८ पुस २०८१ सोमबार
image/svg+xml
विचार

मभित्रको सचित्र चीन

प्रधानमन्त्री केपी बा चीन घुम्न जानुभएको खबरले देश तरंगित छ। एउटाले एकथोक भन्छ, अर्कोले अर्कै। केका लागि जान लाग्नुभएको उहाँलाई मात्र थाहा छ। शायद, उहाँका केही नजिकका मानिसलाई थाहा होला कि त उहाँको सत्ता साझेदारहरूलाई। देशको जर्जर आर्थिक अवस्थालाई हेर्दा कतै यो भिक्षाटन पनि हुन सक्छ भन्ने मेरो अड्कल। नहुन पनि सक्छ। कसैकसैलाई देखाउन पनि हुन सक्छ। कसै कसैको रिस फेर्न पनि हुन सक्छ। जे पनि हुन सक्छ।

मलाई बाल्यकालमा आफ्ना साथीले ललिपप खाएर देखाउँदा जाग्ने इष्र्या मेटाउन बाउ आमासित ढिपी कसेर उसको भन्दा राम्रो चकलेट खाएर देखाएको सम्झना आउँछ। बाल्यकालको कुनै कुनै सम्झनाले हामीलाई खुसी अनि रमाइलो पनि पारिरहेको हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीका लेखहरू पत्रपत्रिकामा आइरहेको हुन्छ, त्यसमा सबभन्दा पहिले उहाँ सब पाठकलाई छोराछोरी भनी सम्बोधन गर्नुहुन्छ। त्यो लेख पढ्ने सबै उमेर समूहका पाठक उहाँका छोराछोरी सरह नै भए। म पनि कहिलेकाहीँ पढ्छु। त्यसकारण मैले पनि उहाँलाई बा भनी सम्बोधन गर्न कर लाग्यो।

केपी बाको चीन भ्रमणको खबरले मेरो बाल्यकालका केही घटनाको सम्झना गराइदियो। मेरो टोल, भक्तपुर दरवार स्क्वायरको छेवैमा। टोलमा एउटा सानो पुस्तक पसल थियो। अनि त्यहाँ रातो किताबहरू मात्र पाइन्थ्यो। मेरो बालापनको जिज्ञासा किन सबै पुस्तक राता छन् ? पछि पो थाहा भयो, ती सबै माक्र्सवाद, लेनिनवाद, माओवाद अनि कम्युनिस्ट मेनिफेस्टो र कम्युनिस्ट विचारप्रधान पुस्तक रहेछन्। तर बालमनोविज्ञानलाई आकर्षित गर्ने एउटा पत्रिका पनि हुन्थ्यो त्यहाँ, ‘चीन सचित्र’। यो करिब ४७/४८ वर्ष पहिलेको कुरा। मेरो बुबाको हात समाई पुग्थेँ त्यहाँ र चीन सचित्र ओल्टाइपल्टाइ हेर्थेँ। चीनले थालनी गरेका विविध विकासका गतिविधि, निर्माण कार्य, कृषि र उद्योगहरूको विकासका झलकहरू सचित्र छापिएको हुन्थ्यो। ती चित्र आज पनि मेरो मन मस्तिष्कमा ताजै छ।

नेपाली भाषामा समेत छापिएको हुन्थ्यो त्यो पत्रिका। तर म पढ्न होइन चीनको विकासका गतिविधि, भर्खरै बन्दै गरेका विशाल चौडा सडकहरू, नयाँ शहरहरू, आधुनिक कृषिका उपकरणहरूको तस्बिरहरू हेर्नमै रमाउँथे। चिनियाँ सर्वोच्च नेता माओको देहावसानपछि उहाँको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिएका तस्बिर, उहाँलाई मन पराउने चिनियाँहरूको भावविह्वल दृश्यहरू पनि मैले त्यही चीन सचित्रमा हेर्ने मौका पाएको थिएँ। ऊ बेलै चिनियाँ पुस्तकहरू, पत्रपत्रिकाहरू नेपालीमा अनुवाद भई आउनुले नेपाल–चीन मित्रता कति गहिरो र गाढा रहेछ भन्ने आँकलन गर्न गाह्रो परेन आज मलाई।

एकचोटि चीन प्रत्यक्ष हेर्ने रहर जाग्थ्यो ती चिनियाँ विकास र प्रगतिका सुन्दर तस्बिरहरू हेरेर। पुस्तक पसले साहूजी मेरो बाको चिनजानको भएकाले बेरोकटोक पत्रिका हेर्न पाउँथे। म पछि एक्लै पनि जान थालेँ। साहूजी एकदम गम्भीर स्वभावका हुनुहुन्थ्यो। कम बोल्ने, हाँस्दै नहाँस्ने। एकचोटि सधैँझैँ चीन सचित्र पल्टाउँदै थिएँ, केमा हो कुन्नि अल्झेर एउटा पन्ना झ्यार्रै च्यातियो । पर्‍यो फसाद। त्यसपछि साहूजीको बडेमानको पञ्जाको चड्कन गालामा परिहाल्यो। चीन सचित्र हेर्न गएको मैले तीन त्रिभुवनको दर्शन पाएँ। त्यो चड्कनको सम्झना अझै ताजा छ। रन्किएको कलिलो गाला सुम्सुम्याउँदै फर्केँ घर। म शायद १० वर्षको जति थिएँ हुँला।

हेमराज ज्ञवाली त्यो बेला भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो। मेरो बुबाका मित्र। पारिवारिक मित्रता सुमधुर थियो। ज्ञवाली परिवारले सिन्धुपाल्चोकको तातोपानीमा पारिवारिक वनभोजको आयोजना गरेको थियो। मैले पनि सहभागी हुने अवसर पाएँ परिवारका साथ। वनभोजको कार्यक्रमपछि नेपाल–चीन सिमाना कोदारीको नेपाल–चीन मितेरी पुल हेर्ने कार्यक्रम बन्यो। म खुसी भएँ चीनमा पाइला टेक्ने अवसर पाइने भयो भनी। तर मितेरी पुलको सीमारेखा पुग्नुअघि नै चिनियाँ सुरक्षाकर्मीले परबाटै हातको इशाराले सीमा ननाघ्न सावधान गराए। तैपनि सीमाबाट देखिने चिनियाँ भूमिको दर्शन पाइयो।

चीन सचित्रमा देखेका जस्तै चिनियाँ भवनहरू देख्नसम्म पाइयो। मेरो चीन हेर्ने रहरले गर्दा वनभोजमा जानुअघि त्योबेलाको मेरो बालहठको अभिव्यक्ति ‘बा म पनि चीन जाने’ भन्ने वाक्य अझै मेरो मनमस्तिष्कमा ताजै छ। चीन सचित्रको माध्यमबाट चीनको सुरुवाती विकासको गति नियालेको सम्झना अझै झल्झली छ। पुस्तक पसले साहूजीको निधनपछि पसल पनि बन्द भयो। त्यसपछि मैले चीन सचित्र देख्न पाइन। तर सञ्चारको दु्रत विकासले संसार साँघुरियो। पृथ्वीको कुनकुनामा के भइरहेको छ तुरुन्तै हातहातै हेर्न पढ्न सकिन्छ अहिले।

५० वर्षमा चीनले विकासको शिखर चुमिसकेको छ। विश्वको दोस्रो सम्पन्न मुलुक बनिसकेको चीन पहिलो मुलुक बन्न क्रियाशील छ। विज्ञान प्रविधिको क्षेत्रमा गरेको चिनियाँ प्रगति लोभलाग्दो छ। अनुकरणीय छ। सारा विश्वको ध्यान आफूतिर तान्न सफल भएको छ चीन। चिनियाँ दु्रत विकासको गतिलाई पछ्याउन गाह्रो हुन्छ हामीलाई। सँगै टाँस्सिएको छिमेकी चीनसित नेपाल भने अझै टाढा छ। हिजोआज देखिने चीनका श्रव्यदृश्यहरूले झनै् लोभ्याउँछ चीन पुग्न।

केपी बा चीन भ्रमणका लागि बिदाइको हात हल्लाउँदै हुनुहुन्थ्यो। म टाढा थिएँ। मैले ‘बा म पनि चीन जाने’ भनेको उहाँले सुन्नु नै भएन। लुसुलुसु चीनतिर लाग्नुभयो।

प्रकाशित: १८ मंसिर २०८१ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App