दमननाथ ढुङ्गानाको नाम लिनेबित्तिकै अलि होचो, सदैव हसिलो, तार्किक र प्रजातन्त्रप्रति सदैव निष्ठा राख्ने ब्यक्तित्वको याद आउँछ। काठमाडौँको बत्तीसपुतलीमा बसोबास गर्नुहुने दमननाथको घरमा २०४४ सालमा म गइरहन्थे। उहाँको निवासमा विशेषगरी कानुन विधाका विभिन्न व्यक्तिका साथै नेपाली काङ्ग्रेस (तत्कालीन प्रतिबन्धित) निकट नेता कार्यकर्ताको उपस्थिति भैरहन्थ्यो। सबैसँग हंसमुख भएर प्रजातन्त्र र त्यसबेलाका राजाबारे तर्कसंगत ब्याख्या गर्दा हामीलाई सुनिरहुँ जस्तो लाग्थ्यो। बत्तीसपुतलीमै प्रा. शिव नेपाल, निरु नेपालको घरमा भाडामा बस्ने हामी लोग्ने स्वास्नी बस्ने हुँदा दमन दाइ र वरिष्ठ पत्रकार किशोर नेपालको घरमा जाने गर्थ्याैं।
एकदिन नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जगन्नाथ आचार्य, नेता दामोदर गौतम, टेकबहादुर चोख्याल, जानकी कुइँकेल, काभ्रेका काङ्ग्रेस नेता इन्द्रमणि अधिकारी लगायतका व्यक्तित्वको उपस्थिति थियो। टुप्लुक्क म पनि पुगेँ। २०४२ सालको सत्याग्रहमा ललितपुरस्थित नख्खु कारागारमा झण्डै १० महिना जति नजरबन्दमा परेकाले नेता जगन्नाथ दाइसँग मेरो घनिष्ठता थियो। कारागारभित्र समयपनि बिताउन सजिलो हुन्छ भन्नका लागि हामी गीत गाउने, कविता सुनाउने, बिपी, गणेशमान, किसुनजी, महात्मा गान्धी, अब्राहम लिंकन आदि जस्ता विशिष्ट व्यक्तित्वबारे प्रवचन दिने कार्य पनि गर्ने गर्थ्याैं। लोकेश ढकाल, भेषराजले कविता सुनाउने, मैले गीत गाउने, राधेश्याम जोन्छे, प्रकाश नेपाली, पुरञ्जन आचार्य, होमराज दाहालले प्रवचन दिने गर्थे।
मेरा गीतबाट प्रभावित भएर जगन्नाथ आचार्य, बासु रिसाल, योगप्रसाद उपाध्याय ‘नन्दजी, तपाई देउडा गीत सुनाउनुहोस्’ भन्ने गर्नुहुन्थ्यो। बत्तीसपुतलीमा दमन दाइको घरमा जगन्नाथ दाइले तिनै कुरा सुनाउनुभयो। खुसी हुँदै राजनीतिमा संस्कृति र संगीतको आवश्यकता अपरिहार्य छ भन्दै दमननाथले देउडा गीत सुनाउन अराउनुभयो। त्यसबेला रेडियो नेपालमा स्थापित लोकगायकका रूपमा आफूलाई उभ्याइसकेको थिएँ।
मेरो स्वर अत्यन्तै मीठो छ भन्थे। गीत सुनेपछि दमन दाइले देशमा कुनै न कुनै दिन परिवर्तन हुनेछ, त्यसबेला तपाईँको गीतको महत्व बढ्नेछ भन्नुभएको थियो। बीचमा थप्दै टेकबहादुर चोख्यालले गीतसंगीतमार्फत जोशीजीले सुदूरपश्चिमको लोकसंस्कृतिको सेवा गर्नुभएको छ भन्नुभएको हिजो जस्तै लाग्छ। कहिलेकाहीँ दामोदर गौतम, इन्द्रमणि अधिकारी यसबारे चर्चा गर्नुहुन्छ। नियतिले ती महामनाहरूले हामीलाई छाडेर गए। दमन दाइ साथमा हुनुहुन्थ्यो। कालले उहाँलाई पनि बाँकी राखेन।
दमन दाइसँगका केही अविस्मरणीय क्षण लुकेका छन् मसँग। २०४६ सालको जनआन्दोलनमा थोरै समय सडकमा गीत गाएँ। केही दिन कारागारमा थुनिएँ पनि। तर २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्व पंक्तिसँगै उभिएर गीतमार्फत नागरिक आवाज धेरै ठाउँमा खुला सडकहरूमा सुनाउँदा हजारौँ/लाखौँ लोकतन्त्रप्रेमीबाट स्वाबासी पाएको म कदापि भुल्न सक्दिन।
भविष्यद्रष्टा हुनुहुन्थ्यो दमननाथ ढुङ्गाना। नागरिक सभा सञ्चालनपूर्वका बैठकहरूमा उहाँको उपस्थिति गर्विलो हुने गथ्र्यो। राय सल्लाह दिने गर्नुहुन्थ्यो। जटिल कुरालाई सरल ढंगबाट समस्या समाधान गर्नु उहाँको विशेष खुबी थियो। अहिलेको जस्तो बेथिति, अराजक, मर्यादा विपरितको गन्तव्यको नागरिक आन्दोलन थिएन त्यसबेला।
व्यवस्थित थियो, मर्यादित र अनुकरणीय थियो। त्यसैले मानवअधिकारकर्मी कृष्ण पहाडी, चरण प्रसाई, डा.सुन्दरमणि दीक्षित, कवि कलाकार अर्जुन पराजुली, पंक्तिकार, रुविन गन्धर्व, सडक नाटककार अशेष मल्ल, सुनिल पोख्रेल, जनवादी गायक जेबी टुहुरे, रामेश, रायन, जीवन शर्मा, बद्री पंगेनी लगायतका श्रष्टाहरू लोकतन्त्रको लक्ष्मण रेखाभित्र पुगेर आन्दोलन गथ्र्यौँ। प्रतिगमन कदमको विरोध शालीन ढंगले गर्थ्याैं।
यो कुरालाई दमननाथ ढुंगाना सूक्ष्मतवरले मूल्यांकन गरिरहनु हुन्थ्यो। र, कतै केही त्रुटि भए यहाँनेर सच्याउँदा कस्तो होला? भनी रायसमेत माग्नुहुन्थ्यो। २०६२/०६३ सालको जनआन्दोलन सफल पार्न दमन दाइ र कृष्ण पहाडी, श्याम श्रेष्ठ, डा. देवेन्द्रराज पाण्डेको उपस्थितिमा कहिले डिल्लीबजार, कहिले बानेश्वर त कहिले अनामनगरमा गोप्य बैठक बस्ने गथ्र्यौँ। निकै सुझबुझका साथ हामीले आन्दोलन सञ्चालन गरेका थियौँ। जसको सफलताको श्रेय दमननाथ ढुंगानालाई पनि जान्छ।
२०१६ सालको संसद्अन्तर्गत प्रतिनिधि सभाको सभामुख सन्तनेता कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो भने बहुदलीय व्यवस्था पुनःआगमनपछि बनेको प्रतिनिधि सभाको सभामुख दमननाथ ढुंगाना हुनुहुन्थ्यो। किसुनजीको विचार अवलम्बन गर्दै दमननाथले पनि ‘सरकार सत्तारुढ दलको, संसद् प्रतिपक्ष दलको’ भन्ने नीति अवलम्बन गर्नुभयो। राजनीति चेत र संसदीय संस्कार नबुझेर नेपाली काङ्ग्रेसका केही सांसदले उहाँको विरोध पनि गरे।
प्रधानमन्त्री गिरिजाप्रसादले संसदीय प्रणालीमा यस्ता कसराले असर नपार्ने भन्नुभएको कुरा बाहिर आउने गथ्र्यो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता तथा महासचिव मदन भण्डारीले त राजनीतिक शैलीमा पातको टपरी र दुनाको संज्ञा पनि दिनुभएको थियो। अर्थात् काङ्ग्रेसलाई अलिक नजिक मान्ने जस्तो देखियो सभामुखको संसद् सञ्चालन विधि भन्नुभएको चर्चा थियो। तर राजनीतिक विश्लेषकहरू सभामुखको कार्यशैली तटस्थ रहेको बताउँथे।
२०५२ फागुन १ गतेबाट माओवादीबाट ‘जनयुद्ध’सुरु भयो। सुरुदेखि नै उहाँ यो विद्रोह राष्ट्र र जनताप्रति अहितकारी कदम हो, समयमा नै सरकार र माओवादी पक्षबीच वार्ता हुनुपर्छ, द्वन्द्व निम्त्याउनुहुन्न भन्ने गर्नुहुन्थ्यो। यसका लागि पद्मरत्न तुलाधरसँग छलफल गरी माओवादीका शीर्षस्थ नेताहरूसँग पटक–पटक वार्ता गर्नुभयो।
देश अराजकतामा गैराखेको बेला २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएपछि सरकारले माओवादीसँग नमिली शान्ति हुन सक्दैन, अब देश अराजकतामा धकेलियो, राजसंस्थाको भविष्य सोचनीय छसमेत भन्नुभयो। होलेरी काण्डको उहाँ विरोधी हुनुहुन्थ्यो। मानिसलाई मारेर देशमा शान्ति बहाली हुनै सक्दैन भन्ने कुरामा अडिग हुनुहुन्थ्यो। कतिपयले उहाँलाई माओवादी नेतासँग मिलेकोसम्म आरोप लगाए। यसलाई उहाँले हाँसी हाँसी जवाफ दिँदै लोकतन्त्रमा सबैलाई आफ्ना विचार राख्ने स्वतन्त्रता हुन्छ, वाक्स्वतन्त्रता भनेकै यही हो भन्नुहुन्थ्यो।
देशमा शान्ति कायम राख्न अन्तिम समयसम्म सरकार र नेकपा माओवादीसँग मध्यस्थकर्ताका रूपमा रहेर महत्वपूर्ण भूमिका खेल्नुभयो। वरिष्ठ अधिवक्तासमेत रहनुभएका दमननाथले २०४६ सालको जनक्रान्तिपछि बनेको संविधान सुझाव आयोगको सदस्य बनेर कानुनको मर्यादा स्थापित गर्नुभयो। त्यसपछिको अन्तरिम संविधान निर्माणमा उहाँको भूमिका महत्त्वपूर्ण छ। कसैसँग द्वेष र इर्ष्या नगर्ने भाइचाराको सम्बन्ध स्थापित गर्न सक्ने राजनीतिक खुबी भएकै कारण अर्का पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङले पनि संसद् सञ्चालानार्थ सुरुका महिनामा दमननाथ ढुंगानासँग राय सल्लाह माग्ने गर्नुहुन्थ्यो भन्ने भनाइ पनि सुनिन्थ्यो त्यसबेला। हुन पनि बौद्धिकताले भरिएका व्यक्तित्वका कारण कानुनविद् दुवैजनालाई सभामुख भएको देख्न पाउँदा सबैले गर्व पनि गर्थे।
२०४८ सालदेखि २०५१ सालसम्म दमननाथले सभामुख भएर काम गर्नुभयो। नेपाली काङ्ग्रेसको बौद्धिक नेता भए पनि कतिपयले उहाँलाई अवाञ्छित आरोपसम्म लगाए। उहाँको पालामा केही राजनीतिक चलखेल नभएका होइनन्। महाकाली सन्धि हो या सम्झौता? भारतसँगको शारदा नदीको सीमा तत्काल समाधान गरिनुपर्छ भन्ने प्रतिपक्ष दल नेकपा एमालेको सदन र सडकको चर्को आन्दोलन उहाँकै कार्यकालमा भएका थिए। सडकबाट होइन, सदनभित्रबाट नै समाधान खोजिनुपर्छ भन्ने मान्यता ढुंगानामा थियो।
यसैगरी नेपाली काङ्ग्रेसभित्रको चरम गुटका कारण ७४ र ३६ समूहको जन्म, मध्यावधि निर्वाचन पनि यहीबेला भएको थियो। केही राजनीतिक विश्लेषकको विचारअनुसार मध्यावधि चुनाव नभैदिएको भए तत्कालीन माओवादी पार्टीले विद्रोह गर्ने नै थिएन। नेपाली काङ्ग्रेस दुई खेमामा विभाजित हुने नै थिएन। तर संसद् विघटनका बेला उहाँ अस्पताल भर्ना हुनुभएको थियो। बिरामीका कारण उपसभामुख महन्थ ठाकुरले संसद् सञ्चालन गर्नुभएको थियो।
२०४८ सालको संसदीय चुनावमा काठमाडौँ क्षेत्र नं. २ बाट विजयी सांसदका रूपमा संसद् भवन सिंहदरबारमा छिर्नुभएका दमननाथ ढुंगानाले प्रजातन्त्र प्राप्तिका लागि पटक–पटक कारागार जीवन पनि व्यतीत गर्नुभयो। २८ वर्षको उमेरमा नेपाल बारको महासचिव बन्नुभएका उहाँ प्रजातन्त्रप्रतिको अटल निष्ठाका कारण पूर्वप्रम तथा नेपाली काङ्ग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईका विश्वास पात्र हुनुहुन्थ्यो। राष्ट्र र जनतालाई केन्द्रमा राखेर मात्र राजनीति गर्यो भने भ्रष्टाचार मौलाउँदैन भन्नुहुन्थ्यो।
तर अहिले भ्रष्टाचारले जरा गाड्यो, राजनीतिमा बेथिति भित्रियो। स्वाभिमानी र इमानदार कार्यकर्ता हरेक पार्टीबाट विस्थापित हुँदैछन्। यही पाराले सहिदको सपना साकार त कहिले होला र दमननाथ ढुंगाना जन्मेको मुलुकमा ? हरेक पार्टीमा विचारको खडेरी परेको देखिन्छ।
निर्लज्ज तरिकाले पार्टीका नेताहरू आफूखुसी राजनीतिक भागबण्डाको सौदाबाजी चाँदीको तराजुमा सुनको डल्लो राखेर गर्दैछन्। युवाहरू विदेशिइरहेछन्। घरखेत बाँझो देखिन्छ। आधा लोकतन्त्र विदेशिएको देखिन्छ। आधामा खडेरी लाग्न थालिसक्यो। यस्तो बेला प्रजातन्त्रका योद्धा दमननाथ ढुंगानाले सोचेको कानुनी राजको स्थापना गर्न सकिएला र ? नतमस्तक हुँदै कुन शब्दले उहाँको आत्माको चीर शान्तिको कामना गरौँ ?
उहाँकी धर्मपत्नी प्राज्ञ भुवन ढुंगानासहित परिवारजनप्रति हार्दिक समवेदना। अल बिदा लोकतन्त्रका पहरेदार पूर्वसभामुख दमननाथ ढुंगानाज्यू।
प्रकाशित: ४ मंसिर २०८१ ०५:३७ मंगलबार