‘सेफोलोजी’ आधुनिक राजनीतिशास्त्रमा प्रयोग हुँदै आएको एउटा शब्दावली हो जसलाई निर्वाचनको मनोविज्ञानसम्बन्धी राजनीतिशास्त्रीय खोज मान्न सकिन्छ। बीसौँ शताब्दीको मध्यबाट सेफोलोजी शब्दावली बढी प्रयोगमा आयो। विश्व इतिहासमा अमेरिकी निर्वाचनमा सन् १९५० देखि निर्वाचनको सर्भेक्षण र विभिन्न कोणबाट अध्ययन गर्न थालिएको हो।
सेफोलोजी पदावलीले लोकतान्त्रिक शासन व्यवस्थामा हुने निर्वाचनसम्बन्धी अध्ययन गर्दछ। निर्वाचनको माध्यमबाट मतदाताको चाहना र छनोटको प्रवृत्ति, रोजाइ र समयक्रममा आइरहेका परिवर्तनहरूको अध्ययन गर्दछ। मत सर्भेक्षण सेफोलोजीको एउटा पक्ष र पाटो मात्र हो। विगतका निर्वाचन, वर्तमानमा हुँदै गरेका निर्वाचन र भविष्यमा हुने निर्वाचनहरूमा मतदाताको मनोवृत्ति र मनोविज्ञानको बृहत् अध्ययन हुने भएकाले यसलाई निर्वाचनसम्बन्धी विज्ञान पनि भन्ने गरिएको पाइन्छ।
निर्वाचनको माध्यमबाट मतदाताले कसरी आफ्ना प्रतिनिधि छनोट गर्दैछन् ? किन मतदानमा मतदाताको संख्या घट्दैछ वा बढ्दैछ ? निर्वाचनमा कुन–कुन तत्वले मतदाताहरूलाई प्रभावित पार्दैछन् ? मतदातालाई राजनीतिक दलहरूले कसरी प्रभावित पार्दैछन् ? किन कसैले कुनै निश्चित दललाई मत प्रकट गर्दछ ? किन कुनै पार्टीले बढी मत प्राप्त गर्यो ? किन के कारणले कुन दलको मतसंख्या घट्यो ? मतदाताको निर्वाचनसम्बन्धी मनोविज्ञानमा के कस्तो परिवर्तन हुँदैछ ? मतदाताले के कस्ता नयाँ विषय रोजे, खोजे ? मतदानपूर्वका समीक्षामा के कस्तो सत्यता देखियो ? निर्वाचनमा के कस्ता विकृति देखिए ? निर्वाचनपछि सत्तामा गएका प्रतिनिधिहरूबाट नागरिक र मतदाताले के कस्ता उपलब्धि प्राप्त गर्दैछन् ? मतदाताको बदलिँदो मनोवृत्ति र मनोविज्ञान कस्तो छ ? आदि।
यी र यस्ता विषयको वैज्ञानिक अध्ययन गरी गुणात्मक मात्र होइन, संख्यात्मकसमेत नतिजा सार्वजनिक गर्ने कार्य ‘सेफोलोजी’ विज्ञानका माध्यमबाट गरिने भएकाले यसलाई राजनीतिशास्त्रको प्रचलित भाषामा ‘चुनावी मनोविज्ञानसम्बन्धी अध्ययन’ भन्ने गरिएको हो।
विश्वमा निर्वाचन वा चुनावी अभ्यास प्राचीन ग्रिक शहरको एथेन्स सिटी स्टेटबाट भएको हो। जहाँ प्रजातान्त्रिक अभ्यास इशापूर्व ५०० वर्ष अघिदेखि सुरु भएको देखिन्छ। जहाँ सिधा प्रजातन्त्रको अभ्यास रहेको पाइन्छ। उनीहरूले आफ्ना प्रतिनिधि सिधै चयन गर्दथे। त्यसैबाट व्यवस्थापिका र न्यायपालिकाको समेत कार्य गर्ने गरिन्थ्यो।
इ.पू. ४०० मा एथेन्स राज्यको एटिकामा दुई लाख ५० हजारदेखि तीन लाख जनता थिए। जसमध्ये १८ वर्ष पुगेका पुरुषको संख्या एक लाख थियो। त्यस्ता नागरिकले सैनिक तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको थियो। राज्यको कर नतिर्ने र ऋण नतिर्नेलाई भोटको अधिकार थिएन। प्रतिनिधि छनोट तिनीहरू चिठ्ठा प्रणाली अर्थात् ‘सोरटिसन’ बाट गर्दथे। त्यसमा ढुङ्गाको प्रयोग गर्ने गरिएको देखिन्छ। जसमा सेतो ढुङ्गा हो भन्नेमा राखिन्थ्यो। कालो ढुङ्गा हुन्न भन्नेका लागि प्रयोग गरिन्थ्यो।
लोकतन्त्रमा आवधिक निर्वाचन एक प्रकारको सामाजिक करार पनि हो। चुनावको माध्यमबाट चुनिएर आएका प्रतिनिधिबाट वैधानिकरूपमा सरकार गठन, जनताको हक अधिकार र कर्तव्यको विधिबाट सञ्चालनका लागि सहजता, नागरिकका राजनीतिक तथा सामाजिक मुद्दालाई एउटा प्रक्रियाबाट हल गर्न बाटो खोल्छ। जनताले निर्वाचनका माध्यमबाट आफ्ना प्रतिनिधि चुनेर विधि, प्रक्रिया, प्रणाली, अन्तर्राष्ट्रिय प्रचलन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार शासनमा सहभागिता जनाउँछन्।
शासन प्रणालीमा जनताको अपनत्व तथा भूमिका हुने व्यवस्थालाई लोकतन्त्र वा प्रजातन्त्रको अर्थमा बुझिने गरिएको छ। चुनाव प्रजातन्त्रको अपरिहार्य विषय भए पनि आवधिक चुनाव मात्र लोकतन्त्र हुन सक्दैन। जस्तोसुकै निर्वाचनले जनताको खास प्रतिनिधित्व गर्न सक्दैन। पाँच–पाँच वर्षमा एकपटक चुनाव हुनु मात्रले लोकतन्त्र सफल बन्ने होइन। कस्तो चुनाव भयो ? कस्ता प्रतिनिधि कसरी छानिएर आए ? के कस्ता अजेन्डामा मत मागिए ? जनताको सहभागिता कसरी सुनिश्चित गरिए ? मतदाताले कुन दलको कस्तो अजेन्डालाई किन समर्थन गरे ? भन्ने जस्ता विषयहरूको खास अर्थ र माने हुन्छ।
प्रजातन्त्रमा जनतालाई प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू घरको ‘पिलर’ जस्तै हुन्। लोकतन्त्रमा जनताद्वारा गठित राजनीति दल देशको प्रणाली निर्माण गर्ने, बचाउने र समृद्ध पार्ने कार्यका सम्बाहक शक्ति पनि हुन्। विश्वको लोकतान्त्रिक प्रणालीको स्थापित दर्शन यो नै हो। यद्यपि चुनावी पूर्वानुमान, चुनावी मनोविज्ञान र निर्वाचनसम्बन्धी अध्ययन अर्थात् सेफालोजी विज्ञानमाथि नै अहिलेको भूराजनीतिमा विभिन्न कोणबाट प्रश्नैप्रश्न उठ्ने गरेका छन्।
सेफोलोजी भनिएको चुनावी मनोविज्ञानको अध्ययनबाट प्राप्त नतिजामाथि नै प्रश्न उठेकाले अन्योल र शंका बढेको हो। चुनावपूर्वका सबैजसो अध्ययनका गुणात्मक र संख्यात्मक नतिजामा धेरै भिन्नता आउन थालेका छन्। मत सर्भेक्षण, चुनावी मनोविज्ञानको अध्ययन र अनुसन्धानमा ठूला सञ्चारमाध्यम तथा व्यापारिक कम्पनीहरूको ‘हिडन इन्ट्रेस्ट’ ले ‘सेफोलोजी’ लाई नै प्रभावित तथा बदनाम पार्दैछ।
संघीय गणतन्त्रपछि नेपालमा पटकपटक निर्वाचन भए। २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पनि पूर्वअनुमान विपरित माओवादीले आश्चर्यजनक नतिजा ल्यायो। दुई पटकको संविधान सभाको निर्वाचन हुँदा पनि संविधान बन्न कठिन भएपछि संविधान नै नबन्ने हल्ला गरिएका थिए।
२०७२ वैशाख १२ गतेको भूकम्पले दलहरूलाई एकठाउँमा ल्यायो। २०७२ असोज ३ गते संविधान जारी भयो। इतिहासमा पहिलोपटक जनताले मानव अधिकार, लोकतन्त्रिक मूल्य–मान्यता, समावेशिता, धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता अधिकार पाए। नयाँ संविधानपछि पनि संघीय, प्रदेश र स्थानीय तहका निर्वाचन भएका छन्।
सिद्धान्ततः निर्वाचन आफैँमा प्रतिनिधि चयनको निर्णय मात्र नभई व्यापक जनसहभागिता, राजनीतिक अधिकारको उपयोग, सचेतनाको अभिवृद्धि, लोकतन्त्रको अभ्यास, आर्थिक–सामाजिक रूपान्तरण, राज्य सञ्चालनको आधार, आर्थिक कूटनीति, सुशासनको स्थापना र राष्ट्र विकासको सबल मार्गदर्शनसमेत हो। यद्यपि प्रत्येक निर्वाचन सामाजिक सञ्जालको बद्दो दुरूपयोग र ‘हाहाहु’ मा हुन थाल्यो। ‘सतही हल्ला’ को भरमा जनताले मतदान गर्ने संस्कृति बढ्दै गएको देखिन्छ।
लोकतन्त्रमा आवधिक, स्वच्छ, स्वतन्त्र एवम् जनसहभागिता सुनिश्चित भएको निर्वाचन अपरिहार्य विषय मानिन्छ। निर्वाचन स्वतन्त्र तथा स्वच्छ हुनु सिङ्गो राज्य सञ्चालनमा सकारात्मक प्रभाव पार्ने महत्वपूर्ण विषय हो। यसको अभावमा समाजको द्वन्द्व व्यवस्थित तरिकाले न्यूनीकरण हुन सक्दैन।
जनताको लोकतन्त्र, मानव अधिकार, शासन व्यवस्था सञ्चालनमा नियन्त्रण गरी आफ्ना राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता पूर्तिका लागि निर्वाचनको भूमिका हुन्छ। जनअधिकारलाई संस्थाकरण, संवैधानिकीकरण तथा वैधानिकीकरण गर्ने काम निर्वाचनको माध्यमबाट अपेक्षा गरिने भएकाले निर्वाचनसम्बन्धी मनोविज्ञानको अध्ययन गर्ने सेफोलोजीलाई थप वैज्ञानिक, तथ्यपरक, वस्तुगत तथा विश्वासयोग्य बनाउन आवश्यक देखिन्छ।
– सिलवाल अधिवक्ता हुन्।
प्रकाशित: ३० मंसिर २०८१ ०६:४३ आइतबार

