल अफ मेन्टल हेल्थ सिस्टम्समा प्रकाशित अध्ययनले अरूका जीवनमा भएका समान प्रकृतिका तीता विगत सुन्दा बिरामीले सहजता हासिल गरेको मात्र देखिएन बरु जीवनको कठिन क्षणबाट छिटो सामान्य दिनचर्यामा फर्किएको देखियो। यद्यपि सहकर्मीको मुखबाट सुनेको अर्काको दर्दले व्यक्तिको दुःख के कति कारणले कम हुन्छ त्यसको बायोलोजिकल कारण भने हालका लागि अनुसन्धानकै गर्भमा छ।
साथीसँगको सुलहले मानसिक थकानलाई छिटो बिसेक पारी व्यक्तिलाई सामान्य दैनिकीमा फर्कन मात्र मद्दत गरेन बरु मानसिक चिकित्सकको दबाबलाई पनि कम गर्यो। बुझ्न सकिने अनि देखिएको पीडाको कारण मस्तिष्कमा परेको दबाब समान प्रकृतिको दर्द बिगतमा भोगिसकेको मित्रसँगको परामर्शले सहयोग गर्छ। तर आनुवांशिक तथा अन्य दिमागी चोटले व्यक्तिको मानसिकता खल्बलिएको हो भनेचाहिँ मनोचिकित्सकलाई भेट्न भने ढिलाइ गर्नुहुँदैन्, समय घर्कियो भने ठूलो क्षति पनि हुन सक्छ।
स्टानफोर्ड युनिभर्सिटीको साइकियाट्री तथा बिहेबियरल साइन्सका प्राध्यापक किथ हम्फ्रिजका अनुसार मानसिक रोगीमा दरिएका अधिकांश बिरामीलाई चिकित्सकीय हेरचाहको जरुरत रहँदैन बरु सामान्य साथीभाइको परामर्श नै पर्याप्त हुन्छ। समान प्रकृतिको समस्यालाई विगतमा झेलिसकेको सँगीसँगको अनुभव साटासाट मात्रले पनि ओखतीको काम गर्ने ठान्छन् हम्फ्रिज। विगतमा छोरा गुमाएर सामान्य दिनचर्यामा फर्किएका मातापितासँग भलाकुसारी गर्दा भर्खरै सन्तान गुमाएकी आमाले सहज महसुस गर्छिन्, पीडा कम हुन्छ। आखिरमा त्यसो किन हुन्छ त?
सन् २०१९ मा पिएलओएस वान जर्नलमा प्रकाशित अध्ययनले परिवारका सदस्य अनि साथीसंगीको सामीप्य पाएको व्यक्तिको दिमागी तथा शारीरिक स्वास्थ्य सबल हुने देख्यो। प्रकाशित फरक अन्वेषणले साथी नहुने व्यक्तिले दैनिक १५ खिल्ली चुरोट सेवन गर्ने मानिसले भोगे बराबरको स्वास्थ्य असर भोग्नुपर्ने ठान्यो। त्यस्तै अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक विलियम चोपकले संसारका विभिन्न एक सय देशका झण्डै तीन लाख मानिसको तथ्यांकलाई विश्लेषण गरी सन् २०१७ मा जर्नल अफ पर्सनल रिलेसनसिप्समा प्रकाशित गरेको एक आलेखले व्यक्तिको बहुआयामिक स्वास्थ्य र पेसागत सफलतामा स्वयंको भन्दा पनि परिवारका सदस्य र साथीको भूमिका महत्वपूर्ण देख्छन्।
बहुआयामिक प्रसन्नतामा साथी र परिवारमा कसको भूमिका अहम् हुन्छ भन्ने प्रश्नको सम्बन्धमा जहिले पनि संगीको सामीप्यताले उछिन्ने ठान्छन् डा. चोपक। पारिवारिक माहोलमा सदैव समान प्रकृतिको संवाद हुने अनि अनुशासित भएर बस्नुपर्ने भएकाले स्वच्छन्दतामा हुने साथीसँगको भेटघाटले व्यक्तिलाई प्रसन्न राख्ने ठान्छन् उनी। त्यस्तै बेलायतको युनिभर्सिटी अफ ब्राइटनकी प्राध्यापक रेबेका ग्रेबरले पृथक अनुसन्धानमार्फत असल साथी भएको व्यक्ति जटिल समस्याबाट छिटो पार पाउने देखाइन्। साथीको निकटताले खुसी बनाउने अनि प्रसन्नताले व्यक्तिलाई स्वस्थ बनाउनुका अतिरिक्त नवीन कामको सुरुवातका लागि ऊर्जा दिने भएकाले मानिसले बहुआयामिक सफलता हासिल गर्नु अन्यथा होइन।
अहिलेको अवस्थामा व्यक्तिले आफ्नो समयको ठूलो हिस्सा कार्यालयमा बिताउने भएकाले वर्क फ्रेन्ड्सको भूमिका अझ महत्वपूर्ण हुने ठान्छिन् स्टानफोर्ड युनिभर्सिटीमा साइकोलोजीकी प्राध्यापक क्याथरिन हिने। कार्यालयका असल मित्रसँगको संवादले प्रसन्नताका अतिरिक्त पेसागत सुझाव पनि दिने भएकाले त्यसको बेग्ले स्थान देख्छिन् उनी। त्यस्तै ड्युक युनिभर्सिटीबाट सन् २००१ मा प्रकाशित एक अध्ययनले सामाजिकरूपले एक्ले बस्न रुचाउने व्यक्तिमा मुटु रोगको संभाव्यता दुई गुणा अधिक रहेको पायो अनि व्यक्तिले पूर्ण जीवन व्यतीत गर्ने संभाव्यता पनि कम हुने देख्यो। हावर्डबाट प्रकाशित एक त्यस्तै अनुसन्धानले आफ्नो सफलताको उचाइमा रहेका बखत बनाएको साथी समूहले जीवनको उत्तरार्धको भोगाइलाई आनन्दमय बनाउने अनि व्यक्ति लामो समय बाँच्ने भन्छ।
विभिन्न स्थान र समूहलाई लक्षित गरी गरिएका दर्जनौँ अन्वेषणले असल साथी पाउनु नै स्वस्थ, खुसी अनि सफलताको घोतक देखे। अझ, जीवनको उत्तरार्धमा परिवारभन्दा पनि साथीसँगको सामीप्यताले जीवनलाई सुखमय र दीर्घजीवी बनाउने देखियो। पीडाका बखत साथीको दुई शब्दले ओखतीको काम गर्ने प्रमाणित भएपछि मित्रतालाई एक पृथक उपचार पद्धति मानियो फ्रेन्डसिप थेरापीका रूपमा। विनाखर्च धेरै प्रकृतिका समस्या समाधान गर्न सकिने फ्रेन्डसिप थेरापीको प्रबर्धन गरी स्वस्थ अनि दीर्घजीवी बनौँ। मित्रताले जीवनलाई सफल, स्वस्थ र खुसी बनाउने भएकाले असल साथी बनाउन लगानी गरौँ।
–पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।
प्रकाशित: ९ पुस २०८१ ०६:२१ मंगलबार