२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

जलवायु सङ्कटमा दिगो विकास

नेपालको विछट्टै सुन्दर हिमवत्खण्ड भूबनोटमा रहेको अतुलनीय सूक्ष्म जलवायु विविधता उन्नत प्रकृति संरक्षक प्राचीनतम् सभ्यता, संस्कार, संस्कृतिअनुरूपको जीवन पद्धतिबाट संरक्षित एवं व्यवस्थित भइआएको थियो। तर यो विशिष्ट पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनका कारण सङ्कटासन्न अवस्थामा पुगेको छ। यस भूखण्डमा रहने वायुमण्डलीय अवस्थिति तथा वायु प्रवाह प्रकृतिका कारण हिमवत्खण्ड क्षेत्रीय एवं विश्वव्यापीरूपमा उत्सर्जित वायु प्रदूषण विसर्जनको एक प्रमुख स्थल रहेको अर्को तथ्य पनि अध्ययनबाट खुल्न आएको छ।  

क्षेत्रीय एवं विश्वव्यापीरूपमा वायु प्रदूषण उत्सर्जनमा भएको भारी वृद्धिसँगै परापूर्वकालदेखि कञ्चन रहँदै आएको हिमवत्खण्डको वायुमण्डल तथा भूसतह अहिले आएर अत्यन्तै प्रदूषित बनेको छ र विद्यमान जलवायु तीव्र गतिमा परिवर्तन भइरहेको छ। फलस्वरूप यस भूखण्डको पारिस्थितिकीय प्रणाली नराम्रोसँग खल्बलिनुका साथै मानव स्वास्थ्य, कृषि उत्पादकत्व, जलस्रोत, जैविक विविधता, पर्यटन, ऊर्जा, बसोबास तथा पूर्वाधार आदि सर्वत्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ।  

असामान्य प्रकृतिका जलवायुजन्य ठुल्ठूला प्रकोप र जनधनको क्षतिका घटनाहरू ह्वात्तै वृद्धि हुनुका साथै सीमान्तकृत जनसमुदायको जीविकोपार्जन अत्यन्तै कठिन बन्न पुगेको छ। यस्ता प्राकृतिक परिघटनाले नेपाली जनसमुदायलाई अत्यन्तै स्तब्ध बनाएको छ। जलवायु परिवर्तनजन्य समस्या नेपाल र नेपालीका लागि नखाएको विष सरेजस्तै भएको छ। जलवायु परिवर्तनमा हाम्रो भूमिका नगन्य भए तापनि हामी नै यसबाट अति प्रभावित र जोखिमपूर्ण अवस्थामा पुर्‍याइएका छौँ। स्वनियन्त्रण र स्वनिर्णयभन्दा परको र झट्टै समाधान गर्न नसकिने बहुआयामिक प्रकृतिको यस समस्यासँग जुध्न उपलब्ध अवसरहरूको बुद्धिमतापूर्ण सदुपयोग गर्दै अनुकूलनीय क्षमता विकास तथा असर न्यूनीकरणका प्रभावकारी उपायहरू सुझाइ कार्यान्वयन गर्न आवश्यक देखिन्छ।  

नेपाल विभिन्न महासन्धि, अभिसन्धि तथा सम्झौताहरूको पक्ष राष्ट्र भई अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन र असरबारे आफ्नो सरोकार र चासो अभिव्यक्त गर्दै आएको छ। तद्नुसार राष्ट्रिय जलवायु परिवर्तन नीति, वातावरण संरक्षण ऐन तथा नियमावली, स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय खाका, जलवायु उत्थालशील योजना तथा बजेट तर्जुमा निर्देशिका एवं लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना तर्जुमा गरी लागु गर्ने प्रयत्न गरिरहेको पनि छ। राष्ट्रियरूपमा निर्धारित योगदान र राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न आवश्यक स्रोतको अनुमान तयार गरिसकिएको छ।  

यसैगरी राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिम मूल्याङ्कन एवं दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीतिक प्राथमिकता र क्षेत्रगत लक्ष्यहरू तय गरी कार्यक्रमहरू कार्यान्वयन भइरहेका पनि छन्। तर जलवायु परिवर्तन एक बहुपक्षीय विषय भएकाले दरिलो अन्तरक्षेत्रगत निकायहरूबीच समन्वय गर्न नसकिएको, बुझाइमा एकरूपता ल्याउन नसकिएको, समग्र विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्न बाँकी नै रहेको, संस्थागत क्षमताको विकास भइनसकेको, वित्तीय स्रोत नजुटिरहेको एवं आवश्यक ज्ञान तथा प्रविधिमा पहुँच नरहेकाले राष्ट्रिय निर्धारित योगदान तथा राष्ट्रिय अनुकूलन योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन नसकिएकाले अपेक्षित लक्ष्य प्राप्ति हुन नसकेको सम्बन्धित निकायहरू स्वीकार गर्छन्।  

चालु १६औं योजनाले थुप्रै सवाल नीतिगतरूपमै सम्बोधन गर्नुपर्ने अवस्थाका बाबजुद मुलुकको जलवायु संवेदनशीलतालाई केन्द्रमा राखी क्षमता अधिवृद्धिसहित विकास व्यवस्थापनमा वातावरण संरक्षण र जलवायु उत्थानशीलताको आन्तरिकीकरणमा नेपाल अन्तर्राष्ट्रिय मञ्चमै उदाहरण बनेको दाबी पेस गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने नेपाल र नेपालीको मौलिक हकलाई साकार तुल्याउने कुरामा आश्वस्त पार्न खोजेको देखिन्छ। यसका लागि जलवायु उत्थानशीलता र समावेशी विकास, जलवायु परिवर्तनका मुद्दाहरूको अन्तर्राष्ट्रियकरण, स्वस्थ समाजका लागि प्रदूषण नियन्त्रण, वातावरणीय सेवा तथा हरित विकासका लागि दिगो वन व्यवस्थापन, पारिस्थितिकीय प्रणालीका लागि जैविक विविधताको संरक्षण, तुलनात्मक लाभमा आधारित हरित अर्थतन्त्रको प्रवद्र्धन, हरित उत्थानशील र समावेशी विकासका लागि जलवायु वित्त परिचालन, वातावरण तथा जलवायु परिवर्तनका सवालहरूको मूल्यप्रवाहिकरण र स्थानीयकरण एवं अध्ययन अनुसन्धानलाई प्राथमिकीकरण गर्ने रूपान्तरणकारी रणनीतिक कार्यक्रमका रूपमा अघि सारेको छ।  

झ्वाट्ट हेर्दा उल्लिखित जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति र कार्ययोजनाहरू सुन्दर नै देखिन्छन् तर नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्दा लिइएका वैज्ञानिक तथ्यगत आधारहरू कमजोर तथा लक्ष्यहरू अङ्कमा सुनिश्चित गर्न नसकेकाले १६औं योजनाले अघि सारेका रणनीतिक कार्यक्रमका उद्देश्यहरू प्राप्त हुनेमा प्रशस्त सन्देह गर्न सकिन्छ। सम्भवत: विश्वव्यापी र केही हदसम्म क्षेत्रीय स्तरमा प्रक्षेपित जलवायु परिवर्तन र अत्यन्तै सीमित मापन तथा अपूर्ण अध्ययनका आधारमा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरिएको भनेर बुझ्न सकिन्छ किनभने हिमवत्खण्ड नेपालको जटिल भूबनोटमा विद्यमान सूक्ष्म जलवायु एवं मौसमी विविधताको आधारभूत तत्थ्याङ्कन र नक्साङ्कन गरिएको जानकारीमा आएको छैन। यसरी आधारभूत तत्थ्याङ्कविना तर्जुमा गरिएका जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति तथा कार्यक्रमहरूले भूधरातलीय यथार्थलाई व्यावहारिकरूपमै प्रतिनिधित्व गर्न नसक्ने भएबाट राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिमलाई निरूपण गर्न धेरै कठिन देखिन्छ।

यिनै जलवायु परिवर्तन नीति, रणनीति, कार्यनीति तथा कार्यक्रमहरूअनुरूप आ.व. २०६८/२०६९ देखि राष्ट्रिय बजेटमा जलवायु सङ्केतको अभ्यास गरिँदै आएको र हाल प्रदेश तहमा समेत विस्तार गरी प्रदेशस्तरीय जलवायु परिवर्तन रणनीति र कार्ययोजनाअन्तर्गत २६३ भन्दा बढी स्थानीय तहमा स्थानीय अनुकूल योजना कार्यान्वयन हुन पुगेका छन्। स्मरण रहोस् कि राष्ट्रिय जलवायु परिवर्तन अनुकूलन कार्यक्रममा नै सूक्ष्मस्तरीय जलवायु परिवर्तनको भरपर्दो प्रक्षेपण उपलब्ध नभएकाले अपेक्षित अनुकूलन रणनीति तथा कार्यक्रमका उद्देश्यहरू प्राप्त हुनेमा सन्देह व्यक्त गरिएको छ। लोकयुक्ति ‘अह्राएको बुद्धि र भरेको खर्चले कहिल्लै पुग्दैन’ भने जस्तै सङ्कटासन्न जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न लिइएका राष्ट्रिय नीति, रणनीति तथा कार्यक्रमहरू आफैँमा निश्प्रभावी देखिएका छन्।  

त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला, कीर्तिपुरले झण्डै डेढ दशकअघि नै हिमवत्खण्ड नेपालको जटिल भूबनोटमा रहने वायुमण्डलीय अवस्थिति, अतुलनीय विलक्षण र विविधतायुक्त सूक्ष्म स्तरीय जलवायु र जलवायु परिवर्तनका छुट्टै विशिष्ट प्रक्रिया तथा असरहरूबारे गहिरो अध्ययन अनुसन्धानका लागि नेपाल सरकारसँग संस्थागतरूपमा प्रस्ताव गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरबाट विश्वव्यापीरूपमा प्रक्षेपित तत्थ्याङ्कहरू आफैँमा ठुल्ठूला चक्ला क्षेत्रका औसतका रूपमा हुने भएकाले विश्वव्यापी तथा क्षेत्रीय स्तरमा के कस्तो हुँदैछ भन्ने जानकारी प्राप्त गर्न सकिने भए तापनि हाम्रो जस्तो जटिल भू–खण्डमा रहेको विविधतापूर्ण विशिष्ट सूक्ष्म स्तरीय जलवायुको वितरण र परिवर्तनका प्रक्रियाहरूको यथार्थपरक चित्रण गरी आवश्यक ज्ञान हासिल गर्न सम्भव हुँदैन। विश्वव्यापी एवं क्षेत्रीय स्तरमा प्रक्षेपित जलवायु परिवर्तन तत्थ्याङ्कहरूका आधारमा तर्जुमा गरिएका अनुकूलनका कार्यक्रमहरू स्वभावत: प्रभावकारी बन्न सक्दैनन्।  

नेपाल भूखण्डमा विद्यमान सूक्ष्म स्तरीय जलवायु विविधता र वितरणको तत्थ्याङ्कीकृत नक्साङ्कन तथा भावी विभिन्न कालखण्डमा परिवर्तित भइरहन सक्ने सूक्ष्म स्तरीय जलवायु विविधता र वितरणको भरपर्दो भविष्यवाणी हुन सकेमा मात्रै वर्तमान अवस्थामा राष्ट्रिय तथा स्थानीय स्तरमा उपलब्ध सूक्ष्म स्तरीय जलवायु वितरणको बुद्धिमत्तापूर्ण सदुपयोग र भविष्यमा हुन सक्ने जलावयु परिवर्तन रोकथाम तथा परिवर्तित जलवायुको असर न्यूनीकरणका लागि परिणाम अंकमा सुनिश्चित गरिएका अनुकूलनका कार्यक्रमहरू तर्जुमा एवं प्रभावकारी कार्यान्वयन गर्न सम्भव हुन सक्छ। सहरी विकास मन्त्रालय, नयाँ सहर आयोजना समन्वय कार्यालयको सहकार्यमा नारेल प्रयोगशालाबाट डुम्रे–भन्सार नयाँ शहर विकास क्षेत्रमा गरिएको विद्यमान सूक्ष्म जलवायु नक्साङ्कन तथा शहरी विकासले स्थानीय जलवायु वितरणमा पर्न सक्ने असर र अनुकूलन विधि पद्धतिको विकासबारे गरिएको अनुसन्धानका उपलब्धिहरूले परिणाम अंकमा सुनिश्चित गरिएका राष्ट्रिय एवं स्थानीय स्तरका अनुकूलनका कार्यक्रमहरू हाम्रै विश्वविद्यालय स्तरीय अनुसन्धानहरूबाटै तर्जुमा गर्न सकिने देखाएको छ।

उपलब्ध राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक जनशक्ति र क्षमताको सदुपयोग तथा भावी वैज्ञानिक तथा प्राविधिक क्षमता विकाससँग जोडिएको विषय र राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिमलाई न्यूनीकरण गर्न अपरिहार्य विश्वविद्यालयबाट प्रस्तावित अध्ययन अनुसन्धान विगत डेढ दशकदेखि नेपाल सरकारले विचाराधीनमा नै राख्नु विडम्बनापूर्ण छ। १६औं राष्ट्रिय योजनाले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक सत्यतथ्यको अभाव र अध्ययन अनुसन्धानमा देखिएका कमी/कमजोरीलाई मनन् गर्दै जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क र प्रमाण सङ्कलन, अद्यावधिक र प्रमाणीकरण प्रणाली स्थापना, नीति तथा कार्यक्रमलाई प्रमाण वा तथ्यमा आधारित बनाउने र अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय तथा अनुसन्धानमा संलग्न अन्य संस्थाहरूमा लागानी बढाउने र साझेदारी गर्ने रूपान्तरणकारी रणनीति तय गरेसँगै राष्ट्रिय एवं विश्वविद्यालय स्तरमा अध्ययन अनुसन्धानमा उचित प्रोत्साहन तथा जलवायु परिवर्तन उत्थानशीलता एवं असर न्यूनीकरणका कार्यक्रमहरूमा वैज्ञानिकता थपिनेमा आश गर्न सकिन्छ तर भरै पर्न सक्ने अवस्थाचाहिँ बनिसकेको छैन।– रेग्मी त्रिवि नारेल प्रयोगशालाका प्रमुख वैज्ञानिक हुन् । 

प्रकाशित: १९ मंसिर २०८१ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App